सीप समाज र राष्ट्रिय समृद्धिको मूल आधार : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आजको युगमा सीप कुनै अतिरिक्त योग्यता मात्र नभई समाज र राष्ट्रिय समृद्धिको मूल आधार भएको बताएका छन् ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यावसायिक केन्द्र इटहरीमा आयोजना गरेको ‘सीप तथा रोजगार मेला २०८३’लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

​नेपालको कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा बढी हिस्सा श्रमयोग्य उमेर समूहमा रहेको उल्लेख गर्दै सभामुख अर्यालले यति ठूलो सङ्ख्यामा कार्यसम्पादन गर्न सक्ने जनशक्ति हुनु देशका लागि असाधारण जनसाङ्ख्यिक लाभांश र अवसर भएको बताए ।

तर आन्तरिक बजारको माग र उपलब्ध जनशक्तिको सीपबीच सही तालमेल हुन नसक्दा नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एकातिर स्वदेशी युवाहरू रोजगारीका लागि बाहिरिनुपर्ने र अर्कोतिर स्थानीय रोजगारदाताहरूले आवश्यक सिपयुक्त जनशक्ति नपाएर विदेशी कामदार भित्राउनुपर्ने विरोधाभासपूर्ण अवस्था कायम रहेको उनको भनाइ थियो ।

​संविधानले प्रत्येक नागरिकलाई सुनिश्चित गरेको रोजगारी र श्रम सम्बन्धी मौलिक हकलाई व्यवहारमा उतार्न यो मेला महत्त्वपूर्ण कडी हुने विश्वास व्यक्त गर्दै सभामुख अर्यालले रोजगारदाता र रोजगार खोजीबिच साझा मञ्च खडा गरी आन्तरिक रोजगारीका सम्भावना विस्तार गर्न यो अभियान सुरु गरिएको स्पष्ट पारे ।

​तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीय), निजी क्षेत्र तथा विकास साझेदारहरूको समन्वयात्मक प्रयासबाट मात्र आन्तरिक रोजगारीलाई भरपर्दो विकल्पका रूपमा स्थापित गर्न सकिने धारणा राख्दै सभामुख अर्यालले यस कार्यक्रमको महत्त्व व्यापक रूपमा प्रवाह गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गरे ।

यो मेला युवा, श्रम तथा रोजगार मन्त्रालय, कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिका, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रको सहयोगमा आयोजना गरिएको हो ।

Share News