काठमाडौं । कुनै समय नेपालमा बैंक स्थापना गर्नु पर्यो भने विदेशीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनु पर्ने बाध्यता थियो । तर, त्यो बाध्यताको अन्त्य भएर नेपाली बैंकर विदेशी बैंकको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । विदेशी बैंकको नेतृत्व गर्ने मध्येका एक नेपाली बैंकर हुन् भेषराज खतिवडा ।
कुनै बेला खतिवडा नेपाली बैंकमै का गर्थे । तर, अहिले उनको परिचय परिवर्तन भएको छ । उनी म्यानमारको सिटिजन्स बैंकको सीईओ भएर काम गरिरहेका छन् । करिब तीन दशक नेपाली बैंकमा काम गरेर अनुभव हाँसिल गरिसकेका उनी अहिले म्यानमारको सिटिजन्स बैंकको कमाण्ड सम्हालिरहेका छन् ।
उनले सन् १९९३ मा आइकम पढ्दापढ्दै नबिल बैंकमा जागिर सुरु गरे । नबिल बैंकमा करिअर सुरु गरेको पाँच वर्षपछि उनी एनआईसी एसिया बैंकमा पुगे । सन् २०१० मा तत्कालीन तत्कालीन किष्ट बैंकको चिफ अपरेटिङ अफिसर बने । सन् २०१८ मा किष्ट बैंक प्रभु बैंकमा मर्ज भएसँगै उनी साविक सिभिल बैंकमा गए । तर, दुई वर्षपछि सिभिलका सहायक सीईओ बनेका उनी पुनः एनआईसी एशिया बैंक फर्किए ।
२७ वर्ष नेपाली बैंकिङ क्षेत्रमा काम गरेका उनले त्यसपछि विदेशी बैंकमा काम गर्ने योजना बनाए । सन् २०२१ को अगष्टमा म्यानमारको सिटिजन्स बैंकमा चिफ अप्रेटिङ अफिसर भएर काम गर्न थाले । त्यसको दुई वर्षपछि उनी सोही बैंकको सीईओ बने ।
म्यानमारमा बैंकको सीईओ बन्न त्यति सहज छैन । म्यानमार सिटिजन्स बैंकमा सरकारी लगानी भएका कारण झनै सीईओको नियुक्तिलाई सरकारले समेत अनुमोदन गर्नु पर्ने हुन्छ । तर, खतिवडा सो बैंकको सीईओ बन्न सफल भए ।
‘बैंकको बोर्डले निर्णय गरेर मात्रै हुँदैन, केन्द्रिय बैंकले पनि अनुमोदन गर्नुपर्छ, सरकारको पनि लगानी भएकाले सरकारले पनि स्वीकृति दिनुपर्छ, यी सबै प्रक्रियाका बाबजुद पनि सिटिजन्स बैंकको सीईओ बनेँ,’ खतिवडाले विकासन्युजसँग खुसी साँटे ।
उदयपुरको भिमाङ र कटारीको बिचमा नेपालटार भ्याली छ । भेषराज खतिवडाको त्यही नेपालटारमै जन्म भयो । एउटा सामान्य कृषकको परिवार । उपत्यका बाहिरै बसेर उनले एमबिएसम्मको अध्ययन गरे । उनी रोजगारीको सिलसिलामा सन् २००८ मा काठमाडौंका छिरेका हुन् ।
‘खान लगाउन दुख थिएन । तर, आफैंले काम गर्नुपर्छ भन्ने लाग्थ्यो, परिवारका सबै सदस्यले काम गर्थ्यौ,’ पारिवारिक माहोल सुनाउँदै उनले भने, ‘म यहाँसम्म पुग्नुमा मेरो परिश्रम र परिवारको योगदान छ ।’
‘त्यो बेलामा अधिकांश विद्यार्थीलाई जागिर खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, बैंकर नै बन्छु भन्ने पनि थिएन, जुन क्षेत्रमा पहिलो पटक जागिर गर्याे त्यही क्षेत्रमै स्थापित हुने थियो योजना थियो, मेरो पनि बैंकिङ क्षेत्रमै करिअर बनाउँछु भन्ने पनि थिएन,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने ।
उमेरले पाँच दशक पुरा भएका उनले वि.सं २०४५ सालमा एसएलसी (हालको एसईई) पास गरे । सरकारी विद्यालयमा पढेको विद्यार्थीले विदेशी बैंकको नेतृत्व गर्नु आफैंमा ठूलो संघर्ष गर्नुपर्छ । त्यो संघर्ष खतिवडाले पनि गरे । त्यसैले त उनी अहिले विदेशी बैंक हाँकिरहेका छन् ।
साढे चार हजारदेखि लाखौं तलब
नबिल बैंकमा असिस्टेन्ट पदबाट बैंकिङ करियर सुरु गरेका उनको सुरुवाती तलब मासिक ४ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि उनी अनुभव बटुल्दै गए । बैंकिङ बुझ्दै गए । पदसँगै पैसा पनि बढ्यो ।
एकपछि अर्को बैंकबाट कामका लागि अफर आउन थाल्यो । नबिल बैंकमा ५ वर्ष काम गरेपछि उनी एनआईसी एशिया बैंकमा गए ।
‘नबिलबाट एनआईसी एशिया बैंकमा प्रवेश गर्दा जुनियर असिस्टेन्ट बनेँ, बैंक अनुसारको पद सिर्जना गरिएको हुनाले एनआईसी एशियामा दुई पद बढुवा भएर गएँ, पढाइलाई पनि निरन्तरता दिएँ,’ उनले सुनाए ।

उनले काम र पढाइसँगै अगाडि बढाए । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसबाट आइकम र बिरगन्जको हरि बोधन क्याम्पसबाट बिकम पास गरे । एमबिए विराटनगरको डिग्री क्याम्पसबाट पुरा गरे ।
काम र पढाइलाई एकैपटक अगाडि बढाउँदा चुनौती थपिने धारणा राख्छन् उनी । ‘सबैलाई २४ घण्टाको समय हुन्छ । तर, समय कसरी व्यवस्थापन गर्ने आफूमा निर्भर हुन्छ,’ उनी भन्छन् ।
२०५६ सालमा एमबिए पढ्दै गर्दा उनको क्लासमेटसँगै प्रेम बस्यो । त्यसपछि उनले विवाह गरे । चार हजार रुपैयाँबाट बैंकिङ करिअर सुरु गरेका भेषराज अहिले विदेशी बैंकको नेतृत्व गरेर लाखौं तलब खान्छन् । उनी यसलाई परिश्रमको फलका रूपमा बुझ्छन् ।
तर, म्यानमारमा सीईओको तलब भने सार्वजनिक हुँदैन । ‘नेपालमा पारदर्शी छ, कुन सीईओले कति तलब लिएका छन् भनेर वार्षिक प्रतिवेदनमा उल्लेख हुन्छ, तर, म्यानमारमा कुन बैंकका सीईओको तलब कति हुन्छ भनेर जानकारी हुँदैन,’ उनी भन्छन्, ‘नेपालका सीईओ र म्यानमारका सीईओहरूको तलब उस्ताउस्तै हुन्छ होला ।’
विदेशी बैंकमा काम गर्ने अवसर
नेपाली बैंकिङ क्षेत्रमा करिब तीन दशक काम गरेपछि उनले विदेशी बैंकमा काम गर्ने योजना बनाइरहेका थिए । जतिबेला उनी एनआइसी एसिया बैंकमा कार्यरत थिए ।
हाल कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङ त्यतिबेला म्यानमार सिटिजन्स बैंकका सीईओ थिए । गुरूङसँग कुराकानी भएपछि उनी म्यानमार पुगेका हुन् । गुरूङसँग सिभिल बैंकमा काम गर्दा उनको राम्रै सम्बन्ध थियो । त्यसकारण पनि उनले विदेशी बैंकमा काम गर्ने अवसर पाएको सुनाउँछन् ।
‘आवश्यकता तथा योग्यताका हिसाबले म्यानमारमा सीईओ हुनु र नेपालमा सीईओ हुनु एउटै हो, जस्तो भारत, अमेरिकाका बैंकमा सीईओ हुनका लागि अझै बढी अनुभव खोज्छ । तर, म्यानमार र नेपालमा हुनु उस्ता उस्तै हो,’ उनले भने ।
उनी आफ्नो पदभन्दा पनि परिश्रमलाई सर्वोपरि ठान्छन् । ‘म सीईओ बन्छु भनेर बैंकमा प्रवेश गरेको होइन, आफूले बेस्ट दिने हो, बेष्ट दिने क्रममा सीईओको जिम्मेवारी पाएको हुँ,’ उनले भने ।
उनले बैंकमा जागरि सुरु गरेपछि धेरै देश घुमिसकेका छन् । चीन, सिंगापुर, मलेसिया, बैंकक, दुवई, भारत लगायतका देश घुम्ने अवसर उनले पाएका छन् ।
नेपाली बैंकको पनि नेतृत्व गर्ने चाहना
बैंकर खतिवडालाई फेरि देशमै फर्किएर नेपाली बैंकको नेतृत्व गर्ने चाहना पनि छ ।
‘अहिले म्यानमारमै काम गरिरहेको छु, त्यताको अवधि सकिएपछि स्वदेशमै फर्किन्छु, त्यतिबेला कुनै नेपाली बैंकबाट अवसर आयो भने काम गर्न तयार हुन्छु,’ उनले आफ्नो योजना सुनाए ।
उनको सिटिजन्स बैंकको सीईओको रूपमा अवधि सकिएपछि एक वर्षको कुलिङ पिरियड लाग्छ । उनी भन्छन्, ‘सायद त्यसपछि म स्वदेशमै फर्किन्छु ।’