प्रकाशचन्द्र खतिवडा

कित्ताकाट गरिएका मान्छेहरू

जीवन बगिरहेछ पानीजस्तै                बगाएर सपनाहरू  बग्छन् अनगिन्ति सपना  हराउँछ जिन्दगीको बाटो  खुसीहरू खोसिन्छन्  लाग्छ ठेस रक्ताम्मे पाइला घसारेर  गन्तव्यमै हराएको छ मान्छे ।  दुःखी रहेछन् मनहरू  मन त नदुखेकै जाति हुन्थ्यो  संवेदना रुन्छ धुरुधुरु चिच्याउँछ मानवता  ‘वसुधैव कुटुम्बकम्’ को  मर्म चपाउँछ मान्छे ।  निर्लज्ज हाँस्छन् मान्छेहरू  घाउमा लगाउँदैनन मलहम  स्वार्थको घण्टी बजाएर  आफूतिरै तान्छन् दुनाहरू  र नाटक गर्छन्  साधु बिरालोजस्तो ।  रोएर मेटिँदैन दुःख  धोएर धोइँदैन पाप  गीता भन्छ  कर्म गर  फलको आश नगर  सायद गीता झुट बोलिरहेछ   कर्म केका लागि  फल प्राप्ति हुँदैन भने । मान्छेहरू फल प्राप्तिको संघर्षमा  जीवन कुर्वान गरिरहेछन्  फल प्राप्ति अधर्म हो  धर्मभिरुहरु अपव्याख्या गर्छन् निःसन्देह म प्रतिवाद गर्छु  फल लुट्नेहरुलाई मेरो प्रश्न छ  फल लुट्नु कुन र के धर्म हो ?  नाजवाफ छन धर्मभिरुहरू  तर्कमा हारेपछि  श्रापको धम्की दिन्छन् तिनीहरू ।  मान्छेहरूमा पीडा छ  छटपटी छ  उकुसमुकुस छ  उज्यालो खोसिएपछि  अँध्यारोसँग जुझ्छ मान्छे  मरेको छैन विचार  ढलेको छैन आस्था  सपना देख्नु कुनै अपराध होइन भने  सपना देखेकै भरमा  मान्छेको कित्ता काट गर्नु न्यायसंगत हो र ?