एक मृतकबाट ८ जनालाई जीवनदान, नेपालमा अंगदानको अवस्था यस्तो

काठमाडौं । एक व्यक्तिको जीवन समाप्त भएपछि पनि उसका अंगले अरू धेरैको जीवन बचाउन सक्छन् । यद्यपि नेपालमा अंगदानप्रतिको चेतना र सामाजिक सोचको अभावका कारण यस्तो सम्भावना अझै सीमित छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पछिल्लो नौ वर्षमा मस्तिष्क मृत्यु भएका नौ जनाबाट २३ वटा अंग झिकेर  प्रत्यारोपण गरिएको छ ।  केन्द्रका अनुसार ती मृतकबाट प्राप्त १७ वटा मिर्गौला, पाँच वटा कलेजो र एक वटा संयुक्त कलेजो–मिर्गौला प्रत्यारोपण गरिएको हो । केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग झिकेर प्रत्यारोपण गर्ने कार्यक्रमको सुरुवात २०७४ वैशाख २८ गते भएको थियो ।  त्यस दिन मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो  । त्यसयता नौ वर्षमा नौ जना मस्तिष्क मृतकबाट २३ वटा अंग प्रत्यारोपण सम्भव भएको केन्द्रले जनाएको छ । एउटै व्यक्तिबाट लिन सकिन्छ आठवटा अंग मस्तिष्क मृत्यु भएका एक व्यक्तिबाट आठ प्रकारसम्मका अंग झिकेर अन्य बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।  अर्थात्, एक व्यक्तिको मृत्युपछि गरिने अंगदानले एक होइन, आठ जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ । तर नेपालमा अंगदानको सम्भावना र वास्तविकता भने निकै फरक छ ।  स्वास्थ्यकर्मीका अनुसार परम्परागत सोच, अन्धविश्वास र अंगदानसम्बन्धी पर्याप्त जनचेतना नहुँदा मृतकका आफन्त अंगदान गर्न सहजै तयार हुँदैनन्। कतिपय अवस्थामा लामो परामर्शपछि आफन्त अंगदान गर्न तयार भए पनि सबै अंग दिन भने इच्छुक हुँदैनन् । एउटा अंग दान गर्न तयार भए पनि अन्य अंग दिन अस्वीकार गर्ने अवस्थासमेत रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  यसका कारण प्रत्यारोपण गर्न सकिने धेरै अंग प्रयोगविहीन हुने गरेका छन् । सडक दुर्घटनामा हजारौंको मृत्यु, अंगदान भने न्यून नेपालमा सम्भावित मृत अंगदाताको संख्या निकै ठूलो भए पनि त्यसअनुसार अंगदान हुन सकेको छैन । नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष तीन हजारभन्दा बढी मानिसको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ ।  त्यसमध्ये ठूलो संख्यामा मस्तिष्क मृत्यु हुने गरेको स्वास्थ्य क्षेत्रका अधिकारीहरू बताउँछन् । उपलब्ध तथ्यांकलाई आधार मान्दा नौ वर्षको अवधिमा मात्रै सडक दुर्घटनासहित विभिन्न कारणले हजारौं व्यक्तिको मस्तिष्क मृत्यु भएको हुनसक्छ। तर त्यसमध्ये अत्यन्तै थोरै व्यक्तिबाट मात्रै अंगदान भएको छ । यसले नेपालमा समस्या अंगदाताको सम्भावित अभावभन्दा पनि अंगदान गर्ने सामाजिक वातावरण र प्रणालीको कमजोरीमा छ कि छैन भन्ने प्रश्न उठाएको छ । नेपालमा मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी कानुनमा २०७२ सालमा संशोधन गरिएको थियो । संशोधनमार्फत नातेदार दाताको दायरा विस्तार गर्नुका साथै गैरनातेदारबीच अंग साटासाट र मस्तिष्क मृत्यु भएपछि हुने अंगदानलाई थप व्यवस्थित गर्ने व्यवस्था गरिएको छ । कानुनी व्यवस्था विस्तार भए पनि व्यवहारमा भने अंगदान अझै सहज बन्न सकेको छैन ।  मृतकका आफन्तलाई अंगदानका लागि तयार पार्ने, मस्तिष्क मृत्यु पहिचान गर्ने, समयमै अंग सुरक्षित गर्ने र आवश्यक बिरामीसम्म पुर्‍याउने प्रक्रियामा चुनौती रहेको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा विश्वभर करिब १ लाख २७ हजार ७२७ वटा अंग प्रत्यारोपण भएका थिए ।  विश्वभर अंग प्रत्यारोपणको दायरा विस्तार भइरहेका बेला नेपालमा भने सम्भावित अंगदाताको तुलनामा प्रत्यारोपणका लागि उपलब्ध हुने अंगको संख्या निकै न्यून छ ।

नापजाँच सकिएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

काठमाडौं । भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक निलवाराही गाउँ विकास समिति  वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भएको थियो । उक्त क्षेत्र चलनचल्तीमा ‘बोदे गाउँ’का नामले चिनिँदै आएको पुरानो नेवारी बस्ती हो । नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा आयोगबाट नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरिएको हो । पुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ४२१ परिवार औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गर्ने भएका छन् ।

‘शक्ति होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुक तथा जनताको सेवा गर्न फर्किएको बताएका छन् ।  झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाले  बिहीबार सन्देश जारी गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य उपचारपछि स्वदेश फर्किन पाउँदा आफू भावनाले भरिएको उल्लेख गर्दै देउवाले स्वास्थ्यप्रति चासो राख्ने, चिन्ता गर्ने तथा स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।  आफू विनम्र सेवकका रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक निर्माणको यात्रामा समर्पित हुन फर्किएको उनको भनाइ छ । देउवाले नेपाली कांग्रेस केवल लोकतान्त्रिक इतिहास बोकेको दल नभई दशकौंको राजनीतिक संघर्षबाट आफ्नो अस्तित्व र मर्यादा जोगाउन सफल पार्टी भएको उल्लेख गरेका छन् ।  उनले बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताहरूको त्याग र योगदानलाई कहिल्यै बिर्सन नहुने बताएका छन् । उनीहरूको विरासतलाई गौरवको पदकका रूपमा मात्र नभई जनताको विश्वासका रूपमा ग्रहण गर्नुपर्ने देउवाको भनाइ छ । देउवाले पछिल्लो समय युवा पुस्तामा देखिएको असन्तुष्टि, पीडा र परिवर्तनको चाहनालाई आफूले गम्भीर रूपमा बुझेको बताएका छन् ।  नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको उल्लेख गर्दै उनले बदलिँदो विश्वसँगै कांग्रेस पनि समयको गतिअनुसार अघि बढ्नुपर्ने बताएका छन् । गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि उनले स्मरण गरेका छन् । लोकतन्त्र, स्वतन्त्रता तथा विभिन्न जातजाति, क्षेत्र र समुदायका अधिकारका लागि अघिल्लो पुस्ताले लामो संघर्ष गरेको भन्दै उनले त्यस ऐतिहासिक योगदानलाई नकारात्मक भाष्यबाट हेर्न नहुने बताएका छन् । उनले लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता सधैं स्मरणीय हुने धारणा पनि राखेका छन् । राजनीतिक यथार्थका जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्दै जनताको इच्छालाई सर्वोच्च मानेर अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । देउवा गत वर्षको फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि उनी थप उपचारका लागि हङकङ पुगेका थिए । विदेशमा रहँदा देउवाले विभिन्न निकायलाई पत्र पठाउँदै साउनभित्रै स्वदेश फर्किने जानकारी गराएका थिए । सोहीअनुसार आज उनी नेपाल फर्किएका हुन् । देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा समेत उनको सक्रियता बढ्ने अपेक्षा गरिएको छ। कांग्रेस संस्थापनइतर पक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेका बेला देउवा स्वदेश फर्किएका हुन् । उक्त भेलामा देउवा पनि सहभागी हुने बताइएको छ ।