काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको बताइन् ।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।
सुब्बाले ट्राफिक जरिवानासम्बन्धी सरकारी नीतिमाथि पनि प्रश्न उठाउँदै राज्यले असुल्ने जरिवाना उचित भए–नभएको विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरिन् ।
‘राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भन्ने प्रश्नको उत्तर गणेश नेपालीको अनुहारमा हेरेर खोज्नुस्,’ उनले भनिन् ।
उनले गणेश नेपालीको मृत्युले राज्यको सेवा, नीति र नागरिकप्रतिको व्यवहारबारे गम्भीर समीक्षा आवश्यक भएको संकेत गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले जिम्मेवार ढंगले कदम चाल्नुपर्ने धारणा राखिन् ।