काठमाडौं । शरद ऋतुको आगमनसँगै हिन्दु नेपालीहरूको महान् पर्व दशैँ हाम्रो घरआँगनमा आइपुगेको छ । खेतबारीमा धान झुलेका छन् । मौसम घमाइलो छ । खुलेको आकाश, परिवार तथा आफन्तसँगको भेटघाट, मीठोमसिनो खानेकुरा र नयाँ लुगा लगाउने उत्साहसँगै ज्येष्ठ पुस्ताबाट टीका र आशीर्वाद थाप्न दशैँको दसौँ दिनको प्रतीक्षामा हामी सबै छौं । बालबालिकादेखि वृद्धवृद्धासम्म रङ्गीचङ्गी चङ्गा उडाउनु र लिङ्गे पिङमा मच्चिनु यस पर्वका मुख्य रोमाञ्चक पक्ष हुन् । तर, समयसँगै दशैँको रमाइलो यतिमै सीमित छैन ।
आजभोलि दशैं मनाउने तौरतरिका फराकिलो बन्दै गएको छ । चङ्गा, पिङ र भेटघाटसँगै नयाँ गन्तव्यसम्म पुग्नु पनि दशैँको रमाइलोमा थपिएको अर्को पाटो हो । वर्षभरि पेसा–व्यवसायमा तल्लीन रहने मानिसहरू थाकेको शरीर र मनलाई ताजगी दिनसमेत दशैँमा नयाँ गन्तव्यको भ्रमण गर्ने गर्छन् । यसरी नयाँ भूगोलमा पुग्दा स्थानीय रहनसहन र संस्कृतिसँग नजिक हुने अवसर मिल्छ । परिवारसँग वर्षभरिको सुख–दुःख साट्दै समय बिताउँदा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुका साथै पारिवारिक आत्मीयता बढाउन पनि घुमफिरले सहयोग पु¥याउँछ ।
यद्यपि, घुम्ने योजना बनाउँदा यस वर्ष सडकको अवस्थाबारे विशेष ध्यान दिनुपर्ने देखिन्छ । चाडपर्वका बेला पर्याप्त जानकारी र तयारीबिनै यात्रा गर्दा सडक अवरोध वा पहिरोका कारण बाटोमै अलपत्र पर्ने जोखिम हुन्छ । त्यसैले सडक विभाग, ट्राफिक प्रहरी र जल तथा मौसम विज्ञान विभागबाट नियमित जानकारी लिएर पूर्वतयारीसहित यात्रा तय गर्नु बुद्धिमानी हुन्छ ।
यदि तपाईं यी सावधानी अपनाउँदै देशका विभिन्न गन्तव्यमा घुम्ने योजना बनाइरहनुभएको छ भने पूर्वको इलामदेखि पश्चिमको बडीमालिकासम्म नेपालभित्रै कम खर्चमा घुम्न सकिने ठाउँदेखि लामो पदयात्राका गन्तव्यसम्मका अनेक विकल्प छन् । यहाँ दशैँको बिदामा घुम्न सकिने १० पर्यटकीय गन्तव्यबारे चर्चा गरिएको छ ।
१. पूर्वका सन्दकपुर र पाथीभरा
सन्दकपुर (इलाम) : नेपाल-भारत सीमामा ३ हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर दुर्लभ रेडपाण्डा (रातो हाब्रे) को बासस्थान हो । यहाँबाट विश्वका पाँच अग्ला हिमालमध्ये सगरमाथा, कञ्चनजङ्घा र मकालु गरी तीन हिमाल स्पष्ट देख्न सकिन्छ । कन्यामका चियाबगान यस क्षेत्रको अर्को प्रमुख आकर्षण हुन् ।

पाथीभरा र ओलाङचुङगोला (ताप्लेजुङ) : प्रसिद्ध पाथीभरा देवीको दर्शनसँगै चीनको सीमासँग जोडिएको प्राचीन व्यापारिक नाका ओलाङचुङगोलासम्मको यात्रा गर्न सकिन्छ । धरान–धनकुटा हुँदै पूर्वी पहाडी क्षेत्रको भ्रमण गर्दा किरात–राई समुदायको मौलिक संस्कृति र दशैँ मनाउने परम्पराबारे बुझ्ने अवसर पनि मिल्छ ।
२. कोशीटप्पु वन्यजन्तु आरक्ष र धरान
सप्तकोशी नदीको तटमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्ष चराचुरुङ्गी अवलोकनका लागि प्रख्यात छ । यहाँ ५०० भन्दा बढी प्रजातिका रैथाने तथा प्रवासी चराहरू र दुर्लभ अर्ना (जङ्गली भैँसी) पाइन्छन् । प्रकृतिसँग रमाउन र शान्त वातावरणमा समय बिताउन चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हो ।
यहाँको भ्रमणसँगै धरान, इटहरी र भेडेटारसमेत घुम्न सकिन्छ । धरानस्थित प्रसिद्ध धार्मिक स्थल बुढासुब्बा मन्दिरको दर्शनले यात्रालाई थप अर्थपूर्ण बनाउन सक्छ ।
३. जनकपुरधाम
धनुषा जिल्लामा अवस्थित जनकपुरधाम प्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य हो । जानकी मन्दिर रहेको यो क्षेत्र प्राचीन मिथिला सभ्यता, कला, साहित्य र संस्कृतिका लागि प्रख्यात छ । विशेषतः मैथिली संस्कृति र कलाकौशलमा जनकपुरधामको विशिष्ट पहिचान छ ।
धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य मानिने जनकपुरधाम दशैँ–तिहारको बिदा सदुपयोग गर्न चाहनेहरूका लागि पनि राम्रो विकल्प हुन सक्छ । यहाँ जानकी मन्दिरका साथै राम मन्दिर, विवाहमण्डप र विभिन्न ऐतिहासिक पोखरीहरूको अवलोकन गर्न सकिन्छ । जनकपुरधाम सडक तथा हवाई दुवै मार्गबाट काठमाडौंसँग जोडिएको छ ।

४. चितवन राष्ट्रिय निकुञ्ज
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु र प्राकृतिक विविधताका लागि प्रसिद्ध छ । यहाँ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, जङ्गली हात्ती र विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।
निकुञ्ज आसपास हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर र निर्देशित जङ्गल पदयात्राजस्ता गतिविधिमा सहभागी हुन सकिन्छ । सौराहा र मेघौलीमा सुविधासम्पन्न रिसोर्टहरू उपलब्ध छन् । त्यहाँको बसाइमा थारू समुदायको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक नाचको आनन्द लिन पनि सकिन्छ ।

५. लुम्बिनी र आसपासका गन्तव्य
गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो । तराईको समथर भूभागमा अवस्थित लुम्बिनीको भ्रमणसँगै पाल्पाको तानसेन र रानीमहल तथा गुल्मीको रेसुङ्गासम्म पुग्ने योजना पनि बनाउन सकिन्छ ।
यी सबै क्षेत्रको भ्रमण गर्न भने पर्याप्त समय छुट्याउनुपर्छ । करिब एक हप्ताको यात्रा योजना बनाएर लुम्बिनीको बौद्ध सम्पदा, बुटवल–पाल्पाको पहाडी भूगोल र गुल्मीका प्राकृतिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्न सकिन्छ । यसरी तराईदेखि पहाडसम्मको विविध भूगोल, संस्कृति र प्राकृतिक सौन्दर्यको अनुभव लिन सकिन्छ ।

६. तिलिचो ताल र मनाङ उपत्यका
समुद्र सतहबाट करिब ४ हजार ९१९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल विश्वका उच्च स्थानमा रहेका तालहरूमध्ये एक हो । शरद ऋतुमा पदयात्राका लागि यो गन्तव्य विशेष लोकप्रिय छ ।
लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा चामे र पिसाङ हुँदै मनाङ उपत्यकातर्फ अघि बढ्छ । यस क्रममा अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो तथा गङ्गापूर्ण हिमालका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
खाङसार गाउँबाट अघि बढेपछि पहिरो प्रभावित क्षेत्र पार गर्दै तिलिचो आधार शिविर पुगिन्छ । त्यहाँबाट बिहानै यात्रा सुरु गरेर करिब तीन घण्टाको उकालो चढेपछि तिलिचो ताल पुग्न सकिन्छ । तालको नीलो पानी र वरिपरिका हिमाली दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछन् । मनाङको प्राचीन ब्रागा गुम्बा र गङ्गापूर्ण ताल पनि यस क्षेत्रका प्रमुख आकर्षण हुन् ।
पर्याप्त समय हुनेहरूले मनाङको यात्रालाई मुक्तिनाथसम्म विस्तार गर्न सक्छन् । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको दर्शनले यात्रालाई थप विशेष बनाउन सक्छ ।

७. शे-फोक्सुण्डो ताल (डोल्पा)
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो ताल प्रकृतिको अनुपम उपहार हो । समुद्र सतहबाट करिब ३ हजार ६११ मिटरको उचाइमा रहेको यो ताल नेपालको सबैभन्दा गहिरो ताल हो । यसको गहिराइ करिब १४५ मिटर रहेको बताइन्छ ।
गाढा नीलो अर्थात् फिरोजा रङमा टल्किने तालको पानी अत्यन्तै कञ्चन देखिन्छ । तालको दक्षिणी किनारमा रहेको प्राचीन रिग्मो गाउँ र ताल नजिकै अवस्थित करिब ९०० वर्ष पुरानो बोन्पो धर्मावलम्बीहरूको थासुङ छोलिङ गुम्बा यहाँका प्रमुख आकर्षण हुन् ।
तालबाट निस्कने पानीले बनेको करिब १६७ मिटर अग्लो सुलिगाड झरना पनि यस क्षेत्रको अर्को विशेष आकर्षण हो । तालको वरिपरिको हिमाली भूगोल, नीलो पानी र परम्परागत बस्तीले यसलाई प्रकृतिप्रेमी तथा पदयात्रीका लागि आकर्षक गन्तव्य बनाएका छन् ।
यहाँ पुग्न काठमाडौं वा नेपालगञ्जबाट हवाई मार्ग हुँदै डोल्पाको जुफाल विमानस्थल पुग्न सकिन्छ । जुफालबाट सुलिगाड र छेप्का हुँदै दुईदेखि तीन दिनको पैदल यात्रापछि रिग्मो गाउँ र तालको आसपास पुग्न सकिन्छ । सडकमार्गबाट जानेहरूले जाजरकोट–दुनै सडकखण्डको अवस्थाबारे जानकारी लिनुपर्छ ।

८. मुगुको रारा ताल : ‘स्वर्गकी अप्सरा’
समुद्र सतहबाट २ हजार ९९० मिटरको उचाइमा अवस्थित रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । करिब १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस तालको प्राकृतिक सौन्दर्यले जोकोहीलाई मोहित पार्छ । राराको नीलो पानी, वरिपरिका सल्ला, देवदार र धुपीका घना जङ्गल तथा शान्त वातावरण यसका मुख्य आकर्षण हुन् ।
तालको पानीले दिनभरि सूर्यको प्रकाशसँगै फरक–फरक रङको आभास दिन्छ । यसले रारालाई अझ आकर्षक बनाउँछ । राराबाहेक मुगुमा कोटदरबार, चङ्खेली हिमाल, दुधे दह तथा अन्य प्राकृतिक कुण्डहरू पनि अवलोकन गर्न सकिन्छ ।
रारा पुग्न काठमाडौं वा अन्य प्रमुख सहरबाट सुर्खेत हुँदै कर्णाली राजमार्गको सडकमार्ग प्रयोग गर्न सकिन्छ । सुर्खेतबाट जुम्ला हुँदै नाग्मा र गमगढीको बाटो भएर रारा क्षेत्र पुग्न सकिन्छ । सडकको अवस्था र यात्राको समय मौसमअनुसार फरक पर्न सक्छ । हवाई मार्गबाट जानेहरूले नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्मको उडान र त्यहाँबाट तालसम्म पुग्ने पैदल मार्गबारे अग्रिम जानकारी लिनुपर्छ ।

९. पोखरा उपत्यका
खर्च, यातायात, बसाइ र पर्यटकीय सुविधाका दृष्टिले पोखरा विविध प्रकारका पर्यटकका लागि उपयुक्त गन्तव्य हो । यहाँ फेवाताल र बेगनास तालमा डुङ्गा सयर गर्न सकिन्छ । सराङकोटबाट सूर्योदय र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ भने महेन्द्र गुफा, डेभिस फल्स, विश्व शान्ति स्तूप र पुम्दीकोट महादेवका कारण पोखराको भ्रमण थप रोचक बन्छ ।
साहसिक गतिविधिमा रुचि राख्नेहरूका लागि प्याराग्लाइडिङ, जिपलाइन, बन्जी जम्पिङ, अल्ट्रालाइट उडान, कायाकिङ र साइक्लिङजस्ता विकल्प पनि उपलब्ध छन् ।
पोखरा पुगेपछि समय र शारीरिक क्षमताअनुसार म्याग्दीको नर्थ अन्नपूर्ण आधार शिविर वा मौरिस हर्जोग ट्रेलको यात्रा पनि तय गर्न सकिन्छ ।
सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम (८ हजार ९१ मिटर) को सफल आरोहण गरेका थिए । आठ हजार मिटरभन्दा अग्लो हिमालको सफल आरोहण गर्ने पहिलो अभियानका रूपमा यो आरोहण विश्व पर्वतारोहण इतिहासमा महत्त्वपूर्ण मानिन्छ ।
अन्नपूर्ण प्रथमको उत्तरी आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङबाट पुग्न सकिने पदयात्रा गन्तव्य हो । समुद्र सतहबाट करिब ४ हजार १९० मिटरको उचाइमा रहेको यस आधार शिविरबाट अन्नपूर्ण प्रथमको उत्तरी मोहडा र हिमनदी नजिकबाट अवलोकन गर्न सकिन्छ । बाटोमा फुतफुते झरनालगायतका झरना, नीलो दह र पञ्चकुण्ड तालका दृश्यले यात्रालाई थप आकर्षक बनाउँछन् ।
पोखराबाट बेनी, तातोपानी र नारच्याङ हुँदै हुमखोलासम्म सवारीसाधनमा पुग्न सकिन्छ । त्यसपछि करिब दुई दिनको पैदल यात्रामा आधार शिविर पुग्न सकिन्छ । यद्यपि, यस वर्ष कालीगण्डकी नदीका कारण उक्त क्षेत्रको सडकमा क्षति पुगेको विवरण रहेकाले यात्रा गर्नुअघि सडक र पदमार्गको पछिल्लो अवस्था बुझ्नु आवश्यक छ । यातायात सञ्चालनमा आएको भए पनि स्थानीय प्रशासन वा सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा तय गर्नु उपयुक्त हुन्छ ।
पोखरा आसपासको अर्को लोकप्रिय पदयात्रा गन्तव्य मर्दी हिमाल हो । कास्की जिल्लामा पर्ने यो पदयात्रा सामान्यतया तीनदेखि पाँच दिनमा पूरा गर्न सकिन्छ । अन्नपूर्ण क्षेत्रको लोकप्रिय पदमार्गमध्ये एक मर्दी हिमाल पदयात्रा प्राकृतिक सौन्दर्य र हिमाली दृश्यका लागि प्रसिद्ध छ ।
काँडे वा हेम्जा हुँदै यस क्षेत्रको पदयात्रामा निस्कन सकिन्छ । फरेस्ट क्याम्प, लो क्याम्प र हाइक्याम्प यस मार्गका प्रमुख बिसौनी हुन् । हाइक्याम्प (करिब ३ हजार ५८० मिटर) र मर्दी हिमाल दृश्यावलोकन स्थलबाट माछापुच्छ्रे, अन्नपूर्ण दक्षिण र आसपासका हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यद्यपि, यो पदमार्गमा पनि उचाइ, मौसम र आफ्नो शारीरिक क्षमताको मूल्याङ्कन गरेर यात्रा गर्नुपर्छ ।

१०. लमजुङको घलेगाउँ
सहरको भीडभाडभन्दा फरक ग्रामीण परिवेशमा दशैँ मनाउन चाहनेहरूका लागि लमजुङको घलेगाउँ उत्कृष्ट गन्तव्य हुन सक्छ । गुरुङ समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली र स्थानीय आतिथ्यले यहाँको बसाइलाई विशेष बनाउँछ ।
बारीमा झुलेको कोदो, आँगनभरि फुलेका सयपत्री, गुरुङ समुदायका मौलिक पहिरन, घाटु तथा कौडा नाच र स्थानीय परिकारले ग्रामीण दशैँको फरक अनुभव दिलाउँछन् । गाउँबाट लमजुङ, अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाका मनोरम दृश्यसमेत अवलोकन गर्न सकिन्छ ।
घलेगाउँबाट केही पर रहेको भुजुङ गाउँ पनि भ्रमण गर्न लायक छ । ढुङ्गाले छाएका सयौँ घर एकै ठाउँमा रहेका यस गाउँको मौलिक बनावटले पर्यटकलाई आकर्षित गर्छ । होमस्टेका लागि प्रख्यात भुजुङमा स्थानीय परिकार, कोदोको ढिँडो, लोकल कुखुराको मासु र स्थानीय संस्कृति नजिकबाट अनुभव गर्न सकिन्छ । मौसम र स्थानीय नियमअनुसार भीरमह सिकारजस्ता परम्परागत गतिविधिबारे जानकारी लिने अवसरसमेत मिल्न सक्छ ।
सुरक्षित यात्राका लागि ध्यान दिनुपर्ने कुरा
दशैँको बिदामा नयाँ गन्तव्य घुम्ने योजना बनाउँदा रमाइलोसँगै सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ । वर्षायामका कारण पहिरो गएको वा सडक क्षतिग्रस्त भएको हुन सक्ने भएकाले यात्रा सुरु गर्नुअघि नेपाल प्रहरी, सडक विभाग वा सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्नुपर्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान हेरेर मात्र यात्राको योजना बनाउनु उपयुक्त हुन्छ ।
चाडपर्वका बेला पर्यटकीय क्षेत्रमा भीड बढ्न सक्ने भएकाले सवारीसाधन, होटल तथा होमस्टेको अग्रिम बुकिङ गर्नु राम्रो हुन्छ । निजी सवारीसाधनमा यात्रा गर्दा ब्रेक, टायर, बत्ती र वाइपरको अवस्था जाँच गर्नुपर्छ । उच्च हिमाली क्षेत्रमा जाँदा न्यानो कपडा, प्राथमिक उपचार सामग्री र आवश्यक औषधि बोक्नुपर्छ । दुर्गम क्षेत्रमा डिजिटल भुक्तानी सेवा उपलब्ध नहुन सक्ने भएकाले पर्याप्त नगद साथमा राख्नु पनि उपयोगी हुन्छ ।
यसका साथै, उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा उचाइका कारण हुन सक्ने स्वास्थ्य समस्याबारे जानकारी लिनुपर्छ । पदयात्रामा जाँदा आवश्यक अनुमति, स्थानीय गाइड र सुरक्षित बासको व्यवस्था मिलाउनु बुद्धिमानी हुन्छ ।
यी सावधानी अपनाउँदै गन्तव्यअनुसार समय र बजेटको उचित व्यवस्थापन गर्न सके दशैँको यात्रा सुरक्षित, सहज र अविस्मरणीय बन्न सक्छ ।