इमान गुमेको समाजमा इनमको चर्चा
काठमाडौं । देशलाई अर्नब र पश्चिमी वायुले चिसो बनाइरहेको बेला इनम सापकोटा प्रकरणले भने माहोल तताएको छ । मुलुकको राजनीति, प्रहरी प्रशासन, न्यायालय र सञ्चार क्षेत्रलाई यो विषयले निकै तताएको हो । सबै क्षेत्र यसरी तात्नुको एउटै कारण हो, इनम सापकोटा प्रकरण । राज्यका विभिन्न निकायमा उपस्थिति जनाएर आफू अनुकुल काम गर्ने र गराउने नव विचौलिया इनम सापकोटा प्रकरणले पूर्वप्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणालाई समेत प्रहरी खोरमा पठायो । प्रहरीका उच्च अधिकारीदेखि न्यायाधीशसम्मलाई भेटेर आफ्नो सम्बन्ध विस्तार गर्ने र उनीहरूबाट आफू अनुकूलको काम फत्ते गराउने प्रमाणहरू सार्वजनिक भएपछि यो विषयले चर्चा पाएको हो । केही साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएपछि सापकोटा प्रकरणको रहस्य खुलेको हो । राणाको मोबाइलमा अनुसन्धान गर्दा सापकोटासँग सम्बन्ध देखिएको प्रहरीको भनाइ छ । सोही प्रकरणमा मुछिएका सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बनसँगै बर्खास्तीमा पनि परे । प्रहरीदेखि पूर्वन्यायाधीशसम्मको सम्पर्क इनमको नेक्सस नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र एआईजी राजन अधिकारीसँग भएको संवाद बाहिरिसकेको छ । प्रहरीका उच्च अधिकृतहरूसँग संवाद भएका प्रमाणहरू समेत सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । अहिले प्रहरी प्रधान कार्यालय नक्सालमा उनले गरेको संवादलाई लिएर प्रहरी अधिकृतहरू तरंगित बनेका छन् । उनले प्रहरी प्रशासनलाई मात्र नभई न्यायालय क्षेत्रलाई समेत छोडेनन् । न्यायालयका न्यायाधीशहरूसँग सम्पर्क बढाएर आफू अनुकूलको फैसला गर्न लगाउने पनि खुलेको छ । सापकोटासँगको ‘कनेक्सन’ पूर्वप्रधानन्यायाधीश जबरा हुँदै वर्तमान प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, न्यायाधीश हरिप्रसाद फुयाल, तीन जना पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरू, पूर्वएआइजी एवं रास्वपा सांसद विश्वराज पोखरेलसहित उच्चपदस्थ अधिकारीसँग सम्पर्क भएका तथ्यहरू बाहिरिएका छन् । एक व्यक्ति इनम सापकोटाले देशको प्रहरी प्रशासन, न्यायालय र राजनीति र शासकलाई समेत हल्लाइ दिएका छन् । इनमको नाम राज्यका निकायसँग जोडिएपछि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटघाट पनि गरिसकेका छन् । इनमसँग प्रहरी प्रशासनदेखि न्यायालयसम्म लम्पसार बनेको सार्वजनिक विभिन्न प्रमाणहरूले देखाएको छ । सर्वोच्च अदालतकै न्यायाधीश हरि फुयालले इनमसँग आफूसहित अन्य न्यायाधीशले पनि होटलहरूमा भेट्ने गरेको स्वीकार गरिसकेका छन् । उनले अन्तिम पटक हिमालयन होटलमा भेटघाट गरेको पत्रकार सम्मेलनमै स्पष्ट पारिसकेका छन् । को हुन् इनम सापकोटा ? ३० वर्षीय सापकोटा विदेशमा बसोबास बसोबास गर्ने खुलेको छ । झापा स्थायी घर भएका सापकोटा अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली हुन् । असोजको तेस्रो साता भारत जान लागेको अवस्थामा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरेको थियो । इनम यतिखेर थुनामा छन् । काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका इनाममाथि सम्पत्ति शुद्धीकरण र अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ । परिसरका प्रवक्ता दानबहादुर थापाले प्रचलित कानुन, विधि, प्रक्रिया बमोजिम अनुसन्धान भइरहेको बताए । ‘गोप्य रूपमा अनुसन्धान भइरहेको अवस्थामा त्यस्ता संवेदनशील विषयका विवरण, प्रमाण, सूचना कुनै पनि व्यक्ति वा पक्षलाई उपलब्ध गराइएको छैन,’ उनले भने । अनुसन्धानको निष्पक्षता, व्यावसायिकता तथा गोपनीयता कायम राख्न प्रहरी दत्तचित्त भएर लागेको उनको भनाइ छ । न्यायाधीशहरूको प्रष्टीकरण प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडेर आफ्नो नाममा प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताइसकेका छन् ।प्रधानन्यायाधीश शर्माले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आश्चर्यता प्रकट गरेका हुन् । ‘जुन प्रसंग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसंगमा मेरो कुनै संलग्नता छैन,’ उनले भनेका छन, ‘ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्कसमेत छैन । मैले कहिल्यै भेटेको पनि छैन ।’ शर्माले समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनाको अवधिमा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको अवस्थामा रहेको बताएका छन् । यस्तै, न्यायाधीश फुयालले भने आफू लगायत अन्य न्यायाधीशले पनि भेटघाट गरेको स्वीकार गरेका छन् । सापकोटाले आफूलाई प्रधानमन्त्रीको मान्छे भन्ने गरेकोले भेटेको तर्क फुयालले गरेका छन् । ‘मुलुक शून्यतामा भासियो’ एक अर्कालाई बदनाम गर्दागर्दै मुलुक शून्यतामा भासिएको राजनीतिक विश्लेषक मुमाराख खनाल बताउँछन् । नव बिचौलिया इनम सापकोटा विचौलिया राज्यका आदर्श युवा रहेको उनले कटाक्ष गरे । राज्यको चरित्र नै विचौलिया भएपछि छद्म विचौलिया (कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि) लाई परास्त गर्दै बालेन्द्र शाह, रवि लामिछाने र सुदन गुरुङजस्ता प्रत्यक्ष विचौलिया मैदानमा आएका हुन् र भ्रममा पर्नै पर्दैन,’ उनले भनेका छन् । सम्पर्क, संलग्नता र प्रमाणका आधारहरू खुल्दै जान सक्ने उनको भनाइ छ । मुलुकको लागि दुःखको कुरा राज्यको उच्च पदमा पुगेका हरेक व्यक्तिले एक अर्कालाई बदनाम गर्दा मुलुक शून्यतामा भासिएको खनालले टिप्पणी गरेका छन् ।
एनपीएलमा सट्टेबाज र म्याच फिक्सिङको जोखिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलहरू जारी छन् । पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराएको छ । दोस्रो खेलमा विराटनगरविरुद्ध चितवन राइनोज र तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्स विजयी भएका छन् । आज तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दैछन् । खेलको उत्सवसँगै यो प्रतियोगिता सुरक्षा निकायका लागि भने ठूलो चुनौती बनेको छ । भीडभाडको मौका छोपी आपराधिक गतिविधि हुन सक्ने भन्दै नेपाल प्रहरीले उच्च सतर्कता अपनाएको छ । के-केमा छ जोखिम ? प्रहरीका अनुसार दर्शकको भीड, खेलाडी तथा समर्थकको आवतजावतका क्रममा टिकटको कालोबजारी, पकेटमारी, मोबाइल तथा बहुमूल्य सामान चोरी, ठगी, जुवा, अनलाइन बेटिङ र सट्टेबाजी जस्ता गतिविधि फैलिन सक्ने जोखिम छ । पछिल्ला संस्करणमा यस्ता घटना देखिएका पनि छन् । दोस्रो संस्करणमा अनलाइन बेटिङ र म्याच फिक्सिङ गराउन खोजेको आरोपमा भारतीय नागरिक र एक महिलासहित १० जना पक्राउ परेका थिए । प्रहरीको मुख्य चासो यसपटक अनलाइन बेटिङ, वानएक्स बेट जस्ता प्लेटफर्म, म्याच फिक्सिङ, टिकट ठगी र दर्शकको सुरक्षामा केन्द्रित छ । दुई हजार प्रहरी, सादा पोसाकदेखि ड्रोन निगरानीसम्म यसपटकको एनपीएलमा आपराधिक गतिविधि रोक्न प्रहरीले सादा पोसाक र युनिफर्मसहित करिब दुई हजार जनशक्ति परिचालन गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियाका अनुसार अनलाइन बेटिङ नियन्त्रण गर्न साइबर सेल सक्रिय बनाइएको छ । ‘अनलाइनबाट हुने गतिविधि मैदानबाट अनुगमन गर्न सकिँदैन। साइबर सेलले निरन्तर वेबसाइटहरूको निगरानी बढाइरहेको छ,’ थपलियाले भने, ‘अनलाइन एप्समा निगरानी गर्ने र त्यसपछि साइबर टिम परिचालन गर्ने हाम्रो पहिलो प्राथमिकता हो ।’ उनका अनुसार त्रिवि मैदान परिसरमा सुरक्षाकर्मीलाई विभिन्न घेरामा खटाइएको छ। सीसीटीभी र ड्रोनबाट समेत निगरानी भइरहेको छ । बैंकिङ कारोबारमा राष्ट्र बैंकसँग समन्वय प्रहरीले एनपीएल अवधिभर हुने शंकास्पद आर्थिक कारोबारमा पनि निगरानी बढाएको छ । खल्ती, ईसेवा र वालेट बैंकिङमार्फत हुने कारोबारलाई विशेष निगरानीमा राखिएको प्रवक्ता थपलियाले बताए । ‘बारम्बार कसले, कुन माध्यमबाट पैसा कारोबार गरेको छ भन्ने कुरालाई गम्भीरताका साथ हेरिन्छ । प्रहरीले गोप्य रूपमा निगरानी गर्छ’ उनले भने, ‘आवश्यक परे अवाञ्छित गतिविधि रोक्न राष्ट्र बैंकलाई अनुरोध गर्छौं । लामो समयसम्म शंकास्पद ट्रान्जेक्सन देखिए बैंकले पनि निगरानी गरिहाल्छ ।’ आईसीसीसँग सहकार्यमा निगरानी काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख दिलिप घिमिरेको कमान्डमा निरन्तर अनुगमन भइरहेको छ भने परिचालनको जिम्मा एसपी दानबहादुर खड्काले सम्हालेका छन् । परिसरका प्रवक्ता दानबहादुर थापाले एनपीएल आयोजक र सुरक्षा निकायको माथिल्लो तहसँग समन्वय गरेर काम भइरहेको बताए । सट्टेबाज र म्याच फिक्सिङ रोक्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का नेपाल प्रतिनिधि, प्रहरीको अनुसन्धान इकाई र आयोजक मिलेर काम गरिरहेका छन् । ‘खेल मैदानमा अनलाइन बेटिङ हुन सक्छ । अनुचित लाभ लिन चाहने व्यक्तिले खेलाडी र दर्शकलाई प्रभावित पार्न सक्छन् । आईसीसीबाट मान्यता पाएकाले राज्यका सबै निकाय अपराध हुन नदिन गम्भीर भएर लागेका छौं,’ प्रवक्ता थापाले भने । उनका अनुसार शंकास्पद गतिविधि गर्नेहरूलाई उच्च सतर्कताका साथ निगरानी गरिएको छ । विदेशमा अनलाइन बेटिङ खुला भए पनि नेपालमा प्रतिबन्धित भएकाले खराब नियतका व्यक्तिहरू सक्रिय हुन सक्ने र यसले अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जान सक्ने उनको भनाइ छ ।
दशैंभन्दा ड्युटी ठूलो
काठमाडौं । दशैंले घरआँगन छोइसकेको छ । गाउँघरमा लिङ्गे पिङको चहलपहल बढेको छ, बजारमा किनमेल गर्नेको भीड छ र बसपार्कमा घर फर्किने यात्रुको घुइँचो । वर्षभरि काममा व्यस्त रहनेहरू बिदा मिलाएर परिवारसँग दशैं मनाउने तयारीमा छन् । विदेशमा रहेका नेपालीदेखि सहरमा जागिर गर्नेहरूसम्मलाई यतिबेला एउटै कुराले तानेको छ, आफ्नो घर, परिवार र आफन्तको साथ । तर, सबैका लागि दशैं घर फर्किने र बिदा मनाउने अवसर हुँदैन । कसैको दशैं यात्रामा बित्छ, कसैको परिवारसँगको भेटघाटमा । अनि कसैको दशैं भने नागरिकको जिउधनको सुरक्षा गर्दै सडक, चोक र कार्यालयमा बित्छ । ती हुन्, नेपाल प्रहरी । अरूका घरमा दशैंको खुसी भित्रिँदै गर्दा प्रहरीको काँधमा भने सुरक्षा व्यवस्थापनको जिम्मेवारी थपिन्छ । मानिसहरू घर छाडेर गाउँ फर्किने, बजारमा किनमेल बढ्ने र सार्वजनिक स्थानमा भीडभाड हुने समय भएकाले चोरी, लुटपाट, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्छ । नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाऊन् भनेर प्रहरी कर्मचारी आफ्नो पारिवारिक खुसीलाई थाती राखेर कार्यक्षेत्रमा खटिन्छन् । यस वर्ष प्राकृतिक विपत्तिका घटनाले प्रहरी संगठनलाई थप संवेदनशील बनाएको छ । सुरक्षामा खटिनुपर्ने नियमित जिम्मेवारीसँगै विपत्तिका कारण गुमाएका सहकर्मीको पीडा पनि प्रहरी कर्मचारीका लागि दशैंको भावनासँग जोडिएको छ । दशैंको तयारी र योजनाबारे विकासन्युजले नेपाल प्रहरीका विभिन्न तहका अधिकृतसँग कुराकानी गरेको छ । उनीहरूको अनुभवमा प्रहरीका लागि दशैं अरू नागरिकको जस्तो लामो बिदा र घुमफिरको अवसर होइन । ड्युटीको समय मिलाएर परिवारसँग केही क्षण बिताउने, कार्यालयमै सहकर्मीसँग खुसी साट्ने र जिम्मेवारी पूरा गर्ने अवसर हो । प्रहरीका लागि दशैंभन्दा ड्युटी ठूलो नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबीनारायण काफ्लेका लागि दशैंको अर्थ अरू नागरिकको भन्दा फरक छ । प्रहरी सेवामा रहँदासम्म व्यक्तिगत खुसीभन्दा नागरिकको सुरक्षा प्राथमिकतामा पर्ने भएकाले चाडपर्वमा पनि नियमित जिम्मेवारीबाट अलग हुन नसकिने उनी बताउँछन् । “प्रहरीका लागि दशैं भन्ने हुँदैन । प्रहरीले नागरिकको जिउधनको सुरक्षा गर्नुपर्छ,” काफ्ले भन्छन्, “हामीले जनता र समाजको सुरक्षामा ध्यान दिनुपर्छ । चाडपर्वमा चोरी तथा झैझगडा हुने सम्भावना हुने भएकाले प्रहरी तैनाथ हुनुपर्छ ।” दशैंमा धेरै मानिस घरबाहिर निस्किने, कतिपय परिवार घरमा ताला लगाएर गाउँ जाने र बजारमा भीडभाड बढ्ने भएकाले सुरक्षा चुनौती पनि बढ्ने उनको भनाइ छ । यस्ता सम्भावित घटनालाई रोक्न प्रहरी अधिकृतदेखि जवानसम्मलाई जिम्मेवारीअनुसार परिचालन गर्नुपर्ने हुन्छ । यस वर्ष प्राकृतिक विपत्तिको अवस्थाले प्रहरीलाई थप सतर्क रहनुपर्ने बनाएको काफ्ले बताउँछन् । नियमित शान्ति सुरक्षा कायम राख्नुपर्ने दायित्वसँगै विपद् व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने भएकाले प्रहरीको जिम्मेवारी अझ संवेदनशील बनेको उनको भनाइ छ । “प्रहरी सेवामा रहँदासम्म आफ्नो खुसीभन्दा पनि नागरिकको सुरक्षामा ध्यान दिनुपर्छ । दशैंमा सामान्य रूपमा परिवारसँग एकछिन भेटघाट गरिन्छ,” उनी भन्छन् । प्रहरीमा लामो बिदाको व्यवस्था सहज नहुने भएकाले दशैंमा घुमफिरको योजना बनाउन पनि कठिन हुने काफ्ले बताउँछन् । सम्भव भएसम्म टीकाको दिन वा एक दिन समय मिलाएर अग्रजको हातबाट टीका र आशीर्वाद लिने गरे पनि नागरिकको सुरक्षाको जिम्मेवारी नै प्राथमिकतामा रहने उनको भनाइ छ । परिवारलाई कार्यक्षेत्रमै बोलाएर दशैं कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाको यस वर्षको दशैं योजना पनि कार्यक्षेत्रमै केन्द्रित छ । कार्यालयको जिम्मेवारी छाडेर अन्यत्र जानुभन्दा परिवारका सदस्यलाई आफू बसेकै ठाउँमा बोलाएर दशैं मनाउने उनको तयारी छ । सापकोटाका अनुसार प्रहरी कर्मचारीलाई जिम्मेवारीअनुसार आलोपालो बिदा मिलाइएको छ । नजिकै घर भएका कर्मचारीलाई टीका लगाउन जाने र फर्किएर ड्युटी सम्हाल्ने व्यवस्था मिलाइएको छ । “यस वर्ष प्रदेश प्रहरी कार्यालयमै बसेर दशैं मनाउने योजना छ । परिवारका सबैलाई यतै बोलाएको छु,” उनी भन्छन् । दशैंमा सबै प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिन सम्भव नहुने उनी बताउँछन् । नागरिकको सुरक्षा कायम राख्न प्रहरीको उपस्थिति आवश्यक हुने भएकाले लामो बिदाभन्दा छोटो समय मिलाएर परिवारसँग भेटघाट गर्ने व्यवस्था गरिएको उनको भनाइ छ । चाडपर्वको समयमा सुरक्षा चुनौती बढ्ने भएकाले प्रहरी कर्मचारीले व्यक्तिगत योजनाभन्दा जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने सापकोटा बताउँछन् । घरमा परिवारसँगै बसेर दशैं मनाउने रहर भए पनि सेवामा रहँदा संगठनको आवश्यकताअनुसार चल्नुपर्ने उनको अनुभव छ । कार्यालयमै टीका र शुभकामना गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपेन्द्र घर्ती क्षेत्रीको दशैं पनि कार्यालय र ड्युटीमै बित्नेछ । प्रहरीको जिम्मेवारी नै नागरिकको सुरक्षा भएकाले चाडपर्वमा समेत कार्यक्षेत्र छाड्न नसकिने उनी बताउँछन् । कार्यालयमा रहेका प्रहरी कर्मचारीबीच शुभकामना आदानप्रदान गरेर दशैं मनाउने गरिएको क्षेत्रीको भनाइ छ । नजिकै घर भएका कर्मचारीलाई ड्युटी सकेर टीका लगाउन जाने र फर्किएर जिम्मेवारी सम्हाल्ने व्यवस्था मिलाइएको उनले बताए । “नजिकै घर हुनेहरू ड्युटी सकेर टीका लगाएर आउने व्यवस्था मिलाइएको छ,” क्षेत्री भन्छन्, “प्रहरीले दशैं मनाएमा समाजमा कसले सुरक्षा गर्छ ? प्रहरीको खासै केही दशैं योजना हुँदैन ।” प्रहरी कर्मचारीलाई एकैपटक बिदा दिँदा सुरक्षा व्यवस्थापनमा असर पर्न सक्ने भएकाले आलोपालो गरेर छोटो समयका लागि बिदा मिलाइएको उनले बताए । निरन्तर ड्युटीमा खटिनुपर्ने कर्मचारीको हकमा भने बिदा मिलाउन कठिन हुने उनको भनाइ छ । अरूका लागि दशैं बिदा र उत्सवको समय भए पनि प्रहरीका लागि यही समय सुरक्षा व्यवस्थापनको परीक्षा बन्ने गरेको छ । त्यसैले कार्यालयमा सहकर्मीसँग शुभकामना साट्नु र समय मिल्दा परिवारसँग टीका लगाउनु नै उनीहरूको दशैंको खुसी बन्ने गरेको छ । भोटेकोशीको बाढीले खल्लो बनाएको दशैं काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनमा खटिने प्रहरीका लागि दशैंको व्यस्तता अझ फराकिलो छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का चाडपर्वका बेला चोरी, लुटपाट, कालोबजारी र सार्वजनिक यातायातमा यात्रुलाई दुःख दिने गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । दशैंमा धेरै मानिस घर जाने र कतिपय घर खाली रहने भएकाले आपराधिक गतिविधि हुन नदिन विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ । सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई ठगी गर्ने वा अनावश्यक दुःख दिने गतिविधिमाथि पनि निगरानी आवश्यक हुने उनी बताउँछन् । “प्रहरीको पहिलो दायित्व समाजमा शान्ति सुरक्षा कायम गर्नु हो । चाडपर्वमा झैझगडा हुने भएकाले सुरक्षामा प्रहरीको चासो रहन्छ,” खड्का भन्छन् । तर, यस वर्षको दशैं उनका लागि नियमित व्यस्तताभन्दा फरक भावनात्मक पीडासँग पनि जोडिएको छ । भोटेकोशीको बाढीमा प्रहरी कर्मचारीले ज्यान गुमाएको घटनाले संगठनभित्र दुःखको वातावरण बनाएको उनी बताउँछन् । “प्रहरी साथी गुमाउनुको पीडा रहेकाले यसपटक दशैं नरमाइलो भएको छ । विपत्तिमा परेका प्रहरी साथीहरूको सम्झनाले हामीलाई संवेदनशील बनाएको छ,” उनी भन्छन् । सहकर्मी गुमाउँदाको पीडाबीच पनि प्रहरीको जिम्मेवारी रोकिँदैन । नागरिकलाई सुरक्षित राख्नुपर्ने दायित्व पूरा गर्नुपर्ने भएकाले चाडपर्वमा समेत कार्यक्षेत्रमा खटिनुपर्ने खड्काको भनाइ छ । उनका लागि यस वर्षको दशैंमा विगतमा जस्तो परिवारसँग बसेर बुबाआमाको हातबाट टीका लगाउने योजना छैन । कार्यालयमै रहेका प्रहरी कर्मचारीसँग शुभकामना आदानप्रदान गरेर दशैं मनाउने उनले बताए । “पहिले दशैंमा पटकपटक बुबाआमाको हातबाट टीका लगाइन्थ्यो । यस वर्ष त्यो सम्भव नहुने भयो,” खड्का भन्छन्, “प्रहरीले आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ ।” नागरिकको खुसीका लागि प्रहरीको त्याग दशैंमा घर फर्किने यात्रुको भीड, बजारको चहलपहल र परिवारसँग भेट्ने उत्साहसँगै सुरक्षा व्यवस्थापनको चुनौती पनि बढ्छ । यस्तो समयमा प्रहरीको सक्रियता र उपस्थितिले नागरिकलाई सुरक्षित रूपमा चाडपर्व मनाउन सहयोग पुर्याउँछ । तर, त्यसको अर्को पाटो पनि छ । नागरिकको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बोकेका प्रहरी कर्मचारीले आफ्नै परिवारसँग पर्याप्त समय बिताउन पाउँदैनन् । कतिपयले घरमै पुगेर टीका लगाउन पाउँछन् भने कतिपयले कार्यालयमै सहकर्मीसँग दशैंको खुसी साट्नुपर्छ । कसैका लागि त यस वर्षको दशैं सहकर्मी गुमाउँदाको पीडा सम्झिने समय पनि बनेको छ । सर्वसाधारणका लागि दशैं घर फर्किने, आफन्त भेट्ने र वर्षभरिका थकान बिर्सिने पर्व हो । प्रहरीका लागि भने यही समयमा अरूको खुसी र सुरक्षाको जिम्मेवारी अझ बढ्छ । परिवारसँगको भेटघाट छोट्याएर भए पनि नागरिकलाई ढुक्कसँग दशैं मनाउने वातावरण बनाउनु उनीहरूको कर्तव्य हो । आफ्नो घरमा टीका लगाउन नपाए पनि अरूका घरमा खुसी र सुरक्षा कायम रहोस् भन्ने जिम्मेवारीसहित प्रहरी कर्मचारी यस वर्ष पनि सडक, चोक र कार्यक्षेत्रमा खटिनेछन् । यही नै उनीहरूको दशैंको अर्को यथार्थ हो ।
स्वाद, संस्कृति र सफलताको संगममा शंकर
काठमाडौं । तामाको भाँडामा मासु पाकिरहेको छ । पन्युले मासु चलाउँदा निस्कने ‘टवाङ्-टवाङ्’ आवाजले भान्साको मौनता तोड्छ । भाँडाबाट उठेको बास्ना नाकसम्म आइपुग्दा पाहुनाको मनमा एउटै प्रश्न उब्जिन्छ- आखिर यो मासुको स्वाद कस्तो होला ? सेतो टोपी लगाएका सेफ आगोको ताप मिलाउँदै मासु चलाइरहेका छन् । कोही पाकिरहेको मासुलाई नियाल्छन्, कोही सेफसँग त्यसको स्वाद र पाक्ने समयबारे जिज्ञासा राख्छन् । जवाफ आउँछ, ‘हामीले बनाएको भाँडामा ३०–४० मिनेटमा तयार हुन्छ ।’ यो कुनै सामान्य परिकारको तयारी होइन । पुस्तौंदेखि नेपाली खानासँग जोडिएको स्वाद र परम्परालाई नयाँ पुस्ता तथा विदेशी पाहुनासम्म पुर्याउने प्रयास हो । परिकारको नाम हो- पक्कु । महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवामा शनिबारदेखि सुरु भएको पाँचदिने पक्कु महोत्सवमा अहिले यही परिकारको चर्चा छ । तर, यहाँको चासो मासु पकाउने र खुवाउनेमा मात्र सीमित छैन । एउटा परिकारलाई नेपाली पहिचान, पर्यटन र व्यवसायसँग जोड्न सकिन्छ भन्ने सन्देशसमेत महोत्सवले दिन खोजेको छ । नेपाली रैथाने परिकारको स्वाद, परम्परा र आतिथ्यलाई एउटै थलोमा जोड्ने प्रयास पनि यो महोत्सवको हो । पाँच दिनसम्म चल्ने महोत्सवमा पक्कुलाई केन्द्रमा राखेर नेपाली खानाको विविधता पस्किइँदै छ । घटस्थापनाको अघिल्लो दिन पक्कु महोत्सव आयोजना गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो । यहाँको उद्देश्य पाहुनालाई पेटभरि खुवाउनुमा मात्र सीमित छैन । नेपाली खानालाई पर्यटनसँग जोड्ने, नयाँ पुस्तालाई मौलिक परिकारसँग परिचित गराउने र खानामार्फत नेपाली संस्कृति चिनाउने ध्येय पनि यससँग जोडिएको छ । नेपालको पर्यटनको चर्चा गर्दा हिमाल, पहाड, तालतलैया, जंगल र सांस्कृतिक सम्पदाको नाम अगाडि आउँछ । तर, कुनै देश वा ठाउँको पहिचान त्यहाँका प्राकृतिक दृश्य र सम्पदाले मात्र बनाउँदैन, खानाको स्वादले पनि बनाउँछ । विदेशी पर्यटक नेपाल आउँदा हिमाल हेर्न सक्छन्, जंगल घुम्न सक्छन् र ऐतिहासिक सम्पदाको अवलोकन गर्न सक्छन् । तर, नेपाली खानाको मौलिक स्वाद चाख्ने अवसर पाए उनीहरूको यात्रा थप स्मरणीय बन्न सक्छ । खानामार्फत स्थानीय संस्कृति बुझ्ने अवसरसमेत मिल्छ । यही बुझाइलाई व्यवहारमा उतार्न खोजिरहेका छन् प्रेसिडेन्टल सेकुवाका सञ्चालक शंकर भण्डारी । शंकर भण्डारी । ‘पर्यटकलाई यहाँका हिमाल र जंगल मात्र देखाएर हुँदैन, खाना पनि चखाउनुपर्छ,’ उनी भन्छन्, ‘नेपाली खानाको विविधता प्रशस्त छ । यहाँको संस्कृति देखाउन र बुझाउन पनि यस्ता परिकारको प्रवर्द्धन गर्नुपर्छ ।’ भण्डारीका लागि पक्कु केवल मासुबाट तयार हुने परिकार होइन । यो स्वाद, संस्कृति र आतिथ्यको सम्मिश्रण हो । नेपाली खानालाई व्यवस्थित रूपमा ब्रान्डिङ गर्न सके पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने उनको विश्वास छ । ‘नेपाली खानालाई चिनाउन सकियो भने त्यसको लाभ रेस्टुरेन्टमा मात्र सीमित हुँदैन,’ उनी भन्छन्, ‘स्थानीय कृषि उत्पादन, पशुपालन, आपूर्ति शृङ्खला, उद्यमशीलता र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ ।’ नेपाली खानाको प्रवद्र्धनसँगै नयाँ पुस्तालाई पुराना परिकार र तिनको सांस्कृतिक महत्त्व बुझाउने लक्ष्य पनि महोत्सवको रहेको उनी बताउँछन् । दिनमै २५० किलो खसीको मासु खपत प्रेसिडेन्टल सेकुवाले पक्कु महोत्सव आयोजना गर्न थालेको तीन वर्ष भएको छ । महोत्सवमा पक्कुको माग र खपत उल्लेख्य हुने गरेको भण्डारी बताउँछन् । उनका अनुसार महाराजगन्जस्थित रेस्टुरेन्टमा दैनिक करिब २५० किलो खसीको मासु खपत हुन्छ । नियमित आपूर्ति सुनिश्चित गर्न डिके कोल्ड स्टोरसँग मासु ल्याउने सम्झौता गरिएको उनले जानकारी दिए । ‘हामीले मासुको बोसो हटाएर मात्र पक्कु बनाउँछौं,’ भण्डारी भन्छन् । उनका अनुसार रेस्टुरेन्टले खसीको मासु प्रतिकिलो एक हजार ४५० रुपैयाँमा खरिद गर्छ । तयार पक्कु भने प्रतिकिलो तीन हजार पाँच रुपैयाँमा बिक्री गरिन्छ । कच्चा मासु खरिद गर्ने मूल्य र तयार परिकारको बिक्री मूल्यबीचको अन्तरमा पकाउने प्रक्रिया, तयारीमा लाग्ने श्रम, इन्धन, सञ्चालन खर्च र अन्य लागतसमेत जोडिन्छन् । त्यसैले पक्कुको मूल्य मासुको खरिद मूल्यसँग मात्र तुलना गरेर बुझ्न सकिँदैन । पक्कु महोत्सवमा आउने पाहुनाले परिकारको स्वादसँगै फरक अनुभव पनि लिएर जाऊन् भन्ने भण्डारीको चाहना छ । चाडपर्वको मौसम सुरु भइसकेकाले मानिसमा उत्सवको माहोल रहेको उनी बताउँछन् । त्यही माहोललाई थप रमाइलो बनाउन रेस्टुरेन्ट परिसरमा पिङसमेत राखिएको छ । बालबालिकाले खेल्दै रमाउन पाउने व्यवस्था गरिएको छ । खानपानलाई मनोरञ्जन र पारिवारिक भेटघाटसँग जोड्ने प्रयासले महोत्सवलाई परिकारको स्वाद चाख्ने अवसरमा मात्र सीमित राखेको छैन । पक्कुसँगै नेपाली खानाको विविधता महोत्सवको मुख्य आकर्षण पक्कु भए पनि पाहुनाका लागि अन्य परिकारसमेत तयार पारिएका छन् । शाकाहारी परिकारदेखि बारा, सिस्नो मटन, योमरी र फरक स्वादका आइसक्रिमसम्मका विकल्प उपलब्ध हुने भण्डारी बताउँछन् । नेपाली खानाको विविधता एउटै परिकारमा सीमित छैन । भौगोलिक अवस्था, स्थानीय उत्पादन, समुदायको जीवनशैली र परम्पराअनुसार खानपानका आफ्नै विशेषता छन् । कुनै ठाउँको खाना त्यहाँको कृषि, पशुपालन र सामाजिक जीवनसँग जोडिएको हुन्छ । तर, आधुनिक खानपानको विस्तारसँगै कतिपय रैथाने परिकार ओझेलमा पर्ने जोखिम पनि छ । नयाँ पुस्तामा पुराना खानाको स्वाद र तिनको पृष्ठभूमिबारे जानकारी कम हुँदै जान सक्ने भण्डारीको चिन्ता छ । ‘नेपालीले आफ्नो संस्कृति र परम्परा बिर्संदै गएका छन् । यस्ता महोत्सवले त्यसलाई जोगाउन सहयोग गर्छन्,’ उनी भन्छन् । उनका अनुसार रेस्टुरेन्टमा आउने ग्राहकले परिकार मात्र होइन, त्यससँग जोडिएको नेपालीपन पनि महसुस गरून् भन्ने उद्देश्य छ । त्यसैले पक्कु महोत्सवलाई हरेक वर्ष दोहो¥याउने गरिएको हो । महोत्सव पाँच दिनमा सकिए पनि पक्कु र अन्य परिकार रेस्टुरेन्टमा निरन्तर उपलब्ध हुनेछन् । सुन्धाराबाट १३ आउटलेटसम्मको यात्रा पक्कु र नेपाली खानाको प्रवद्र्धनमा लागेका भण्डारीको व्यावसायिक यात्रा पनि लामो छ । उनी करिब दुई दशकदेखि आतिथ्य तथा रेस्टुरेन्ट क्षेत्रमा सक्रिय छन् । सुन्धाराबाट सुरु भएको उनको व्यवसाय अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फैलिएको छ । प्रेसिडेन्ट बिजनेस ग्रुपअन्तर्गत उपत्यकामा १३ वटा आउटलेट सञ्चालनमा रहेको उनले बताए । कलंकी, रविभवन, सुन्धारा र महाराजगन्जलगायतका क्षेत्रमा व्यवसाय विस्तार भइसकेको छ । ४२ वर्षीय भण्डारीले रेस्टुरेन्ट क्षेत्रमा काम गर्दा सिकेको अनुभवलाई व्यवसाय विस्तारमा उपयोग गरेको बताउँछन् । मेहनत, निरन्तरता र टिमवर्कलाई उनी आफ्नो यात्राका मुख्य आधार मान्छन् । ‘एक्लैको प्रयासले मात्र व्यवसाय अगाडि बढाउन सकिँदैन । टिमको मिहिनेत र सहकार्यले नै विस्तार सम्भव भएको हो,’ उनको भनाइ छ । उनका अनुसार समूहका विभिन्न व्यवसायमा करिब ३५० जनाले रोजगारी पाएका छन् । बुढानीलकण्ठ र बुटवलमा थप सेकुवा कर्नर सञ्चालन गर्ने योजना पनि उनले सुनाए । सुनधाराबाट सुरु भएको व्यवसायलाई काठमाडौं उपत्यकाबाहिरका अन्य क्षेत्रमा समेत विस्तार गर्ने उनको लक्ष्य छ । प्रेसिडेन्टलाई स्थापित व्यावसायिक ब्रान्डका रूपमा अघि बढाउने योजनासहित उनी काम गरिरहेको बताउँछन् । महाराजगन्जस्थित प्रेसिडेन्टल सेकुवा करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । फराकिलो परिसर, खानपान र पारिवारिक मनोरञ्जनलाई जोडेर ग्राहकलाई फरक अनुभव दिने प्रयास गरिएको छ । स्वादबाट संस्कृति चिनाउने प्रयास पक्कु महोत्सवको भान्सामा तामाको भाँडामा मासु पाकिरहन्छ । सेफको पन्युले भाँडो चलाउँदा निस्कने आवाजसँगै मासुको बास्ना परिसरभरि फैलिन्छ । पाहुना स्वाद चाख्न आतुर हुन्छन् । तर, यो दृश्यको अर्थ प्लेटमा पस्किइने मासुमा मात्र सीमित छैन । स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, रैथाने खानालाई नयाँ पुस्तासम्म पुर्याउने, रोजगारी सिर्जना गर्ने र पर्यटकलाई नेपाली स्वादसँग परिचित गराउने सम्भावना पनि यसमा छ । पर्यटनको अनुभव आँखाले देखेका दृश्यमा मात्र पूरा हुँदैन । जिब्रोले चाखेको स्वाद र त्यससँग जोडिएको कथाले पनि यात्राको सम्झना लामो समयसम्म जीवित राख्न सक्छ । नेपाली खानालाई त्यसैगरी पर्यटनको एउटा पहिचान बनाउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको व्यावहारिक उत्तर खोज्ने प्रयासमा छ प्रेसिडेन्टल सेकुवाको पक्कु महोत्सव । तामाको भाँडामा पाकिरहेको पक्कु त्यस प्रयासको एउटा स्वादिलो सुरुवात हो ।
चीनबाट रिमोट कन्ट्रोल, नेपालमा सुनको धन्दा
काठमाडौं । एउटा सामान्य घर । मानिसको ओहोरदोहोर । घरमा बिवाइडीको सेतो रंगको कार पार्किङ । मानिसको पातलो ओहोरदोहोर । यो काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भंगालको भाडामा लिएको घरको दृश्य हो । घरभित्र सुन प्रशोधन गर्ने मेसिन, उपकरण, नगद, अवैध सुन र ओसारपसार । घरभित्र अवैध सुनको कारोबार । काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले विशेष सूचनाका आधारमा लामो समयदेखि उक्त घरलाई निगरानी गरिरहेको थियो । बिहीबार प्रहरीले घरबाट निस्कन खोजिरहेको अवस्थामा बिवाइडी कारसहित तीन जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो । २७ वर्षीय हान फेई, ४७ वर्षीय झीयु लङक्वीन र ३७ वर्षीय वाङ जीयानझेन पक्राउ परेका हुन् । कारमा कतै डेलिभर गर्न लागेका बिस्कुट पिसका सुनका टुक्रा थिए । लगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सुनसहित घरमा छापा मार्यो । केहीबेर लुटेरा सम्झिएर प्रहरीसँग धकेलाधकेल । प्रहरीले लगत्तै प्रहरी भएको परिचय दिए । प्रहरीको सक्रियता तुरुन्त बढ्यो । घरमा छापा मार्न पुगेका प्रहरीले कार्यालयका थप अन्य प्रहरी अधिकृतलाई खबर गरे । लगत्तै कार्यालयका प्रमुखसहित थप सुरक्षाकर्मी परिचालन भए । सुरक्षाकर्मी, जनप्रतिनिधिसहित स्थानीयले छापा मार्न थाले । सुन, नगद, सुन प्रशोधनमा प्रयोग हुने उपकरण लगायतका विभिन्न कागजात फेला पार्यो । प्रहरीले २१ किलो ७५०. ६८ ग्राम सुन फेला पारेको थियो । उक्त सुनको नेपाली बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा बराबरको सुन रहेको थियो । चार महिनाको अग्रिम भाडा चिनियाँले सुनको कारोबार गर्न घरधनीसँग तीन लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी चार महिनाका लागि १३ लाख २० हजार रुपैयाँ अग्रिम भुक्तानी गरिएको कार्यालयका प्रमुख सन्तोष खड्काले बताए । उनका अनुसार चिनियाँ नागरिक सुक्यानले सन् २०२६ जुलाई २४ देखि घर भाडामा लिएको देखिन्छ । उनी अगस्ट १५ मा चीन गएको र त्यसपछि नेपाल फर्किएका छैनन् । घरको साँचो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा हस्तान्तरण भएको देखिन्छ । सु क्यानले चीनमा रहेका झेन जियाले नामका व्यक्तिलाई साँचो दिएको र उनले हान फेईलाई साँचो पठाएका थिए । कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर घर भाडामा लिने व्यक्ति र घरभित्रको गतिविधिमा संलग्न व्यक्तिहरूबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रमुख खड्काले जानकारी दिए । 'घर भाडामा लिने व्यक्ति देशबाहिर छन् । तर, घरको प्रयोग निरन्तर छ । घरको साँचो चीनबाट नेपाल आउने व्यक्तिहरूलाई हस्तान्तरण गरिएको छ,' उनले भने । चीनमा बसेर निर्देशन, नेपालमा सुन प्रशोधन झेन जियाले चीनको ग्वाङझाउमा बस्थे । हान फेईले आफूलाई उनको निर्देशनमा काम गर्ने व्यक्तिका खुलाएका छन् । नेपालमा के गर्ने, कहाँ पुर्याउने र कसलाई सुन बुझाउने भन्ने कुराहरू वीच्याटमार्पत हुने गरेको थियो । खड्काका अनुसार घरमा सुनको लेसिलो तथा अर्धप्रशोधित अवस्थाको धातुलाई प्रशोधन गर्थे । तयार पारेको सुनलाई स्थानमा पुर्याउने काम गर्थे । सुन कहाँबाट ल्याइन्थ्यो, कसले घरसम्म पुर्याउँथ्यो र तयार भएको सुन कसको जिम्मामा जान्थ्यो भन्ने विषयमा उनीहरूले स्पष्ट जानकारी नदिएको उनी बताउँछन् । नेपालमा सुन प्रशोधन गर्ने मेसिनसहित पहिलो पटक मानिसहरू पक्राउ परेको खड्का दाबी गर्छन् । सुन बोक्न विद्युतीय गाडी, निगरानीमा प्रहरी हान फेईले नेपाल आएको भोलिपल्ट विमानस्थलबाटै विद्युतीय गाडी भाडामा लिएकाे अनुसन्धानबाट देखिएकाे छ । असोज ११ देखि २५ गतेसम्मका लागि भाडामा लिएकाे दैनिक ८ हजार भाडा तिर्ने गरेकाे अनुसन्धानबाट खुलेकाे छ । विद्युतीय कारमा जीपीएस जडान हुने भएकाले कहाँ-कहाँ गाडी पुगेको छ त्यसको अनुसन्धान गरेकाे खड्काले बताए । विशेष सूचनापछि प्रहरीले घरमा आउने-जाने व्यक्तिहरूमाथि निगरानी बढाएको थियो । स्थानीय छिमेकी तथा जनप्रतिनिधिबाटसहित घरमा छापा मारिएको थियो । पर्यटन भिसामा प्रवेश चिनियाँ नागरिकहरू पर्यटन भिसामा नेपाल आएका थिए । हान फेईले यसअघि परिवारसहित नेपाल आएर सुनको बजार अवस्था र मूल्य बुझी चीन फर्किएका थिए । उनी पुनः नेपाल आएर घरभित्र हुने सुन कारोबारीमा संलग्न भए । उनीहरू हङकङ हुँदै नेपाल आएको खुलेको छ । खुलेन सुनको स्रोत र अन्तिम गन्तव्य अहिलेसम्मको अनुसन्धानमा कुनै नेपाली नागरिकको संलग्नता नखुलेको उनी बताउँछन् । 'नेपाली व्यक्ति वा समूहको संलग्नता देखिएको छैन,’ खड्का भन्छन्,’ सुन कहाँबाट आयो, नेपालभित्र कसले उपलब्ध गरायो, कसका लागि प्रशोधन गरियो र कसलाई बुझाउने तयारी थियो चिनियाले भाषाको कारण भन्न सकेका छैनन् ।' नेपालमा जोडिएका सम्बन्धहरूको खोजी भइरहेको उनले बताए । सुनको लिक्वीड बाइ प्लेन वा रोड कताबाट आउँथ्यो त्यस विषयमा अझैसम्म खुल्न नसकेको खड्का खुलाउँछन् । घरमा भेटिएका कागजात, उपकरण, गाडी र डिजिटल सम्पर्कका विवरणलाई आधार बनाएर अनुसन्धान गरिने उनले बताए । ' घरमा भेटघाट गर्न आउने व्यक्तिहरूको पहिचान र उनीहरूको सम्बन्ध पत्ता लगाउने काम पनि भइरहेको छ,' उनले अगाडि थपे । डिपोर्टमा चिनियाँको संख्या बढ्दै नेपालमा अपराध गरेर सबभन्दा बढी चिनियाँ डिपोर्ट हुने गरेका छन् । अध्यागमन विभागले प्रत्येक वर्ष विदेशीहरूलाई डिपोर्ट गर्दै आइरहेको छ । विभागका अनुसार जनवरीदेखि हालसम्म चाइनिज मात्र १ सय २१ डिपोर्ट भइसकेका छन् । हालसम्म ४१५ जना विदेशी डिपोर्ट भएका छन् । विभागले पछिल्लो समय नेपालमा पर्यटकीय भिसाले अपराध गर्नेको संख्या बढ्दै गएको जनाएको छ । भिसाको नवीकरण नगर्ने र भिसाको दुरुपयोग गर्नेको संख्या बढेको छ । भिसाको दुरुपयोग गर्नेमा पनि चिनियाँहरू सबैभन्दा अगाडि रहेको विभागले बताएको छ ।
जेनजी आन्दोलनमा लुटिएका हतियार किन्ने तयारी गर्दै थियो माझी ग्याङ्ग
काठमाडौं । बिहानको अँध्यारो होस् वा मध्यरातको सुनसान । सडकमा एक्लै हिँडिरहेका सर्वसाधारणलाई पछ्याउने, ठेगाना सोध्ने र बहाना बनाउने । उनीहरू मौका मिल्नेबित्तिकै सिक्री तथा नगद लुटेर मोटरसाइकलमा फरार हुन्थे । यही समूहको नेतृत्व सिन्धुलीका आयन माझीले गर्दै आएका थिए । माझीलाई प्रहरीले बुधबार बेलुका जडीबुटी पुलमुनिको सडकबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन खोज्यो । प्रहरीमाथि धारिलो हतियार प्रहारको प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको थियो । बिहीबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलनमा एसएसपी दिलिप खड्काले घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको बताए । उनका अनुसार खोजतलासमा भक्तपुरको ठिमीबाट समूहका थप दुई जना राकेश थिङ र मनोज कुमार मोक्तान पक्राउ परेका हुन् । उनले माझी सामान्य लुटेरा मात्रै होइनन्, समूह परिचालन गर्ने मुख्य योजनाकारसमेत रहेको जानकारी दिए । 'लुटपाटका लागि मोटरसाइकल, हतियार, नक्कली नम्बर प्लेट र अन्य आवश्यक सामग्री व्यवस्थापन गर्ने तथा लुटिएको बहुमूल्य सामानको व्यवस्थापन गर्ने भूमिका उनको थियो,' उनले भने । जेलबाट छुटे, फेरि उही धन्दामा माझीको आपराधिक पृष्ठभूमि नयाँ भने होइन। प्रहरीका अनुसार उनी विभिन्न समयमा काठमाडौं, भक्तपुर र काभ्रेका प्रहरी कार्यालयमा डाँका–चोरीसम्बन्धी २७ वटा मुद्दामा प्रतिवादी बनिसकेका छन् । २०७७ सालको डाँका–चोरी मुद्दामा कैद भुक्तान गरेपछि पनि उनी पुनः आपराधिक गतिविधिमा फर्किएकाे प्रहरीको अनुसन्धानबाट खुलेकाे छ। उनी २०७७ सालको मुद्दामा तीन महिना कैद बसेर धरौटीमा छुटेका थिए । अदालतले थप कैद सजाय तोकेपछि फरार रहेका उनी २०८२ वैशाखमा पुनः तीन महिना कैद भुक्तान गरी छुटेका थि ए। तर, जेलबाट बाहिरिएपछि पनि उनले आपराधिक गतिविधि रोकेनन् । पुरानै शैलीलाई थप संगठित बनाउँदै उपत्यकाका विभिन्न स्थानमा मोटरसाइकल चोरी, सिक्री लुटपाट तथा हातहतियारको प्रयोगबाट लुटपाट गर्ने समूह परिचालन गरे । ‘ठेगाना सोध्ने’ बहानादेखि इन्ड्राइभ चालकसम्म माझी समूहको आपराधिक कार्यशैली पनि प्रहरी अनुसन्धानमा खुलेको छ । बिहानको अँध्यारो समयमा सडकमा हिँडिरहेका व्यक्तिलाई ठेगाना सोध्ने बहाना बनाउने, नजिक पुगेपछि सिक्री खोस्ने र मोटरसाइकलमा भाग्ने उनीहरूको एउटा प्रमुख शैली रहेको प्रहरी बताउँछ । उनीहरूले इन्ड्राइभ वा पठाओ चालककाे बाहना बनाएर राति तथा बिहानको सुनसान समयमा एक्लै हिँड्ने महिला तथा पुरुषलाई निशाना बनाउने गरेका थिए । सुनसान स्थानमा पुर्याएर लुटपाट गर्ने र आवश्यक परे हतियार प्रयोग गर्ने तयारीसमेत उनीहरूले गर्ने गर्थे । लुटपाटपछि पक्राउबाट बच्न एउटै मोटरसाइकलमा निर्भर नभई तीन वटाभन्दा बढी सवारी साधन परिवर्तन गर्ने गरेका थिए । कतिपय अवस्थामा लुटपाटकै लागि मोटरसाइकल चोरी गर्ने र त्यही मोटरसाइकल प्रयोग गर्ने गरेका थिए । माझी समूहले गरेका भनिएका घटनामध्ये असोज १४ गते राति बौद्ध गेट नम्बर २ नजिक भएको लुटपाट गरेका थिए । तरकारी किन्न जाने क्रममा रहेका महेन्द्रकुमार बललाई चार–पाँच जनाको समूहले नियन्त्रणमा लिएर दुई लाख रुपैयाँ नगद तथा कागजात लुटेका थिए । त्यसअघि गत १३ गते राति डल्लु चौतारास्थित सडकमा अर्को घटना भएको थियो। कारभित्र रहेका रमेश खड्कीको घाँटीमा लगाएको करिब साढे तीन तोलाको सिक्री मोटरसाइकलमा आएका तीन जनाले लुटेका थिए । उक्त सिक्रीको अनुमानित मूल्य १० लाख ५० हजार रुपैयाँ रहेको थियो । मोटरसाइकल चोरीदेखि हतियारसम्म माझी समूहले लुटपाटका लागि काठमाडौंका विभिन्न स्थानबाट १५ वटाभन्दा बढी मोटरसाइकल चोरी गरेका छन् । पछिल्ला घटनामा प्रयोग भएको पल्सर २२० मोटरसाइकलसमेत बालकुमारी पुलमुनिबाट लुटेका थिए । उनीहरुले लुटपाटमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, नक्कली नम्बर प्लेट पाँच थान, एक थान खुकुरी तथा घटनाका बेला प्रयोग गरिएका कपडा बरामद भएको छ । माझीको समूहले जेनजी आन्दोलनका क्रममा लुटिएका आधुनिक प्रहरी हतियार खरिद गर्ने तयारीमा थिए । माझीले लामो समयदेखि उपत्यकामा सिक्री स्न्याचिङ, मोटरसाइकल चोरी तथा सुन–डलर देखाएर लुटपाट गर्ने आपराधिक समूहका व्यक्तिहरूसँग सम्पर्क विस्तार गर्दै आएका थिए। उनले नयाँ समूह बनाउने र योजनाबद्ध रूपमा अपराध गर्ने गरेका थिए ।
नागरिकता देऊ, लगानी बढाऔं
काठमाडौं । हरियो रुख । डमी छ । जय नेपाल ! जय नेपाल ! म केन्द्रीय सदस्यको उम्मेदवार गणेश खड्का हुँ । यो दृश्य र आवाज राष्ट्रिय सभा गृहको प्राङगणमा सुनिएको हो । उम्मेदवार तथा प्रतिनिधिको घाटीमा फोटोसहितको माला झुण्डिएको छ । हात- हातमा भिजिटिङ कार्ड बाँडिरहेका छन् । त्यहीँ चर्को आवाजकै सुनिएको भीडमा भेटिए ५३ वर्षीय दयानिधि सापकोटा । उनी बेलायतबाट जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेर काठमाडौं आएका हुन् । सापकोटा बेलायतमा बसेको तीन दशक बढी भयो । उनी पेशाले होटल तथा रेष्टुरेण्ट व्यवसायी समेत हुन् । यति मात्र नभइ नेपाली विद्यार्थी र अन्य मुलुकका नागरिकलाई काम समेत दिएका छन् । व्यवसायसँगै राजनीतिलाई सेवा ठानेका उनी यो पटकको महाधिवेशनमा सहभागी हुन काठमाडौंसम्म आइपुगेका छन् । तीन पुस्ते नेपाली कांग्रेसको राजनीतिमा लागेकाले आफू पनि त्यसबाट भाग्न नसकेको सापकोटा बताउँछन् । 'राजनीति सेवा रहेछ । नेपालको राजनीतिलाई चासो लिने गरेकाले पनि महाधिवेशनले यहाँसम्म ल्याएको छ,' उनले विकासन्युजसँग भने, 'राजनीतिसँगै व्यवसायलाई निरन्तरता दिँदै आएको छु ।' नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न पुर्याएको योगदानले पार्टीको राजनीति छाड्न नसकिएको उनले बताए । 'प्रजातान्त्रिक विचारलाई सधैं आत्मसात गर्ने भएकाले नेपाली राजनीतिमा फरक पहिचान बनाएको दल हो,’ उनी भन्छन्,’ कांग्रेसले नेपालको शासकीय व्यवस्थामा ठूलो भूमिका निभाएको छ ।' दयानिधि सापकोटा । युवा पुस्तालाई समेट्न सकेकाले यो अधिवेशनमा आकर्षण बढेको सापकोटाको बुझाइ छ । नेपाली राजनीतिको करेक्सन बदलिएको उनले बताए । मुलुकको माटो सुहाउँदो राजनीति र सिद्धान्त हुनुपर्ने उनले उल्लेख गरे । नेपाली राजनीतिमा कांग्रेसले पुर्याएको योगदानलाई भुल्न नसकिने उनको भनाइ छ । विदेशमा बसेका नेपालीलाई वंशजको नागरिकता दिलाउन कांग्रेसले पहल गर्नुपर्ने उनको भनाइ छ। विदेशमा रहेका नेपालीले रेमिट्यान्स मार्फत नेपाललाई योगदान पुर्याइरहेको उनले बताए । विदेशमा बसेका नेपालीलाई एक पटकको नेपाली सधैंका लागि नेपाली हो भनेर सम्झनुपर्ने उनले सुझाए । विदेशमा रहेका नेपालीले जन्मभूमिलाई कहिले पनि बिर्सन नसक्ने उनले बताए । विदेशमा ठूला लगानी भित्र्याउन एनआरएन नेपालीले गरिरहेका लगानीको सुरक्षित वातावरण हुनुपर्ने सापकोटाको भनाइ छ । 'लगानी गरेका पैसा जन्मभूमिमा योगदान गर्न पाइयोस र कर्मभूमिमासमेत लैजान पाइयोस भन्ने छ,' उनले अगाडि सुनाए । राजनीतिले डोर्याएर युरोपबाट नेपालसम्म बदलिँदो राजनीतिको दृश्यमा परिवर्तनको सन्देश बोकेर आएको महाधिवेशन नयाँ सन्देश बोकेको बताउँछन् स्पेनबाट आएका प्रतिनिधि ४७ वर्षीय चिन्तामणी सापकोटा । विदेशमा बसे पनि नेपालको राजनीतिले टाढा पुर्याउन नसकेको उनले बताए । 'नेपालको राजनीतिमा कांग्रेस सधैं अगाडि रहेको छ,' उनले भने,' हरेक परिवर्तनको साक्षी कांग्रेस हो । अहिले पनि मुलुक विषम परिस्थितिमा गुज्रिरहेको छ । यस्तो अवस्थामा कांग्रेसले लिड गर्नुपर्ने हुन्छ ।' मुलुकमा नेपाली कांग्रेस भन्ने दलले ठूलो रहेको सन्देश पुर्याउन भए पनि मातृभूमि आउनुपरेको उनले बताए । ‘सामाजिक र राजनीतिक आन्दोलनमा नेपाली कांग्रेसले पुर्याएको भूमिकालाई बिर्सन हुँदैन, 'उनी भन्छन्,' युरोपबाट नेपालको राजनीतिलाई हरेक पल चासो राख्ने गरेकाले यहाँसम्म आउनु परेको छ।' नेपालमा विदेशी लगानी कसरी ल्याउन सकिन्छ त्यसमा कांग्रेसले ध्यान दिनुपर्ने सापकोटा बताउँछन् । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन के कस्तो योजना तथा नीति बनाउने त्यसमा अहिलेदेखि गृहकार्य गर्न उनले सुझाए । नेपाललाई अप्ठ्यारो पर्दा विदेशमा रहेका नेपालीलाई धेरै सहयोग गर्ने गरेको उनले बताए । विदेशमा रहेका नेपालीलाई राजनीति र आर्थिक क्षेत्रमा सहभागी गराउन विशेष नीति ल्याउनुपर्ने सापकोटाले उल्लेख गरे । चिन्तामणी सापकोटा । श्रमिकको आवाज बन्दै मध्यपूर्वमा मध्यपूर्वको देशमा दुई दशकदेखि पसिना बगाउँदै आएका ४४ वर्षीय खेमराज बस्नेत पनि कांग्रेसको कुम्भ मेलामा आएका छन् । दुवईमा व्यवसाय गरिरहेका उनलाई पनि काठमाडौंमा भएको अधिवेशनले डोर्याएर ल्याएको छ । विदेशमा श्रम गर्नुपरे पनि राजनीतिले नछाड्ने उनले बुझेका छन् । नेपालको राजनीतिको कारण भनौ वा शासककै कारण देश छाड्नु परेको व्यथा उनले सुनाए । विदेशमा बसेर राजनीतिमार्फत श्रमिकको आवाज उठाउन पनि राजनीतिमा होम्मिएको उनी बताउँछन् । त्यसो त उनी यो पटक मतमात्र गर्ने छैनन् । उनी नेतृत्त्व गर्नसमेत हौसिएका छन्। बस्नेतले मध्यपुर्वको कलष्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विदेशमा सिकेका सीप र ज्ञानलाई नेपालमा लगानी गर्न नेपाली कांग्रेसले विशेष नीति ल्याउनु पर्ने उनले बताए । विदेशको भूमीलाई कर्म गर्ने क्षेत्र बनाएका उनी मत माग्दै हिँडिरहेका छन् । दुवईमा होटल व्यवसाय गरिरहेका उनी यो पटकदेखि राजनीतिमार्फत सेवा गर्ने हुटहुटीमा लागि राजनीतिको मैदानमा छन् । राजनीतिलाई पेशाभन्दा पनि सेवा ठानेकाले आजसम्म राजनीतिमा लाग्नुपरेको उनले बताए । 'यसभन्दा अघिल्लो अधिवेशनमा भएका पात्रहरूले राजनीतिलाई पेशा बनाएका थिए,’ उनले भने,’ अब बन्ने नयाँ नेतृत्वले सेवा मात्र गर्नु पर्छ । राजनीति सिक्ने र सेवा गर्ने ठाउँ हो ।' खेमराज बस्नेत । विदेशमा रहेका श्रमिकको आवाज, सीप र ज्ञानलाई व्यवहारमा लागू गर्न सकेमा मुलुक समृद्ध बन्न सक्नेमा उनी विश्वस्त सुनिन्छन् । नेपाली राजनीतिमा देखिएका विकृती र विसंगतिलाई सदाका लागि त्याग्न सकेमा मुलुक सुनौलो युगमा प्रवेश गर्न सक्ने उनको बुझाइ छ । 'नेपालको विकासमा विदेशबाट आएको रेमिट्यान्सले ठूलो सहयोग गरेको छ,' बस्नेत भन्छन,' रेमिट्यान्स पठाउनेहरू अपहेलित छन् । उनीहरूलाई सम्मान गर्नुपर्छ । नेपाली कांग्रेसको महाधिवेशनबाट विदेशमा बसेका नेपालीका छुट्टै नीति पारित हुनुपर्छ ।' यतिखेर नेपाली कांग्रेसको १५ औं महाधिवेशन चलिरहेको छ । देशविदेशबाट नेपाली कांग्रेसका कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि काठमाडौं आएका छन् ।
चोलेन्द्रदेखि दीपक र वंशीराजसम्म फैलिएको लहरो
काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल गत सोमबार निलम्बनमा परे । सरकारले दाहाललाई पदीय आचरणविपरीत काम गरेको र गम्भीर तथा संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बन गरेको जनाएको छ । दाहालमाथि कारबाहीको खबर सार्वजनिक भएसँगै यसको कारण र आधारबारे स्वाभाविक रूपमा प्रश्न उठेको छ । उच्च तहका सुरक्षा अधिकारीमाथि राज्यले गरेको निलम्बन सामान्य प्रशासनिक निर्णय होइन । यसले सुरक्षा संगठनको अनुशासन, नेतृत्वको जवाफदेहिता र सरकारको कार्यशैलीसँग जोडिएका गम्भीर प्रश्न सतहमा ल्याउँछ । गृह मन्त्रालयले पदीय आचरण विपरीत काम गर्ने र संवेदनशील सूचना चुहाउने कर्मचारीलाई गम्भीरतापूर्वक हेरिरहेको जनाएको छ । शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको र कानुनविपरीत काम गर्ने जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ । यो सन्देशका रूपमा सकारात्मक हुन सक्छ । राज्यका संवेदनशील सूचना व्यक्तिगत स्वार्थ, राजनीतिक पहुँच वा अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन । सुरक्षा निकायमा रहेका अधिकारीले अझ बढी पदीय मर्यादा र गोपनीयताको पालना गर्नुपर्छ । तर, त्यससँगै राज्यले कारबाहीको आधार र प्रक्रिया पनि पारदर्शी बनाउनुपर्छ । दाहाललाई निलम्बन गर्नु आफैमा अन्तिम कारबाही होइन । निलम्बन छानबिनको प्रक्रिया अघि बढाउने प्रशासनिक कदम हो । त्यसैले अब मुख्य प्रश्न हो, उनीमाथि लागेको आरोपको प्रमाण के हो ? गृह मन्त्रालयले दाहालमाथि गम्भीर सूचना चुहाएको आरोप लगाएको छ । तर, कुन सूचना, कसलाई, कुन माध्यमबाट र कुन उद्देश्यले चुहाइएको हो भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट गरिएको छैन । आरोपको गम्भीरताअनुसार त्यसको आधार पनि स्पष्ट हुन आवश्यक छ । यस विषयमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहालमाथि छानबिन गर्न जाँचबुझ समिति गठन भएको र समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको बताएका छन् । समितिमा एआईजी अञ्जनीकुमार पोख्रेल रहेको र प्रतिवेदनमा उल्लेख भएअनुसार कारबाही हुने उनको भनाइ छ । ‘दाहाललाई प्रतिवेदनमा उल्लेख गरेअनुसार कारबाही हुन्छ । उहामा के-कस्ता प्रमाण भेटिए त्यस बारेमा मैले भन्न मिल्दैन,’ काफ्लेले भने । यहीँबाट सरकारको अर्को दायित्व सुरु हुन्छ । छानबिन समितिले के निष्कर्ष निकाल्छ, त्यसलाई सार्वजनिक बहसमा ल्याउनुपर्छ । आरोप प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्छ । प्रमाण नपुगेमा पनि त्यसको अवस्था सार्वजनिक रूपमा स्पष्ट हुनुपर्छ । निलम्बनलाई नै दोष प्रमाणित भएको अर्थमा बुझ्ने अवस्था सिर्जना गर्नु हुँदैन । उच्च तहका सुरक्षा अधिकारीमाथि लागेको आरोपलाई राजनीतिक वा प्रशासनिक दबाबको विषय बनाइनु हुँदैन । नत सुरक्षा निकायभित्र गलत काम गर्ने जोसुकैलाई संरक्षण दिन मिल्छ । राज्यका कर्मचारी र अधिकारीका लागि एउटै मापदण्ड लागू हुनुपर्छ, गल्ती भए प्रमाणसहित छानबिन र कानुनअनुसार कारबाही । चोलेन्द्र जबरा प्रकरणले उठाएको प्रश्न दाहालको निलम्बनसँगै केही साताअघि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा दिएको घटनासँग जोडिएका प्रश्न पनि फेरि सतहमा आएका छन् । सरकारले जबरालाई पक्राउ वा नियन्त्रणमा नलिएको, सुरक्षा जोखिमका कारण सुरक्षित स्थानमा लगिएको बताउँदै आएको छ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परिवारबाट सुरक्षा माग गर्दै प्रहरीमा निवेदन आएपछि उनलाई सुरक्षित स्थानमा लगिएको बताएका थिए । ‘स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन,’ उनले भनेका थिए, ‘उहाँकै आफ्नो परिवारबाट उहाँको सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाइएको छ ।’ सरकारको यो स्पष्टीकरणपछि पनि एउटा प्रश्न भने बाँकी छ, सुरक्षा खतरा कहाँबाट थियो ? यदि कुनै व्यक्तिमाथि गम्भीर सुरक्षा खतरा थियो भने त्यस्तो खतरा के थियो, कसबाट थियो र त्यसका आधारमा प्रहरीले के अनुसन्धान गर्यो भन्ने जानकारी सार्वजनिक हुनुपर्छ । सुरक्षा दिने नाममा राज्यले कुनै नागरिकलाई अस्पष्ट अवस्थामै लामो समयसम्म राख्ने अभ्यास स्थापित हुनु हुँदैन । कुनै नागरिकमाथि अनुसन्धान आवश्यक भए त्यसको कानुनी आधार हुनुपर्छ । सुरक्षा जोखिम भए त्यसको प्रकृति र राज्यले अपनाएको प्रक्रिया पनि कानुनको सीमाभित्र हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता सुरक्षा निकायका लागि पनि उत्तिकै आवश्यक छन् । यही कारण चोलेन्द्र जबरा प्रकरण र एआईजी दाहालमाथिको कारबाहीलाई एउटै घटनाका रूपमा हेर्नु उचित हुँदैन । तर, दुवै घटनाले राज्यका सुरक्षा संयन्त्रले नागरिक र आफ्नै उच्च अधिकारीमाथि गर्ने कारबाही तथा सुरक्षा व्यवस्थापनमा कानुनी प्रक्रिया, प्रमाण र पारदर्शिताको आवश्यकता भने देखाएका छन् । प्रमाणका आधारमा कारवाही हुनुपर्छ गृहमन्त्री सुधन गुरुङले मंगलबार सामाजिक सञ्जालमार्फत गृह मन्त्रालय र मातहतका निकायमा रहेका पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरुपयोग गरी गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन् । उनका अनुसार राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले राज्यका सूचनामा पहुँच दिने भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार नदिने उनको भनाइ छ । ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ उनले भनेका छन् । गुरुङले राज्यको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने चेतावनीसमेत दिएका छन् । यो विषयमा सरकार स्पष्ट हुनुपर्छ । राज्यका गोप्य सूचना चुहाउने काम गम्भीर अपराध वा कसुरको दायरामा पर्छ भने प्रमाणका आधारमा दोषीमाथि कारबाही हुनुपर्छ । तर, ’सूचना चुहाएको’ भन्ने आरोप मात्रै पर्याप्त हुँदैन । आरोप पुष्टि गर्ने प्रमाण, कानुनी आधार र छानबिनको निष्पक्षता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । सुरक्षा निकायमा कार्यरत अधिकारीले पदीय मर्यादा पालना गर्नुपर्छ । तर, राज्यले पनि आफ्नो अधिकार प्रयोग गर्दा कानुन, प्रक्रिया र प्रमाणको सीमा नाघ्नु हुँदैन । कर्मचारीलाई गलत काम नगर्न सचेत गराउने सबैभन्दा प्रभावकारी माध्यम मनपरी कारबाही होइन, निष्पक्ष छानबिन र निश्चित कानुनी प्रक्रिया हो । गलत गर्ने कर्मचारीलाई संरक्षण गर्नु हुँदैन, तर आरोप लगाएर मात्र दोषी ठहर गर्ने संस्कार पनि स्थापित गर्नु हुँदैन । दाहालको हकमा पनि यही मापदण्ड लागू हुनुपर्छ । छानबिन समितिले तोकिएको समयभित्र निष्पक्ष प्रतिवेदन दिनुपर्छ । प्रतिवेदनमा प्रमाण भेटिए कारबाही अघि बढाउनुपर्छ । प्रमाण नपुगेमा त्यसको अवस्था पनि स्पष्ट गर्नुपर्छ । सरकारले निलम्बनलाई शक्ति प्रदर्शनको माध्यम होइन, जवाफदेहिताको सुरुवात बनाउनुपर्छ । सुरक्षा निकायका अधिकारीदेखि सामान्य कर्मचारीसम्म सबैका लागि एउटै कानुनी मापदण्ड लागू भएको अनुभूति नागरिकले गर्न सक्नुपर्छ । राज्यको अधिकार बलियो हुनु आवश्यक छ । तर, राज्यको अधिकारसँगै त्यसको प्रयोगमाथिको पारदर्शिता पनि बलियो हुनुपर्छ । निलम्बन गर्न सक्ने अधिकार सरकारसँग छ । तर, निलम्बनको कारण र प्रमाणबारे जवाफ दिने दायित्व पनि सरकारकै हो । दीपकको सरुवामा थप संशय कारागार व्यवस्थापन विभागले नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको घटनाले थप संशय सिर्जना गरेको छ । उनलाई गत शनिबार सिन्धुपाल्चोक स्थानान्तरण गरिएको हो । भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण गरी भ्रष्टाचार र बैंकिङ कसुर गरेको आरोप छ । उच्च अदालत, पाटन र विशेष अदालतमा उनीसँग सम्बन्धित मुद्दा विचाराधीन छन् । अदालतले प्रारम्भिक सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाएपछि उनी नख्खु कारागार बस्दै आएका थिए । दीपक भट्टको सरुवा पनि सामान्य होइन । यसलाई विशेष चासोका साथ हेरिएको छ । कतिपयले यसलाई पूर्वप्रधानन्यायाधीश जबरासँग जोडिएर पनि हेरेका छन् । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले उनीमाथि चलखेल गरेको आरोप लगाउँदै सरुवा गरेको हुनसक्ने बुझाइ अधिकांशको छ ।