काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहलाई छाडेर आएका नेताहरूबीच बिहीबार मध्यराति सहमति भएको छ । संस्थापन समूह र उनीहरूबीच मध्येराति छलफलपछि विभिन्न पदमा सहमति भएको बुझिएको हो ।
नेपाली कांग्रेसका एक शीर्ष नेताका अनुसार देउवा समूह छोडेर आएका नेताहरूलाई उपसभापति र महामन्त्री पदमा सहयोग गर्ने बारे सहमति भएको हो ।
ती नेताका अनुसार देउवा टिम छोडेर आएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापनतर्फबाट मधु आचार्यलाई उपसभापति जिताउने सहमति भएको हो । उनीहरूले उपसभापतिको खुलातर्फ उम्मेदवारी दिएका हुन् ।
उनीहरूसँगै कांग्रेस उपसभापतिमा गोविन्द भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा चन्द्र मोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यी मध्ये दुई समूहबीच पाण्डे र आचार्यको नाममा सहमति भएको ती नेताको दाबी छ ।
यस्तै, दुई समूहबीच महिला महामन्त्रीमा महालक्ष्मी (डिना) उपाध्याय र संस्थापन पक्षबाट खुलातर्फ उदय शमशेर राणा र प्रदीप पौडेलमाथि सहमति भएको ती नेताको दाबी छ । गत असोज २ गते यता भएको पटक–पटकको छलफलपछि गयराति अनौपचारिक सहमति भएको हो ती नेताको दाबी छ ।
महामन्त्रीका लागि खुलातर्फबाट अमरसिंह पुन मगर, उदय शम्शेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर तिवारी, डा. सन्तोष उपाध्याय र डा. सुनिल कुमार शर्माले उम्मेदवारी दिएका छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला, महालक्ष्मी पन्त र रीता खनालले उम्मेदवारी दिएका छन् ।
गएराति सभापति थापासँगै, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल, उदयशमशेर राणा, सुरेन्द्रराज पाण्डे, महेन्द्र यादव लगायत नेताहरू बसेर सहमति गरेको स्रोतको दाबी छ ।
असोज २ गते पूर्वसभापति शेरबहादुर देउवा समूहबाट तत्कालीन कार्यवाहक उपसभापति पूर्णबहादुर खड्कासहित ३३ जनालाई विभिन्न सहमतिमा सभापति गगन थापाले संस्थापनतर्फ तानेका थिए ।
कांग्रेसले विधान संशोधन गर्दै दुई उपसभापति र तीन महामन्त्रीको व्यवस्था गरेको छ । सभापति थापाले केहीलाई मनोनयन गर्ने आश्वासन पनि दिएको बुझिएको छ । अहिले खुलामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । सभापति थापाकै सहभागितामा उम्मेदवारी दिएका केही नेताहरूबीच मात्रै सहमति गर्दा अन्य उम्मेदवारमाथि अन्याय भएको उनीहरुले गुनासो गरेका छन् ।