पुस ११ र १२ गते साङ्ग्रिला साहित्य महोत्सव आयोजना हुने, ६ चर्चित लेखक सहभागी हुँदै

काठमाडौं । साहित्य, कला तथा सङ्गीतको उत्सवका रूपमा साङ्ग्रिला साहित्य महोत्सवको पहिलो संस्करण आगामी पुस ११ र १२ गते ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको छ ।

काठमाडौं साङ्ग्रिला फाउन्डेसनको आयोजनामा हुने दुई दिने महोत्सवले साहित्य, कला, सिर्जनशीलता तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । महोत्सवमा लेखक, साहित्यकार, कलाकार, पाठक तथा संस्कृतिप्रेमीलाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा संवाद तथा विचार आदानप्रदान गरिनेछ ।

महोत्सवका निर्देशक केन सुवेदीका अनुसार भारतका ६ जना चर्चित लेखक सहभागी हुनेछन् । सहभागी हुने लेखकमा मनु जोसेफ, रुचिर जोशी, जेरी पिन्टो र सतीश पद्मनाभनलगायत रहेका छन् ।

महोत्सवमा साहित्य, दृश्य कला तथा प्रदर्शनकारी कलासँग सम्बन्धित अन्तरक्रियात्मक सत्र सञ्चालन गरिनेछ । पुस्तक, संस्कृति र समाजका विविध पक्षमा समेत छलफल हुनेछ । संवाद, कलात्मक प्रस्तुति तथा सांगीतिक कार्यक्रममार्फत विभिन्न विधाबीच सहकार्य र अन्तरसम्बन्ध विस्तार गर्ने आयोजकको उद्देश्य छ ।

आयोजकका अनुसार महोत्सवका विषयगत छलफल दुईवटा हलमा एकैसाथ सञ्चालन हुनेछन् । उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने समापन समारोहमा वाद्यवादनसहितको सांगीतिक प्रस्तुति रहनेछ ।

महोत्सवमा पुस्तक प्रदर्शनीका लागि विभिन्न स्टल राखिनेछन् । साथै, पुस्तकमा हस्ताक्षर गर्ने कार्यक्रममार्फत पाठकले लेखकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने अवसर पाउनेछन् ।

महोत्सवका छलफल सत्रमा बालसाहित्य, महिला साहित्य, सीमान्तकृत समुदायको साहित्य, युवा साहित्य, अनुवाद, कृत्रिम बौद्धिकता तथा कवितालगायत विषय समेटिनेछन् ।

नेपालको सांस्कृतिक तथा प्राकृतिक वैभवलाई विश्वसामु चिनाउँदै देश तथा विदेशका साहित्यकार र कलाकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवले पठन संस्कृतिको विकास, सिर्जनात्मक अभिव्यक्तिको प्रवर्द्धन तथा सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि आयोजकले एक वर्षसम्म साहित्यसम्बन्धी संवाद कार्यक्रम ‘साङ्ग्रिला संवाद’ सञ्चालन गरेको थियो । सोही कार्यक्रमको निरन्तरताका रूपमा पहिलो पटक दुई दिने साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा सहभागी हुन प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । कार्यक्रमका विषयवस्तु तथा सहभागी लेखक र कलाकारको विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ ।

Share News