काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको ओशो वर्ल्ड ट्राभल नेपाल प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा झण्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले उक्त अवधिमा ९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।
यो आम्दानी अघिल्लो वर्षको तुलनामा २.८० प्रतिशत अर्थात् २३ करोड १० लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ६६ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर बढ्दो क्रममा रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ११ करोड ४० लाख रुपैयाँ, आव २०७७/७८ मा १ अर्ब २२ करोड ६० लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ९३ करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ र आव २०७४/७५ मा ३ अर्ब ६४ करोड २० लाख रुपैयाँ बराबरको हवाई टिकेट बिक्री गरेको थियो ।
सन् १९९१ नोभेम्बरमा स्थापना भएको ओशो वर्ल्ड ट्राभल नेपालका पुराना अन्तर्राष्ट्रिय हवाई टिकटिङ कम्पनी एक हो । अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट मान्यता प्राप्त कम्पनीले नेपाल एयरलाइन्स, थाई एयरवेज, गल्फ एयर, एतिहाद एयरवेज, कतार एयरवेज, ओमान एयर, एयर अरेबिया, एयर इन्डियालगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको टिकट बिक्री तथा बुकिङ सेवा प्रदान गर्दै आएको छ ।
काठमाडौंस्थित केन्द्रीय कार्यालय रहेको कम्पनीमा प्रबन्ध निर्देशक श्यामराज थपलियाको ९० प्रतिशत तथा उनकी श्रीमती राखी थपलियाको १० प्रतिशत सेयर स्वामित्व रहेको छ । तीन दशकभन्दा लामो अनुभव र स्थापित एजेन्सी सञ्जालका कारण कम्पनीले नेपाली बजारमा राम्रो पहिचान बनाएको दाबी गरेको छ ।
यद्यपि कारोबार बढ्दै गए पनि कम्पनीको नाफा मार्जिन भने निकै न्यून छ । गत आर्थिक वर्ष सञ्चालन नाफा मार्जिन करिब ०.५ प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ । हवाई टिकटिङ क्षेत्रमा तीव्र प्रतिस्पर्धा र कम कमिसनका कारण नाफा सीमित भएको कम्पनीको भनाइ छ ।
कार्यशील पुँजी व्यवस्थापन पनि कम्पनीका लागि चुनौतीपूर्ण बनेको छ । ग्राहकबाट भुक्तानी उठाउन औसत ३० दिन लाग्ने गरेको छ भने एयरलाइन्स तथा अन्य आपूर्तिकर्तालाई औसत १५ दिनभित्रै भुक्तानी गर्नुपर्ने भएकाले नगद प्रवाहमा दबाब परेको कम्पनीले जनाएको छ । यही कारण कम्पनी कार्यशील पुँजीका लागि बैंक ऋणमा निर्भर छ ।
हाल कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २० करोड २५ लाख रुपैयाँ ऋण लिएको छ। यसमध्ये १३ करोड २५ लाख रुपैयाँ दीर्घकालीन तथा १ अर्ब ७ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
गत आर्थिक वर्ष कम्पनीको कुल ऋण तथा खुद सम्पत्ति अनुपात २.७ गुणा र कुल बाह्य दायित्व तथा खुद सम्पत्ति अनुपात ५.७ गुणा पुगेको छ । सञ्चालन नाफाको तुलनामा ऋणको भार उच्च रहेकाले ऋण भुक्तानी क्षमता पनि सीमित छ । यद्यपि यो अनुपात अघिल्लो वर्षको ०.९ गुणाबाट बढेर गत वर्ष १.१ गुणा पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हवाई टिकटिङ व्यवसायमा नाफाको मार्जिन स्वाभाविक रूपमा कम हुने भएकाले कार्यशील पुँजीको प्रभावकारी व्यवस्थापन र प्राप्य रकम (रिसिभेबल) नियन्त्रण वित्तीय सुधारका लागि महत्वपूर्ण रहनेछ ।
कम्पनीले आफ्नो व्यवसाय पर्यटन तथा हवाई यात्रा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित भएकाले विभिन्न बाह्य जोखिमप्रति संवेदनशील रहेको जनाएको छ । मौसमी माग, आर्थिक मन्दी, यात्रु आवागमनमा आउने उतारचढाव तथा पर्यटन गतिविधिमा आउने सुस्तताले कम्पनीको कारोबार र आम्दानीमा प्रत्यक्ष असर पार्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, कोभिड-१९ जस्ता विश्वव्यापी महामारी, भूराजनीतिक तनाव, सरकारी नीतिगत तथा नियामकीय परिवर्तनलगायतका बाह्य घटनाक्रमले पनि ट्राभल तथा हवाई टिकटिङ व्यवसायलाई प्रभावित पार्न सक्ने कम्पनीको भनाइ छ ।
यद्यपि, दीर्घकालीन रूपमा व्यवसायको सम्भावना भने सकारात्मक रहेको कम्पनीको विश्वास छ । नेपालमा पर्यटन क्षेत्रको उच्च सम्भावना, अध्ययन, रोजगारी तथा भ्रमणका लागि विदेश जाने नेपालीको बढ्दो संख्या र पर्यटन प्रवद्र्धनमा सरकारको प्राथमिकताले अन्तर्राष्ट्रिय हवाई टिकटिङ तथा ट्राभल सेवाको माग अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
साथै, नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि अघि सारेका विभिन्न नीति तथा कार्यक्रमले समग्र ट्राभल तथा पर्यटन व्यवसायलाई थप टेवा पुग्ने कम्पनीको विश्वास छ । पर्यटन गतिविधि विस्तारसँगै यस क्षेत्रमा आबद्ध कम्पनीहरूको व्यवसाय वृद्धि हुने सम्भावना पनि सकारात्मक रहेको कम्पनीले जनाएको छ ।