पर्यटक बनेर नेपाल प्रवेश, अपराध गरेर डिपोर्ट

घटना- १ ः एक साताअघि चीन जान लागेको अवस्थामा चिनियाँ नागरिक ७ हजार ५ सय अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे । चाइना स्ट्रन एयरलाइन्सबाट चीनको कुमिनाङ जान लाग्दा मो युलुङ विमानस्थलभित्र चेकजाँचको क्रममा पक्राउ परेका हुन् ।  विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिनसाथ राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको थियो । घटना- २ ः त्रिभुवन विमानस्थलबाट जेठ २८ गते दुई जना बंगलादेशी नागरिक पक्राउ परे । मलेसिया उड्न लागेको अवस्थामा उनीहरूको साथबाट १ हजार अमेरिकी डलर  र २० हजार मलेसियन रिंगेटसहित उनीहरूलाई विमानस्थलका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए । मोहम्मद इन्ताज अली र एमडी जाकिर होसिन पक्राउ परेका थिए । पक्राउ लगत्तै प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । घटना- ३ ः चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो केही समयघि फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेको अवस्थामा पक्राउ परे । वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलरसहित उनी पक्राउ परे । लगतै प्रहरीले पनि नियन्त्रण लिनसाथ राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको थियो । प्रत्येक वर्ष विदेशीहरू पर्यटकको रुपमा नेपालमा भित्रिने गरेका छन् । उत्तिकै संख्यामा पर्यटकको रुपमा भित्रिए पनि अपराधमा उत्तिकै संलग्न भएको पाइएको छ  । पर्यटकका रुपमा आउँदा विभिन्न उद्देश्यसहित विदेशीहरू आउँछन् । केही समयसम्म पर्यटक भिसामा रहे पनि उनीहरू गैह्रकानुनी काममा लाग्ने गरेको पाइएको छ । केही समय हिमाली तथा ग्रामिण भेगमा घुमे पनि बिस्तारै उनीहरूले आफ्नो उद्देश्य परिवर्तन गर्ने गरेको पाइएको छ । पर्यटक भिसाको दुरुपयोग गरेकै कारण उनीहरू प्रहरी हिरासतमा पुग्न थालेका छन् । प्रत्येक वर्ष पर्यटक भिसाको दुरुपयोग गर्ने पर्यटकको संख्या उत्तिकै बढ्दै गइरहेको छ । विदेशीहरू नेपालमा आएर पर्यटक भन्दा पनि अभियुक्त बन्ने गरेको खुलेको छ । विदेशी पर्यटक आफ्नो मुलुकमा पुगेर नेपालको प्राकृतिक दृश्य तथा कला संस्कृतिको प्रचार गर्छन् ।  तर, केही पर्ययटक भने गैह्रकानुनी काम गरी पर्यटक भन्दा पनि अभियुक्त बनेर प्रहरी हिरासत अथवा कारागारामा बस्न थालेका छन् ।  पछिल्लो समय विदेशीहरू नेपालमा आएर विदेशी मुद्रा सञ्चिति तथा बैंकिङ् कसुरमा पक्राउ पर्न थालेका छन् । विदेशी मुद्राहरू अपचलन तथा ओसारपसार संलग्न रहेको आरोपमा विदेशी पर्यटक सामेल हुने गरेको अध्यागमन विभागले जनाएको छ । बैंकिङ कसुरमा तथा विदेशी मुद्रा सञ्चिति मुद्दामा चिनियाँ ८, बंगलादेशी २ र नाइजेरियनलाई प्रहरीले पक्राउ गरेको थियो । विदेशी मुद्रा अपचलन गरेका आरोपमा मुद्दा खेप्ने र मुद्दाको किनारा लागेपछि अध्यागमन विभागले त्यस्ता विदेशी नागरिकलाई डिपोर्ट गरिदिने गरेको छ । एशियन मुलुकका पर्यटकहरू सामान बिक्री गर्न आउने भएकाले उनीहरूका साथबाट विदेशी मुद्रा फेला पर्ने गरेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताए । विमानस्थलमा चेकजाँचको क्रममा विदेशी रकम फेला पर्ने गरेको उनको भनाइ छ । 'बंगलादेशीहरू भने कपडा व्यापारी रहने गरेको खुलेको छ, 'उनले भने, 'कपडा बिक्री गरेर स्वदेश फर्कदा विदेशी रकम साथमा बोकेर लैजाँदा फेला पर्ने गरेको छ ।' कतिपय विदेशीले सुन र कपडा खरिद गर्न विदेशी मुद्रा साथमा लैजाने गरेको उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरूले विदामा फर्कने नेपालीलाई नेपाली पैसा माग गर्ने गरेको सिलवालले खुलाए । विदेशमा रहेका नेपालीले विदामा आएर फर्केका नेपालीसँग पैसा मगाउँने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए । चिनियाँ नागरिकले नेपालमा रहँदा खर्च गर्न नसकेका विदेशी मुद्रा साथमा लैजाने गरेको उनले प्रस्ट पारे । नियम विपरीत पैसा बोकेको पाइएमा प्रहरीले त्यस्ता विदेशी नागरिकलाई नियन्त्रणमा लिने गरेको छ । विदेशी नागरिकले नेपालमा रहँदा अमेरिकन ५ हजार साथमा राख्न पाउँछन् । भारतीय नागरिकले पाँच हजार अमेरिकन डलर बराबरको पैसा साथमा राख्न पाउने व्यवस्था रहेको छ । व्यवसायी र राज्य जिम्मेवारी बनून् विदेशी पर्यटकले नेपालमा अवाञ्छित गतिविधि नगरुन भनेर राज्य जिम्मेवारी बन्नुपर्ने ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी भवी शर्मा बताउँछन् । उनका अनुसार राज्य भित्र रहेका तीन निकायहरुको समन्वयकारी भूमिका हुनुपर्छ ।  अध्यागमन विभाग जिम्मेवार पर्यटकका लागि ट्रयाक सिस्टम लागु गर्ने पर्ने उनले बताए । ‘पर्यटक कता गएर बसेका छन् । कस्ता गतिविधि गर्या छन्रु त्यसको निरन्तर अपडेट तथा भिसाको अवधि कतिसम्म छ भनेर समय-समयमा जानकारी दिनुपर्छ,’ उनले भने ।  शर्माले पर्यटकले गरेका गतिविधिका जानकारी राज्यले निरन्तर राख्नुपर्ने बताए । दैनिक गरेका गतिविधिहरू अपडेट गर्न लगाएमा पर्यटकको सुरक्षा तथा राज्य जिम्मेवारी भएको देखिन सक्ने उनले बताए । पर्यटकलाई लक्षित एप बनाउनु उनले सुझाए ।  व्यवसायीले पनि नाफामुखी भएर पर्यटकले गरेका व्यवहार तथा गतिविधिलाई बेवास्ता गर्न नहुने उनको तर्क छ । पर्यटकले गलत गरेको जस्तो लागेमा व्यवसायीले राज्यलाई सूचना दिएर जिम्मेवारी बन्नुपर्ने उनको भनाइ छ ।  ‘विदेशीलाई नेपाल खुला मुलुक हो । यहाँ आएर जे पनि गर्न पाइन्छ भन्ने भाव छ । त्यस्तो खालको सन्देश जान दिन भएन,’ उनले अगाडि थपे,’ कानुन छ भनेर आभास दिलाउनुपर्छ । जोसुकैलाई भिसा दिनु भएन । विगतमा नेपाल आएर गएको कस्तो रेकर्ड छ त्यसको सम्पूर्ण विवरण हेरेर मात्र भिसा दिनुपर्छ ।‘ राज्य र व्यवसायी सबैभन्दा बढी सजग हुनुपर्ने शर्माले उल्लेख गरे । पर्यटक पनि आफैँ सजग भएमा पर्यटक भिसाको दुरुपयोग रोकिने उनको भनाइ छ । पर्यटकलाई अध्यागमन कानुनको नियमित जानकारी दिनुपर्ने उनले प्रस्ट पारे । पर्यटक भिसाको दुरुपयोग बढ्दै पर्यटक भिसामा नेपाल प्रवेश गरी अध्यागमन कानुन विपरीत कार्य गरेकालाई आवश्यक कानुनी कारबाही गरी निष्कास गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् । केही समयका लागि नेपाल प्रवेशको रोक लगाइ उनीहरूलाई आफ्नो मुलुक पठाउने गरिएको उनको भनाइ छ ।  उनका अनुसार पर्यटकहरू बैंकिङ कसुर, विदेशी मुद्रा अपचलन, ओभर स्टे, लागु औषध कारोबारी,  जाली राहदानी-जाली भिसा, मानवबेचबिखन ‌ओसारपसार, बिना राहदानी नेपाल प्रवेश गर्ने गरेका र ठगी जस्ता मुद्दामा पर्यटकहरूं पर्छन् । उनीहरूलाई नेपालको कानुन बमोजिम कारबाही गरी डिपोर्ट गरिएको छ ।  डिपोर्टमा पर्ने विदेशीहरूमा चीन, बंगलादेश, अमेरिका, बेलायत र पाकिस्तानका नागरिकहरू रहने गरेको ढकालले विकासन्युजलाई जानकारी दिए । अन्य मुलुकका पनि नागरिकहरू निष्काशनमा पर्ने गरेको उनको भनाइ छ । अध्यागमन कानुनको उल्लंघन गर्ने सबै पर्यटकलाई कानुन बमोजिम कारबाही गरिएको ढकालको भनाइ छ । केही वर्ष नेपाल आउन प्रतिबन्ध लगाइने उनले बताए ।  अध्यागमन विभागका अनुसार पाँच वर्षमा विभिन्न मुलुकका गरेर २ हजार २४५ पर्यटक नेपालबाट डिपोर्ट भएका छन् । उनीहरू विभिन्न किसिमका अपराधमा संलग्न भएका थिए । प्रत्येक वर्ष अध्यागमनका नियम उल्लंघन गर्ने पर्यटकको संख्या बढ्दै गएका छन् ।  सन् २०२५ मा ओभरस्टेमा ४५९, विभिन्न मुद्दा परेर ६४ जना गरेर ५ सय २३ जना डिपोर्ट भएका थिए । सन् २०२४ मा ओभरस्टे ४५१, विभिन्न मुद्दामा ५० जना कुल ५ सय १ जना, सन् २०२३ मा ४१२ ओभरस्टे, ४६ मुद्दा र कुल ४५८ जना डिपोर्ट भएका थिए ।  त्यसैगरी, सन् २०२२ मा ओभरस्टे ५३४, मुद्दामा परेका ३६ जना र कुल ५७० जना डिपोर्ट भएका र सन् २०२१ मा १९३ जना ओभरस्टे, २५ मुद्दा र १९३ जना डिपोर्ट भएका थिए । विदेशी भिसादारी पर्यटकहरू नेपालमा एक वर्षमा १ सय ५० दिन बस्न पाउने छन् । पर्यटकले पटक-पटक भिसा थप गर्न पाउँछन् । पहिलोपटक १५ दिन, दोस्रो पटक ३० र अन्तिम पटक ९० दिनको भिसा थप गर्न पाउने व्यवस्था रहेको छ ।  

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]

काठमाडौं । जारी विश्वकपमा अब ३२ टोली मात्र बाँकी छन् । समूह चरणका ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण तय भएको छ ।  १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी ३२ टोली फुटबलको सबैभन्दा ठूलो उपाधिको होडमा छन् । गएरातिबाटै नकआउट चरण सुरु भएको छ । पहिलो नकआउट चरणको खेलमा आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको छ ।  अप्टा सुपरकम्प्युटरले प्रतियोगिताको बाँकी यात्राबारे नयाँ भविष्यवाणी सार्वजनिक गरेको छ ।  ३२ टोलीको चरणदेखि फाइनलसम्मको सम्भावित नतिजा अनुमान गर्न सुपरकम्प्युटरले प्रतियोगितालाई २५ हजार पटक सिमुलेसन गरेको हो । यसका आधारमा प्रत्येक टोलीले हरेक चरण पार गर्ने तथा अन्ततः विश्वकप जित्ने सम्भावना निर्धारण गरिएको छ । यसपटकको विस्तारित ढाँचाअनुसार आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउट चरणमा स्थान बनाए । यसले समूह चरणको प्रतिस्पर्धात्मक दबाब केही घटाएको देखिएको छ । समूह चरणबाट बाहिरिने ठूला टोलीमध्ये उरुग्वे मात्र प्रमुख नाम रह्यो । प्रतियोगिता सुरु हुनुअघि उपाधिका दाबेदार मानिएका अधिकांश टोली नकआउट चरणमा पुगेका छन् । यद्यपि उनीहरूको आगामी यात्रा निकै फरक बनेको छ । ३२ टोलीको चरणका खेलहरू निश्चित भइसकेपछि अब अप्टा सुपरकम्प्युटरले जुलाई १९ मा उपाधि जित्ने सबैभन्दा बलिया दाबेदार को हुन् भन्ने प्रक्षेपण सार्वजनिक गरेको छ । फ्रान्स शीर्ष दाबेदार प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई १३ प्रतिशत सम्भावनासहित दोस्रो दाबेदार मानिएको थियो । तर उत्कृष्ट समूह चरणपछि उसले १८.७ प्रतिशत सम्भावनासहित पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली टोली बनेको छ । अर्जेन्टिना र मेक्सिकोसँगै समूह चरणका तीनवटै खेल जित्ने तीन टोलीमध्ये फ्रान्स पनि एक हो । सन् १९९८ को घरेलु विश्वकपपछि पहिलोपटक फ्रान्सले कुनै ठूलो प्रतियोगिताको समूह चरणका सबै खेल जितेको हो । त्यही विश्वकपमा उसले उपाधि पनि जितेको थियो । सुपरकम्प्युटरका अनुसार फ्रान्सले ३२ टोलीको चरणमा स्विडेनलाई हराउने अपेक्षा गरिएको छ । त्यसपछि क्वार्टरफाइनलमा जर्मनीसँग भिड्ने सम्भावना बलियो देखिएको छ । त्यसपछिको यात्रा केही सहज देखिए पनि सेमिफाइनलमा स्पेनसँग भेट हुन सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनालाई अनुकूल ड्र ड्रबाट सबैभन्दा धेरै फाइदा उठाएको टोली अर्जेन्टिना बनेको छ । लियोनेल स्कालोनीको टोली अहिले १६.३ प्रतिशत सम्भावनासहित दोस्रो ठूलो दाबेदार बनेको छ । केप भर्डेको ऐतिहासिक यात्रा प्रतियोगिताकै आकर्षक कथामध्ये एक बने पनि अर्जेन्टिनाको दृष्टिकोणबाट हेर्दा ३२ टोलीको चरणको प्रतिस्पर्धा निकै सहज देखिएको छ । अर्जेन्टिनाले यो चरण पार गरेमा अन्तिम १६ मा अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्ने सम्भावना छ । त्यसपछि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, अल्जेरिया, कोलम्बिया वा घानामध्ये कुनै एक टोलीसँग भेट हुन सक्छ । सुपरकम्प्युटरका अनुसार अर्जेन्टिनाले वास्तविक बलियो प्रतिद्वन्द्वीको सामना सम्भवतः सेमिफाइनलमा मात्र गर्नेछ, जहाँ ब्राजिल वा इङ्ग्ल्यान्ड प्रतिद्वन्द्वी बन्न सक्छन् । स्पेन अझै उपाधिको बलियो प्रतिस्पर्धी प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई सबैभन्दा ठूलो दाबेदार मानिएको थियो । अहिले उसको सम्भावना घटेर १३.५ प्रतिशतमा झरे पनि उपाधिका प्रमुख दाबेदारमध्ये एकको रूपमा कायम छ । अन्तिम १६ मा पोर्चुगलसँग सम्भावित भेट निकै कठिन हुने अपेक्षा गरिएको छ । यद्यपि त्यस खेलमा पनि स्पेनलाई नै अग्रता दिइएको छ । यदि स्पेन अघि बढेमा क्वार्टरफाइनलमा अमेरिका, बोस्निया–हर्जेगोभिना, बेल्जियम वा सेनेगलमध्ये एक टोलीसँग खेल्नुपर्नेछ । इङ्ग्ल्यान्डको कठिन यात्रा नयाँ प्रक्षेपणअनुसार इङ्ग्ल्यान्डको विश्वकप जित्ने सम्भावना ९.७ प्रतिशत रहेको छ । ३२ टोलीको चरणमा उसले डीआर कङ्गोलाई हराउने प्रबल सम्भावना देखाइएको छ । तर त्यसपछि इङ्ग्ल्यान्डको यात्रा निकै कठिन हुने अनुमान गरिएको छ । अन्तिम १६ मा मेक्सिकोसँग एज्टेका रंगशालामा सम्भावित भेट र त्यसपछि क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्डले ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन (१० जित र १ बराबरी) । तर समूह चरणमा देखिएको अस्थिर प्रदर्शनमा सुधार आवश्यक रहेको सुपरकम्प्युटरको विश्लेषण छ। ब्राजिल स्थिर, नेदरल्यान्ड्सको सम्भावना बढ्यो ब्राजिलको सम्भावनामा खासै परिवर्तन आएको छैन । प्रतियोगिता सुरु हुँदा उसलाई ६.६ प्रतिशत सम्भावना दिइएको थियो भने अहिले ६.५ प्रतिशत रहेको छ । यता नेदरल्यान्ड्सले भने उत्कृष्ट समूह चरणपछि आफ्नो सम्भावना बढाएको छ। प्रतियोगिता सुरु हुनुअघि ३.६ प्रतिशत रहेको सम्भावना अहिले ५.१ प्रतिशत पुगेको छ । समूह चरणमा नेदरल्यान्ड्सले १० गोल गरेको थियो, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै सर्वाधिक गोल संख्या (सन् २०१४ बराबरी) हो । यसले प्रतियोगितामा सबैभन्दा आकर्षक आक्रमणात्मक खेल प्रस्तुत गर्ने टोलीमध्ये आफूलाई स्थापित गरेको छ । आयोजक तीनै टोली अझै प्रतिस्पर्धामा सुपरकम्प्युटरको प्रक्षेपणअनुसार तीनै सह–आयोजक राष्ट्र अझै प्रतियोगितामा टिक्ने सम्भावना राख्छन् । उनीहरू सबै ३२ टोलीको चरण पार गर्ने अपेक्षा गरिएको भए पनि त्यसपछिको यात्रा भने सहज देखिएको छैन । तीन आयोजकमध्ये अमेरिकालाई क्वार्टरफाइनल पुग्ने सबैभन्दा धेरै ४२.५ प्रतिशत सम्भावना दिइएको छ । मेक्सिकोको सम्भावना २८.३ प्रतिशत रहेको छ भने क्यानडालाई अन्तिम आठमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ ।

अलपत्र ‘ओ एण्ड एम’

काठमाडौं । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट १८ मा झार्ने निर्णय गर्नुअघि नै कर्मचारी तथा संगठन व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) सुरु गरेको भए पनि तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन । सरकारले मन्त्रालयको नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन, दरबन्दी पुनर्संरचना तथा प्रशासनिक संयन्त्रलाई व्यवस्थित बनाउन ओ एण्ड एम सर्वेक्षण सुरु गरेको थियो । प्रारम्भिक कार्यतालिका अनुसार असार ७ गतेभित्र प्रतिवेदन टुंग्याएर कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको थियो । तर, सम्बन्धित मन्त्रालयहरूले समयमै प्रतिवेदन नबुझाउँदा प्रक्रिया लम्बिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रतिवेदन अझै अन्तिम रूपमै पुगेको छैन । यसका कारण नयाँ संगठन संरचना कार्यान्वयन र कर्मचारी व्यवस्थापनको काम समेत प्रभावित बनेको छ । यसअघि २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायमा ओ एण्ड एम सर्वेक्षण सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको थियो । सोही निर्णयलाई आधार बनाएर सरकारी निकायहरूको संगठन संरचना, दरबन्दी पुनरावलोकन तथा कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको थियो । त्यसको करिब एक महिनापछि, २०८३ वैशाख ३० गते, मन्त्रिपरिषद्ले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय गरेको थियो । मन्त्रालयको संख्या घटाउने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ओ एण्ड एम सर्वेक्षणलाई कार्यान्वयन चरणमा प्रवेश गराएको थियो । यसअन्तर्गत प्रत्येक मन्त्रालय र निकायको नयाँ संगठन संरचना तयार गर्ने, दरबन्दी पुनःनिर्धारण गर्ने, शाखा तथा महाशाखाको पुनर्गठन गर्ने, कर्मचारी समायोजन गर्ने तथा आवश्यकताभन्दा बढी हुने कर्मचारीको व्यवस्थापन गर्ने कार्य अघि बढाइएको छ । सरकारी अधिकारीहरूका अनुसार ओ एण्ड एम सर्वेक्षणको मुख्य उद्देश्य मन्त्रालय पुनर्संरचनापछि बन्ने प्रशासनिक संरचनालाई व्यवस्थित बनाउनु, आवश्यक जनशक्तिको यथार्थ आवश्यकता निर्धारण गर्नु, दोहोरो जिम्मेवारी तथा संरचना हटाउनु र सरकारी संयन्त्रलाई थप चुस्त, प्रभावकारी तथा खर्चिलोपन घटाउने बनाउनु हो । यद्यपि, निर्धारित समयभित्र सबै मन्त्रालयबाट प्रतिवेदन प्राप्त हुन नसक्दा सरकारको पुनर्संरचना योजना अपेक्षाअनुसार अघि बढ्न सकेको छैन । ओ एण्ड एम प्रतिवेदनलाई अन्तिम रूप नदिदासम्म नयाँ दरबन्दी स्वीकृत गर्ने, कर्मचारी सरुवा तथा समायोजन गर्ने र मन्त्रालयको पुनर्गठित संरचनालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान कठिन हुने देखिएको छ । संघीय मन्त्रालयको संख्या १८ मा झार्ने औपचारिक निर्णय २०८३ वैशाख ३० गते भए पनि त्यसको आधार तयार गर्ने ओ एण्ड एम प्रक्रिया भने २०८२ चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाटै सुरु भइसकेको थियो । तर, सरकारले निर्धारण गरेको समयसीमाभित्र प्रक्रिया सम्पन्न हुन नसक्दा मन्त्रालय पुनर्संरचनासँग जोडिएका कर्मचारी व्यवस्थापनका कामहरू अझै अन्योलमै रहेका छन् ।