जलविद्युत बीमाको कारोबार चाउचाउ र चुरोट जसरी हुन्न: सुनिल बल्लभ पन्त
जलविद्युत बीमाका विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र नेपाली बीमा कम्पनीहरूबीच ठूलो विवाद देखिन्छ । बीमा कम्पनीहरूले जलविद्युत आयोजनालाई समयमै दाबी भुक्तानी दिन नसकेको आरोप उर्जा व्यवसायीहरूले लगाएका छन् । साथै जलविद्युत बीमा प्रडक्टको प्रिमियम दर पनि उच्च भएकाले घटाउनु पर्ने माग गरिरहेका छन् । तर, बीमा कम्पनीहरूले भने यस विषयमा ठूलो समस्या नरहेको र समस्या भए छलफल र संवादका माध्यमबाट समाधान गर्न तयार रहेको बताएका छन् । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तसँग गरिएको विकास वहस । विगत केही वर्षदेखि बीमा कम्पनी र जलविद्युत कम्पनीबीच असमझदारी उत्पन्न भएको देखिन्छ । खास समस्या के हो ? उद्योगहरूलाई अगाडि बढ्दा आइपर्ने कठिनाई सकभर चाँडै नै समाधान होस् भन्ने सबै पक्षले नै चाहेको हुन्छ । सबै उद्योग फरक फरक प्रकृतिका हुन्छन् । आआफ्नै नियामक निकाय हुन्छन् । त्यही परिधिभित्र सुशासित ढंगबाट सञ्चालन हुनुपर्छ । निश्चय पनि जलविद्युत उद्योगमा लागेका व्यवसायीहरूका ठूला चुनौतिहरू छन् । वर्षेनी नेपालमा कुनै न कुनै भेगमा ठूलो किसिमको बाढी पहिरोले क्षति पुर्याइरहेको हुन्छ । कहिलेकाहीँ समयमा काम सम्पन्न नहुँदा, कमिटमेन्ट अनुसार उत्पादन नहुँदा ठूलो नोक्सानी बेहोर्नुपर्छ । कुनै कम्पनीलाई विद्युत उत्पादन गरेपछि पनि राष्ट्रिय प्रणालीमा जोड्न नसकेर घाटा बेहोर्नु परेको समस्या छ । जलविद्युत उद्योगहरूले बेहोर्नु परेको क्षति, महाविपत्ति, घाटालाई बीमा कम्पनीले संरक्षण गरेको हुन्छ । जोखिम हस्तान्तरण गर्ने प्रक्रिया छन् । सबै जोखिम कुनै पनि बीमा कम्पनीले धारण गर्ने अवस्था रहँदैन । बीमा कम्पनीहरूले पनि पुनर्बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्नुपर्ने हुन्छ । र, यस्ता किसिमका ठूला उद्योगहरूका जोखिम हस्तान्तरण गर्दा पुनर्बीमा कम्पनीहरूले शर्त तोकेका हुन्छन् । ती शर्तको परिधिभित्र रहेर बीमा कम्पनीहरूले जोखिम हस्तान्तरण गर्नुपर्ने हुन्छ । बीमा उद्योग र जलविद्युत उद्योगबीच भएका असमझदारीलाई समयमा समाधान गर्न नसक्दा असहज परिस्थितिको वातावरण बनेको हो । तर समाधान हुनै नसक्ने समस्या छैन । सम्वादबाट समाधान गर्न सकिन्छ । व्यवसायीहरूले बीमा कम्पनीमाथि विभिन्न आक्षेप लगाएका छन् । जलविद्युत व्यवसायको प्रकृति वा जोखिम हस्तान्तरणको पद्धति नुबझेर हो की बढी बुझेर हो ? जलविद्युत व्यवसायीहरूले गुनासो राख्नु जायज हो । तर, आक्षेप नलगाउन अनुरोध गर्छु । आआफ्नो व्यवसायको प्रकृति हुन्छ । त्यो प्रकृतिलाई हामीहरूले नबुझ्दा समस्या आएको हो । पहिला बीमाशुल्कको दर खुला गरिएको थियो । तर, अहिले शुल्कदर तोकिएको छ । यसमा जलविद्युत व्यवसायीहरूको आपत्ति छ । यसलाई खुला गर्दा के हुन्छ ? अहिलेको जुन दररेट तोकिएको छ त्यो रेटमा पुनर्बीमा कम्पनीहरूले जोखिम धारण गर्न मानेका छैनन् । अहिले जुन प्रिमियममा क्षतिको धारण गर्ने रकम छ, त्यसमा पुनर्बीमा कम्पनीले जोखिम नलिएको अवस्था हो । नेपालको समृद्धिको लागि महत्वपूर्ण भूमिका खेलेको जलविद्युत क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उर्जा व्यवसायी, बीमा कम्पनी, नेपाल बीमा प्राधिकरण, नेपाली पुनर्बीमा कम्पनीसँग छलफल भइरहेको छ । तर, त्यसबाट केही निचोड निकालिएको छैन । यसमा थप अध्ययन भइरहेको छ । यहीबीचमा पुलको अवधारणा ल्याउने हो की भनेर एक किसिमको छलफल पनि भइरहेको छ । अब दुईटै उद्योगलाई आर्थिक रूपले क्षति नहुने गरी निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ । हामी उदार अर्थव्यवस्थाको अभ्यास गरिरहेका छौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले पनि दर तोक्नु बजार सिद्धान्त विपरित भयो, यसलाई हटाउन पर्छ भन्नु भएको छ । यसमा बीमा कम्पनीहरू सकारात्मक किन भएनन् ? पुनर्बीमा कम्पनीहरूले नेपालको जलविद्युत कम्पनीको बीमा बढी जोखिमपूर्ण छ भनेर प्रिमियम दर बढाइरहेका छन् भने पनि खुला बजारमा प्रतिस्पर्धाले बीमाशुल्क निर्धारण गर्दैन र ? जलविद्युत बीमा प्रडक्ट कुनै सामान्य प्रडक्टभन्दा फरक किसिमको हो भनेर बीमक, बीमित, नियामक लगायत सबै तहतप्काका निकायले बुझ्न जरूरी छ । जलविद्युत बीमा प्रडक्ट चाउचाउ, चुरोट, घ्यू, तेल बिक्री गरे जस्तो होइन, बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो भनेर बुझ्न जरूरी छ । यसमा दुईटा पाटोबाट हेर्न सकिन्छ । प्रिमियम दर एउटै हुँदा सेवामा प्रतिस्पर्धा हुँदैन, त्यसैले प्रिमियम दर खुला छोड्न सकिन्छ भन्ने विचार पनि छ। तर, जोखिमलाई त खुला छोड्न सक्दैनौं नि । त्यसैले जलविद्युत बीमा प्रडक्ट कुनै सामान्य प्रडक्टभन्दा फरक किसिमको हो भनेर बीमक, बीमित, नियामक लगायत सबै तहतप्काका निकायले बुझ्न जरूरी छ । जलविद्युत बीमा प्रडक्ट चाउचाउ, चुरोट, घ्यू, तेल बिक्री गरे जस्तो होइन, बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो भनेर बुझ्न जरूरी छ । बीमा कम्पनीहरूले दाबी भुक्तानी ढिला गरेको र कतिपय हकमा दाबी भुक्तानी नगरेको भनेर जलविद्युत व्यवसायीहरूले आक्षेप लगाएका छन् । यो त बीमा क्षेत्रका लागि राम्रो समाचार होइन नि ? बीमा कम्पनीले दाबी भुक्तानी नगरेको कुरा पक्कै पनि शुभ समाचार होइन । जलविद्युत व्यवसायीहरूले पनि तथ्याङ्क राख्नु भएको होला । तथ्याङ्ककै आधारमा बोल्नु भएको होला । बीमा उद्योगले गत वर्ष कति दाबी फच्छ्र्याैंट गरेको छ भनेर हेर्नु भएको होला । दाबी भुक्तानीको संख्या कति छ भनेर हेर्नुपर्याे । बीमा उद्योगले दाबी फच्छ्र्याैट बाँकी नरहोस् भनेर चाहन्छ । एनएफआरएसको सिस्टममा आउटस्ट्याण्डिङ क्लेम रह्यो भने भविष्यमा परिस्कृत वित्तीय विवरणमा प्रभाव पार्ने भएकाले सकभर छिटोछरितो फच्छ्र्याैट गर्नुपर्छ भनेर बीमा कम्पनीले मिसन र भिजन बनाएर अघि बढेका छन् । यो तथ्याङ्कले पनि देखाउँछ । ठूलो उद्योगको दाबी भुक्तानीको लागि प्रक्रिया पनि सोही अनुसार अघि बढेको हुन्छ । सर्भेयरहरूले पूर्ण रिपोर्ट नपठाई दाबी भुक्तानी गर्न मिल्दैन । सबै डकुमेन्टहरू प्राप्त नभई सर्भेयरले पनि पूर्ण रिपोर्ट दिन सक्दैन । त्यो रिपोर्ट नआएसम्म बीमा कम्पनीहरूले सेटल पनि गर्न सक्दैनन् । पछिल्लो पटक पूर्वी जिल्लाहरूमा बाढी पहिराेले जलविद्युत उद्योगमा ठूलो क्षति गर्याे । पूर्वमा भएका कम्पनीहरूमध्ये ५/६ वटाको दाबी भुक्तानी भइसकेको छ । अन्य कम्पनीको प्रक्रियामा छ । अधिकांश कम्पनीको सर्भेयर पूर्ण रिपोर्ट आउन बाँकी नै छ । तथापी निर्देशीकामा प्रिमिनरी रिपोर्टका आधारमा ३३ प्रतिशत एडभान्स दिन सक्ने प्रावधान छ । चाँडोभन्दा चाँडै पुनःर्निमाण गरेर फेरी राष्ट्र निर्माणमा योगदान पुर्याउने हेतुले उर्जा मन्त्रालयको अनुरोधमा बीमा प्राधिकरणले ५० प्रतिशत एडभान्स दिने निर्णय गरिसकेको छ । सो एडभान्स कम्पनीहरूलाई दिइसकेका छन् । केही कम्पनीलाई दिने प्रक्रियामा छन् । क्षति भएका कम्पनीलाई मर्मत गर्न प्रिमिनरी फाइनान्सले सपोर्ट नै भएको छ । यस्तो अवस्थामा पनि जलविद्युत व्यवसायीहरूले आक्षेप लगाउनुभन्दा चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गरेर सुचारू गर्नतर्फ जोड दिनुपर्छ । ठूला परियोजना दुर्घटना हुँदा त्यसको मूल्याङ्कन प्रक्रिया लामो हुन्छ । ती प्रक्रियालाई पनि छोट्याउने ठाउँ पनि होला नि ? पक्कै पनि छ । ३३ प्रतिशत मात्रै एडभान्स रकम पाउँथे भने त्यसलाई बढाएर ५० प्रतिशत पाइसकेका छन् । र, आगामी दिनमा पनि छिटोछरितो गर्न जलविद्युत व्यवसायीहरूसँग संवाद भइरहेको छ । दुईटै उद्योगका छाता संगठनबीच वान टू वान र समूहगत रूपमा छलफल भएर चाँडो समाधान गर्ने विषयमा छलफल भइरहेको छ । र, पुनर्बीमा कम्पनीहरू पनि चाँडो सेटल गर्नुपर्छ भनेर सुझाव दिइरहेका छन् । त्यसैले यसमा हतोत्साहीत हुनु पर्ने अवस्था छैन । व्यवसायीहरूले क्षतिको शतप्रतिशत भुक्तानी दिनुपर्छ भनेर माग गरिरहेका छन् । उहाँहरूको माग जायज छ ? हामीले कुनै पनि प्रडक्टलाई सुन्दर बनाउनु छ भने त्यसमा बढी लागत बेहोर्नु पर्छ । शतप्रतिशत दाबी भुक्तानी पाउन प्रिमियम शुल्क पनि बढी तिर्नुपर्छ । बीमाका अन्तर्राष्ट्रिय ५ सिद्धान्तहरूमध्ये एउटा योगदान पनि हो । त्यसका आधारमा नै प्रिमियमहरूको प्रडक्ट डिफाइन गर्न सकिन्छ । अब सबै प्रडक्टहरूमा एक्चुरीबाट प्राइसिङ गर्ने व्यवस्था लागू हुँदैछ । साउन १ गतेदेखि एनएफआरएस १७ लागू गर्ने निर्णय भइसकेको छ । त्यो लागू गर्न बीमा प्राधिकरण, बीमा कम्पनीहरू, चार्टर्ड एकाउन्टेन्ट एशोसियसनबीच घनिभूत छलफल भइसकेको छ । अब प्रत्येक प्रडक्टको प्राइसिङ एक्चुरीबाट हुनेछ । त्यो बेलामा प्राइसिङ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तोकिनेछ । यसमा पनि दुइटै उद्योगहरू संयमित भएर अघि बढ्नुपर्छ । यसमा पनि मध्येनजर गर्नुपर्छ । खुला अर्थतन्त्र भएकाले रेटलाई खुला छोड्नु पर्छ भनेर मात्रै हुँदैन । आगामी दिनमा जलविद्युत बीमा प्रडक्टको प्रिमियम दर अझै बढ्नेछ भन्न खोज्नु भएको हो ? बढ्न सक्ने सम्भावना छ । किनभने अहिले नियामकले अन्य प्रडक्टहरूसँग एशोसियट गरेर जलविद्युत बीमा प्रडक्टको प्रिमियम दर तोकेको छ । अन्य प्रडक्टको साथसाथै जलविद्युत कम्पनीको पनि लिनुपर्छ है भनेर अनुरोध गरेका आधारमा पुनर्बीमा कम्पनीले पनि अन्य व्यवसाय प्राप्त गर्ने उद्देश्यले जोखिम लिइरहेका छन् । इण्डिभिजियुल प्राइसिङ हुँदा त यी सबै विषय हेरिँदैन । त्यसैले यसलाई हामीले संयमताका साथ दुईटै उद्योगलाई वीन वीन अवस्थामा अघि बढाउनु पर्छ । नेपाली बीमा कम्पनीहरूले जलविद्युत कम्पनीलाई उचित सेवा दिन सकेनन् । अब सिधैं विदेशी बीमा कम्पनीसँग बीमा गर्ने व्यवस्था हुनुपर्छ भनेर माग गरिरहेका छन् नि ? उनीहरूको माग पुरा हुन सक्छ ? जसको विदेशमा पहुँच छ, उहाँहरूलाई सहज हुनसक्छ । उद्योगी व्यवसायीहरू पनि विभिन्न श्रेणीका छन् । जसको पहुँच छैन, उनीहरूको व्यवसायको बीमा नै नहुने अवस्था आउँछ । कि त समग्र उद्योग नै लिन्छु भनेर कुनै एउटा पुनर्बीमा कम्पनीसँग सम्झौता गर्न सक्नुपर्याे । छरिएर रहेका प्रिमियमलाई एउटै बास्केटमा राखेर जोखिम हस्तान्तरण गर्न सक्ने कम्पनी भयो भने सकिन्छ । जलविद्युत व्यवसायी जस्तै निर्माण व्यवसायीहरू बीमा कम्पनीहरूप्रति तीब्र असन्तुष्ट देखिन्छन् । निर्माण व्यवसायीहरूसँगका विवाद के हुन् ? निर्माण व्यवसायीहरूले समयमा निर्माण कार्य सम्पन्न गर्याे भने समस्या नै आउँदैन । निर्माण कार्य समयमा सम्पन्न नगरेर त्यसलाई पछि धकेल्नु पर्ने अवस्था छ । अनि अतिरिक्त प्रिमियम बहन गरेपछि मात्रै जोखिम हस्तान्तरण हुने भएकाले निर्माण व्यवसायीहरूलाई समस्या परेको हो । परियोजना समयभित्र सम्पन्न गर्याे भने दाबी भुक्तानी समयमा हुन्छ । किनकी त्यो रकम खल्तीबाट जाने पनि होइन । कति प्रिमियम लाग्छ भनेर टेण्डर डकुमेन्टमै उल्लेख गरिएको हुन्छ । तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न भयो भने अतिरिक्त आर्थिक बोझ पर्दैन । पुराना आयोजना सम्पन्न भएपछि केही समस्या आउँदैन । जलविद्युत र निर्माण व्यवसायीहरूबाट बीमा कम्पनी र सर्भेयरहरूलाई अनप्रोफेसनल व्यवहार गर्ने, बढी मूल्यमा भ्यालुसेन गर्न दबाब दिने, नभएको घाटालाई घाटा भएको डकुमेन्ट बनाउन धम्की दिने र दबाब दिने गरेको भनेर सुनिन्छ । यो साँचो हो ? कुनै पनि उद्योगमा अनुचित लाभ लिने मान्छे हुन्छन् । संसारमा जति पनि उद्योग छन् त्यस्ता मान्छे सबै उद्योगमा छन् । तर, त्यस्ता मान्छेबाट जोगिन बलियो संयन्त्र बनाउन जरूरी छ । सुशासित भएर काम गर्नुपर्छ । होइन भने कुनै एक/दुइ पक्षले गलत अभ्यास गर्याे भनेर समग्र उद्योगलाई आक्षेप लाग्छ । हामीले यसलाई नियन्त्रण होइन, निरुत्साहित गर्नुपर्छ । त्यस्ता दाबी भुक्तानी गर्नु पनि हुँदैन ।
हिमालयनलाई सूर्यज्योतिको टक्कर, पछ्याउँदै सानिमा रिलायन्स र प्रभु महालक्ष्मी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको निर्देशन दिएपछि ९ जीवन बीमा कम्पनी मर्जर तथा एक्विजिशन भई ४ वटा जीवन बीमा कम्पनी बने । २० वटा जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनी मर्जर तथा एक्विजिशन भई १४ वटा कम्पनीमा सीमित छन् । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई सानीमा रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ, प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाई मर्ज भई हिमालयन लाइफ र सूर्य लाइफ मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बने । यी ४ वटै जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरपश्चात् बनेका यी ४ जीवन बीमा कम्पनीहरूमध्ये अधिकांश सूचकमा हिमालयन लाइफ अग्रस्थानमा छ भने सूर्यज्योति लाइफले पच्छ्याइरहेको देखिन्छ । चुक्ता पुँजी मर्जरपश्चात् हिमालयन लाइफको पुँजी ८ अर्ब बढी पुगेको छ भने अन्य कम्पनीले पुर्याउन सकेका छैनन् । हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफको ४ अर्ब १८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब २९ करोड रुपैयाँ र सूर्यज्योति लाइफको ४ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा सीमित छन् । सेयर प्रिमियम पुस मसान्तसम्मको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी र सूर्यज्योतिसँग मात्रै सेयर प्रिमियम रकम जम्मा छ । प्रभु महालक्ष्मीको १ करोड ९३ लाख रुपैयाँ र सूर्यज्योतिको ३ करोड ७२ लाख रुपैयाँ सेयर प्रिमियममा छ । महाविपत्ति कोष महाविपत्ति कोषका आधारमा हिमालयन लाइफ अगाडि छ । हिमालयनको ४८ करोड ११ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३ करोड १३ लाख रुपैयाँ, सानिमा लाइफको ११ करोड ८३ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग रिटेन्ड अर्निङ्ग सूचकमा सूर्यज्योति लाइफ अग्रस्थानमा छ । सूर्यज्योतिको १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफको १ अर्ब ३० करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सको ९२ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी अन्य इक्विटीमा पनि सूर्यज्योति लाइफ अगाडि छ । सूर्यज्योतिको १ अर्ब १८ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मीको ९ करोड २६ लाख रुपैयाँ, हिमालयनको ७ करोड २२ लाख रुपैयाँ र सानिमा रिलायन्सको २ करोड ४२ लाख रुपैयाँ छ । जीवन बीमा कोष जीवन बीमा कोषमा सबैभन्दा बढी रकम हिमालयन लाइफको छ । हिमालयन लाइफको ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योतिको ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ, सानिमा लाइफको १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कुल बीमा शुल्क आर्जन बीमा शुल्क धेरै संकलन गर्नेमा हिमालयन नै अग्रस्थानमा छ । हिमालयन लाइफको ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्सको २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्क मर्जरपश्चात् व्यवसाय वृद्धिमा हिमालयन अगाडि छ । पुस मसान्तसम्म सबैभन्धेरै खुद बीमा शुल्क आर्जन हिमालयन लाइफले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद दाबी भुक्तानी पुस मसान्तसम्म बीमितलाई सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ, सूर्यज्योतिले ४ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९० कोड ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । अभिकर्ता कमिसन समीक्षा अवधिमा अभिकर्तालाई सबैभन्दा धेरै कमिसन दिनेमा हिमालयन लाइफ छ । हिमालयन लाइफको ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३७ करोड ८५ लाख रुपैयाँ, सानीमा रिलायन्सको २८ करोड ७९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २३ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ । खुद नाफा ६ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफको ३४ करोड ६० लाख रुपैयाँ, सूर्यज्योकिो २३ करोड ६६ लाख रुपैयाँ, सानीमा रिलायन्सको २१ करोड ९७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन् । कुल आम्दानी र खर्च वित्तीय विवरण अनुसार पुस मसान्तसम्म हिमालयन लाइफको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ छ भने १० अर्ब ६३ करोड रुपैयाँ कुल खर्च गरेको छ । यस्तै, सूर्यज्योति लाइफको कुल आम्दानी ५ अर्ब ८६ करोड रुपैयाँ र कुल खर्च ५ अर्ब ६२ करोड रुपैयाँ, सानिमा रिलायन्सको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ र कुल खर्च ३ अर्ब १८ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको कुल आम्दानी २ अर्ब ६० करोड रुपैयाँ र कुल खर्च २ अर्ब ४२ करोड रुपैयाँ छ । बीमा लेख यस अवधिमा सबैभन्दा बढी बीमा लेख बिक्री गर्नेमा सूर्यज्योति लाइफ रहेको छ । यस कम्पनीले ९ लाख ८५ हजार बीमा लेख बिक्री गरेको छ । यस्तै, सानिमा लाइफले ८ लाख ६७ हजार, प्रभु महालक्ष्मीले ४ लाख ७८ हजार र हिमालयनले ३ लाख ८४ हजार बीमालेख बिक्री गरेको छ । लगानी हिमालयन लाइफले दीर्घकालिन लगानी ५१ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र छोटो अवधिको लगानी ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ गरेको छ । सानिमा रिलायन्सको दीर्घकालिन लगानी १० अर्ब ८८ करोड ७४ लाख रुपैयाँ र छोटो अवधिको लगानी ४ अर्ब ७७ करोड रुपैयाँ गरेको छ । यस्तै, सूर्यज्योतिको दीर्घकालिन लगानी ३० अर्ब १३ करोड ४८ लाख रुपैयाँ र छोटो अवधिको लगानी ३ अर्ब ४० करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको दीर्घकालिन लगानी ११ अर्ब ३९ करोड १९ लाख रुपैयाँ र छोटो अवधिको लगानी २ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लगानी गरेका छन् ।
पीएचडी गर्ने पहिलो मुस्लिम नारी, पढिन् संस्कृत विश्वविद्यालयमा हिन्दु वास्तुकला
काठमाडौं । तपाईंले मुस्लिम समुदायसँग संगत गर्नु भएको छ ? यदि संगत गर्नु भएको छ भने तपाईंलाई पक्कै थाहा होला कि मुस्लिम समुदायका छोरीहरूले शिक्षा पाइरहेका छन् वा छैनन् भनेर । यो समुदायका अधिकांश छोरीहरूले १५/१६ वर्षको उमेरमै विवाह गर्छन् । उनीहरूलाई मदरसाभन्दा बाहिरको शिक्षाको विषयमा प्रायः जानकारी हुँदैन । तर, त्यो समुदायको संकुचित घेराबाट बाहिर निस्कँदै हिन्दु वास्तुकलामा विद्यावारिधी (पीएचडी) गरिन् डा.तबस्सुम सिद्दिकीले । उनले विद्यावारिधी गर्नसम्म धेरै उतारचढाव, संघर्ष र सकसहरू भोग्नुपर्यो । एकछिन कल्पना गरौं त, मुस्लिम समुदायकी छोरी तबस्सुमले हिन्दु वास्तुकलामा विद्यावारिधीसम्मको पढाइ पुरा गर्न कति मिहिनेत गरिन् होला ? कति हण्डर-ठक्करहरू सामना गर्नुपर्यो होला ? तर, उनले ती सबै चुनौतीहरूलाई सामना गरिन् । एउटा दृढ अठोट लिँदै पढिन् । र, आज मुस्लिम समुदायमा विद्यावारिधी गर्ने पहिलो महिला बनिन् उनी । उनले विद्यावारिधीमा हिन्दु धर्म र संस्कारसँग जोडेर अध्ययन गरिन् । वि.सं. २०७३ सालमा नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर २०८० सालमा ‘हिन्दु वास्तुकला र मुस्लिम वास्तुकलाबीचको समानता र असमानता’ विषयमा विद्यावारिधी गरेकी हुन् । अहिले उनी काठमाडौंका विभिन्न कलेजमा वास्तुकला सम्बन्धी अध्यापन गराउँदै आएकी छन् । ‘मेरो रुचि नै वास्तुकलामा थियो, शिक्षामा कुनै धर्म हुँदैन, अध्ययन जुनसुकै विषयमा जोसुकैले पनि गर्न सक्छ भन्ने सोच स्थापित गर्नका लागि हिन्दु वास्तुकलामा पीएचडी गरेकी हुँ,’ पीएचडीमा हिन्दु वास्तुकलामा थेसिस लेख्नुको कारण खुलाउँदै उनले भनिन् । तबस्सुमको घर बाँकेको नेपालगञ्ज हो । उनको परिवार पहिल्यैदेखि शिक्षित थियो । उनका हजुरबुबा मुशी अब्दुल गनी कानुन व्यवसायी । बुवा डा. सलाउद्दीन अख्तर सिद्दिकी पूर्वन्यायाधीश । परिवारमा सबैजना पढेलेखेका भएकोले पनि उनलाई शिक्षामा अगाडि बढ्न सहयोग पुग्यो । छोरीलाई यहाँसम्म पुर्याउन उनका बुबालाई पनि कम्ता चुनौती थिएन । छोरीलाई बुर्काभित्र सीमित राख्नुपर्छ, स्कुल पठाउनु हुँदैन, सानैमा बिहे गरिदिनुपर्छ भन्ने समाजमा उनका बुबाले पढ्नुपर्छ भनेर छोरीलाई प्रोत्साहन गरेकै कारण आज तबस्सुम समाजमा उदाहरणीय पात्र बनिन् । नेपालगञ्जमा पढ्नका लागि राम्रो वातावरण नभएकै कारण तबस्सुम सानैमा भारत गइन् । भारतको उत्तराखण्डमा रहेको नैनीतालमा होस्टेलमा बसेर पढिन् । नेपालगञ्जको गर्मीमा बस्ने बानी परेकी उनलाई उत्तराखण्डको चिसो फापेन । र, पुनः पढ्नका लागि नेपालगञ्जमै फर्किइन् । वि.सं. २०५२ सालमा एसएलसी (हालको एसईई) पास गरेपछि नेपालगञ्जमा रहेको महेन्द्र माबिबाट उनले विज्ञान विषय लिएर प्लसटुमा भर्ना भइन् । तबस्सुमलाई नक्सा कोर्न मन पर्थ्याे । उनको चाहाना थियो इन्जिनियर बन्ने । प्लसटुपछि इन्जिनियर पढ्ने योजना थियो । त्यहीबेला उनले कल्चरएक्सचेन्ज कार्यक्रमबाट छात्रवृत्ति पाइन् । पाकिस्तानमा पढाइ तबस्सुम वि.सं. २०५६ मा पाकिस्तान गइन् । त्यहाँ लाहोरमा रहेको नेश्नल कलेज अफ आर्टसमा ब्याचलर इन आर्किटेक्चर पढिन् । यो कोर्स पुरा गर्न उनलाई पाँच वर्ष समय लाग्यो । त्यसपछि उनले इन्टेरियर डिजाइनसम्बन्धी स्नातकोत्तर गरिन् । त्यहाँ पढिसकेपछि उनी ७ वर्षपछि नेपाल फर्किन् । पाकिस्तानमा पढे पनि उनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचिन् । तर, उनी नेपाल फर्किँदा देशमा द्वन्द्व चलिरहेको थियो । नेपाल आएर पनि बस्न नमिल्ने अवस्था बन्यो । उनी फर्केर फेरि भारतको लखनउ गइन् । त्यहाँ उनले एउटा कलेजमा लेक्चरको रूपमा काम गरिन् । उनलाई भारतमाभन्दा आफ्नै देशमा आएर काम गर्न मन थियो । र, वि.सं. २०७० मा फेरि नेपाल आइन् । उनलाई नेपाल आएर म आर्किटेक्ट हुँ भनेर कसरी चिनाउने भन्ने लाग्यो । उनी काठमाडौंको पुल्चोक इन्जिनियर कलेजमा काम गर्न थालिन् । त्यसपछि उनले पुल्चोक र हिमालयन कलेजमा फ्याकल्टी मेम्बरका रूपमा काम गरिन् । त्यसपछि उनलाई विद्यार्थीलाई पढाएर मात्र नभइ यो बाहेक केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यसपछि सुरु गरिन् पीएचडीको पढाइ स्वदेश तथा विदेश गएर अध्ययनसँगै काम गरिसकेपछि उनलाई फेरि पढ्न मन लाग्यो । उनले पीएचडी गर्ने सोच बनाइन् । पीएचडी त गर्ने तर कहाँबाट ? कसरी ? उनले विश्वविद्यालय खोजिन् । अन्ततः नेपाल संस्कृत विश्वविद्यालय छनोट गरिन् । ‘मैले अध्ययनको लागि छनोट गरेको विषय संस्कृतमै थियो, त्यसको जानकारी लिनको लागि पनि मैले यो विश्वविद्यालय रोजेँ,’ बुबाले पनि त्यही विश्वविद्यालयबाट विद्यावारिधी गर्नु भएको थियो,’ उनले अनुभव सुनाइन् । उनले हिन्दु वास्तुकलामा विद्यावारिधी गरे पनि थेसिस अंग्रेजी भाषामा लेखेकी छन् । ‘अन्तर्राष्ट्रियस्तरमा सबैले नेपाली र संस्कृत भाषा बुझ्दैनन्, सबैलाई बुझ्न सहज होस् भनेर अंग्रेजीमा थेसिस लेखेकी हुँ,’ उनले भनिन् । ‘संस्कृत विश्वविद्यालय हिन्दुहरूका लागि मात्र हो भन्ने मान्यता छ । तर, त्यो होइन,’ उनी भन्छिन्, ‘यही भ्रम चिर्नको लागि पनि मैले यो विश्वविद्यालयबाट विद्यावारिधी गरेकी हुँ, शिक्षामा कुनै धर्म र समुदाय हुँदैन, जसले पनि पढ्न सक्छन् भन्ने उदाहरण पनि मैले दिएँ ।’ सात वर्ष लगाएर उनले विद्यावारिधी पास गरेकी हुन् । बुझाइ फरक, यर्थाथता समान उनले पाकिस्तानमा पनि १५० शैय्याको हिन्दु वास्तुमा आधारित अस्पतालको डिजाइन गरेकी थिइन् । वास्तुकला उपयोग गर्दा सुख समृद्धि आउँछ भने किन अस्पतालको डिजाइन नगर्ने भन्ने बुझाइ उनको थियो । स्नातकपछि स्नातकोत्तर पढ्दा हिन्दु र मुस्लिम वास्तुकलामा तुलनात्मक अध्ययन किन नगर्ने भन्ने पनि उनलाई लाग्यो । ‘अहिले जति अध्ययन भएको छ, त्यो हिन्दु वास्तुकला र बुद्ध वास्तुकलामा मात्र भएको छ,’ उनी भन्छिन्, ‘नेपालमा स्लामिक वास्तुकलाको बारेमा अध्ययन भएको थिएन, मलाई यही विषयमा अध्ययन गर्न मन लाग्यो र मैले तुलनात्मक अध्ययन गरेँ,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । अध्ययनको क्रममा उनले दुवै धर्मका वास्तुकलामा धेरै समानता पाइन् । ‘हिन्दु वास्तुकला मठमन्दिरसँग जोडिन्छ भने स्लामिक भन्ने बित्तिकै मस्जिदसँग जोडिन्छ’ उनी भन्छिन्, ‘यी दुवै विषय धर्मसँग सम्बन्धित छन् र दुवै दिशानिर्देशक छन् ।’ कुनैपनि मन्दिर बनाउँदा दिशा हेरेर निर्माण गरिन्छ भने पुजाआजा गर्दापनि दिशा नै हेरिन्छ । दुवै धर्मका वास्तुकलामा धेरै समानता भेटिएको उनको भनाइ छ । हिन्दु वास्तुकलामा वास्तुशास्त्रको प्रभाव छ । घरमा पुजा गर्दा कुन दिशामा कुन कोठा राख्ने निर्धारण गरिएको हुन्छ । हिन्दुमा पुजा कोठालाई नर्थ साइडमा राखिन्छ भने स्लाममा कोठाको दिशा निर्देशन हुँदैन । अहिले जति पनि समुदायका वास्तुकलाको अध्ययन भएको छ फरक-फरक भएको छ । तुलानात्मक भएको छैन । तबस्सुमले यी दुवैमा अध्ययन गरेकी छन् । हिन्दु वास्तुकलामा पाटीपौवा, मठ, मन्दिर, धर्मशाला हुन्छ भने स्लाममा पनि मुसाफिर खाना र आँगन लगायत हुन्छन् । उनले मान्छेको बुझाइ फरक भए पनि हिन्दु र स्लामिकका अधिकांश विषयहरू समान पाइएको धारणा राखिन् । अनुसन्धानको त्यो भोगाइ यो विषयमा अध्ययन गर्न उनलाई पक्कै सजिलो थिएन । स्लामिक वास्तुकलामा अध्ययन गर्न उनलाई गाह्रो भएन । तर, हिन्दु वास्तुकलामा अध्ययन गर्दा समस्या भयो । ‘म फरक समुदायको विद्यार्थी, मलाई भित्र छिर्न दिइँदैन भन्ने थाहा थियो, उनले भनिन्, ‘मैले हिन्दु वास्तुकलाको खोजका लागि किताबहरूबाटै अध्ययन गर्नुपर्याे ।’ उनले विभिन्न बेदहरू पनि अध्ययन गर्नुपर्यो । ती बेदहरू ट्रान्सलेट गर्न विज्ञ कहाँ जानुपर्याे । यस्तो गर्दा उनलाई धेरै ठाउँ घुम्नुपर्याे । अनलाइनबाट पनि उनले धेरै विज्ञलाई खोजिन् । वास्तुकलाको बारेमा अध्ययन गर्नको लागि उनले विज्ञसँग धेरै भेट्नुपर्यो । उसो त स्लामिक वास्तुकलाबारे खोजी गर्न पनि त्यति सहज थिएन । यो विषयका विज्ञताहरू विदेतिर बढी थिए । उनी यसमा अध्ययन गर्न भारत, मलेसिया, साउदी कतार अरब पुगिन् । यसमा हिन्दु समुदायका विज्ञहरूले पनि सहयोग गरेको बताइन् । ‘मैले मिहिनेत पनि धेरै गर्नुपर्याे, मिहिनेत गरेजस्तो फल पनि पाएँ, खुसी पनि छुँ,’ मुस्कुराउँदै उनले भनिन् । बुबाको ढाडसले मिलेको सफलता तबस्सुमका ६ जना भाइबहिनी । उनी सबैभन्दा जेठी । उनका भाइबहिनी पनि डाक्टर, इन्जिनियर छन् । तबस्सुमले विवाह गरेकी छैनन् । उनलाई अब मन मिल्ने मान्छे पाए बिहे गर्न मन छ । ‘म यहाँसम्म पुगेँ, आफ्नै खुट्टामा उभिएकी छु । तर, आमालाई अहिले पनि मेरो चिन्ता छ, किनकी मेरो विवाह भएको छैन, बुबाले भने विवाह गर वा नगर तर पढ भन्नु भएको थियो, उहाँको त्यो प्रोत्साहनले नै आज म यो ठाउँमा पुगें,’ अनुभव सुनाउँदै उनले भनिन् । मुस्लिम समुदाय भन्ने बित्तिकै धेरै जसोको आँखामा बुर्काभित्र रहेका महिलाको तस्बिर आउँछ । तर, तबस्सुमले कहिल्यै पनि बुर्का लगाएर हिँड्नु परेन । उनलाई बुर्काको अनुभव पनि छैन । ‘म मेरो संस्कृतिलाई सम्मान गर्छु । तर, म कस्तो समाजमा हुर्किरहेकी छु त्यो हेरेर बुर्का लगाउने नलगाउनेमा निर्भर रहन्छ,’ उनी भन्छिन्, ‘यसको मतलब बुर्का हटाउनै पर्छ भन्ने पक्षमा म छैन ।’ ‘बुर्का लगाए पनि नलगाए पनि महिलाले आफ्नो सुरक्षा आफैं गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म साउँदी अरबमा भइदिएको भए बुर्का भित्रै रहन्थे होला । तर, म नेपालमा छु, म बसेको समाजमा सबै बुर्का बिना हिँडिरहेका छन् भने म किन अलग्गै देखिनुपर्यो ।’ कुनै पनि हिंसाबाट जोगिन शिक्षा अनिवार्य चाहिन्छ । अहिले पनि मुस्लिम समुदायमा छोरीलाई पढाउन हुँदैन भन्ने बुझाइ छ । कतिपयले घरभित्रै राखेर पढाउने चलन पनि छ । तर, उनी अब छोरीहरू बाहिर निस्केर स्वतन्त्रतापूर्वक पढ्नु पर्ने उनी बताउँछिन् । तबस्सुमलाई पढ्न नपाएका मुस्लिम समुदायका छोरीहरूलाई अगाडि बढाउन मन छ । ‘छोरीले कसैको साहरामा बाँच्न नपरोस्, ऊ आत्मनिर्भर बन्न सकोस्, यसका लागि शिक्षा चाहिन्छ, माइतीमा दाजुभाई र विवाहपछि श्रीमानको भरमा कुनै पनि छोरीलाई बाँच्नु नपरोस्, यो अन्त्य हुन सक्यो भने महिलामाथि हुने हिंसाको पनि अन्त्य हुन्छ, अब मलाई यो क्षेत्रमा पनि काम गर्ने मन छ,’ उनले आफ्नो आगामी योजना सुनाउँदै भनिन् ।