१७ वर्षअघिको कम्प्युटर पसल बन्यो करोडौंको ‘डिजिटल साहुजी’, ७ वर्ष लामो अनुसन्धान
काठमाडौं । एउटा भनाइ छ, ‘विजेताले फरक काम गर्दैन, फरक तरिकाले काम गर्छ।’ यस्तै, पृथक ढंगले काम गर्ने योजना र रणनीतिका साथ नेपाली इ-कमर्स प्लेटफर्ममा जोडिएको छ ‘डिजिटल साहुजी’ । हुन त अहिले पनि नेपाली बजारमा दर्जनौं कम्पनीहरू छन्, जसबाट नेपालीहरूले अनलाइन सपिङ गरिरहेका छन् । तर, ती कम्पनीहरूलाई पनि चुनौती दिँदै आक्रामक ढंगबाट अगाडि बढ्ने योजनाका साथ डिजिटल साहुजीको प्रवेश भएको हो । अहिले सञ्चालित अन्य ई–कमर्स कम्पनीहरूले अन्य डेलिभरी सेवा दिने कम्पनीहरूको सहयोगमा सामान डेलिभरी गर्ने गरेका छन् । जसले गर्दा खरिदकर्ताको सामान कहिले आइपुग्छ यकिन हुँदैन । तर, अब खरिदकर्ताले खरिद गरको सामान डिजिटल साहुजीले नै घरदैलोमा पुर्याउने काम गर्नेछ । ‘डिजिटल साहुजीमा अनलाईन ट्र्याकिङ सिस्टम छ, यदि यस प्लेटफर्मबाट सामग्री खरिद गर्दादेखि घरसम्म आइपुग्दा सबै ट्रयाकिङ ग्राहकहरूले गर्न सक्नु हुन्छ,’ कम्पनीका चिफ फाइनान्स अफिसर सन्तोष पोखरेलले भने, ‘हाल यस माध्यममा सूचना प्रविधि र इलेक्ट्रोनिक सामानहरू उपलब्ध छन् ।’ १७ वर्षअघि बुटवलमा कम्प्युटर ट्रेडिङ र इलोक्ट्रोनिक पसल चलाउँदै गर्दा डिजिटल साहुजीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन न्यौपानेको मनमा एउटा विचारको जन्म भयो । ग्राहक, खुद्रा ब्यापारी, युवा तथा विद्यार्थी र आयातकर्ताका समस्या समाधान गर्न न्यौपानेले ड्रिम प्रोजेक्ट बनाए । सोही प्रोजेक्ट आज डिजिटल साहुजीमा रूपान्तरण भएको छ । ‘एउटै ठाउँमा बसेर मात्रै व्यवसाय विस्तार हुँदैन, अब देश र जनताका लागि केही गर्छु भन्ने फराकिलो सोच बनाएर काठमाडौं, चितवन र कोहलपुरमा तीन वटा शाखा सञ्चालनमा ल्याए,’ पोखरेलले भने, ‘भूकम्प र कोरोना महामारीपछि नेपालको अर्थतन्त्र शिथिल बनेको छ, सटरहरू धमाधम बन्द भइरहेका छन् । युवाहरू विदेश पलायन भइरहेका छन्, व्यापार व्यवसाय चौपट छ, त्यसैले सुतिरहेका ब्यापारी र सुस्ताएको अर्थतन्त्र उकास्न डिजिटल साहुजी ल्याएका हौं ।’ डिजिटल साहुजी प्लेटफर्म सञ्चालनमा ल्याउन ७ वर्षदेखि अनुसन्धान र टेस्ट मार्केट गर्दा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीलाई माथि लैजाने उर्जा बढेको उनको भनाइ छ । उनका अनुसार कम्पनीले एक वर्षको अवधिमा ५ सय जना खुद्रा व्यापारी, २ हजार युवा तथा विद्यार्थी, २ सयभन्दा बढी कर्मचारी र लाखौं ग्राहकहरूको जीवनमा आर्थिक र प्राविधिक रूपमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ । साथै, नेपालभरीका मुख्य सहरमा २ सय जना मार्केटिङ एजेन्टलाई हायर गर्ने तयारी रहेको उनले बताए । ‘देशभरीका ग्राहकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन कम्पनी सञ्चालनमा ल्याएका हौं, राज्यलाई योगदान दिन हजारौंलाई रोजगारी दिन्छौं, सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्ग र दुर्गमका युवालाई प्राविधिक शिक्षाको ज्ञान र लगानी गर्छाैं,’ उनले भने, ‘सरकारलाई कर तिरेर योगदान दिन्छौं, शिक्षा, कृषि र स्वदेशी उत्पादनलाई प्रवद्धर्न गर्ने उद्योगमा प्रभाव पार्ने गरी प्रोजेक्ट डिजाइन गरेका छौं ।’ देशको अर्थतन्त्र चलायनमान गर्न कम्पनी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । पहिलो वर्षमा कम्पनीले नेपालमा कुल आयात हुने इलेक्ट्रोनिक, सूचना प्रविधि सामाग्रीहरूको २ प्रतिशत कारोबार गर्ने लक्ष्य राखेको छ । साथै, कम्पनीको भ्यालू पहिलो वर्षमै ५० करोड रुपैयाँको बनाउने अठोट रहेको उनले बताए । हाल कम्पनीको लगानी १५ करोड रुपैयाँ रहेको छ । कम्पनीले देशभरीमा २२ वटा शाखा स्थापना गर्नेछ । यसरी बन्नुहोस् डिजिटल साहुजीको डिलर तपाईंले डिजिटल साहुजीको डिलर लिनका लागि सुरुमा गुगलमा डिजिटल साहुजी खोज्नु पर्ने हुन्छ । डिलरका लागि रजिष्ट्रेसन र लग इनको अप्सन देखिन्छ । टाइप वान र टाइप टू भनेर दुई वटा छुट्टाछुट्टै डिलर हुन्छन् । टाइप वान डिलर खुद्रा व्यापारी हुन भने टाइप टू डिलर युवा तथा विद्यार्थी वर्ग हुन् । जो डिजिटल साहुजीसँग आवद्ध भएर आफ्नै स्वतन्त्र रूपमा व्यवसाय गर्न सक्नेछन् । सिस्टममा आर्टिफिसियल इन्टेलिजेन्स, लोकेसन ट्रयाकिङ लगायतका प्रविधि जडित छ । त्यसैले कुनै ग्राहकले सामान अर्डर गर्नु भयो भने नजिकैको डिलरमा अर्डर पठाइन्छ । अर्डर आइसकेपछि डिलरले उक्त सामान छ की छैन भनेर हेर्छ । यदि उक्त डिलरमा सामान भेटिएन भने अर्काे नजिकैको डिलरमा अटोमेटिक स्क्यान गरेर हेर्छ । कुनैपनि शाखामा सामान भेटिएन भने अन्ततः हेड अफिसमा पठाइन्छ । हेड अफिसमा सूचीकरण गरिएका सबै सामान उपलब्ध हुन्छन् । हेड अफिसले शाखाहुँदै टाइप टू डिलरको माध्यमबाट ग्राहकलाई डेलिभरी गरिदिन्छ । ग्राहकले कसरी प्रयोग गर्ने ? डिलर र ग्राहकका लागि छुट्टाछुट्टै लग इनको सुविधा छ । ग्राहकले लग इन गरेर कुनै एउटा प्रडक्टमा क्लिक गर्नु पर्छ । त्यसपछि बाइ नाउ (खरिद गर्नुहोस्) र एड टू कार्ट भनेर अप्सन देखिन्छ । खरिद गर्दा लोकेसन उपत्यका र उपत्यका बाहिर कुन हो छनोट गर्नु पर्छ । कम्पनीले कुपन कोडहरू पनि वितरण गर्ने भएकाले उक्त कुपन कोड छ भने त्यहाँ राख्नु पर्ने हुन्छ । कुपन कोडमा विभिन्न छुटको व्यवस्था हुनेछ । त्यसपछि चेक आउट अप्सन आउँछ । चेक आउट अर्डर प्लेस गर्न हो । चेक आउट गरेपछि सामान पुर्याउनु पर्ने ठाउँ राख्नु पर्ने हुन्छ । फोन पे, इसेवा र खल्तीको माध्यमबाट सामानको भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । अन्य प्लेटफर्मभन्दा के फरक ? ग्राहकले कोबाट सामान अर्डर गरेको छ, त्यो सामान कहाँ पुगेको छ, कहिलेसम्म आइपुग्छ भनेर सबै ट्रयाकिङ सिस्टमबाट हेर्न सकिन्छ । सोही अनुसार सिस्टम बनाइएको छ । जुन अन्य कम्पनीको प्लेटफर्ममा छैन । डिलरहरूले आफूले सामान राखेर बिक्रेतालाई बेच्ने हो । कति अर्डर गरियो ? कति पेण्डिङमा छ ? कति प्याकेजिङ भइसक्यो ? कति फिर्ता भयो ? कति डेलिभरी हुन सकेन ? कति रद्द भएको छ ? भनेर हेर्न सकिन्छ । प्रडक्ट म्यानेजमेन्टका लागि कुन कुन प्रडक्टहलाई रिक्वेस्ट गरियो ? रिक्वेस्ट गरिएको सूची कुन कुन हो ? भनेर सबै स्टाटस हेर्न सकिन्छ । ग्राहकहरूका लागि एउटै मूल्य तोकिएको हुन्छ भने डिलरहरूका लागि होलसेल र रिटेल मूल्य छुट्याएर राखेको हुन्छ । पसल सञ्चालन गरिरहेका टाइप वान डिलर हुन् । टाइप टू डिलर विद्यार्थी र युवा वर्गलाई विजनेशमा सामेल हुन सक्ने व्यवस्था छ । जस्तो कुनै स्नातक अध्ययनरत विद्यार्थी छ भने आफ्नो खर्च उठाउन डिजिटल साहुजीमा आवद्ध भएर कमाउन सक्छ । नेपालभरिका शाखामा खुद्रा व्यापारी (टाइप वान)डिलर हुन्छन् । खुद्रा व्यापारीसँग विद्यार्थीहरू जोडिएर उनीहरूको प्रडक्टलाई मार्केटिङ गरेर बिक्री गर्न पाउने छन् । खुद्रा व्यापारी, युवा तथा विद्यार्थी र ग्राहक गरी तीन वटा तह छुट्याइएको हुन्छ । कम्पनीले मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ । मोबाइल एप डाउनलोड गरेर सामाग्रीहरू खरिद गर्न सक्ने पोखरेलले बताए । सीईओ न्यौपनका अनुसार व्यवस्थित हुन नसकेको व्यापारलाई सही बाटोमा ल्याउने डिजिटल साहुजी ल्याइएको हो । डिजिटल साहुजीले हजारौ युवालाई रोजगारी दिने उनको भनाइ छ । ‘जब हामी हजारौंको लागि काम गर्छाैं, हजारौंले समाजको लागि अनि देशको लागि केही न केही योगदान दिनु हुन्छ, यही हुटहुटीले डिजिटल साहुजी ल्याउका हौं,’ उनले भने ।
राष्ट्र बैंकले रोक्यो लक्ष्मी सनराइज बैंकका अध्यक्षको सपथ
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई बैंकको अध्यक्ष हुन रोकेको छ । नियामक राष्ट्र बैंकले साधारणसभाबाट निर्वाचित अध्यक्ष नेपाललाई अध्यक्षका लागि तत्काल आयेग्य भन्दै अहिले काम नगर्न निर्देशन दिएको हो । गत पुसमा सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभाबाट उनी सञ्चालकमा निर्वाचित भएका थिए । निर्वाचनपश्चात् बसेको सञ्चालकहरूको बैठकले नेपाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकले बैंक तथा वित्तीय संस्था ऐन बमोजिम नयाँ सञ्चालक तथा अध्यक्षहरूको जानकारी राष्ट्र बैंकलाई गराएको थियो । तर, राष्ट्र बैंकले नेपाललाई तत्काल अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै नखुवाएको हो । बैंक तथा वित्तीय संस्था ऐनको दफा २५ अनुसार सञ्चालकले आफू नियुक्ति भएको जानकारी १५ दिनभित्र राष्ट्र बैंकलाई गराउनु पर्ने हुन्छ । सोही व्यवस्था अनुसार उनले जानकारी गराए पनि नागरिक लगानी कोषबाट बाहिरिए लगत्तै अध्यक्ष बन्न नपाउने भन्दै सपथ नै रोकेको हो । राष्ट्र बैंकले उनीमाथि कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको बताएको छ । राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था विभाग प्रमुख गुरु पौडेलले बैंक तथा वित्तीय संस्थाका अध्यक्षले राष्ट्र बैंक समक्ष सपथ लिनु पर्ने व्यवस्था भए पनि उनले नलिएको धारणा राखे । राष्ट्र बैंकको नीतिअनुसार नै कामकारवाही अगाडि बढाएको तर्क पौडेलको छ । साविक लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् पनि नेपाल अध्यक्ष थिए । तर, नागरिक लगानी कोषको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि बैंकको अध्यक्षबाट स्वतः बाहिरिएका थिए । त्यसपछि भएको बैंकको साधारणसभाले पनि उनलाई सञ्चालकमा नियुक्त गरेको थियो । तर, राष्ट्र बैंकले ६ महिनाको कुलिङ पिरियड लाग्ने भन्दै सपथ रोकेको हो । उनले अब सो अवधिसम्मका लागि बैंकको बैठकमा उपस्थित हुन पाउने छैनन् । कुलिङ पिरियड सकिएपछि भने उनी राष्ट्र बैंकबाट सपथ लिएर अध्यक्षकोरूपमा काम गर्न पाउनेछन् ।
सम्पत्ति कमाउने नियत भएकाहरू सहकारीमा छिर्दा समस्या आयो : सीईओ दाहालसँगको कुराकानी
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् केशब प्रसाद दाहाल । सहकारी क्षेत्रमा करिब तीन दशकको अनुभव भएका दाहाल व्यवस्थापनमा पनि अब्बल मानिन्छन् । विभिन्न सहकारी संघ संस्थाको नेतृत्व गरिसकेका दाहाल २०७८ भदौमा बागमती प्रोस्कुनको सीईओ बनेका थिए । उनै सीईओ दाहालसँग बागमती प्रोस्कुनले फागुन १६ र १७ गते आयोजना गर्ने बागमती साकोस समिट, वर्तमान सहकारी समस्या र यसको सुधारका लागि भइरहेको पहल लगायत विषयमा कुराकानी गरेका छौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन)ले बागमती साकोस सम्मेलनको आयोजना गर्दैछ, यो सम्मेलनको उद्देश्य के हो ? यस्ता किसिमका सम्मेलन अन्य संघ संस्थाबाट पनि भइरहेका छन् । तर, यो सम्मेलन धेरै पृथक छ । हामीले यसलाई फरक ढंगबाट अगाडि बढाइरहेका छौं । सहकारी क्षेत्रको सुदृढिकरण र अभियानको बुझाइमा पृथकता ल्याउन आवश्यक छ । हामी सामुहिक रूपमा हिँड्दा गन्तब्यमा पुग्न सक्छौं । अहिले सबैले एक्लाएक्लै अगाडि बढ्दा सहकारीका वास्तविक एजेण्डा ओझेलमा परेका छन् । त्यस कारण पनि सहकारीमा विषम् परिस्थिति सिर्जना भएको छ, सहकारीमा बदमासी र अनियमितताका घटना बढिरहेका छन् । धेरै सदस्यहरूमा विश्वास हराउँदै गएको अवस्था छ । त्यो विश्वास पुर्नजाग्रित गराउनु पर्ने आजको आवश्यकता हो । त्यसको भूमिका हामीले पनि खेल्नु पर्छ भन्ने मनसायका साथ यो बागमती प्रदेश साकोस समिट आयोजना गर्दैछौं । आज केही सहकारीहरु समस्यामा छन् । ती तिनका निजी समस्या मात्रै होइनन् ती समस्या हाम्रा पनि हुन् । यो कार्यक्रमको उद्देश्य भनेको अहिलेको समस्या हामी सबैको हो । अब सुदृढिकरणमा हातेमालो गर्नुपर्छ । यो समग्र अभियानको समस्या हो । सहकारी अभियानका लागि यो कार्यक्रम कोशेढुङ्गा बन्नेछ भन्ने अपेक्षा छ । सहकारी अभियानमा कस्तो किसिमको सृदृढिकरण खोज्नु भएको हो ? सहकारी अभियानभित्र सबै गलत गर्ने मान्छे छन् भन्ने बुझाइ र विरोधाभाष छ । सहकारीमा काम गर्ने भन्ने वित्तिकै हेयको रूपले हेर्ने दृष्ट्रिकोण छ । सहकारीको सञ्चालक भन्ने वित्तिकै यसले बचतर्ताको पैसा खाएको छ भन्ने बुझाइ अधिकांशमा छ । तर, सहकारी क्षेत्रमा धेरै राम्रो काम गर्ने मान्छेहरूको जमात पनि छ । आफ्नो महत्वपूर्ण जीवन यही सहकारी क्षेत्रमा बिताएकाहरू पनि यो अभियानमा हुनुहुन्छ । तर ती व्यक्तिले गरेका कामहरूलाई हामीले बाहिर ल्याउन सकेका छैनौं । केही व्यक्ति व्यक्तिगत व्यवसायमा तथा आत्मकेन्द्रीत भएर सहकारी सञ्चालन गर्दा अहिलेको समस्या देखिएको हो । ती व्यक्तिहरूको पहिचान गर्न आवश्यक छ । केही अभियान्ताहरू गलत नियतका साथ सहकारी अभियानमा प्रवेश गरेको रहेछन् भन्ने देखियो । अब तिनीहरूको कित्ताकाट हुनुपर्छ । सहकारीको बचतकर्ताको लागि जीवनभर लागेकाहरू पनि छन् । गलत नियत भएका केही व्यक्तिहरूको कारण जीवनभर सहकारी क्षेत्रमै काम गरेकाहरूलाई पनि लज्जित बनाएको छ । सहकारीलाई देखाउने माध्यम बनाएर त्यहाँबाट माथि आउने परिस्थिति जुन बन्यो त्यसको अब पर्दाफास हुनुपर्छ । त्यसको अन्त्य गर्नुपर्छ । गलत गर्ने र राम्रो काम गर्नेको कित्ताकाट नै सहकारीको सुदृढिकरण हो । यसलाई हामीले मुख्य एजेण्डा बनाएका छौं । कुन सहकारी सञ्चालन गर्न सकिने र कुन समस्यामा छ भन्ने विषय पनि हामीले खोज्ने बेला भएको छ । विशेष परिस्थिति नआएसम्म सहकारी संस्थाहरू डुब्दैनन् भन्ने सन्देश दिनु पर्नेछ । सदस्यको हकहितका लागि काम गरेका संस्थामा समस्या आउँदैन भन्ने सन्देश तथा वर्गिकरण गरिनु पर्नेछ । बागमती साकोस समिटले गलत मनसाय भएका र सहकारीबाट करोडौं कमाउने नियत राख्नेहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउने ल्याकत राख्न सक्छ ? हामीले यो सम्मेलनलाई प्रस्थान बिन्दु गर्न खोजेका हौं । अब उप्रान्त नेटवर्क म्यानेज्मेन्टसँगै सहकार्य गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा थप छलफल गर्छौं । प्रत्येक रोगको उपचार एउटै औषधीले हुँदैन । त्यसको खोजी हामी गर्छौं । छिटो सुधार गर्नु पर्ने र विस्तारै सुधार गर्ने सहकारीको पहिचान गरेर मार्गदर्शन गर्ने र सबैलाई विस्तारै गुणस्तरीय सहकारी बनाउने योजना बागमती प्रोस्कुनको हो । यसमा सबैको हातेमालो चाहिन्छ । अहिले अधिकांश सहकारीमा संकट छ भन्ने सुनिन्छ, सबैले समस्या भोगिरहेको बेला पैसा तिरेर तपाईंको सदस्यहरू यो सम्मेलनमा स्वस्फूर्तरूपमा सहभागी हुन्छन् ? अहिले बागमती प्रोस्कुनको नेटवर्कभित्र ४२७ वटा सहकारी छन् । तर, जिल्ला बचत संघमा आवद्ध भएका सहकारीहरूलाई पनि गणना गर्दा २ हजार ९ सय सहकारीहरू हुन्छन् । हाम्रो नेटवर्कमा दर्ता भएका ४४ प्रतिशत सहकारी पनि सम्पर्कमा छैनन् । बाँकी रहेका ५६ प्रतिशत सहकारीबाट सहभागिता राम्रै छ । सबैको उत्साहपूर्ण सहभागिता छ । दर्ताको प्रक्रिया हेर्दा राम्रै छ । १० गतेसम्म २२० सदस्य पुर्याउने लक्ष्य हो । कार्यक्रममा कुल ३०० सम्म सहभागिता रहने विश्वास छ । बागमती प्रोस्कुनमा दर्ता भएका ४४ प्रतिशत सहकारीहरू नेटवर्कमै छैनन् भन्नुभयो, ती सहकारीहरू संकटमा परेर सम्पर्कविहीन भए भनेर बुझ्दा हुन्छ ? त्यसरी बुझ्नु भएन । अहिले ४ हजार ६ सय बढी बचत तथा ऋण सहकारी संस्थाहरू प्रदेशमा दर्ता भएको देखिन्छ । त्यसमध्येको २ हजार ८ सय सहकारी जिल्ला बचत संघको सदस्य छन् । बाँकी बचत तथा ऋण सहकारी संस्थाहरू कुनै पनि नेटवर्कमा आवद्ध भएका छैनन् । कतिपय सञ्चालन भएर पनि आफ्नै ढंगले काम गरिरहेका छन् । उनीहरूलाई यो नेटवर्कको मतलब नै छैन । त्यस कारण पनि अहिलेको समस्या बढी देखिएको हो । हाम्रै सदस्यहरूमा समस्या पनि छ । तर, तुलनात्मकरूपमा कम छ । संघमा आवद्ध भएका सहकारीमा समस्या देखियो कि नेटवर्कमा नआएका सहकारीमा बढी समस्या देखियो ? यो विषय पनि हामीले थाहा पाउनु पर्छ । यस विषयमा पनि छलफल हुन्छ । बागमती प्रोस्कुन प्रदेशभरि रहेका बचत तथा ऋण सहकारी संस्थाहरूको अभिभावक पनि हो । अभिभावकलाई आफ्नो सदस्यहरू के कस्तो समस्या छन्, कस्तो काम गरिरहेका छन् भन्ने विषय पनि राम्रोसँग थाहा होला । बागमती प्रोस्कुनमा आवद्ध कति सहकारी अहिले समस्यामा छन् ? यकिन तथ्यांक हामीलाई पनि थाहा छैन । तर, अहिलेसम्म तयार गरेको तथ्यांकलाई अध्ययन गर्दा संघीय सहकारी विभागमा कुल २२ वटा सहकारी संस्थाहरू दर्ता भएको रहेछन् । ती मध्ये ११ वटा समस्याग्रस्त घोषणा भएका छन् । अन्यमा पनि समस्या छ भन्ने कुरा जानकारीमा आएको छ । बागमती प्रदेश अन्तर्गत १५ सय बचत तथा ऋण सहकारी संस्थाहरू आवद्ध छन् । त्यसमध्ये १७२ सहकारी विरूद्द उजुरी परेको देखियो । त्यो भनेको ९ प्रतिशत हो । त्यो उजुरी के कारणले पर्यो भन्ने विषय खुलेको छैन । बचत फिर्ता, बढी ब्याजदर, धाँदलिपूर्ण साधारणसभा लगायत विषयका उजुरी परेको देखिन्छ । त्यसमध्ये दुई/तीन वटा सहकारी प्रदेश सरकारलेले समस्याग्रस्त सहकारी घोषणाका लागि सिफारिस गरेको छ । अन्य सहकारीको विषयमा प्रदेशमै समन्वय गरेर समाधान खोज्ने प्रयास भइरहेको छ । यो साकोस समिटले सबैको साझा धारणा बनाएर अहिलेको समस्याको समाधानको लागि ‘वे आउट’ दिन्छ भन्नेमा कत्ति विश्वस्त हुन सकिन्छ ? यसलाई हामीले सकारात्मक उर्जा खर्च गरौं भन्ने बुझौं । यसलाई रमाइलोकारूपमा हामीले आयोजना गर्न लागेका होइनौं । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)सँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेका छौं । ब्यानरमा नेफ्स्कुनको पनि लागो छ । सबैको समन्वय र सहकार्य हुनु पर्छ भन्ने किसिमले काम गरिरहेका छौं । यो समस्यालाई सुधार गर्नुपर्छ भनेर लागिरहेका छौं । संकल्प प्रस्ताव लिएर जान्छौं । त्यसमा १३ वटा बचत संघ र केन्द्रिय संघका अध्यक्षज्यूहरूले हस्ताक्षर गर्नुहुन्छ । हरेक विषयमा सामुहिकता खोज्ने प्रयास गरिरहेका छौं । मलाई विश्वास छ, यो सम्मेलनले एउटा राम्रो सन्देश प्रवाह गर्नेछ । सहकारी संघ संस्थाहरूले विभिन्न समयमा विभिन्न किसिमका सभा सम्मेलनहरू आयोजना गरिरहेका छन् । तर, ती कार्यक्रमहरू वार्षिक प्रतिवेदनमा यो गर्यौं भनेर मात्रै सीमित देखिन्छन्, बागमती साकोस समिट त्यसको एउटा फेहरिस्थ हो भन्ने बुझाइ धेरैको छ नी ? हाम्रो अपेक्षा भनेको अहिलेसम्म भइरहेका कार्यक्रमको निरन्तरता होइन, क्रमभंगता हो । र, नयाँ किसिमको इनोभेसन हो । त्यसको एउटा मार्गचित्र यो सम्मेलन हो । हाम्रो आधारपत्रले अब सहकारीमा जे हिजो गरेका थियौं, त्यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ, अब संघहरू प्रतिस्पर्धी होइन सहकारी सदस्यको हित चाहने विषयमा केन्द्रित हुनुपर्छ । सबैको काम किटान हुनु पर्यो । त्यसमा आफूलाई परिचालन गरेर आफ्ना छाताभित्र आएका कामको दीगोपना दिने हो । त्यो काम गर्ने प्रतिवद्धताका लागि यो सम्मेलन हो । अहिलेको समान धारणा र बुझाइ भनेको सहकारीमा संकट सिर्जना भयो भन्ने नै छ । तर, यो संकटको समाधान कसरी गर्न सकिन्छ, कसले के काम गर्न सक्छ भन्ने विषयमा बहस, छलफल तथा सल्लाह सुझाव दिएको/लिएको देखिँदैन । तपाईंको बुझाइमा सहकारीको वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ ? बागमती साकोस समिटको मुख्य ‘थिम’ नै सहकारी अभियानको सुदृढिकरण, सहकार्य, एकता र विश्वास हो । यो तीन वटा विषयलाई लिएर अगाडि बढ्न सक्यौं भने अहिले समस्या समाधान गर्न सक्छौं । हामीले सहकार्य नगरेर एक्लाएक्लै हिड्यौं भने हामी हाम्रो गन्तब्यमा पुग्न सक्दैनौं । यो समिटपछि सहकारीले सहकार्य गर्नु पर्ने रहेछ भन्ने जागरुकता ल्याउँछौं । एउटा प्रारम्भिक संस्थामा सदस्य बनेको मान्छे र महासंघको अध्यक्षबीच कुनै फरक हुनु हुँदैन । तिनको भूमिका र जिम्मेवारी फरक होला । तर, उत्तरदायी समान हो । यी दुवैले आ–आफ्नो भूमिका निर्वाह नगरेको कारण आजको समस्या सिर्जना भएको हो । यो समस्याको निराकरण नै सहकार्य, एकता र विश्वास हो । एउटा वित्तीय संस्थामा एकैदिन सबै बचतकर्ताहरु बचत फिर्ता लिन आयो भने कुनै पनि संस्थाको क्षमता पुग्दैन । त्यसैले सहकारीमा विश्वासको आवश्यकता छ । केहीले बदमासी गरेर नै समस्या आएको हो । तर, धेरैलाई छिमेकीको सहकारी बिग्रियो, अब यसको पनि बिग्रन्छ भनेर अविश्वास गरेर बचत झिक्दा समस्या देखिएको हो । त्यसैले अब विश्वासको पनि आवश्यकता छ । सदस्यको विश्वास जागृत गर्नका लागि सबैको सहकार्य चाहिन्छ । त्यसपछि मात्रै हामी सहकारी बचाउन सक्छौं । यो समिटको मुल मर्म नै यही हो । सहकारी संकटमा पर्नुको कारण सञ्चालकको बदमासीले हो भन्ने बुझाइ अधिकांशको छ । यसमा सहकारीका व्यवस्थापकको भूमिका कत्तिको देख्नुहुन्छ ? कसको कुन भूमिकाको कारणले सहकारी डुब्यो भनेर अनुमान गर्नु हुँदैन । विभिन्न सहकारी डुब्नुका फरक-फरक कारण छन् । सञ्चालकका कारण समस्या आएका पनि धेरै छन्, व्यवस्थापकको कमजोरीले खराब भएका पनि धेरै छन् । कर्मचारीकै कारण खराब भएका सहकारी पनि धेरै छन् । यो नैतिकताको प्रश्न हो । आन्तरिक शुसासन सबैभन्दा ठूलो विषय हो । सहकारी ऐन मान्ने किन नमान्ने भन्ने विषय पनि वैयक्तिक स्वतन्त्रतामा पर्दो रहेछ । कानुन आफैं परिचालन त हुँदैन । सहकारी ऐनले यो अवस्थामा सञ्चालक बन्न पाउँदैन भनेको छ । तर, सञ्चालक बन्छु भनेर बन्यो भने त्यहाँ पक्कै पनि केही न केही गडबढी छ भनेर बुझ्नु पर्छ । जब व्यक्ति सहकारीमा स्वार्थ र गलत नियतका साथ आउँछ त्यहाँ समस्या सिर्जना हुन्छ । निस्वार्थ सहकारीमा लागेकाहरूमा समस्या छैन । सहकारीका सञ्चालकहरूले मनलाग्दी किसिमले सहकारीको पैसा परिचालन गर्दा त्यो सहकारीमा काम गर्ने व्यवस्थापक र कर्मचारीहरू किन निरिह बनेको ? सञ्चालक समिति निर्वाचित अंग हो । सञ्चालकले नै व्यवस्थापक तथा कर्मचारीहरूलाई नियुक्त गर्ने हो । हामीले जति जिम्मेवारी दियो त्योभन्दा बढी भूमिका यसले लिन पाउँदैन भन्ने बुझाइ सञ्चालकमा पनि पर्यो । व्यवस्थापकलाई धेरै शक्तिशाली बनायो भने हामीले भनेको टेर्दैन भन्ने गलत बुझाइका कारण खुम्च्याइएर राखिएको छ । कतिपय व्यक्तिहरूकोे काम व्यवस्थापक । तर भूमिका ‘एसम्यान’ बनेको देखिन्छ । जसले विवेक पुर्याउन सक्छ र आफ्नो स्वाभिमान अरूको स्वार्थका लागि बन्धक बनाउँदैन ती सहकारीहरुमा व्यवस्थापक राम्रो छन् । सहकारी संस्थाहरू पनि राम्रै छन् । तर, जहाँ व्यवस्थापक कमजोर छन् र सञ्चालक समितिले गरेको हरेक निर्णयमा ल्याप्चे लगाउने बानी परेको छ भने त्यस्तो सहकारीहरूमा समस्या देखिएको छ । सहकारीमा संकट सिर्जना हुँदा कतिपयले यो क्षेत्रको अस्तित्वमाथि नै प्रश्न उठाएका छन्, सहकारीमा देखिएको समस्या सुधार हुने संकेत कत्तिको देख्नुहुन्छ ? भेन्टिलेटरमा पुगेर पनि धेरै बिरामीहरू फिर्ता भएका छन् । अहिले सहकारी अभियान भेन्टिलेटरमा पुगेको छैन । आईसीयूमा पुगेको छैन । यो जर्नल वार्डमा छ । तर, कठिन खालको रोगको सामना गरिरहेको छ । हामीले निश्चय पनि यसलाई सुधार गरेर अगाडि बढन् सक्छौं । हामीले अहिलेको अवस्थालाई सुद्धिकरणको रूपमा पनि बुझ्नुपर्छ । गलत मानसिकता भएकाहरू बाहिरिएर असल नियत भएकाहरू यही क्षेत्रमा रहन्छन् । र, पुनः पनि सहकारी अभियान सहज ढंगले अगाडि बढ्छ । तर, केही समय लाग्छ नै । राष्ट्रिय स्वतन्त्र पार्टीले समस्यामा परेका सहकारीका सञ्चालक र कर्मचारीको सम्पत्ति छानविन गर्नु पर्ने राय सरकारसमक्ष राखेको छ, यसमा तपाईंको कुनै टिप्पणी छ ? जहाँ समस्या परेको छ, त्यहाँ कुनै पनि कसर बाँकी राख्नु हुँदैन । सहकारी क्षेत्र सामान्य नागरिकको एक-एक पैसाले बनेको संयन्त्र भएकोले समस्यामा परेका सहकारीको उत्थानका लागि जे गर्न पनि तयार हुनुपर्छ ।