गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्छ : एमाले
काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको बताइन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । सुब्बाले ट्राफिक जरिवानासम्बन्धी सरकारी नीतिमाथि पनि प्रश्न उठाउँदै राज्यले असुल्ने जरिवाना उचित भए–नभएको विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरिन् । ‘राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भन्ने प्रश्नको उत्तर गणेश नेपालीको अनुहारमा हेरेर खोज्नुस्,’ उनले भनिन् । उनले गणेश नेपालीको मृत्युले राज्यको सेवा, नीति र नागरिकप्रतिको व्यवहारबारे गम्भीर समीक्षा आवश्यक भएको संकेत गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले जिम्मेवार ढंगले कदम चाल्नुपर्ने धारणा राखिन् ।
गणेश नेपालीको घटनामा थापाको आग्रह : दोषारोपण होइन, राज्यले आत्मचिन्तन गर्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको मृत्यु घटनालाई लिएर राज्य, समाज र नागरिक सबैले सामूहिक आत्मचिन्तन गर्नुपर्ने बताएका छन् । थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई स्तब्ध बनाएको बताएका हुन् । उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन् । थापाले यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले यस कठिन घडीमा गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा सबैले आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्नुपर्ने बताएका छन् । उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन् । थापाले नागरिकलाई निराशाको चरम अवस्थामा पुग्न बाध्य पार्ने कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले एउटा युवा किन आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्थासम्म पुग्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति किन गराउन सकेनन्, र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् । भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ ।
मुख्यसचिवको बिदाइ शाहले गरेपछि ब्यूरोक्रेसी तरंगित
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालको बिदाइ प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गरेपछि निजामती प्रशासनभित्र र बाहिर यसले दिने सन्देशबारे चर्चा सुरु भएको छ । सरकारको सबैभन्दा वरिष्ठ स्थायी कर्मचारीको बिदाइ राजनीतिक नियुक्तिका व्यक्तिबाट गराइएको घटनालाई धेरैले सामान्य प्रशासनिक कार्यक्रमभन्दा पनि संस्थागत मर्यादा र प्रोटोकलसँग जोडेर हेरेका छन् । पूर्वमुख्यसचिव डा. विमल कोइराला मुख्य सचिव सरकारको प्रशासनिक नेतृत्वकर्ता भएकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयदेखि सबै मन्त्रालय र सरकारी निकायबीच समन्वय गर्ने जिम्मेवारी उनको काँधमा हुने बताउँछन् । उनका अनुसार मुख्यसचिवको नियुक्ति र अवकाश दुवैलाई राज्यको संस्थागत संस्कृतिको महत्त्वपूर्ण पक्ष मानिन्छ । यही कारण सुमनराज अर्यालको बिदाइ कार्यक्रममा राजनीतिक सल्लाहकारको प्रमुख भूमिका देखिएपछि प्रशासनिक वृत्तमा विभिन्न प्रश्न उठेको अर्का एक पूर्वमुख्य सचिव बताउँछन् । उनले नाम नलेख्ने सर्तमा भने, ‘मुख्यसचिवको बिदाइमा प्रधानमन्त्री स्वयं उपस्थित हुने वा मुख्यसचिवले प्रधानमन्त्रीलाई भेटेर विदाई लिने चलन हो ।’ अहिलेको राजनीतिक नेतृत्वले निजामती प्रशासनको हुर्मत लिन सल्लाहकार पठाइएको ती पूर्वमुख्यसचिवको ठहर छ । ‘विगतमा कि त प्रधानमन्त्रीले नै बिदाइ गर्नुहुन्थ्यो कि त मुख्यसचिवले प्रधानमन्त्रीसँग बिदाइ भेट गर्दथे,’ ती पूर्व मुख्यसचिवले भने । उनका अनुसार यसपटक दुवै भएन । पछिल्ला मुख्यसचिव एकनारायण अर्याल प्रधानमन्त्रीबाट बिदाइ हुन पाउने भाग्यमानी प्रशासक हुन् । गत मंसिरमा उनको बिदाइ तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । पूर्वमुख्यसचिवहरू शंकरदास बैरागी, लोकदर्शन रेग्मी, राजेन्द्रकिशोर क्षेत्री र लीलादेवी गड्तौलालगायतका बिदाइ कार्यक्रमहरूमा प्रधानमन्त्री वा सरकारका जिम्मेवार पदाधिकारीहरू नै मुख्य भूमिकामा देखिएका थिए । राजनीतिक सल्लाहकारले मुख्य सचिवलाई औपचारिक रूपमा बिदाइ गरेको उदाहरण भने सार्वजनिक रूपमा नदेखिएको घटना भएको पूर्वसचिव युवराज पाण्डेले जानकारी दिए । निजामती सेवामा लामो समय काम गरेका पूर्वसचिव पाण्डेका अनुसार मुख्य सचिव कुनै राजनीतिक पद होइन । उनी सरकार फेरिए पनि निरन्तर रहने राज्य संयन्त्रका प्रतिनिधि हुन् । त्यसैले उनको बिदाइलाई पनि राज्यकै तर्फबाट सम्मान प्रकट गर्ने अवसरका रूपमा लिइन्छ । ‘मुख्यसचिव व्यक्तिभन्दा पनि एउटा संस्था हो । त्यसैले बिदाइ कसले गर्यो भन्ने विषयले प्रतीकात्मक अर्थ राख्छ,’ पूर्वसचिव पाण्डेले भने । प्रशासनविद् तथा पूर्वसहसचिव भागिरथ पाण्डेका अनुसार यस घटनाले तत्काल कुनै नीतिगत प्रभाव पार्ने सम्भावना छैन । तर यसले राजनीतिक नेतृत्व र स्थायी प्रशासनबीचको सम्बन्धबारे नयाँ बहस भने जन्माएको छ । पाण्डेका अनुसार राजनीतिक सल्लाहकार प्रधानमन्त्रीका निकट सहयोगी भए पनि उनी संवैधानिक वा प्रशासनिक पदाधिकारी होइनन् । त्यसैले स्थायी प्रशासनको सर्वोच्च पदाधिकारीको बिदाइमा उनको अग्रभूमिकाले संस्थागत मर्यादाको प्रश्न उठाउन सक्ने देखिन्छ । यद्यपि सरकारले यसलाई अत्यधिक विवादको विषय बनाउन नहुने तर्क गरेको छ । प्रधानमन्त्री व्यस्त भएका बेला उनका प्रतिनिधिका रूपमा राजनीतिक सल्लाहकार सहभागी हुनु अस्वाभाविक नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको भनाइ छ । मुख्य कुरा बिदाइको सम्मान र औपचारिकता भएको हो, सहभागी व्यक्ति को थिए भन्ने विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिन नहुने प्रधानमन्त्री कार्यालयको तर्क छ । कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार विगतदेखिकै परम्पराअनुसार मुख्यसचिवको बिदाइ भएको हो । निजामती प्रशासनमा परम्परा र संस्थागत संस्कृतिको विशेष महत्त्व हुन्छ । त्यसैले सुमनराज अर्यालको बिदाइलाई भविष्यमा सामान्य घटनाका रूपमा लिइने कि प्रशासनिक अभ्यासमा आएको नयाँ संकेतका रूपमा व्याख्या गरिने भन्ने कुरा आगामी दिनका प्रतिक्रिया र अभ्यासले निर्धारण गर्ने धेरैको बुझाइ रहेको छ ।