'विद्युत कटौतीको पूर्व सूचना दिनू, ट्रान्सफर्मरको गुणस्तरमा सम्झौता नगर्नू'

काठमाडौं । विद्युत सेवाको विद्यमान अवस्था तथा वितरण प्रणालीमा गर्नुपर्ने कार्य लगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बिहीबार नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतका प्रदेश तथा डिभिजन प्रमुखहरुसँग भर्चुअल छलफल गरेका छन् । छलफलका क्रममा मन्त्री श्रेष्ठले विद्युत सेवालाई दिगो र सुरक्षित बनाउनका लागि वितरण प्रणालीलाई चुस्त दुरुस्त राख्नुपर्नेमा जोड दिए ।  उनले पछिल्ला दिनमा देशका विभिन्न भागमा विद्युत आपूर्तिमा भइरहेको समस्याको कारण र समाधानको उपायबारे जानकारी लिँदै वितरण प्रणालीमा सुधार र ग्राहक सेवालाई प्राथमिकतामा राख्न सुझाव दिए ।  विद्युत कटौती, पूर्वाधार मर्मत जस्ता विषयबारे ग्राहकलाई सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूबाट समेत पूर्व सूचना दिनुपर्ने, ग्राहकको गुनासोलाई तत्कालै सम्बोधन गर्नुपर्ने, जवाफदेही हुनुपर्ने तथा जनचेतनालाई पनि महत्वका साथ अगाडि बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको सुझाव थियो ।  नेपाल विद्युत प्राधिकरणले आगामी आर्थिक वर्षका निम्ति बजेट निर्माणको चरणमा रहेको उल्लेख गर्दै प्रणालीको सुधारका निम्ति आवश्यकता औचित्यसहित बजेट माग र कार्यान्वयनको ढाँचासमेत पेश गर्न आग्रह गर्दै उपकरणहरुको मौज्दात कानुनले व्यवस्था गरे अनुसार हुनुपर्ने र त्यसका निम्ति केन्द्रीय कार्यालयले सहजीकरण गर्नुपर्ने भन्दै स्रोतको सीमितता कारण आवश्यकताको प्राथमिकीकरण हुनुपर्नेमा जोड दिए ।  ट्रान्सफर्मरलगायत उपकरणहरुको गुणस्तरका विषयमा धेरै तिरबाट प्रश्न उठेको उल्लेख गर्दै सो विषयलाई मन्त्रालयबाट सुक्ष्म अध्ययन भइरहेको हुँदा गुणस्तरमा कुनै सम्झौता नगर्न उनको विषेश जोड थियो ।  विद्युत मानिसको जीवनशैली र आधारभूत आवश्यकतासँग जोडिएको हुँदा यसको दिगो आपूर्ति अनिवार्य दायित्व भएको उल्लेख गर्दै प्राविधिक एवम् व्यवस्थापकीय सुधार तत्कालै सुरु गर्न नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक तथा निर्देशनालयका प्रमुखहरुलाई ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठबाट स्पष्ट निर्देशन भएको छ ।  सरकारले विद्युतको आन्तरिक खपत वृद्धि गर्ने रणनीति लागू गरिसकेको सन्दर्भमा आपूर्ति प्रणालीमा विश्वसनीयता हुनुपर्ने भन्दै अधिकार प्रत्यायोजन वा अन्य नीतिगत व्यवस्थाको आवश्यकता भए लिखित रुपमा मन्त्रालयमा पेश गर्न आग्रह गर्दै मन्त्रालय सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।  सरकारले लागू गरेको ऊर्जा अपत रणनीति पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सुरू गरिने भएकाले यसका निम्ति प्राधिकरणले संरचनागत सुधारमा के-के गर्नुपर्ने हो त्यसको आवश्यक तयारी गर्न निर्देशन समेत दिए ।  छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता कुमारी दवाडीले सिँचाइ सुविधा विस्तार गर्ने सरकारको योजना रहेको उल्लेख गर्दै प्रदेश तह तथा स्थानीय तहसँगको समन्वयमा प्राधिकरण र सिँचाइ प्रादेशिक कार्यालयबीच सहकार्य गरी किसानलाई कृषि मिटर उपलब्ध गराउने र उत्पादकत्व वृद्धि गर्ने विषयमा ध्यान दिन निर्देशन समेत दिए ।

प्रधानमन्त्री बालेन ऊर्जा उद्यमीसँग छलफल गर्दै

काठमाडौं । केही दिनयता विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । एक ऊर्जा व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका चुनौती, निजी क्षेत्रका गुनासा तथा सुधारका सम्भावित उपायबारे प्रत्यक्ष रूपमा सुझाव लिन ऊर्जा उद्यमीहरूलाई छलफलका लागि बोलाएका हुन् ।  पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग संवादलाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा ऊर्जा क्षेत्रसँगको आजको छलफललाई पनि सरकारले निजी क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ ।  ऊर्जा व्यवसायीहरूले उत्पादन, प्रसारण, विद्युत् खरिद–बिक्री, लगानीमैत्री वातावरण तथा नीतिगत स्थायित्वलगायतका विषयमा आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेका छन् । 

टिकटकको सहारामा फस्टायो कोरियाबाट फर्किएका युवाको नर्सरी व्यवसाय

काठमाडौं । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका हुन् । सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाले । स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उहाँले नर्सरी स्थापना गरे । 'रोजगारीका सिलसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन', लिम्बूले भने, 'आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।' एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् । स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बूले बताए । उनका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभई चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् । व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उनको अनुभव छ । 'गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ', उनले भने, 'एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउनुहुन्छ र अरूलाई पनि सिफारिस गर्नुहुन्छ । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।' लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उनले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् । यसले नर्सरीको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको उनले बताए । 'सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो', उनले भने, 'टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडियो हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउनुहुन्छ । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिनुहुन्छ । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवद्र्धनको प्रभावकारी माध्यम बनेको छ ।' सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब रु आठ लाख लगानी भएको लिम्बूले जानकारी दिए । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रु चार लाख अनुदान प्राप्त भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । 'वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो', सुवेदीले भने, 'यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ ।' सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ । रासस