गणेश नेपालीका परिवारलाई न्याय दिन पूर्वगृहमन्त्री अर्यालको माग

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले स्वर्गीय गणेश नेपालीका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। शुक्रबार (आज) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले यस्तो माग गरेका हुन् ।

गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अर्यालले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।

अर्यालले कानुनी राज्य सञ्चालनका लागि सरकार सञ्चालनकर्ताले कानुनी शासनको मर्म बुझ्नुपर्ने र नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका छन् ।

कानुनी शासन प्रभावकारी बनाउन सरकार स्वयंले विधि र कानुनको पालना गर्नुपर्ने उनको भनाइ छ ।

उनले अहिले पनि राज्यले नागरिकसँग सहकार्य गर्नेभन्दा प्रतिद्वन्द्विता बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै मुलुकलाई फेरि द्वन्द्व र अनिष्टको दुष्चक्रमा फस्ने गल्ती गर्न नहुने चेतावनी दिएका छन् ।

अर्यालले कानुनी शासनमा नागरिक मात्र होइन, सरकार पनि विधि र विधानको पालनामा उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । सत्य, निष्ठा र मानवताको आधारमा सबै विचारधारा, वर्ग र समुदायका नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उनले सुशासनको मेरुदण्ड कानुनी शासन भएको उल्लेख गर्दै कानुनी शासन भएको मुलुकमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बद्ध व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य नहुने बताए । 

अहिले देखिएका लक्षणहरू पनि सकारात्मक नरहेको उनको टिप्पणी छ ।

Share News