काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकामा सयौं मानिसहरू जंगलभित्र र अग्ला–अग्ला ठाउँमा बसेर उद्धारको पर्खाइमा रहेका छन् । उद्धार गर्नका लागि स्थानीयहरूले फोन गरेर जनप्रतिनिधिहरूलाई गुहारिरहेका छन् ।
उद्धार भएकाहरू डाँडाका खुला चौर र विद्यालयका कोठामा बस्न बाध्य छन् ।
‘धेरैले परिवारका सबै सदस्य गुमाएका र कोही भने एक्लै रहेका छन् । परिवारका अभिभावक गुमाउनेदेखि र सन्तान गुमाउनेसम्म छन्,’ उपाध्यक्ष चमेली गुरुङले सुनाइन् ।
उनले संघ र प्रदेश सरकारले बेवास्ता गरेको गुनासो गरेकी छन् ।
विध्वंशकारी बाढी आउँदा राज्यको उपस्थिति नपुगेकोमा उनले विकासन्युजसँगको संवादमा बताएकी छन् ।
गाउँपालिकाबाट यति संख्यामा मानिसहरू भन्न नसकिने उनले बताइन् । स्थानीय तहले गणना गरेर भन्न नसकिने उनले जानकारी दिइन् ।
‘हाम्रो सबै वडामा क्षति भएको छ । १ र २ वडाका एक सयदेखि डेढ सय घरलाई बाढीले पूर्ण रुपमा क्षति गरेको छ,’ उनले भनिन्, ‘भूकम्पबाट प्रभावित भएर बसेका तीन सय बस्ती सबै बगाएको छ । धेरै मानिस खुला आकाशमुनि बस्न बाध्य छन् ।’
जंगलको डाँडाकाडाबाट उद्धार गर्नुपर्यो भन्दै फोन आइरहेको उपाध्यक्ष गुरुङले बताइन् ।
‘राम्रोसँग बोल्ने कोही छैनन् र सबैजना रोएर मात्र फोन गरिरहेका छन्,’ उनले भनिन् । ।
उद्धारको निम्ति राज्यको उपस्थिति एकदमै न्यून रहेको उनको भनाइ छ ।
गाउँपालिकाले सात सय मानिसलाई उद्धार गरेर विभिन्न विद्यालयमा राखिएको उनले बताइन् ।
पसलबाट चाउचाउ, बिस्कुट तथा पसलमा पाइने खानेकुरा खुवाइरहेको उनले जानकारी दिइन् ।
उद्धार गर्नेको संख्या बढ्ने क्रम जारी रहेको उनले प्रस्ट पारिन् ।
‘एउटा–दुई वटा हेलिकोप्टर मात्र उडिरहेको छ । हेलिकोप्टरले पर्याप्त मात्रामा उद्धार गर्न सकेको छैन । हाम्रो लागि सरकार छैन,’ उपाध्यक्ष गुरुङ भन्छिन्, ‘जंगलमा स्थानीयहरुको बास छ । राज्य कहाँ छ केही थाहा छैन । सम्पर्क गर्दा कोहीसँग सम्पर्क हुन सकेको छैन ।’
राज्यका कुनै संयन्त्रसँग सम्पर्क हुन नसकेको उनले उल्लेख गरिन् । सीडीओ, जिल्लाका प्रहरी प्रमुख र सुरक्षा संयन्त्र कसैले वास्ता नगरेको गुरुङको गुनासो छ।
अहिलेसम्म एउटा मात्र हेलिकोप्टर आएको उनले जानकारी दिइन् । ‘हाम्रो लागि राज्य छ भने हेलिकोप्टरको संख्या बढाउ सरकार,’ उनले आक्रोशित हुँदै भनिन् ।
हाम्रो काठमाडौं लगायतका छिमेकी जिल्लासँग सम्पर्क टुटेको उनले जानकारी दिइन् ।
‘हाम्रो जिल्ला वर्षौका लागि पछाडि धकेल्यो । धेरै पुल भत्किएका छन् । केही समयमा भौतिक संरचना नभएमा हामीलाई खाद्य संकट हुनेछ,’ उनले अगाडि थपिन्, ‘हाम्रो क्षेत्रका धेरै मानिसको वस्ती उठेको र घरबारविहिन बनेका छन् ।’
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ ।
रसुवाको बाढीमा परेर हालसम्म २ सय ७० जना शव फेला परेको प्रहरीले उल्लेख गरेको छ । त्यसैगरी, बाढीमा परेर २८ प्रहरीहरू सम्पर्कविहिन भएको प्रहरीले उल्लेख गरेको छ ।
उद्धार तथा राहतमा ४ हजार ५० जना प्रहरीहरू परिचालित रहेका छन् ।