छिमेकीका घरमा ८ वटा कार, कौसीमा हेलिप्याड

‘दशैंमा छिमेकीले टेस्ला किने । हाम्रो घरमा कुच्चिएको कार पनि मर्मत भएन ।’ 

घरको कम्पाउन्ड र पुरानो कार सरसफाइ गर्दै गरेको छोराप्रति असन्तोष जनाउँदै दिव्या ठूलो स्वरमा रन्किन् । 
त्यहिबेलामा गेटबेल बज्यो । दिव्या गेट खोल्न पुगिन् । 

‘आमा ! एक्लै ? खै त बुबा ?’

‘नर्भिकमा । ज्वाइँ हस्पिटल पुग्नु भएछ । चेकजाँच गराएर बुवालाई लिएर आउँछु , तपाई जानु भनेर पठाओ गर्नुभयो ।’ 

‘दर्शन मा’ । हजूरआमा नजिकै पुगेर सुबोधले ढोग गर्यो । 

‘भाग्यमानी नाती । बाबुको सधैं प्रगति देख्न पाइयोस् । बाबा जस्तो असल मान्छे बन्नु, नेपाल मै बस्नु । बाआमालाई स्यार्नु ।’

‘हा–आमा पनि । बाउछोराको गति यस्तो छ । छिमेकीहरु पोहोर दशैंमा यूरोप घुम्न गए, यसपाली अमेरिका गए । अर्को वर्ष अन्टार्कटिका जालान् । हाम्रो परिवार भद्रकालि र दक्षिनकालीको घेराभित्र सीमित छ । पाथीभारा जान पनि इभी जादैन भनेका छन् । बढीमालिका जान पनि गाढी जादैन भनेका छन् । काठमाडौंमा मात्रै बसेका छन्, कुवाका भ्यागुता जस्ता ।’

आफ्‌नो परिवारप्रति छेडखानी र छिमेकीको बखान गर्दै दिव्याले आमालाई कौसीमा लगिन् । 

‘भरोसा, मा आउनुभा’छ । चिया बनाउ । एभोकाडो र स्याउ काटेर ल्याउ’ दिव्याले छोरीलाई भनिन् । 

‘आहा । कति पारिलो घाम । पूर्व फर्केको घर फाप्‌छ भन्छन । बिहानको घाम पनि ताप्न पाइने । कति सुन्दर बस्ती । हरियाली पनि उस्तै । छोरी, तिमी भाग्यमानी रहिछौ । ज्वाइले कति रमाइलो ठाउँमा घडेरी छान्नु भयो । कति राम्रो घर बनाउनु भयो । नातीले पनि छिटै कमाउन थाल्यो ।’

‘ऊ त्यो घरमा हेर्नु त आमा’ दिव्याले झण्डै ५० मिटर परको एउटै कम्पाउन्डमा रहेका दुई घर देखाइन् । 

‘ती घर ४ रोपनी जग्गामा बनेका छन् । दाजुभाइका दुई परिवार । ८ जना छन् । एउटै कम्पाउण्डमा ८ वटा कार छ । विहानै सबैले गाडी पूजा गरे । फेसबुकमा फोटो हालिसके ।’ दिव्याले आमालाई मोवाइल देखाउँदै भनिन्‌–‘उनीहरुको ठूलो उद्योग छ । एक भाइ बैंकको अध्यक्ष छन् । अर्को भाइ बीमा कम्पनीको अध्यक्ष छन् । घरमा काम गर्न बैंक, इन्स्योरेन्सले नै कामदार पठाएका छन् । छोराछोरीले आइटी कम्पनी खोलेका छन् । टोलमा बुढीहरुको फुर्तिफार्ति कति कति ।’

‘आहा ! कति राम्रो ।’ आमाले झनै खुशी व्यक्त गर्नुभयो । ‘ऊ, त्यहाँ अग्लो घर बनेछ नि । कसले बनायो त्यो ?’ आमाले छोरीलाई सोधिन् । 

‘खुमन दासको । २१ तलाको छ । २ वटा लिफ्‌ट राखेको छ । स्वीमिङ पुल पनि छ। जिम हल पनि बनाएको छ। होटल बनाउछु भन्दै थियो । नचल्ने भो भनेर अपार्टमेन्ट बनायो । १७ वटा अपार्टमेन्ट बेचिसक्यो । एउटै अर्पाटमेन्ट १०/१२ करोडमा बिक्री भयो रे । टपमा हेलिप्याड बनाको छ । कुन दिन हेलिकप्टर किन्छ उसले । 

null

‘आहा ! कति राम्रो छोरी’ आमा झन खुशी भइन् ।

‘अरुले कमाए, जमाए भनेर के खुशी हुनु आमा । आफ्‌नो केही छैन । ज्वाइँको सचिवमा बढुवा नभई रिटायर्ड हुने भनेर समाचार आछ । बाबुको व्यापार पहिला जस्तो राम्रो छैन । पहिला उत्साहित भएर करोड हालेर कार किन्यो । ४ वर्ष भयो, गाडीको किस्ता सकिएको छैन । होमलोन पनि बाँकी नै छ । दशैंअघि गाडी ठोकियो, बनाउन ५ लाख लाग्छ रे । मर्मतको लागि बाउछोराले पैसा जुटाउन सकेनन्‌’ दिव्याले दिगदारी पोखिन्‌–‘छिमेकीले हेलिकप्टर किने पनि, उड्ने कार किने पनि हामीसँग केही छैन । के राम्रो ? के रमाइलो ?’ 

‘मा दर्शन । चिया लिस्यो’ भरोसाले चियासँगै फलफूल ल्याइन् । 

‘एभोकाडो हाम्रो बगैचामा फलेको हो आमा । ऊ, हेर्नु न । कत्ति फलेको छ । बिरुवा सारेको ३ वर्ष मै फल्दो रहेछ । अब ड्रागन फूुट पनि फल्न शुरु भयो । म त अब कौसी भरी लगाउँदै छु’ दिव्याले आमालाई सुनाइन् । 

तिमीले जे छोयो, त्यो सप्रन्छ छोरी । अहिले मात्र होइन, पहिला पनि । तिमीले रोपेको आँप गाउँमा अहिले पनि लटरम्मै फल्छ । जन्मने बित्तिकै यो पाठी तिम्रो भन्नुपर्छ, हलक्कै बढ्ने, २ वर्ष नपुग्दै व्याउने । दुइटा, तिनटा, चारटासम्म पाठापाठी पाउने ।’ 

दिव्याले लामो सास फेरिन । ‘खै आमा, तपाई त्यसो भन्नुहुन्छ । मेरा पीडा मैसँग छन् । घरसँगै जोडिएको ८ आना जग्गा बिक्रीमा छ । किन्न पाए एक रोपनी हुन्थ्यो । मनमा आनन्द हुन्थ्यो । एउटाको सट्टा १० वटा एभोकाडो हुर्काउन सक्थेँ । पछि गाह्रोसाह्रो पर्दा ३/४ आना बेचेर संकट टार्न सकिन्थ्यो । पैसासैसा छैन ।’ 

दिव्याका दुःख कानले मात्र सुनेन, आमाले छोरीको अनुहारमा पनि पढिन् । 

‘छोरी । तिम्रो दुःख, तिम्रो पीडा मैले बुझेँ । तिमी यसबाट मुक्त हुनुपर्छ ।’

‘कसरी आमा ?’ दिव्याले सोधिन् ।

‘तिम्रो जन्मघर । मेरो कर्मघर । तिमीलाई सब थाहा छ । गाउँ भरका लागि एउटा कुवा थियो । पिउने पानीको भाग नपुग्ने । विजुली थिएन, मोटरबाटो थिएन । फोन थिएन । टिभी थिएन । इन्टरनेट थिएन । थियो त केवल ६०/७० घरको बस्ती । गोठभरी गाईभैसी । वर्षैभरी खान पुग्ने खेतीपाती । गाउँमै एउटा मिल, एउटा स्कूल । त्यहि गाउँ हाम्रा लागि सबैभन्दा सुन्दर ठाउँ मान्थ्यौ ।

समय बदलियो । घर–घरमा धारा बने । विजुली बल्यो । मोटर आयो । टिभी चल्यो । हातहातमा मोवाइल र इन्टरनेट । खुशीमाथि खुशी थपिदै थिए ।  

गाउँभरीमा एसएलसी पास गर्ने पहिलो छोरी तिमी । भाइले एसएलसीमा जिल्ला टप गर्यो । घरमा कति धेरै खुशी । गाउँमा कति धेरै उत्साह । 

तिम्रो काठमाडौंमा विवाह हुँदा घरमा कति धेरै खुशी । भाइलाई अमेरिकाले भिषा दिँदा घरमा सबैभन्दा धेरै खुशी । गाउँमा पुग्ने नेताहरु समेत हामीलाई बधाई भन्न पुग्थे । 

तर छोरी । तिमी रहरमा जम्यौ । छोरा विदेश गयो । गाउँबाट खुशी पनि सँगै बाहिरियो । तिमीहरु जस्तै सबैको छोरा छोरी बाहिर । गाउँमा कोही छैन नानी । परार गाउँको पल्टियो । २७ जना एकै पटक गए । अब त गाउँमा ६ घरमा हामी जस्तै बुढाबुढी मात्र छन् । एक वर्ष भो, गाउँमा बस जना छोड्यो, चढ्ने मान्छे नभएर । बाआमासँगै र खशी लिन शंकर गाउँ गारैछ । उसैको जीपमा सिट मागेर विहान आएको । रिङरोडबाट ट्याक्सी लिएर अस्पताल पुग्यौ । धन्न शंकर गाउँ पुगेकोले सजिलै आउन सकियो । 

छोरी, मलाई पैसाको दुःख छैन । भाइले जति भन्यो, त्यति पठाइदिन्छ मोवाइलमा । यसपाली आमा खुवाउने औसीमा मलाई, बा खुवाउने औसीमा बालाई आइफोन पठाइदियो । अस्ती भिडियो कलमा बुबाले सञ्चो भएन भन्नु भो । तत्काल जचाउँन भाइले भन्यो । होलबढी चेकचाँज नर्भिकमा राम्रो हुन्छ भन्या छ । ज्वाइले पनि त्यहि बोलाउनु भयो । रोग पनि पत्ता लाग्ला । उपचार पनि होला ।’

आमाले लामो स्वास फेरिन् । र भनिन्‌–‘तर के गर्नु । घरमा छोराबुहारी छैनन् । नातिनातिना छैनन् । छिमेकीका घरमा पनि ताला लागे । गाउँका घरगोठ सबै खाली । खेतबारी सबै बाँझो । कोही छैन, खेतीपातीमा काम गर्ने मान्छे । 

तिमी त भाग्यमानी छोरी । तिम्रा त छोराछोरी पनि काखमै, श्रीमान पनि साथमै । बस्ती पनि बढ्दै । छिमेकी पनि धनी । छिमेकी कङ्गाल छन् भने आफू धनी भएपनि असुरक्षित हुइन्छ । छिमेकी धनी हुँदा आफू संधैं सुरक्षित भइन्छ छोरी । छिमेकी धनी हुँदा खुशी बन्नुपर्छ । लोभ गर्नु हुन्न ।’

गेटको बेल बज्छ । ज्वाई ससुरा भित्र छिर्छन् । 

‘आमा ! मैले मुक्ति पाएँ । लाग्थ्यो, अघिसम्म म र मेरो परिवार गरिब छ । अहिले म धनी भएँ आमा, साँच्चै । म भाग्यमानी रहेछु । यसपाली सबै सँगै बसेर दशैं मनाउने । बा, आमा, श्रीमान्, छोरा, छोरी, सबै सँगसँगै । आफ्‌नै घरमा, यो सुन्दर सहरमा, आफ्‌नै देशमा ।’

Share News