यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]

काठमाडौं । जारी विश्वकपमा अब ३२ टोली मात्र बाँकी छन् । समूह चरणका ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण तय भएको छ ।  १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी ३२ टोली फुटबलको सबैभन्दा ठूलो उपाधिको होडमा छन् ।

गएरातिबाटै नकआउट चरण सुरु भएको छ । पहिलो नकआउट चरणको खेलमा आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १० ले पराजित गरेको छ । 

अप्टा सुपरकम्प्युटरले प्रतियोगिताको बाँकी यात्राबारे नयाँ भविष्यवाणी सार्वजनिक गरेको छ । 

३२ टोलीको चरणदेखि फाइनलसम्मको सम्भावित नतिजा अनुमान गर्न सुपरकम्प्युटरले प्रतियोगितालाई २५ हजार पटक सिमुलेसन गरेको हो । यसका आधारमा प्रत्येक टोलीले हरेक चरण पार गर्ने तथा अन्ततः विश्वकप जित्ने सम्भावना निर्धारण गरिएको छ ।

यसपटकको विस्तारित ढाँचाअनुसार आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउट चरणमा स्थान बनाए । यसले समूह चरणको प्रतिस्पर्धात्मक दबाब केही घटाएको देखिएको छ । समूह चरणबाट बाहिरिने ठूला टोलीमध्ये उरुग्वे मात्र प्रमुख नाम रह्यो ।

प्रतियोगिता सुरु हुनुअघि उपाधिका दाबेदार मानिएका अधिकांश टोली नकआउट चरणमा पुगेका छन् । यद्यपि उनीहरूको आगामी यात्रा निकै फरक बनेको छ ।

३२ टोलीको चरणका खेलहरू निश्चित भइसकेपछि अब अप्टा सुपरकम्प्युटरले जुलाई १९ मा उपाधि जित्ने सबैभन्दा बलिया दाबेदार को हुन् भन्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।

फ्रान्स शीर्ष दाबेदार

प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई १३ प्रतिशत सम्भावनासहित दोस्रो दाबेदार मानिएको थियो । तर उत्कृष्ट समूह चरणपछि उसले १८.७ प्रतिशत सम्भावनासहित पहिलो स्थानमा उक्लिएको छ ।

फ्रान्स प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली टोली बनेको छ । अर्जेन्टिना र मेक्सिकोसँगै समूह चरणका तीनवटै खेल जित्ने तीन टोलीमध्ये फ्रान्स पनि एक हो । सन् १९९८ को घरेलु विश्वकपपछि पहिलोपटक फ्रान्सले कुनै ठूलो प्रतियोगिताको समूह चरणका सबै खेल जितेको हो । त्यही विश्वकपमा उसले उपाधि पनि जितेको थियो ।

सुपरकम्प्युटरका अनुसार फ्रान्सले ३२ टोलीको चरणमा स्विडेनलाई हराउने अपेक्षा गरिएको छ । त्यसपछि क्वार्टरफाइनलमा जर्मनीसँग भिड्ने सम्भावना बलियो देखिएको छ । त्यसपछिको यात्रा केही सहज देखिए पनि सेमिफाइनलमा स्पेनसँग भेट हुन सक्ने अनुमान गरिएको छ ।

अर्जेन्टिनालाई अनुकूल ड्र

ड्रबाट सबैभन्दा धेरै फाइदा उठाएको टोली अर्जेन्टिना बनेको छ । लियोनेल स्कालोनीको टोली अहिले १६.३ प्रतिशत सम्भावनासहित दोस्रो ठूलो दाबेदार बनेको छ ।

केप भर्डेको ऐतिहासिक यात्रा प्रतियोगिताकै आकर्षक कथामध्ये एक बने पनि अर्जेन्टिनाको दृष्टिकोणबाट हेर्दा ३२ टोलीको चरणको प्रतिस्पर्धा निकै सहज देखिएको छ । अर्जेन्टिनाले यो चरण पार गरेमा अन्तिम १६ मा अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्ने सम्भावना छ । त्यसपछि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, अल्जेरिया, कोलम्बिया वा घानामध्ये कुनै एक टोलीसँग भेट हुन सक्छ ।

सुपरकम्प्युटरका अनुसार अर्जेन्टिनाले वास्तविक बलियो प्रतिद्वन्द्वीको सामना सम्भवतः सेमिफाइनलमा मात्र गर्नेछ, जहाँ ब्राजिल वा इङ्ग्ल्यान्ड प्रतिद्वन्द्वी बन्न सक्छन् ।

स्पेन अझै उपाधिको बलियो प्रतिस्पर्धी

प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई सबैभन्दा ठूलो दाबेदार मानिएको थियो । अहिले उसको सम्भावना घटेर १३.५ प्रतिशतमा झरे पनि उपाधिका प्रमुख दाबेदारमध्ये एकको रूपमा कायम छ ।

अन्तिम १६ मा पोर्चुगलसँग सम्भावित भेट निकै कठिन हुने अपेक्षा गरिएको छ । यद्यपि त्यस खेलमा पनि स्पेनलाई नै अग्रता दिइएको छ । यदि स्पेन अघि बढेमा क्वार्टरफाइनलमा अमेरिका, बोस्निया–हर्जेगोभिना, बेल्जियम वा सेनेगलमध्ये एक टोलीसँग खेल्नुपर्नेछ ।

इङ्ग्ल्यान्डको कठिन यात्रा

नयाँ प्रक्षेपणअनुसार इङ्ग्ल्यान्डको विश्वकप जित्ने सम्भावना ९.७ प्रतिशत रहेको छ । ३२ टोलीको चरणमा उसले डीआर कङ्गोलाई हराउने प्रबल सम्भावना देखाइएको छ ।

तर त्यसपछि इङ्ग्ल्यान्डको यात्रा निकै कठिन हुने अनुमान गरिएको छ । अन्तिम १६ मा मेक्सिकोसँग एज्टेका रंगशालामा सम्भावित भेट र त्यसपछि क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने सम्भावना रहेको छ ।

प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्डले ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन (१० जित र १ बराबरी) । तर समूह चरणमा देखिएको अस्थिर प्रदर्शनमा सुधार आवश्यक रहेको सुपरकम्प्युटरको विश्लेषण छ।

ब्राजिल स्थिर, नेदरल्यान्ड्सको सम्भावना बढ्यो

ब्राजिलको सम्भावनामा खासै परिवर्तन आएको छैन । प्रतियोगिता सुरु हुँदा उसलाई ६.६ प्रतिशत सम्भावना दिइएको थियो भने अहिले ६.५ प्रतिशत रहेको छ ।

यता नेदरल्यान्ड्सले भने उत्कृष्ट समूह चरणपछि आफ्नो सम्भावना बढाएको छ। प्रतियोगिता सुरु हुनुअघि ३.६ प्रतिशत रहेको सम्भावना अहिले ५.१ प्रतिशत पुगेको छ ।

समूह चरणमा नेदरल्यान्ड्सले १० गोल गरेको थियो, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै सर्वाधिक गोल संख्या (सन् २०१४ बराबरी) हो । यसले प्रतियोगितामा सबैभन्दा आकर्षक आक्रमणात्मक खेल प्रस्तुत गर्ने टोलीमध्ये आफूलाई स्थापित गरेको छ ।

आयोजक तीनै टोली अझै प्रतिस्पर्धामा

सुपरकम्प्युटरको प्रक्षेपणअनुसार तीनै सह–आयोजक राष्ट्र अझै प्रतियोगितामा टिक्ने सम्भावना राख्छन् । उनीहरू सबै ३२ टोलीको चरण पार गर्ने अपेक्षा गरिएको भए पनि त्यसपछिको यात्रा भने सहज देखिएको छैन ।

तीन आयोजकमध्ये अमेरिकालाई क्वार्टरफाइनल पुग्ने सबैभन्दा धेरै ४२.५ प्रतिशत सम्भावना दिइएको छ । मेक्सिकोको सम्भावना २८.३ प्रतिशत रहेको छ भने क्यानडालाई अन्तिम आठमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ ।

Share News