घटना- १ ः एक साताअघि चीन जान लागेको अवस्थामा चिनियाँ नागरिक ७ हजार ५ सय अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे । चाइना स्ट्रन एयरलाइन्सबाट चीनको कुमिनाङ जान लाग्दा मो युलुङ विमानस्थलभित्र चेकजाँचको क्रममा पक्राउ परेका हुन् ।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई नियन्त्रणमा लिनसाथ राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाएको थियो ।
घटना- २ ः त्रिभुवन विमानस्थलबाट जेठ २८ गते दुई जना बंगलादेशी नागरिक पक्राउ परे । मलेसिया उड्न लागेको अवस्थामा उनीहरूको साथबाट १ हजार अमेरिकी डलर र २० हजार मलेसियन रिंगेटसहित उनीहरूलाई विमानस्थलका सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका थिए । मोहम्मद इन्ताज अली र एमडी जाकिर होसिन पक्राउ परेका थिए । पक्राउ लगत्तै प्रहरीले उनीहरूलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।
घटना- ३ ः चिनियाँ नागरिक २२ वर्षीय मी वेङ्हो केही समयघि फ्लाई दुबईको उडानमार्फत काठमाडौंबाट यूएई जान लागेको अवस्थामा पक्राउ परे ।
वेङ्होको साथबाट १० लाख ४२ हजार जापानिज यान र ५ सय ८० अमेरिकी डलरसहित उनी पक्राउ परे । लगतै प्रहरीले पनि नियन्त्रण लिनसाथ राजश्व अनुसन्धान विभागको कार्यालयमा पठाएको थियो ।
प्रत्येक वर्ष विदेशीहरू पर्यटकको रुपमा नेपालमा भित्रिने गरेका छन् । उत्तिकै संख्यामा पर्यटकको रुपमा भित्रिए पनि अपराधमा उत्तिकै संलग्न भएको पाइएको छ ।
पर्यटकका रुपमा आउँदा विभिन्न उद्देश्यसहित विदेशीहरू आउँछन् । केही समयसम्म पर्यटक भिसामा रहे पनि उनीहरू गैह्रकानुनी काममा लाग्ने गरेको पाइएको छ ।
केही समय हिमाली तथा ग्रामिण भेगमा घुमे पनि बिस्तारै उनीहरूले आफ्नो उद्देश्य परिवर्तन गर्ने गरेको पाइएको छ । पर्यटक भिसाको दुरुपयोग गरेकै कारण उनीहरू प्रहरी हिरासतमा पुग्न थालेका छन् । प्रत्येक वर्ष पर्यटक भिसाको दुरुपयोग गर्ने पर्यटकको संख्या उत्तिकै बढ्दै गइरहेको छ ।
विदेशीहरू नेपालमा आएर पर्यटक भन्दा पनि अभियुक्त बन्ने गरेको खुलेको छ । विदेशी पर्यटक आफ्नो मुलुकमा पुगेर नेपालको प्राकृतिक दृश्य तथा कला संस्कृतिको प्रचार गर्छन् ।
तर, केही पर्ययटक भने गैह्रकानुनी काम गरी पर्यटक भन्दा पनि अभियुक्त बनेर प्रहरी हिरासत अथवा कारागारामा बस्न थालेका छन् ।
पछिल्लो समय विदेशीहरू नेपालमा आएर विदेशी मुद्रा सञ्चिति तथा बैंकिङ् कसुरमा पक्राउ पर्न थालेका छन् । विदेशी मुद्राहरू अपचलन तथा ओसारपसार संलग्न रहेको आरोपमा विदेशी पर्यटक सामेल हुने गरेको अध्यागमन विभागले जनाएको छ ।
बैंकिङ कसुरमा तथा विदेशी मुद्रा सञ्चिति मुद्दामा चिनियाँ ८, बंगलादेशी २ र नाइजेरियनलाई प्रहरीले पक्राउ गरेको थियो । विदेशी मुद्रा अपचलन गरेका आरोपमा मुद्दा खेप्ने र मुद्दाको किनारा लागेपछि अध्यागमन विभागले त्यस्ता विदेशी नागरिकलाई डिपोर्ट गरिदिने गरेको छ ।
एशियन मुलुकका पर्यटकहरू सामान बिक्री गर्न आउने भएकाले उनीहरूका साथबाट विदेशी मुद्रा फेला पर्ने गरेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले बताए । विमानस्थलमा चेकजाँचको क्रममा विदेशी रकम फेला पर्ने गरेको उनको भनाइ छ ।
'बंगलादेशीहरू भने कपडा व्यापारी रहने गरेको खुलेको छ, 'उनले भने, 'कपडा बिक्री गरेर स्वदेश फर्कदा विदेशी रकम साथमा बोकेर लैजाँदा फेला पर्ने गरेको छ ।' कतिपय विदेशीले सुन र कपडा खरिद गर्न विदेशी मुद्रा साथमा लैजाने गरेको उनको भनाइ छ ।
विदेशमा रहेका नेपालीहरूले विदामा फर्कने नेपालीलाई नेपाली पैसा माग गर्ने गरेको सिलवालले खुलाए । विदेशमा रहेका नेपालीले विदामा आएर फर्केका नेपालीसँग पैसा मगाउँने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको उनले बताए ।
चिनियाँ नागरिकले नेपालमा रहँदा खर्च गर्न नसकेका विदेशी मुद्रा साथमा लैजाने गरेको उनले प्रस्ट पारे । नियम विपरीत पैसा बोकेको पाइएमा प्रहरीले त्यस्ता विदेशी नागरिकलाई नियन्त्रणमा लिने गरेको छ ।
विदेशी नागरिकले नेपालमा रहँदा अमेरिकन ५ हजार साथमा राख्न पाउँछन् । भारतीय नागरिकले पाँच हजार अमेरिकन डलर बराबरको पैसा साथमा राख्न पाउने व्यवस्था रहेको छ ।
व्यवसायी र राज्य जिम्मेवारी बनून्
विदेशी पर्यटकले नेपालमा अवाञ्छित गतिविधि नगरुन भनेर राज्य जिम्मेवारी बन्नुपर्ने ठमेल पर्यटन विकास परिषदका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी भवी शर्मा बताउँछन् । उनका अनुसार राज्य भित्र रहेका तीन निकायहरुको समन्वयकारी भूमिका हुनुपर्छ ।
अध्यागमन विभाग जिम्मेवार पर्यटकका लागि ट्रयाक सिस्टम लागु गर्ने पर्ने उनले बताए । ‘पर्यटक कता गएर बसेका छन् । कस्ता गतिविधि गर्या छन्रु त्यसको निरन्तर अपडेट तथा भिसाको अवधि कतिसम्म छ भनेर समय-समयमा जानकारी दिनुपर्छ,’ उनले भने ।
शर्माले पर्यटकले गरेका गतिविधिका जानकारी राज्यले निरन्तर राख्नुपर्ने बताए । दैनिक गरेका गतिविधिहरू अपडेट गर्न लगाएमा पर्यटकको सुरक्षा तथा राज्य जिम्मेवारी भएको देखिन सक्ने उनले बताए । पर्यटकलाई लक्षित एप बनाउनु उनले सुझाए ।
व्यवसायीले पनि नाफामुखी भएर पर्यटकले गरेका व्यवहार तथा गतिविधिलाई बेवास्ता गर्न नहुने उनको तर्क छ । पर्यटकले गलत गरेको जस्तो लागेमा व्यवसायीले राज्यलाई सूचना दिएर जिम्मेवारी बन्नुपर्ने उनको भनाइ छ ।
‘विदेशीलाई नेपाल खुला मुलुक हो । यहाँ आएर जे पनि गर्न पाइन्छ भन्ने भाव छ । त्यस्तो खालको सन्देश जान दिन भएन,’ उनले अगाडि थपे,’ कानुन छ भनेर आभास दिलाउनुपर्छ । जोसुकैलाई भिसा दिनु भएन । विगतमा नेपाल आएर गएको कस्तो रेकर्ड छ त्यसको सम्पूर्ण विवरण हेरेर मात्र भिसा दिनुपर्छ ।‘
राज्य र व्यवसायी सबैभन्दा बढी सजग हुनुपर्ने शर्माले उल्लेख गरे । पर्यटक पनि आफैँ सजग भएमा पर्यटक भिसाको दुरुपयोग रोकिने उनको भनाइ छ । पर्यटकलाई अध्यागमन कानुनको नियमित जानकारी दिनुपर्ने उनले प्रस्ट पारे ।
पर्यटक भिसाको दुरुपयोग बढ्दै
पर्यटक भिसामा नेपाल प्रवेश गरी अध्यागमन कानुन विपरीत कार्य गरेकालाई आवश्यक कानुनी कारबाही गरी निष्कास गरिएको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकाल बताउँछन् । केही समयका लागि नेपाल प्रवेशको रोक लगाइ उनीहरूलाई आफ्नो मुलुक पठाउने गरिएको उनको भनाइ छ ।
उनका अनुसार पर्यटकहरू बैंकिङ कसुर, विदेशी मुद्रा अपचलन, ओभर स्टे, लागु औषध कारोबारी, जाली राहदानी-जाली भिसा, मानवबेचबिखन ओसारपसार, बिना राहदानी नेपाल प्रवेश गर्ने गरेका र ठगी जस्ता मुद्दामा पर्यटकहरूं पर्छन् । उनीहरूलाई नेपालको कानुन बमोजिम कारबाही गरी डिपोर्ट गरिएको छ ।
डिपोर्टमा पर्ने विदेशीहरूमा चीन, बंगलादेश, अमेरिका, बेलायत र पाकिस्तानका नागरिकहरू रहने गरेको ढकालले विकासन्युजलाई जानकारी दिए । अन्य मुलुकका पनि नागरिकहरू निष्काशनमा पर्ने गरेको उनको भनाइ छ ।
अध्यागमन कानुनको उल्लंघन गर्ने सबै पर्यटकलाई कानुन बमोजिम कारबाही गरिएको ढकालको भनाइ छ । केही वर्ष नेपाल आउन प्रतिबन्ध लगाइने उनले बताए ।
अध्यागमन विभागका अनुसार पाँच वर्षमा विभिन्न मुलुकका गरेर २ हजार २४५ पर्यटक नेपालबाट डिपोर्ट भएका छन् । उनीहरू विभिन्न किसिमका अपराधमा संलग्न भएका थिए । प्रत्येक वर्ष अध्यागमनका नियम उल्लंघन गर्ने पर्यटकको संख्या बढ्दै गएका छन् ।
सन् २०२५ मा ओभरस्टेमा ४५९, विभिन्न मुद्दा परेर ६४ जना गरेर ५ सय २३ जना डिपोर्ट भएका थिए । सन् २०२४ मा ओभरस्टे ४५१, विभिन्न मुद्दामा ५० जना कुल ५ सय १ जना, सन् २०२३ मा ४१२ ओभरस्टे, ४६ मुद्दा र कुल ४५८ जना डिपोर्ट भएका थिए ।
त्यसैगरी, सन् २०२२ मा ओभरस्टे ५३४, मुद्दामा परेका ३६ जना र कुल ५७० जना डिपोर्ट भएका र सन् २०२१ मा १९३ जना ओभरस्टे, २५ मुद्दा र १९३ जना डिपोर्ट भएका थिए ।
विदेशी भिसादारी पर्यटकहरू नेपालमा एक वर्षमा १ सय ५० दिन बस्न पाउने छन् । पर्यटकले पटक-पटक भिसा थप गर्न पाउँछन् । पहिलोपटक १५ दिन, दोस्रो पटक ३० र अन्तिम पटक ९० दिनको भिसा थप गर्न पाउने व्यवस्था रहेको छ ।