बैंकका ऋणी डिप्रेशनमा, मनोविदको सहायता लिँदै राष्ट्र बैंक

<p>काठमाडौं । बैंकका ऋणीबाट ऋण उठाउन सकस भएपछि नियामक नेपाल राष्ट्र बैंकले ‘मनोविद’ (साइकोलोजिष्ट)को सहायता लिने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नियमित साँवा ब्याज भुक्तानी नगर्ने ऋणीहरूबाट सहजरूपमा ऋण असुल गर्नका लागि राष्ट्र बैंकले मनोविदहरूको सहायता लिने भएको हो । पछिल्लो समय उद्योगी व्यवसायीहरूले व्यावसायिक वातावरण बिग्रेकोले कम्पनीको आम्दानी समेत नभएकोले [&hellip;]</p>

काठमाडौं । बैंकका ऋणीबाट ऋण उठाउन सकस भएपछि नियामक नेपाल राष्ट्र बैंकले ‘मनोविद’ (साइकोलोजिष्ट)को सहायता लिने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नियमित साँवा ब्याज भुक्तानी नगर्ने ऋणीहरूबाट सहजरूपमा ऋण असुल गर्नका लागि राष्ट्र बैंकले मनोविदहरूको सहायता लिने भएको हो ।

पछिल्लो समय उद्योगी व्यवसायीहरूले व्यावसायिक वातावरण बिग्रेकोले कम्पनीको आम्दानी समेत नभएकोले बैंकको साँवा ब्याज तिर्न समस्या भइरहेको गुनासो गरिरहेका छन् । ब्यापारमा सुस्तता सिर्जना हुँदा कतिपय उद्योगी व्यवसायीहरू मानसिक समस्याको शिकार हुन पुगेका छन् । कतिपयले आत्महत्या तथा आत्मदाह गरेका घटनाहरू पनि बेलाबखत बाहिरिने गरेका छन् ।

उद्योगी व्यवसायीहरूका यी विविध समस्याहरूलाई समाधान गर्दै उनीहरूबाट सहजरूपमा ऋण असुल गर्ने रणनीति बनाउन राष्ट्र बैंकले मनोविदहरूको सहकार्य तथा समन्वय गर्न लागेको हो ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले समस्यामा परेका उद्योगी व्यवसायीहरूको मनोभावना बुझ्दै बैंकहरूको ऋण पनि असुल गर्ने रणनीतिका साथ मनोविदहरूसँग सहकार्य गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अहिले अधिकांश उद्योगी व्यवसायी तथा ऋणीहरू मानसिक समस्याको शिकार बन्दा बैंकको ऋण उठ्न सकिरहेको छैन । सो समस्या समाधानका लागि राष्ट्र बैंकले यस्तो रणनीति अपनाउने तयारी थालेको हो ।

‘व्यावसायिक वातावरण बिग्रदा व्यवासायीहरू समस्यामा परेका छन् । कतिपय व्यवसायीहरू ब्यापारकै कारण मानिसक समस्या (डिप्रेशन)को शिकार बनेका छन् । यो समस्याको समाधान गर्न हामीले मनोविदहरूसँग कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्दैछौं,’ उनले भने, ‘यो विषयको समाधानका लागि मनोविदहरूसँग योजनाको प्रस्ताव मागिरहेका छौं ।’

मनोविद डा. पशुपति महतले अहिलेको परिस्थितीलाई माथि उकास्न आफूहरू तयार रहेको बताए । ‘मन्दीका कारण उद्योगी व्यवसायी निराशामा छन्, घरपरिवारको भविष्य उज्वल बनाउने उद्देश्य लिएर व्यवसाय चलाएका हुन्छन् । तर, व्यवसाय नचलेपछि, मन्दीमा गएपछि, उत्पादन गरेका वस्तुहरू बिक्री नभएपछि बैंकको कर्जा तिर्न सकिँदैन । बैंकले कर्जा दिएपछि उठाउनु दायित्व हो,’ उनले भने, ‘एकातिर बैंक र अर्काेतिर घरपरिवारको आवश्यकता पुरा गर्न नसक्ने दबाब हुन्छ । यी सबै दबाबले मान्छे निराशा (डिप्रेसन)मा जाने सम्भावना हुन्छ ।’

उनका अनुसार व्यक्ति आफैं डिप्रेशनमा गएको थाहा पाउँदैन । यदि थाहा पाएपनि विकल्प रोज्न नसक्ने उनको भनाइ छ । डिप्रेसन मानसिकको रोग हो र उपचार गरेर निको हुनुपर्छ भन्ने सोचाई नै नआउने उनले बताए ।

गत वर्ष संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेम आचार्य र अन्य केही व्यापारीले आत्महत्या गरेका घटना सुनाउँदै उनले भने, ‘डिप्रेसनमा जाँदा आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । परिवारका सबै सदस्यलाई मारेर आफू आत्महत्या गर्ने जोखिम पनि बढी हुन्छ । किनभने आफू भएन भने परिवारले पनि दुःख पाउन सक्छन् र दुःख पाउनु भन्दा मसँगै लैजान्छु भन्ने देखिन्छ ।’

Share News