पार्टी बैठकमै आएनन् प्रधानमन्त्री बालेन, किन बढ्दैछ दूरी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेको छ । संसदीय दलको नेता नै बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्रीको कार्यशैली र पार्टीभित्रको समन्वयलाई लिएर टिप्पणी हुन थालेको हो । संसदीय दलको बैठक सामान्यतया दलका नेता, सांसद तथा पार्टी नेतृत्वबीच संसदीय गतिविधि, सरकार सञ्चालन र राजनीतिक विषयमा छलफल गर्ने महत्त्वपूर्ण मञ्च हो । विशेष परिस्थितिबाहेक दलका नेता नै बैठकमा सहभागी हुने र सांसदका धारणा सुन्ने अभ्यास रहँदै आएको छ । तर रास्वपाको बुधबारको संसदीय दलको बैठकमा प्रधानमन्त्री शाह अनुपस्थित रहे। प्रधानमन्त्री शाह पछिल्लो समय प्रतिनिधि सभाको बैठकमा समेत उपस्थित नभएको विषय विपक्षी दलहरूले उठाउँदै आएका छन् । लामो समय संसदमा उपस्थित नभएपछि प्रधानमन्त्री शाहलाई सभामुख डोलप्रसाद अर्यालले सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको उत्तर दिन रुलिङ समेत गरिसकेका छन् ।   संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर विवाद भइरहेका बेला आफ्नै दलको संसदीय दलको बैठकमा समेत उनी सहभागी नभएपछि उनको अनुपस्थितिले थप राजनीतिक अर्थ पाएको हो । राजनीतिक विश्लेषक तथा अधिवक्ता परशुराम घिमिरेले प्रधानमन्त्रीले संसदमा उपस्थित हुन नचाहेजस्तै आफ्नै दलको बैठकबाट पनि दूरी बनाएको टिप्पणी गरे। उनले यसलाई प्रधानमन्त्री शाहको भगुवा रणनीतिका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा निर्वाचित नेतृत्व सञ्चारमाध्यम, संसद् र आफ्नै राजनीतिक दलसँग निरन्तर संवादमा रहनुपर्ने उनको भनाइ छ । ‘कुनै पनि लोकतान्त्रिक शासक मिडिया र बैठकबाट टाढा बस्न रुचाउनु राम्रो संकेत होइन,’ घिमिरेले भने ।   उनका अनुसार शासक मिडिया र बैठकबाट टाढिँदै जान्छ भने त्यसलाई लोकतान्त्रिक अभ्यासबाट पनि टाढिँदै गएको संकेतका रूपमा बुझ्नुपर्छ । घिमिरेले प्रधानमन्त्री शाह रास्वपाका संसदीय दलका नेता भएकाले पार्टीका सांसदसँग प्रत्यक्ष संवाद गर्नु उनको राजनीतिक जिम्मेवारीसमेत रहेको बताउँछन् ।  सरकार सञ्चालनका क्रममा देखिएका समस्या, सांसदका गुनासा तथा पार्टी र सरकारबीचको समन्वयबारे छलफल गर्न संसदीय दलको बैठक महत्त्वपूर्ण हुने उनको तर्क छ । ‘जनताबाट निर्वाचित प्रधानमन्त्री आफ्नै दलको संसदीय दलको बैठकमा उपस्थित नहुनु सामान्य विषय होइन,’ घिमिरेले भने ।  घिमिरेका अनुसार यसले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्वको जवाफदेहितामाथि प्रश्न उठाउँछ । प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण यता प्रधानमन्त्री कार्यालयले भने प्रधानमन्त्री शाह बैठकबाट भागेको वा पार्टीका गतिविधिबाट दूरी बनाउन खोजेको भन्ने टिप्पणी अस्वीकार गरेको छ । प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले प्रधानमन्त्रीको पूर्वनिर्धारित सरकारी कामका कारण बैठकमा उपस्थित हुन नसकेको बताइन् । उनका अनुसार बुधबार मन्त्रिपरिषद्को बैठक रहेको थियो । त्यसपछि प्रधानमन्त्रीले मन्त्रीहरू र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने कार्यक्रमसमेत रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसकेको उनको भनाइ छ । उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई पार्टी वा संसदीय दलप्रतिको बेवास्ताका रूपमा बुझ्न नहुने र त्यसको मुख्य कारण उनको व्यस्त सरकारी कार्यतालिका रहेको दावी गरिन् । व्यस्तता भए पनि दलको बैठकको महत्त्व घट्दैन प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण आए पनि विश्लेषक घिमिरे भने यसलाई पर्याप्त कारण मान्दैनन् ।  उनका अनुसार मन्त्रिपरिषद्को बैठक र सरकारी जिम्मेवारी महत्त्वपूर्ण भए पनि प्रधानमन्त्री स्वयं संसदीय दलको नेता भएकाले दलको बैठकमा उपस्थित हुनु पनि उत्तिकै महत्त्वपूर्ण राजनीतिक दायित्व हो । विशेषगरी सरकार र सत्तारुढ दलका सांसदबीच असमझदारी बढिरहेको अवस्थामा प्रधानमन्त्रीको उपस्थितिले पार्टी र सरकारबीच समन्वय कायम गर्न सहयोग गर्ने उनको भनाइ छ । रास्वपाका सांसद र सरकारमा रहेका मन्त्रीहरूबीच पछिल्लो समय विभिन्न विषयमा असमझदारी देखिन थालेको चर्चा भइरहेको छ । यहीबेला संसदीय दलको बैठक बसेको हो ।  यस्तो अवस्थामा प्रधानमन्त्री तथा संसदीय दलका नेता बैठकमा उपस्थित भएर सांसदका गुनासा सुन्ने, सरकारको कामकारबाहीबारे जानकारी दिने र पार्टीभित्रको समन्वय बलियो बनाउने अपेक्षा गरिएको थियो । तर प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि उनको अनुपस्थितिको कारणलाई लिएर दुई फरक धारणा सार्वजनिक भएका छन् । प्रधानमन्त्री कार्यालयले सरकारी कामको व्यस्ततालाई कारण देखाएको छ भने आलोचकहरूले यसलाई नेतृत्वको संवाद र जवाफदेहितासँग जोडेर हेरेका छन् । रास्वपाभित्र समन्वयको प्रश्न प्रधानमन्त्री शाहको अनुपस्थिति केवल एउटा बैठकमा सहभागी नभएको विषयमा सीमित नरही रास्वपाभित्र सरकार र संसदीय दलबीचको समन्वय कस्तो छ भन्ने प्रश्नसँग पनि जोडिएको छ । सत्तारूढ दलको संसदीय दल सरकारका नीति तथा कार्यक्रम, संसदमा प्रस्तुत हुने विधेयक र सरकारका कामकारबाहीबारे छलफल गर्ने महत्त्वपूर्ण निकाय हो ।  त्यसैले दलका नेता स्वयं बैठकमा अनुपस्थित हुँदा सांसद र नेतृत्वबीच प्रत्यक्ष संवादको अवसर भने प्रभावित हुन्छ । प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर उठेका प्रश्नको राजनीतिक जवाफ भने आगामी दिनमा उनको संसद् तथा पार्टीका बैठकमा हुने सहभागिताले दिने विश्लेषक घिमिरेको वुझाइ रहेको छ ।  तर रास्वपाका नेताहरू भने यो विषयमा मौनता साँध्नुमै भलो ठान्छन् ।  विकासन्युजले रास्वपाका महामन्त्री विपिन आचार्य र पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीसँग प्रतिक्रिया मागेको थियो । तर दुवै नेताले यस विषयमा प्रतिक्रिया दिन चाहेनन् ।

३ सहर पार गर्दै गरिमाको यात्रा बालुवाटारसम्म, १.२५ अर्बमा बन्यो हेड अफिस

काठमाडौं । भदौ ३ गते (बुधबार) दिउँसो बालुवाटारस्थित गरिमा विकास बैंकको नवनिर्मित भवनमा असामान्य चहलपहल थियो । बैंकका कर्मचारीहरू पाहुनाको स्वागतमा व्यस्त थिए । नेपाल राष्ट्र बैंकका गभर्नरदेखि न्यायाधीश, नियामक निकायका प्रतिनिधि, सेयरधनी र बैंकका अधिकारीहरू एकै ठाउँमा उपस्थित थिए ।  कार्यक्रमको केन्द्रमा थियो- नयाँ भवनको उद्घाटन । तर, समारोह केवल एउटा भवन उद्‍घाटनको औपचारिक कार्यक्रममा सीमित थिएन । त्यो एक संस्थाले आफ्नो यात्रालाई फर्केर हेर्ने, विगतलाई सम्झिने र भविष्यको दिशाबारे प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि थियो । कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद उपाध्यायले एउटा रोचक टिप्पणी गरे । ‘सम्पत्ति जोडिनु त्यति महत्त्वपूर्ण विषय होइन । संस्थाको परिचय नाम के हो र ठेगाना कहाँ छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ,’ उनले भने । उनको यो अभिव्यक्तिले गरिमा विकास बैंकको दुई दशक लामो यात्रालाई छोटकरीमा चित्रित गरिदियो ।  ३ सहर पार गरेर बालुवाटारसम्म २०६४ सालमा स्याङ्जाको वालिङबाट सुरु भएको गरिमा विकास बैंकको यात्रा अहिले काठमाडौंको बालुवाटारमा आइपुगेको छ । बैंकको केन्द्रीय कार्यालय सुरुआतमा वालिङमा थियो । त्यसपछि २०६७ सालमा कार्यालय पोखरा सारियो । शाखा सञ्जाल र व्यवसायको आकार वृद्धिसँगै २०७२ सालमा काठमाडौं प्रवेश गर्यो । लाजिम्पाटमा केही वर्ष बिताएपछि बैंकले अहिले आफ्नै भवनबाट सेवा सञ्चालन थालेको छ । सीईओ उपाध्यायका अनुसार संस्थाको विकास केवल कारोबारको आकारले मात्र मापन हुँदैन । संस्थाको आफ्नै परिचय, स्थायित्व र पहिचान पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ । उनले भने, ‘आज बैंकको परिचयले पूर्णता पाएको छ । बैंकको परिचय नाम गरिमा विकास बैंक र ठेगाना काठमाडौं-२ बालुवाटार बनेको छ ।’ करिब १ अर्ब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको भवन केवल कार्यालय मात्र होइन, बैंकको दीर्घकालीन सोचको प्रतिबिम्ब पनि हो । ३७ आना अर्थात् ४७ हजार ६२५ वर्गफिट क्षेत्रफलमा बनेको भवनमा एकै समयमा ३२० जना कर्मचारीले काम गर्न सक्छन् । तर, हाल भने करिब १३० जनाले मात्रै काम गर्नेछन् ।  बैंकको भवनमा डबल बेसमेन्ट पार्किङ, पुस्तकालय, तालिम कक्ष र क्यान्टिनको व्यवस्था गरिएको छ । पाँचौं तलाबाट बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकको भवन स्पष्ट रूपमा देखिन्छ । भवनको अवलोकन गरेपछि गभर्नर डा. विश्वनाथ पौडेलले सहज प्रतिक्रिया दिँदै भने, ‘गज्जबको भवन छ । चारैतिर हरियाली देखिँदो रहेछ ।’ तर, उनको ध्यान भवनको संरचनामा मात्र सीमित रहेन । उनले स्याङ्जाको पहिचान झल्काउने सामग्री भवनभित्र राख्न सुझाव दिए । ‘स्याङ्जाको चिनो के हो ? स्याङ्जाको पहिचान झल्किने वस्तुहरू राख्नुपर्छ,’ उनले भने ।  गभर्नरको रमाइलो संवाद भवन उद्घाटन समारोहमा स्याङ्जाको प्रसङ्गले वातावरणलाई केहीबेर रमाइलो बनायो । गभर्नर पौडेलले आफू स्याङ्जा घुमेको अनुभव सुनाउँदै त्यहाँका सडकहरू निकै साँघुरा रहेको बताए । त्यसैबेला बैंकका अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्वमेयर दिलीपप्रताप खाँडले आफूले सडक विस्तार गर्न खोज्दा मुद्दा परेको अनुभव सुनाए । त्यसपछि गभर्नर पौडेलले मजाक गर्दै प्रतिक्रिया दिए, ‘न्यायाधीश पनि स्याङ्जाकै, वकिल पनि स्याङ्जाकै र मुद्दा हाल्ने पनि स्याङ्जाकै हुन्छन् ।’ कार्यक्रम हल हाँसोले गुञ्जियो । त्यसको जवाफमा अध्यक्ष खाँडले कार्यक्रममा चार जना न्यायाधीश उपस्थित रहेको प्रसंग निकाले ।  बैंकिङ र अध्यात्मलाई सँगै अघि बढाउने  गरिमा विकास बैंकको नयाँ भवनको अर्को विशेषता भनेको परिसरभित्र निर्माण गरिएको मन्दिर हो । बैंकका सीईओ उपाध्यायले यसलाई संस्थाको कार्य संस्कृतिसँग जोडेर व्याख्या गरे । उनका अनुसार बैंकले कुनै पनि निर्णय गर्दा नैतिकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेको छ । धार्मिक अनुष्ठानले मानिसलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने भएकाले मन्दिर निर्माण गरिएको उनको भनाइ छ ।  तीन दिनसम्म गरिएको धार्मिक अनुष्ठानपछि देवदेवीहरूको प्राण प्रतिष्ठा गरिएको उनले जानकारी दिए । ‘हामीले लाखौं सेवाग्राहीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । त्यसका लागि नैतिक प्रेरणा आवश्यक हुन्छ,’ उनले भने ।  उनले बैंकबाट हुने प्रत्येक गतिविधि ग्राहक, सेयरधनी, कर्मचारी र नियामक निकायको हितअनुसार सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे । सीईओ उपाध्यायले संस्थाको विकासलाई बच्चा हुर्काउने प्रक्रियासँग तुलना गरे । उनका अनुसार जसरी एउटा आमाले सानो बच्चालाई विभिन्न चरण पार गराउँदै परिपक्व बनाउँछिन्, त्यसरी नै एउटा संस्थालाई पनि निरन्तर संरक्षण, मार्गदर्शन र नेतृत्व आवश्यक हुन्छ । २०६४ सालमा २ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी र ६१ जना सेयरधनीबाट सुरु भएको बैंक आज लाखौं सेयरधनी र ६ अर्ब २ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको संस्थामा रूपान्तरण भएको सीईओ उपाध्यायले जानकारी दिए । उनका अनुसार १० लाखभन्दा बढी ग्राहक र ३७ जिल्लामा फैलिएका १२६ शाखामार्फत बैंकले सेवा प्रवाह गरिरहेको छ । संस्थापक अध्यक्षदेखि पूर्वसीईओसम्म धेरै व्यक्तिको योगदानले आजको अवस्था सम्भव भएको उनको भनाइ छ । बैंकका अध्यक्ष दिलीपप्रताप खाँडले बैंकको भावी यात्रा पारदर्शिता, नैतिकता र अध्यात्मको आधारमा अघि बढाइने बताए । बैंकले केवल आर्थिक गतिविधिलाई मात्र प्राथमिकतामा नराखी नैतिक मूल्य र आध्यात्मिक चेतनालाई पनि संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा आत्मसात गर्ने उनको भनाइ छ ।  उनका अनुसार संस्थाको दीर्घकालीन सफलता केवल वित्तीय उपलब्धिले मात्र सुनिश्चित हुँदैन । त्यसका लागि सत्य, निष्ठा, आत्मबल र कर्मशीलतालाई व्यवहारमा उतार्न आवश्यक हुन्छ । ‘हामीसँग आत्मबल छ, दृढता छ, कर्मशीलता छ र सत्य तथा निष्ठा छ । यही आधारमा सेयरधनी, निक्षेपकर्ता र सेवाग्राहीको मन जित्दै विश्वासलाई अझ बलियो बनाउनेछौं,’ उनले भने ।  अध्यक्ष खाँडले बैंकको सफलतामा कर्मचारीहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाभित्र बलियो टिम भावना विकसित भएको बताए । उनले बैंकको सीईओ, डीसीईओ, प्रदेश कार्यालय, शाखा कार्यालय तथा चालकसहित सबै तहका कर्मचारीहरूबीच सहकार्य र एकताको वातावरण रहेको बताए । ‘होस्टेमा हैस्से गर्दै सामूहिक रूपमा काम गर्ने संस्कृतिलाई निरन्तरता दिनुपर्छ,’ उनले भने । कर्मचारीहरूको सेवा-सुविधामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै  अध्यक्ष खाँडले संस्थाभित्रको टिम स्पिरिटलाई थप सुदृढ बनाइने बताए । उनका अनुसार बैंक सञ्चालक समितिले अभिभावकीय भूमिका निर्वाह गर्दै कर्मचारीहरूको मनोबल बढाउने र उनीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्नेछ ।

नाइमा एक्स्पो सकिएलगत्तै नाडा अटो शोको रौनक, नयाँ मोडलदेखि ‘यात्री पी२’ सम्म

काठमाडौं । भदौ लागेसँगै काठमाडौंको मौसम फेरिन थालेको छ । कहिले घाम, कहिले बादल, यही माहोलबीच भृकुटीमण्डपमा अटोप्रेमीहरूका लागि विशेष रौनक थपिँदैछ । भदौ ९ देखि १४ गतेसम्म सवारीसाधनका पारखी र नयाँ गाडी किन्ने तयारीमा रहेका ग्राहकका लागि भृकुटीमण्डपमा नाडा अटो शोको १८औ‌ं संस्करण आयोजना हुन लागेको हो । नेपाली अटोमोबाइल बजारमा पहिलादेखि आयोजना हुँदै आएको अटो मेलामा नयाँ सवारीसाधन, प्रविधि र विभिन्न ब्रान्डका आकर्षण एकै ठाउँमा देख्न पाइनेछ । नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) ले आफ्नो स्थापनाको ५० औं वर्ष (गोल्डेन जुब्ली) मनाउँदै गर्दा यस वर्षको शोलाई विगतको तुलनामा झन् विशेष, भव्य र सुविधायुक्त बनाउने तयारी गरेको छ । नाइमा मोबिलिटी एक्स्पो सकिएसँगै सुरु हुन लागेको यो मेलाले नेपाली अटो बजारमा नयाँ उत्साह सञ्चार गरेको छ । यस वर्षको नाडा अटो शो केवल प्रदर्शनी मात्र होइन, यो प्रविधि र आधुनिकताको संगम भएको नाडाले दाबी गरेको छ । मेलामा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । विशेषगरी चारपाङ्ग्रे (कार) तर्फ २३ वटा ब्राण्डको सहभागिताले उपभोक्तालाई छनोटको फराकिलो अवसर दिनेछ ।  पछिल्लो समय विद्तीय सवारीसाधन (ईभी) तर्फ बढ्दो आकर्षणलाई सम्बोधन गर्न नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटा ब्राण्डका नयाँ मोडलका साथै  अन्य मोडलहरू पनि नाडा अटो शोमा राख्दैछ । यस्तै, बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले यसअघि सम्पन्न नाइमा एक्स्पोमा राखेका तिनै मोडल नाडा अटो शोमा राख्ने जनाएको छ । कम्पनीका अनुसार एटो १ एटो २ एटो ३ र डेन्जा नाइमामा राखेको थियो । साइमेक्सले नाडामा एटो २ को नयाँ सेग्मेन्ट ल्याउने तयारी गरिरहेको छ । यसैगरी, सीजी मोर्टसले आफ्ना विभिन्न ब्राण्डका गाडीहरू अटो शोमा राख्ने तयारी गरिरहेको छ । जसमा सुजुकी, अइओन, रिडारा, आवटर र जेटौर रहेका छन् । एमएडब्लु वृद्धि मार्टसले पनि आफ्ना विभिन्न ब्राण्ड दिपल, नाम्मी, स्कोडा, चाङ्गन र एमहिरो अटो शोमा राख्ने तयारी गरिरहेको छ ।  नाइमा एक्स्पोमा सहभागिता जनाएको प्रोटोन ईमास गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोर्टसले पनि नाइमा एक्स्पोमा राखेका मोडल इमास५ र इमास७ राख्ने तयारी गरिरहेको बताएको छ । गिली गाडीको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले पनि आफ्ना विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ ।  जेएमईभी गाडीको आधिकारिक बिक्रेता शौर्य अटोमोबाइल्सले पनि जेएमईभीका मोडलहरु राख्ने बताएको छ । यस्तै, नाइमा एक्स्पोमा सहभागि भएको पारामाउन्ट मोर्टसले एमजी विभिन्न मोडलहरु प्रदर्शनीमा राख्ने जनाएको छ । यसैगरी, जीडब्ल्युएम (ग्रेट वाल मोटर) गाडीको नेपालका लागि आधिकारिक बिक्रेता वा आयातकर्ता भीजी इम्पेक्स प्रालिले जीडब्ल्युएमका विभिन्न मोडलहरू राख्ने जनाएको छ । नाइमा एक्स्पोमा सहभागि रहेको सांग्रिला मोर्टसले पनि लिपमोटरका विभिन्न मोडल राख्ने बताएको छ । जी मोटर्स स्काईवेलका विभिन्न मोडल रहने जनाइएको छ । नाइमा एक्स्पोमा सहभागि भएको ओमोडाजस्ता नामहरू पनि प्रदर्शनीमा देखिनेछन् । सुजुकी र स्कोडा जस्ता स्थापित ब्राण्डहरूले पनि आफ्ना नयाँ मोडेलका साथ उपभोक्तालाई लोभ्याउने निश्चित छ । नाइमा मोबिलिटी एक्स्पोमा सहभागी भएका धेरै ब्राण्डहरू यसपटक नाडामा पनि दोहोरिँदै छन् । अटो कम्पनीहरूका अनुसार दुवै अटो शोमा सहभागी हुनुको मुख्य उद्देश्य व्यापार विस्तार र ग्राहकसँगको प्रत्यक्ष सामीप्यता नै हो । वुलिङ र चेरी जस्ता ब्राण्डहरूले पनि यस मेलामा आफ्नो उपस्थिति जनाउने बलियो सम्भावना छ, जसले प्रतिस्पर्धालाई अझ रोचक बनाउनेछ । साना व्यवसायीदेखि सौखिनसम्मलाई लक्षित नाडा अटो शो केवल विलासी कारमा मात्र सीमित छैन । मेलामा १७ वटा लाइट कमर्शियल भेइकल ब्राण्डहरूको पनि सहभागिता रहनेछ । त्यस्तै, नाडामा १७ लाइट कमर्शियल ब्राण्डले सहभागिता जनाउँदै छन् । जसमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिका फोटोन, डोङफेङ र सोकन रहनेछन् । सीजी मोर्टसको किङलङ, शशिला मोटर्स प्रालिले हाइगर र फारिजोन, एसटीसी अटो सोलुसन्ले जिनबेई, टाटा मोटर्स कमर्सियल भेइकल्स, कुजु नेपाल प्रालिले डीएफएसके, मेगा मोटर्स र त्रिवेणी मोटोकर्प कामा, इकोअटो र जी.एल. लामा अटो नेपालले न्यू गोनो अटो, अकवेल नेपालले ओकवेल, एनईभी नेपाल प्रालिले दीगो, एलआरआर मोटर्सले स्काईवर्थ ईभी, ईभी गो नेपालले कावेल अटो,  एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिले फेइदी र एकता मोटर्स प्रर्दशनमा रहनेछ । यी बाहेक व्यवसायीहरूले थप अन्य सवारीसाधन प्रदर्शन गर्नेछन् ।  यसैगरी, दुईपाङ्ग्रेतर्फका सौखिनहरूका लागि १३ वटा अर्थात् मोटरसाइकल तथा स्कुटर ब्रान्डहरू जस्तै एमएडब्लू वृद्धि मोर्टसको यामाहा र सीजी मोर्टसको हिरो पनि प्रदर्शनीमा रहनेछन् । अटो शोको मुख्य आकर्षणका रूपमा हेरिएको नेपालमै उत्पादन भएको यात्री पी २ मोटसाइकल रहनेछ । सिप्रदी-यात्रीले संयुक्त रूपमा निर्माण गरेको पी २ पहिलोपटक अटो शोमा सार्वजनिक हुन लागेको हो ।  यसैगरी, त्रिवेणी ग्रुपको रोयल इनफिल्ड, सीजीको हिरोअन्तर्गत दुईपाङ्ग्रे ईभी सवारीसाधन प्रदर्शनीमा रहनेछन् । चिनियाँ ब्राण्ड क्युजे र मेटा ईभीले अटो शोमा पहिलो पटक सहभागिता जनाउने छन् । भारतमा उत्पादित रेभोल्ट र एम्पेयरका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन अटोशोमा सहभागी हुँदैछन् ।  यसैगरी, अटो शोमा नयाँ मोटरसाइकल भित्र्याउने तयारीमा रहेको यामाहासँगै भेस्पा अप्रिलिया पनि सहभागी हुँदैछन् । चिनियाँ मोटरसाइकल ब्राण्ड जोनसेन र एमसी अटो ब्राण्डको गर्जनदेखि नेपाली मौलिक ब्राण्ड यात्री नयाँ ईभी बाइकहरू एम्पियर र रिभोल्टसम्मको आकर्षण रहनेछ । यस्तै, अन्य स्टलहरूमा १० वटा वित्तीय तथा बीमा सेवाप्रदायक र अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्ससम्बन्धी करिब ७० वटा स्टल नाडाले जनाएको छ ।  सवारीसाधन किन्नु धेरैका लागि ठूलो आर्थिक निर्णय हो । यही निर्णयलाई सहज बनाउन मेलामा १ दर्जन बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति रहनेछ ।  नबिल, एनआईसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरूले ग्राहकलाई लक्षित गर्दै सस्तो ब्याजदर र आकर्षक कर्जा योजनाहरू (लोन स्किम) सार्वजनिक गर्ने तयारी गरेका छन् । सवारी किन्नेबित्तिकै त्यसको सुरक्षाका लागि शिखर इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरू पनि स्टलमै उपलब्ध हुनेछन् । यसले गर्दा ग्राहकले एकै थलोमा सवारी छनोट, फाइनान्सिङ र बीमाको सुविधा पाउनेछन् । सवारीसाधनका साथै यस वर्ष टायर, लुब्रिकेन्ट, ब्याट्री र स्पेयर पार्टसका दर्जनौं स्टलहरू रहनेछन् । यसले पुराना सवारी धनीहरूलाई पनि आफ्नो साधनको मर्मत र स्तरोन्नतिका लागि नयाँ जानकारी दिनेछ ।