पाँचथरेको कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

काठमाडौं । कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण भएको छ । कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्थाका अध्यक्ष नरबहादुर बिसी र प्राडा हेमनाथ पौडेललगायतले कृति लोकार्पण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि खनालले ‘पाँचथरे’का कविताले वर्तमान समयको यथार्थ चित्रण गरेको बताए । उनका अनुसार कविताले परिवर्तन र समाजवाद स्थापनाको सन्देशसमेत दिएको छ । प्राडा पौडेलले कृतिमा वर्तमान समाजको गतिशील यथार्थ समेटिएको बताए । उनले कविले समाजका विकृति र खराब पक्षमाथि तीखो प्रहार गरेको उल्लेख गरे । कृतिकार पाँचथरेले ‘समयको प्रतिबिम्ब’ बारे संक्षिप्त जानकारी दिएका थिए । उनले संग्रहमा रहेको पहिलो कविता ‘इमान’ समेत वाचन गरे । साहित्यकार सोइना दाहाल, प्रेम राई परीक्षित र घनबहादुर थापाले पनि संग्रहबाट एक–एक कविता वाचन गरेका थिए । कार्यक्रममा कवि वेदनिधि निरालाले आफ्नै कविता वाचन गरे । कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोखाको साहित्य क्षेत्रमा प्रतिनिधिमूलक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । पाँचथरे प्रगतिवादी कविका रूपमा परिचित छन् । उनका कविताले समाजका विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक परिवर्तनको सन्देश दिने प्रयास गरेका छन् । ‘समयको प्रतिबिम्ब’ पाँचथरेको तेस्रो कविता संग्रह हो । यसअघि उनका ‘खबरदार’ र ‘आँसुको भेल’ कविता संग्रह प्रकाशित भइसकेका छन् । संग्रहका अधिकांश कविता अभिधात्मक शैलीमा छन् । केही कवितामा बिम्ब र प्रतीकको प्रयोग गरिएको छ ।

कित्ताकाट गरिएका मान्छेहरू

जीवन बगिरहेछ पानीजस्तै                बगाएर सपनाहरू  बग्छन् अनगिन्ति सपना  हराउँछ जिन्दगीको बाटो  खुसीहरू खोसिन्छन्  लाग्छ ठेस रक्ताम्मे पाइला घसारेर  गन्तव्यमै हराएको छ मान्छे ।  दुःखी रहेछन् मनहरू  मन त नदुखेकै जाति हुन्थ्यो  संवेदना रुन्छ धुरुधुरु चिच्याउँछ मानवता  ‘वसुधैव कुटुम्बकम्’ को  मर्म चपाउँछ मान्छे ।  निर्लज्ज हाँस्छन् मान्छेहरू  घाउमा लगाउँदैनन मलहम  स्वार्थको घण्टी बजाएर  आफूतिरै तान्छन् दुनाहरू  र नाटक गर्छन्  साधु बिरालोजस्तो ।  रोएर मेटिँदैन दुःख  धोएर धोइँदैन पाप  गीता भन्छ  कर्म गर  फलको आश नगर  सायद गीता झुट बोलिरहेछ   कर्म केका लागि  फल प्राप्ति हुँदैन भने । मान्छेहरू फल प्राप्तिको संघर्षमा  जीवन कुर्वान गरिरहेछन्  फल प्राप्ति अधर्म हो  धर्मभिरुहरु अपव्याख्या गर्छन् निःसन्देह म प्रतिवाद गर्छु  फल लुट्नेहरुलाई मेरो प्रश्न छ  फल लुट्नु कुन र के धर्म हो ?  नाजवाफ छन धर्मभिरुहरू  तर्कमा हारेपछि  श्रापको धम्की दिन्छन् तिनीहरू ।  मान्छेहरूमा पीडा छ  छटपटी छ  उकुसमुकुस छ  उज्यालो खोसिएपछि  अँध्यारोसँग जुझ्छ मान्छे  मरेको छैन विचार  ढलेको छैन आस्था  सपना देख्नु कुनै अपराध होइन भने  सपना देखेकै भरमा  मान्छेको कित्ता काट गर्नु न्यायसंगत हो र ? 

कांग्रेस महाधिवेशन : कांग्रेसलाई मेरो सन्देश

आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो, पाका बस सम्मानपूर्वक युवालाई देऊ पालो, नानाथरि गुट देख्दा रुँदा हुन् है बिपी, लौन युवा च्यात अब भागबण्डाको जालो, आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो, संस्थापन र देउवा भनी घाउ भो सधैं आलो, किन देख्छौ एकले अर्को धमिलो र कालो, माछा मार्न पल्केका छन् केही बल्छीधारी, लडाइँ–लडाइँ फाइदा लिन्छन् काढ्छन् सधैं र्‍यालो, लौन युवा च्यात अब भागबण्डाको जालो, साना–साना झुण्ड बोक्ने कस्तो रोगले गाल्यो, अध्ययन छैन बहस छैन तिनै ठूला–ठालो, आठ दशकको इतिहासलाई भुल्लान् भन्दै बिपी देऊ न तिनलाई लाज छोप्ने एकसरो टालो, आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो, लौन युवा च्यात अब भागबण्डाको जालो नवज्योति बाल्न अब युवालाई देऊ पालो