काठमाडौं । कुनै समय तरलताको सकस भोगिरहेको बैंकिङ क्षेत्र अहिले ‘ओभर लिक्विड’को अवस्थामा छ । अहिले बैंकिङ क्षेत्रमा तरलता बढेर बैंकहरू लगानी गर्न चाहे पनि ऋण प्रवाह गर्न सकिरहेका छैनन् । ग्राहकबाट गुणस्तरीय कर्जाको माग नहुँदा बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गर्न सकेका छैनन् । सोही कारण अहिले बैंकिङ क्षेत्रमा खुद तरल सम्पत्ति (एनएलए) बढ्दै गएको छ ।
कुनै बेला तरलता अभावको कारण बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुने अवस्था पुग्थ्यो । नियामक नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले २० प्रतिशतको एनएलए कायम गर्नुपर्ने प्रावधान छ । तर, बैंकहरूको एनएलए भने नियामकीय व्यवस्थाभन्दा दोब्बर पुगेको छ ।
बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तिमा २० प्रतिशत एनएलए राख्नुपर्ने व्यवस्था छ । तरल सम्पत्तिलाई बैंकहरूले सहजै रूपमा बिक्री गर्न वा कारोबार गर्न सक्छन् । कुनै सम्पत्ति जुन सहजरूपमा कारोबार गरेर नगदमा परिणत गर्न सकिन्छ त्यो खुद तरल सम्पत्ति हो । अहिले बैंकमा सोही तरल सम्पत्तिको अनुपात बढेको हो । तरल सम्पत्तिको रूपमा सामान्यता बण्ड, सेयर, बैंक निक्षेप, डिबेन्चर लगायत समावेश हुन्छन् ।
पुससम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति अधिकतम् ३९ प्रतिशत छ । सबैभन्दा बढी एनएलए स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । यस बैंकको एनएलए ३९ प्रतिशत छ ।
यस्तै, नेपाल एसबिआई बैंकको ३८ प्रतिशत, एभरेष्टको ३६ प्रतिशत, एनएमबिको ३२ प्रतिशत, ग्लोबल आइएमईको ३१ प्रतिशत र हिमालयन, प्राइम र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३० प्रतिशत एनएलए छ ।
यस्तै, लक्ष्मी सनराइज बैंकको २९ प्रतिशत, सानिमाको २८ प्रतिशत, एनआइसी एशिया र कुमारीको २७ प्रतिशत, माछापुच्छ्रे, प्रभु र सिद्धार्थको २६ प्रतिशत र नबिल र सिटिजन्स बैंकको एनएलए २५ प्रतिशत छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकसँग प्रयाप्त खुद तरल सम्पत्ति रहेकोले बैंकिङ क्षेत्र सहज अवस्थामा रहेको धारणा दिए । उनका अनुसार हाल बैंकिङ क्षेत्रमा १८ खर्बसम्म तरल सम्पत्ति छ ।
‘बैंकहरूले सरकारी ऋणपत्र र बन्डहरूमा साढे १२ खर्बभन्दा बढी लगानी गरेका छन्, यसबाहेक सीआरआर र एसएलआर गरेर १७/१८ खर्ब तरल सम्पत्ति छ,’ उनले भने, ‘पछिल्लो समय बैंकहरू डुब्ने लागेको केही व्यक्तिको अभिव्यक्तिले सर्वसाधारण निक्षेपकर्ता आत्तिएका छन् । तर, बैंकहरूसँग औसतमा निक्षेपको २८ प्रतिशतभन्दा धेरै खुद तरल सम्पत्ति रहेकाले कुनै पनि बैंकमा समस्या छैन ।’
उनले पछिल्लो १० वर्षको तुलनामा बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्था पुगेको तर्क दिए । ‘प्रायः बैंक क्षेत्र तरलताका कारण डुब्ने अवस्थामा पुग्छ । तर, हामी एकदमै सबल अवस्थामा छौं,’ उनले भने, ‘अहिले बैंकिङ प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्था छ, २८ प्रतिशत खुद तरल सम्पत्ति छ, यसले बैंकहरू तरलताको आधारमा सुरक्षित रहेको देखाउँछ ।’
सस्तो ब्याजमा राख्दै पैसा
बैंकमा अधिक तरलता हुँदा बैंकहरू सस्तो ब्याजमा पैसा राष्ट्र बैंकमा राखिरहेका छन् । नेपाल राष्ट्र बैंकले फागुनबाट स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंक तथा वित्तीय संस्थाहरूले साढे २ खर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन् ।
दुई सातामा बैंकहरूले चार पटक पैसा राष्ट्र बैंकमा राखेका छन् । यो पैसा बैंकहरूले चार दिनसम्मको लागि रकम राख्न पाइन्छ । यो पैसा बैंकहरूले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना गर्न सक्छन् ।
बैंकहरूको कर्जा लगानी बढ्न नसकेकै कारण स्थायी निक्षेप संकलन सुविधाको प्रयोग बढ्न थालेको बैंकरहरू बताउँछन् । बैंकहरू तीन प्रतिशत प्रिमियममै पैसा राखिरहेका छन् ।