म स्टन्टबाजी होइन, देशको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न नभई म आफ्नो देशको सेवा गर्न आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले भावुक हुँदै भने,  ‘जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन । त्यो मुखले बोलेको ५० औं वर्ष भइसक्यो । हामीले हातले गर्नुपर्छ । आफ्नो जनताको सेवा ठाउँमा गएर गर्नुपर्छ । त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ । मलाई इच्छा छैन कसैको लागि स्टन्टबाजी गर्नका लागि । म आफ्नो देशको सेवा गर्न आएको हो ।’

उनले  गणेश नेपालीलाई बचाउन अथक प्रयास गरेको पनि बताएका छन् ।

‘धेरै साथीभाइहरू देखेँ । घाँटी सुक्ने गरी चिच्याइरहनुभएको थियो । तपाईंहरू कति जना हुनुहुन्थ्यो हस्पिटलमा ? घाँटी सुक्ने गरी चिच्याएर कराएर हुँदैन । जनताको सेवा गर्छु भनेर मुखले बोलेर हुँदैन,’ उनले भने ।

गृहमन्त्री गुरुङले गोविन्द नेपालीको मृत्यु प्रकरणलाई लिएर विपक्षी सांसदहरूले राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाए । उनले दुःखद घटनालाई राजनीतिक लाभका लागि प्रयोग गर्नु उचित नहुने भन्दै संयमता अपनाउन आग्रहसमेत गरे ।

उनले भने, ‘मृत्युजस्तो संवेदनशील घटनामाथि राजनीति नगरौं । अनुसन्धानलाई प्रभावित पार्ने गरी भ्रम फैलाउने वा पूर्वाग्रही निष्कर्ष निकाल्ने काम कसैले गर्नु हुँदैन ।’

संसद्मा यस विषयलाई लिएर सत्ता पक्ष र विपक्षबीच आरोप–प्रत्यारोप समेत भएको थियो । विपक्षी सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग दोहोर्याएका थिए भने गृहमन्त्री गुरुङले सरकारले कानुनअनुसार प्रक्रिया अघि बढाइरहेको बताउँदै घटनालाई राजनीतिक रंग नदिन आग्रह गरेका छन् ।

गृहमन्त्री गुरुङ बोल्नुअघि भक्कानिएकासमेत थिए । 

Share News