जीवन बगिरहेछ पानीजस्तै
बगाएर सपनाहरू
बग्छन् अनगिन्ति सपना
हराउँछ जिन्दगीको बाटो
खुसीहरू खोसिन्छन्
लाग्छ ठेस
रक्ताम्मे पाइला घसारेर
गन्तव्यमै हराएको छ मान्छे ।
दुःखी रहेछन् मनहरू
मन त नदुखेकै जाति हुन्थ्यो
संवेदना रुन्छ धुरुधुरु
चिच्याउँछ मानवता
‘वसुधैव कुटुम्बकम्’ को
मर्म चपाउँछ मान्छे ।
निर्लज्ज हाँस्छन् मान्छेहरू
घाउमा लगाउँदैनन मलहम
स्वार्थको घण्टी बजाएर
आफूतिरै तान्छन् दुनाहरू
र नाटक गर्छन्
साधु बिरालोजस्तो ।
रोएर मेटिँदैन दुःख
धोएर धोइँदैन पाप
गीता भन्छ
कर्म गर
फलको आश नगर
सायद गीता झुट बोलिरहेछ
कर्म केका लागि
फल प्राप्ति हुँदैन भने ।
मान्छेहरू फल प्राप्तिको संघर्षमा
जीवन कुर्वान गरिरहेछन्
फल प्राप्ति अधर्म हो
धर्मभिरुहरु अपव्याख्या गर्छन्
निःसन्देह म प्रतिवाद गर्छु
फल लुट्नेहरुलाई मेरो प्रश्न छ
फल लुट्नु कुन र के धर्म हो ?
नाजवाफ छन धर्मभिरुहरू
तर्कमा हारेपछि
श्रापको धम्की दिन्छन् तिनीहरू ।
मान्छेहरूमा पीडा छ
छटपटी छ
उकुसमुकुस छ
उज्यालो खोसिएपछि
अँध्यारोसँग जुझ्छ मान्छे
मरेको छैन विचार
ढलेको छैन आस्था
सपना देख्नु कुनै अपराध होइन भने
सपना देखेकै भरमा
मान्छेको कित्ता काट गर्नु न्यायसंगत हो र ?