बैंकका ऋणी डिप्रेशनमा, मनोविदको सहायता लिँदै राष्ट्र बैंक
काठमाडौं । बैंकका ऋणीबाट ऋण उठाउन सकस भएपछि नियामक नेपाल राष्ट्र बैंकले ‘मनोविद’ (साइकोलोजिष्ट)को सहायता लिने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नियमित साँवा ब्याज भुक्तानी नगर्ने ऋणीहरूबाट सहजरूपमा ऋण असुल गर्नका लागि राष्ट्र बैंकले मनोविदहरूको सहायता लिने भएको हो । पछिल्लो समय उद्योगी व्यवसायीहरूले व्यावसायिक वातावरण बिग्रेकोले कम्पनीको आम्दानी समेत नभएकोले बैंकको साँवा ब्याज तिर्न समस्या भइरहेको गुनासो गरिरहेका छन् । ब्यापारमा सुस्तता सिर्जना हुँदा कतिपय उद्योगी व्यवसायीहरू मानसिक समस्याको शिकार हुन पुगेका छन् । कतिपयले आत्महत्या तथा आत्मदाह गरेका घटनाहरू पनि बेलाबखत बाहिरिने गरेका छन् । उद्योगी व्यवसायीहरूका यी विविध समस्याहरूलाई समाधान गर्दै उनीहरूबाट सहजरूपमा ऋण असुल गर्ने रणनीति बनाउन राष्ट्र बैंकले मनोविदहरूको सहकार्य तथा समन्वय गर्न लागेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले समस्यामा परेका उद्योगी व्यवसायीहरूको मनोभावना बुझ्दै बैंकहरूको ऋण पनि असुल गर्ने रणनीतिका साथ मनोविदहरूसँग सहकार्य गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अहिले अधिकांश उद्योगी व्यवसायी तथा ऋणीहरू मानसिक समस्याको शिकार बन्दा बैंकको ऋण उठ्न सकिरहेको छैन । सो समस्या समाधानका लागि राष्ट्र बैंकले यस्तो रणनीति अपनाउने तयारी थालेको हो । ‘व्यावसायिक वातावरण बिग्रदा व्यवासायीहरू समस्यामा परेका छन् । कतिपय व्यवसायीहरू ब्यापारकै कारण मानिसक समस्या (डिप्रेशन)को शिकार बनेका छन् । यो समस्याको समाधान गर्न हामीले मनोविदहरूसँग कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्दैछौं,’ उनले भने, ‘यो विषयको समाधानका लागि मनोविदहरूसँग योजनाको प्रस्ताव मागिरहेका छौं ।’ मनोविद डा. पशुपति महतले अहिलेको परिस्थितीलाई माथि उकास्न आफूहरू तयार रहेको बताए । ‘मन्दीका कारण उद्योगी व्यवसायी निराशामा छन्, घरपरिवारको भविष्य उज्वल बनाउने उद्देश्य लिएर व्यवसाय चलाएका हुन्छन् । तर, व्यवसाय नचलेपछि, मन्दीमा गएपछि, उत्पादन गरेका वस्तुहरू बिक्री नभएपछि बैंकको कर्जा तिर्न सकिँदैन । बैंकले कर्जा दिएपछि उठाउनु दायित्व हो,’ उनले भने, ‘एकातिर बैंक र अर्काेतिर घरपरिवारको आवश्यकता पुरा गर्न नसक्ने दबाब हुन्छ । यी सबै दबाबले मान्छे निराशा (डिप्रेसन)मा जाने सम्भावना हुन्छ ।’ उनका अनुसार व्यक्ति आफैं डिप्रेशनमा गएको थाहा पाउँदैन । यदि थाहा पाएपनि विकल्प रोज्न नसक्ने उनको भनाइ छ । डिप्रेसन मानसिकको रोग हो र उपचार गरेर निको हुनुपर्छ भन्ने सोचाई नै नआउने उनले बताए । गत वर्ष संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेम आचार्य र अन्य केही व्यापारीले आत्महत्या गरेका घटना सुनाउँदै उनले भने, ‘डिप्रेसनमा जाँदा आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । परिवारका सबै सदस्यलाई मारेर आफू आत्महत्या गर्ने जोखिम पनि बढी हुन्छ । किनभने आफू भएन भने परिवारले पनि दुःख पाउन सक्छन् र दुःख पाउनु भन्दा मसँगै लैजान्छु भन्ने देखिन्छ ।’
बैंकमा खुद तरल सम्पत्ति थुप्रिँदै, नियामकीय व्यवस्थाभन्दा दोब्बरको अनुपात
काठमाडौं । कुनै समय तरलताको सकस भोगिरहेको बैंकिङ क्षेत्र अहिले ‘ओभर लिक्विड’को अवस्थामा छ । अहिले बैंकिङ क्षेत्रमा तरलता बढेर बैंकहरू लगानी गर्न चाहे पनि ऋण प्रवाह गर्न सकिरहेका छैनन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग नहुँदा बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गर्न सकेका छैनन् । सोही कारण अहिले बैंकिङ क्षेत्रमा खुद तरल सम्पत्ति (एनएलए) बढ्दै गएको छ । कुनै बेला तरलता अभावको कारण बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुने अवस्था पुग्थ्यो । नियामक नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले २० प्रतिशतको एनएलए कायम गर्नुपर्ने प्रावधान छ । तर, बैंकहरूको एनएलए भने नियामकीय व्यवस्थाभन्दा दोब्बर पुगेको छ । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तिमा २० प्रतिशत एनएलए राख्नुपर्ने व्यवस्था छ । तरल सम्पत्तिलाई बैंकहरूले सहजै रूपमा बिक्री गर्न वा कारोबार गर्न सक्छन् । कुनै सम्पत्ति जुन सहजरूपमा कारोबार गरेर नगदमा परिणत गर्न सकिन्छ त्यो खुद तरल सम्पत्ति हो । अहिले बैंकमा सोही तरल सम्पत्तिको अनुपात बढेको हो । तरल सम्पत्तिको रूपमा सामान्यता बण्ड, सेयर, बैंक निक्षेप, डिबेन्चर लगायत समावेश हुन्छन् । पुससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति अधिकतम् ३९ प्रतिशत छ । सबैभन्दा बढी एनएलए स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको एनएलए ३९ प्रतिशत छ । यस्तै, नेपाल एसबिआई बैंकको ३८ प्रतिशत, एभरेष्टको ३६ प्रतिशत, एनएमबिको ३२ प्रतिशत, ग्लोबल आइएमईको ३१ प्रतिशत र हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशत एनएलए छ । यस्तै, लक्ष्मी सनराइज बैंकको २९ प्रतिशत, सानिमाको २८ प्रतिशत, एनआइसी एशिया र कुमारीको २७ प्रतिशत, माछापुच्छ्रे, प्रभु र सिद्धार्थको २६ प्रतिशत र नबिल र सिटिजन्स बैंकको एनएलए २५ प्रतिशत छ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकसँग प्रयाप्त खुद तरल सम्पत्ति रहेकोले बैंकिङ क्षेत्र सहज अवस्थामा रहेको धारणा दिए । उनका अनुसार हाल बैंकिङ क्षेत्रमा १८ खर्बसम्म तरल सम्पत्ति छ । ‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्, यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’ उनले पछिल्लो १० वर्षको तुलनामा बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको तर्क दिए । ‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । तर, हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ, २८ प्रतिशत खुद तरल सम्पत्ति छ, यसले बैंकहरू तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’ सस्तो ब्याजमा राख्दै पैसा बैंकमा अधिक तरलता हुँदा बैंकहरू सस्तो ब्याजमा पैसा राष्ट्र बैंकमा राखिरहेका छन् । नेपाल राष्ट्र बैंकले फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरूले साढे २ खर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् । दुई सातामा बैंकहरूले चार पटक पैसा राष्ट्र बैंकमा राखेका छन् । यो पैसा बैंकहरूले चार दिनसम्मको लागि रकम राख्न पाइन्छ । यो पैसा बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सक्छन् । बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको बैंकरहरू बताउँछन् । बैंकहरू तीन प्रतिशत प्रिमियममै पैसा राखिरहेका छन् ।
टाटा समूहको सम्पत्ति पाकिस्तानको जीडीपीभन्दा बढी
नयाँदिल्ली । टाटा ग्रुप अफ कम्पनीको कुल सम्पत्ति ३ खर्ब ६५ अर्ब अमेरिकी डलर पुगेको छ । यसले टाटालाई भारतको सबैभन्दा बलियो कम्पनी त बनाउँछ नै । साथै, यसको सम्पत्ति पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा पनि बढी छ । रिलायन्स समूहका प्रमुख मुकेश अम्बानी विश्वकै धनी व्यक्ति बनेका छन् वा अर्बपति व्यवसायी गौतम अडानीले उनलाई पछाडि छोडेका छन् भन्ने कुरा तपाईंले प्रायः सुन्नुभएको होला । तर, यसमा तपाईंले टाटाको धेरै चर्चा सुन्नुहुन्न । चियादेखि ज्यागुअर ल्यान्ड रोभर कारसम्म र नुन बनाउनेदेखि विमान उडाउने र होटल समूह चलाउनेसम्मका विभिन्न क्षेत्रमा टाटाको प्रभाव देखिन्छ । यस वर्ष फेब्रुअरीमा टाटा समूहको बजार पुँजीकरण करिब ३ खर्ब ६५ अर्ब डलर थियो, जबकि हालै अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले पाकिस्तानको जीडीपी करिब ३ खर्ब ४१ अर्ब डलर हुने अनुमान गरेको छ । यदि टाटा कन्सल्टेन्सी सर्भिसको मात्रै कुरा गर्ने हो भने यसको सम्पत्ति १ खर्ब ७० अर्ब डलर छ, जुन भारतको दोस्रो ठूलो कम्पनी हो। यसको सम्पत्ति पाकिस्तानको अर्थतन्त्रको झन्डै आधा हो । टाटा कम्पनीको स्थापना टाटालाई यहाँसम्म आइपुग्न १ सय ५० वर्षभन्दा बढी समय लाग्यो । तर, धेरै क्षेत्रमा यो भारतको पहिलो कम्पनी भएको छ । ८ फेब्रुअरी, १९११ मा लोनावाला बाँध शिलान्यास गर्दा टाटा समूहका प्रमुख सर दोराबजी टाटाले सन् १८६८ मा यस कम्पनीको जग बसाल्ने आफ्ना पिता जमशेदजी टाटाको सोचको बारेमा कुरा गरेका थिए । यो अब १० भर्टिकल्ससँगै ३० कम्पनीहरूको एक समूह हो । यसले ६ महादेशका १ सयभन्दा बढी देशमा आफ्नो सेवा प्रदान गर्दै आएको छ । दोराबजी टाटाले भनेका थिए, ‘मेरा बुबाका लागि धन कमाउनु एउटा सोचाइ थियो । उनले यो देशका जनताको औद्योगिक र वैचारिक अवस्था सुधारलाई प्राथमिकता दिएका छन् । उनले आफ्नो जीवनमा समय–समयमा सुरु गरेका विभिन्न संस्थाहरूको वास्तविक उद्देश्य ती महत्त्वपूर्ण क्षेत्रहरूको विकास थियो ।’ कम्पनीको वेबसाइटमा तिनीहरूको मिशनका रूपमा यी कम्पनीहरू विश्वभरिका विभिन्न समुदायको जीवनको गुणस्तर सुधार गर्न स्थापना गरिएको उल्लेख गरिएको छ । भनिन्छ, उन्नाइसौं शताब्दीको अन्त्यमा टाटाका संस्थापक जमशेदजी टाटालाई बम्बईको महँगो होटेलमा उनको रङ–रूपका कारण प्रवेश गर्न दिइएको थिएन । यो घटनाले जमशेदजीमा गहिरो प्रभाव पारेको थियो । उनले यो होटलभन्दा राम्रो होटल बनाउने निर्णय गरे जसमा सबै भारतीय नागरिकलाई पनि आउन र जान दिइने छ । पहिलो लक्जरी होटल सन् १९०३ मा मुम्बईको समुद्री किनारमा ताज होटल स्थापना भएको थियो । यो सहरको पहिलो भवन थियो जसमा बिजुली, अमेरिकी फ्यान र जर्मन लिफ्टजस्ता सुविधा उपलब्ध गराइएको थियो । यसमा अङ्ग्रेज पकाउने काम गर्थे । अहिले अमेरिका र बेलायतसहित नौ देशमा यसका शाखा छन् । जमशेदजीको जन्म सन् १८३९ मा फारसी परिवारमा भएको थियो । उनका धेरै पुर्खाहरू फारसी धर्मका गुरु थिए। उनले कपास, चिया, तामा, पित्तल र अफिममा धेरै पैसा कमाए, जसको व्यापार त्यतिबेला अवैध थिएन । उनी एक विश्वयात्री थिए र नयाँ आविष्कारबाट धेरै प्रभावित हुन्थे । बेलायत भ्रमण क्रममा ल्यांकशायरमा कपास मिलहरू देखेपछि उनले महसुस गरे कि भारतले आफ्नो औपनिवेशिक मालिकसँग प्रतिस्पर्धा गर्न सक्छ । पहिलो कपडा कम्पनी सन् १८७७ मा जमशेदजीले महारानी मिलको नामबाट देशको पहिलो कपडा मिल खोलेका थिए । महारानी भिक्टोरियालाई भारतको महारानीको रूपमा राज्याभिषेक भएको दिनमा महारानी मिलको उद्घाटन भएको थियो । जमशेदजीको भारतको विकासको दृष्टिकोण स्वदेशी शब्दबाट बुझ्न सकिन्छ, जुन उन्नाइसौं शताब्दीको प्रारम्भमा भारतको स्वतन्त्रता आन्दोलनको एक महत्वपूर्ण हिस्सा थियो । उनले भनेका थिए, ‘समुदायको विकासका लागि सबैभन्दा कमजोर र असहाय व्यक्तिलाई सहयोग गर्नुको सट्टा सबैभन्दा सक्षम र प्रतिभाशाली व्यक्तिहरूले आफ्नो देशको सेवा गर्न सकोस् भनेर सहयोग गर्नु आवश्यक छ।’ पहिलो औद्योगिक सहर उनको सबैभन्दा ठूलो सपना स्टील फ्याक्ट्री बनाउने थियो, तर यो सपना साकार हुन नपाउँदै उनको निधन भयो । त्यसपछि उनका छोरा दोराबजीले उनको मृत्युपछि बुबाको सपना पूरा गरे र टाटा स्टीलले १९०७ मा उत्पादन सुरु गर्यो । यसरी भारत एसियाको पहिलो देश बन्यो, जहाँ स्टिल कारखाना निर्माण भयो । यस कारखानाको नजिकै एउटा सहर स्थापना भएको थियो जसको नाम जमशेदपुर थियो। आज यो भारतको स्टील सिटी भनेर चिनिन्छ । जमशेदले आफ्नो छोरा दोराबलाई पत्र लेखेर औद्योगिक सहर स्थापना गर्न आग्रह गरेका थिए। उनले लेखेका थिए, ‘यो सहरका सडक चौडा हुनुपर्छ । रुख, खेल मैदान, पार्क र धार्मिक स्थलहरूका लागि पनि ठाउँ हुनुपर्छ ।’ टाटा आफैंले आफ्ना कर्मचारीहरूको कल्याणका लागि कुनै पनि कानुनी प्रतिबन्ध बिना नै १८७७ मा निवृत्तिभरण, १९१२ मा आठ घण्टा काम गर्ने समय र १९२१ मा आमा बन्ने महिलाहरूलाई छुटसहितका नीतिहरू बनाए । पहिलो हवाई सेवा टाटा परिवारका अर्का सदस्य जहाँगीर टाटा १९३८ मा ३४ वर्षको उमेरमा कम्पनीको अध्यक्ष बने र करिब आधा शताब्दीसम्म यस पदमा रहे । उनी उद्योगपति बन्नुभन्दा पाइलट बन्नमा बढी चासो राख्थे, जुन इच्छा उनले लुइस ब्लेराइटलाई भेटेपछि जन्मेको थियो । जो अंग्रेजी च्यानलमा उडान गर्ने पहिलो पाइलट थिए । जेआरडी बम्बे फ्लाइङ क्लबबाट भारतमा पाइलट प्रशिक्षण लिने पहिलो व्यक्ति थिए। उनको एयर लाइसेन्समा नम्बर १ थियो, जसमा उनी धेरै गर्व गर्थे। उनले भारतको पहिलो हवाई मेल सेवा सुरु गरे । त्यो उडानले प्रायजसो मेलसँगै यात्रुहरू बोक्थ्यो । पछि यो हुलाक सेवा भारतको पहिलो एयरलाइन्स ‘टाटा एयरलाइन्स’ बन्यो, जसको नाम केही समय पछि ‘एयर इन्डिया’ राखियो । पछि ‘एयर इन्डिया सरकारले आफ्नो स्वामित्वमा लिएको थियो, तर फेरि टाटाले त्यो कम्पनी सरकारबाट किनेको छ । एयर इन्डिया फिर्ता लिएपछि टाटा सन्ससँग अब तीनवटा एयरलाइन्स छन् । एयर इन्डिया बाहेक ‘एयर भिस्टारा’ छ जसमा तिनीहरूको सिंगापुर एयरलाइन्ससँग साझेदारी छ। उनको अर्को कम्पनी ‘एयर एशिया’ हो जसको मलेसियासँग साझेदारी छ । एयर इन्डियाको स्वामित्व फिर्ता लिने सम्बन्धमा टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरले अक्टोबर २०२१ मा एक विज्ञप्ति जारी गर्दै यसलाई ‘ऐतिहासिक पल’ भनी देशको प्रमुख एयरलाइन्सको मालिक बन्न पाउनु गर्वको कुरा भएको बताएका थिए । चन्द्रशेखरले पनि आफ्नो बयानमा भनेका थिए, ‘भारतले गर्व गर्न सक्ने अन्तर्राष्ट्रियस्तरको एयरलाइन्स सञ्चालन गर्ने हाम्रो प्रयास हुनेछ। महाराजा ९एयर इण्डियाको लोगो० फिर्ता हुनु जेआरडी टाटालाई साँचो श्रद्धाञ्जली हुनेछ। जसले भारतमा हवाई सेवा सुरु गरे ।’ कम्प्युटरको दुनियाँमा पाइला यसअघि भारत सरकारले टाटा समूहका प्रमुख जेआरडी टाटालाई एयर इन्डियाको अध्यक्ष बनाएको थियो र उनी सन् १९७८ सम्म यो पदमा रहे । त्यसपछि भारत सरकारका अधिकारीहरूले त्यो पद कब्जा गर्न थाले। सन् १९६८ मा उनले आफ्नो परिवारको परम्परालाई निरन्तरता दिए र त्यसबेला विकसित देशहरूमा मात्र पाइने व्यवसाय सुरु गरे। यो व्यवसाय कम्प्युटरसँग सम्बन्धित थियो । ‘टाटा कन्सल्टेन्सी सर्भिसेज’ वा टीसीएस नामको यो कम्पनीले विश्वभरि सफ्टवेयर आपूर्ति गर्छ। हाल यो टाटा समूहको सबैभन्दा नाफा कमाउने कम्पनी हो । १९९१ मा उनका एक टाढाका नातेदार, रतन टाटाले कम्पनीको लगाम लिए र उनको नेतृत्वमा टाटाले संसारभरि आफ्नो व्यापार विस्तार गर्यो। टाटाले टेटली टी, एआईजी इन्स्योरेन्स कम्पनी, बोस्टनमा रिट्ज कार्लटन, देवुको हेभी भेइकल म्यानुफ्याक्चरिङ युनिट र कोरस स्टिल युरोप जस्ता कम्पनीहरू किनेका थिए । टाटाको सफलताको रहस्य टाटा सन्स टाटा कम्पनीहरूको मूल लगानी होल्डिङ कम्पनी र प्रवर्द्धक हो । टाटा सन्सको ६६ प्रतिशत इक्विटी सेयर पुँजी शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र कला र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने समाजसेवीहरूको स्वामित्वमा छ । टाटा कम्पनीले हालसम्म कम्पनीको सम्पत्तिको तथ्यांक सार्वजनिक नगरे पनि जुलाई ३१, २०२३ सम्म आफ्नो सम्पत्ति ३ खबृ डलर रहेको घोषणा गरेको थियो र कम्पनीमा विश्वभरि १० लाखभन्दा बढी कर्मचारी काम गर्ने बताएको थियो । कम्पनीका अनुसार टाटा कम्पनी वा इन्टरप्राइजले आफ्नो सञ्चालक समितिको नेतृत्व र सुपरीवेक्षणमा स्वतन्त्र रूपमा सञ्चालन गरिरहेको छ । टाटाको अभूतपूर्व सफलताबारे आर्थिक विज्ञ शंकर अय्यरले भने, ‘अम्बानी वा अडानीको नाम आउँछ किनभने तिनीहरूका कम्पनीहरू व्यक्ति हुन्, जबकि टाटा विभिन्न कम्पनीहरूको समूह हो र एक ट्रस्टअन्तर्गत सञ्चालित छ। त्यसैले यो त्यसरी चर्चा हुँदैन ।’ उर्जा क्षेत्रको कम्पनी जीई इन्डियामा अल्स्टम इन्डियाका पूर्वप्रबन्ध निर्देशक र हाल ह्योसुङ इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक नागेश तलवानीले भने– टाटाको वृद्धिको मुख्य कारण भनेको नैतिक, निष्पक्ष र पारदर्शी प्रणाली हो जसले कर्मचारीहरूसँग बलियो सम्बन्ध सिर्जना गर्छ । बीबीसी