काठमाडौं । कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण भएको छ ।
कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्थाका अध्यक्ष नरबहादुर बिसी र प्राडा हेमनाथ पौडेललगायतले कृति लोकार्पण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि खनालले ‘पाँचथरे’का कविताले वर्तमान समयको यथार्थ चित्रण गरेको बताए । उनका अनुसार कविताले परिवर्तन र समाजवाद स्थापनाको सन्देशसमेत दिएको छ ।
प्राडा पौडेलले कृतिमा वर्तमान समाजको गतिशील यथार्थ समेटिएको बताए । उनले कविले समाजका विकृति र खराब पक्षमाथि तीखो प्रहार गरेको उल्लेख गरे ।
कृतिकार पाँचथरेले ‘समयको प्रतिबिम्ब’ बारे संक्षिप्त जानकारी दिएका थिए । उनले संग्रहमा रहेको पहिलो कविता ‘इमान’ समेत वाचन गरे ।
साहित्यकार सोइना दाहाल, प्रेम राई परीक्षित र घनबहादुर थापाले पनि संग्रहबाट एक–एक कविता वाचन गरेका थिए । कार्यक्रममा कवि वेदनिधि निरालाले आफ्नै कविता वाचन गरे ।
कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोखाको साहित्य क्षेत्रमा प्रतिनिधिमूलक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
पाँचथरे प्रगतिवादी कविका रूपमा परिचित छन् । उनका कविताले समाजका विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक परिवर्तनको सन्देश दिने प्रयास गरेका छन् ।
‘समयको प्रतिबिम्ब’ पाँचथरेको तेस्रो कविता संग्रह हो । यसअघि उनका ‘खबरदार’ र ‘आँसुको भेल’ कविता संग्रह प्रकाशित भइसकेका छन् ।
संग्रहका अधिकांश कविता अभिधात्मक शैलीमा छन् । केही कवितामा बिम्ब र प्रतीकको प्रयोग गरिएको छ ।