राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण
चार विधेयक प्रमाणीकरणकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए ।
बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
काठमाडौं । पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ । ‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड-खण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयार अवस्थामा राखिएको छ,’ कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने । उनका अनुसार साविककै स्थानमा पुनः निर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोसी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले-बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ । वि.सं २०८१ असोजको बाढी पहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोसी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो । क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ । ‘पुनः निर्माण हुने सडक खण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ,’ योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना पक्राउ गरेको छ । प्रहरी काठमाडौं, ललितपुर, कास्की, धनुषा, कञ्चनपुर, कपिलवस्तु, बर्दिया, पर्सा, सुर्खेत, सर्लाही, मकवानपुर, बाँके र सिन्धुलीबाट २३ जनालाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ नरेफाँट डेरा गरी बस्ने सिन्धुली घर भएकी ५० वर्षीया कोमलमाया पाख्रिनलाई अवैध लागुऔषध गाँजा करिब २२ किलो र नगद आठ हजार ५०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी, काठमाडौं महानगरपालिका-१४ कलङ्कीस्थित बाबा पेट्रोलपम्प नजिकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ करिब तीन ग्राम १५ मिलिग्रामसहित सोहीठाउँ बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-६ घर भएका ४२ वर्षीय नरेन्द्रकुमार थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका-१८ बाट एक, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने एक, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ बाट एक, भीमदत्त नगरपालिका-१८ भगतपुरबाट दुई, कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटबाट एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ । त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका८ नयाँबस्तीबाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१९ तिलावे पुलबाट एक, ललितपुरको गोदावरी नगरपालिका-८ हात्तीगौँडाबाट दुई र महालक्ष्मी नगरपालिका-१ बाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको दुधौली नगरपालिका-११ माथिल्लो धनसरीबाट एक, सुर्खेतको पञ्चपुरी नगरपालिका-११ बाट दुई, बाँकेको खजुरा गाउँपालिका-२ बाट दुई, सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर गोरूबजारबाट नियन्त्रित लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको सहायतामा निजहरूलाई पक्राउ गरिएको उल्लेख गर्दै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।