नेपालको पर्यटन क्षेत्रलाई सम्भावना बोकेको उद्योगको रूपमा लिइन्छ । तराईका फाँटदेखि हिमालसम्मका भागलाई पर्यटनको स्रोत मानिन्छ । प्राकृतिक स्रोतसाधनको अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरू पुग्ने गरेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँका प्राकृतिक दृश्य तथा सांस्कृतिक धरोहर देखाएर नेपालले मनग्य आम्दानी गर्न सक्छ । सँगसँगै विदेशी पर्यटकलाई नेपालसम्म ल्याउन सम्भावना र चुनौती उत्तिकै देखिँदै आएको छ । ट्राभल एण्ड टुरको क्षेत्रमा व्यवसायीले पनि समस्या भोगिरहेका छन् । ट्राभल एशोसिएसनले पर्यटनको सम्भाव्यताको क्षेत्र र यस क्षेत्रले भाेगेका चुनौती लगायत विषयमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेसँग विकासन्युजकर्मी अतिन आचार्यले कुराकानी गरेका छन् ।
भर्खरै नाट्टाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । यो जितलाई कसरी लिनुभएको छ ?
यो हामी सबैको जित हो। अब गर्नुपर्ने धेरै काम छन् । नेपालको पर्यटन क्षेत्रमा लुकेका तथा अझै अगाडि आउन नसकेका सम्भावनालाई उजागर गर्दै काम गर्नुपर्नेछ । यो कुनै व्यक्तिको मात्र जित नभएर समग्र संस्था र नाट्टाको जित हो भन्ने महसुस गरेको छु ।
निर्वाचनका क्रममा तपाईंले विभिन्न एजेन्डा अघि सार्नुभएको थियो । ती एजेन्डा कार्यान्वयन गर्न सकिन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीसँग ट्रान्सपोर्टेसन, टिकटिङलगायत विभिन्न क्षेत्रका साथीहरू आबद्ध हुनुहुन्छ। यस निर्वाचनले टुर अपरेटरहरूसँग पनि सँगसँगै काम गर्ने वातावरण बनाएको छ । पर्यटनका विविध क्षेत्रमा काम गरेका साथीहरूको सहभागिता छ । मेरो अहिलेको प्राथमिकता ‘क्लिन एन्ड ग्रीन’ अर्थात् ‘स्वच्छ तथा हरित’ परियोजना हो । यो मेरो परिकल्पना हो र पहिलो बैठकमै यसलाई अघि बढाउनेछु ।
नेपालका डाँडाकाँडा, भीरपाखा र बाटाघाटा प्लास्टिकका र्यापर तथा पानीका बोतलले ढाकिएका छन् । यस्ता वस्तु नभएको ठाउँ भेट्टाउनै मुस्किल छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा प्राथमिक तहदेखि विद्यालय, समुदाय र सामाजिक सञ्जालसम्म पुगेर सचेतना अभियान सञ्चालन गर्नुपर्छ । यी सबै प्रयासलाई एकीकृत गरेर व्यापक अभियानका रूपमा अघि बढाउन चाहन्छु । यसबाट भविष्यमा वातावरणमा पर्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सकिन्छ। साथै, विदेशबाट नेपाल आउने पर्यटकले ‘नेपाल साँच्चिकै सफा र स्वच्छ रहेछ’ भन्ने सकारात्मक सन्देश लिएर फर्किऊन् भन्ने मेरो सोच हो ।
‘क्लिन एन्ड ग्रीन’ परियोजनाको अवधारणा कसरी आयो ?
म आफै फोटोग्राफी पनि गर्छु । यात्राका क्रममा धेरै ठाउँमा पुग्ने गरेको छु । मसँग हजारौं तस्बिर छन्, जसमा विभिन्न ठाउँमा थुप्रिएको फोहोर पनि देखिन्छ । पर्यटकहरू कुनै ठाउँमा यात्रा गर्दा धेरै अपेक्षा र योजना बनाएर गएका हुन्छन् । तर आफूले खोजेको र हेर्न चाहेको कुरा नपाउँदा उनीहरू निराश हुन्छन् । सफा ठाउँबाट आएका विदेशी पर्यटकले नेपालमा फोहोर देख्दा कस्तो महसुस गर्लान् भन्ने कुराले मलाई प्रभाव पारेको हो । हामीले वातावरण सफा र हरियाली बनाउन सक्यौं भने पर्यटकलाई प्रकृतिसँग अझ नजिक जोड्न सक्छौँ भन्ने लागेर यो अवधारणा अघि सारेको हुँ ।
अब संस्थाको कुरा गरौं । नाट्टाप्रति सदस्यहरूको केही निराशा देखिएको र कतिपयले सदस्यता नवीकरण नगरेको सुनिन्छ । संस्था छाडेर गएकाहरूलाई फर्काउन के योजना छ ?
नाट्टाले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरिरहेकै हुन्छ । तर, यसमा मुख्य कुरा ‘फेलोसिप’ हो । टिम बिल्डिङ र सदस्यहरूको सहभागिता महत्त्वपूर्ण हुन्छ। मानिसले संस्थामा आफ्नो अस्तित्व खोज्छ ।
म सदस्य भइरहँदा संस्थाभित्र मेरो भूमिका के हो भन्ने महसुस गर्न पाउनुपर्छ । सामाजिक कार्य, सरसफाइ, डोनेसन कार्यक्रम वा सीएसआरजस्ता गतिविधिमा सदस्यहरूलाई सहभागी गराउन सकियो भने उनीहरूको उत्साह बढ्छ । नाट्टाले गर्ने नियमित कामसँगै सदस्यहरूलाई आफ्नो सहभागिता र भूमिका महसुस गराउन सक्नुपर्छ । विभिन्न तरिकाबाट सदस्यलाई संस्थाप्रति अपनत्व महसुस गराउन आवश्यक छ ।
पछिल्लो समय मुलुकमा पर्यटकको संख्या घटेको र आम्दानी हुन नसकेको व्यवसायीहरूको गुनासो छ। यस्ता समस्या समाधान गर्न तपाईंको भूमिका कस्तो हुन्छ ?
सबैभन्दा पहिलो कुरा पूर्वाधारको हो । वर्षायाममा बाटाघाटा बन्द हुन्छन् । तर अहिले यातायातका अन्य धेरै विकल्प पनि निर्माण भइसकेका छन् । अर्को कुरा, हामीले मौसमी मार्केटिङ गरिरहेका छौं । अब भने बाह्रै महिना पर्यटनको सिजन हो भन्ने अवधारणासहित मार्केटिङ गर्नुपर्छ । हामी ‘सिजन’ भनेर बसिरहेका छौं । अब ‘सिजन’ भन्ने शब्द त्यागेर १२ महिना नै पर्यटनको सिजन हो भन्ने मान्यताका साथ अघि बढ्नुपर्छ ।
यसका लागि आवश्यक तयारी र पूर्वाधारबारे अध्ययन गर्नुपर्छ । नेपाल हिमाल मात्र होइन, यहाँ ऐतिहासिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता पनि छ भन्ने कुरा विश्वलाई बुझाउनुपर्छ । अन्तर्राष्ट्रिय मार्केटिङ अभियानमा हाम्रो भूमिका अझ प्रभावकारी हुनुपर्छ ।
पर्यटन क्षेत्रमा रोजगारी व्यापक रूपमा बढाउन के गर्नुपर्ला ?
नाट्टाले व्यापक रूपमा हस्पिटालिटी क्षेत्रमा तालिम दिनेछ । अब काठमाडौंकेन्द्रित नभई प्रदेशगत रूपमा त्यहाँका संघ–संस्थासँग आबद्ध भएर सीपमूलक तालिम प्रदान गर्नेछौं । हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित जनशक्तिको सीप विकाससँगै अहिले भइरहेका रोजगारीलाई कसरी स्थिर र दिगो बनाउने भन्ने विषयमा पनि काम गर्छौँ । रोजगारीलाई टिकाउने र थप माथि लैजाने विषयमा अध्ययन गरेर अघि बढ्नेछौं ।
पर्यटन क्षेत्रमा काम गरिरहेका व्यवसायीका लागि कानुनी जटिलता कत्तिको छ ?
मेरो अनुभवमा कानुनले हामीलाई धेरै अप्ठ्यारो पारेको छैन । हामी सधैं कानुनको दायराभित्र रहेर काम गरिरहेका छौं । हामीसँग भएका स्रोत र सम्भावनालाई प्रयोग गरेर अधिकतम फाइदा लिनुपर्छ । हामीजस्ता पर्यटन व्यवसायीका लागि राज्यको भूमिका अहिलेसम्म सहज नै छ । अप्ठ्यारो पर्दा राज्यको ढोका ढकढक्याउनुपर्छ । राज्यले हाम्रो सधैं रक्षा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।
अन्तर्राष्ट्रिय हवाई टिकटमा सिद्धान्तविपरीत जबर्जस्ती भ्याट लगाइएको भन्ने विषय सार्वजनिक भएको छ । यसले हवाई यात्रुलाई कस्तो असर पारेको छ ? यसको समाधान कसरी खोज्नुहुन्छ ?
यी नीतिगत तहका विषय हुन् । यसमा हामीले बुझ्न र आफ्नो धारणा राख्न सक्ने धेरै ठाउँ छन्। भ्याटको सन्दर्भमा हामीभन्दा अघिल्लो कार्यसमितिले पनि धेरै पहल गरेको छ । उहाँहरू पनि यस विषयमा लागिसक्नुभएको छ । त्यो विषय अहिले कहाँ पुगेको छ, किन अड्किएको छ वा त्यसले सफलता पायो कि पाएन भन्ने विषयमा अध्ययन गरेर अगाडि बढ्छु । धेरै समस्या नीतिगत तहमा छन्। हामीले ‘समस्या यस्तो छ’ भनेर सरकारसमक्ष कुरा राख्ने र आवश्यक दबाब सिर्जना गर्ने हो ।
राज्य सधैं पर्यटक र व्यवसायीको हितमा हुनुपर्छ भन्ने हाम्रो माग र मान्यता हो । १३ प्रतिशत करको विकल्पमा के गर्न सकिन्छ भन्नेबारे पनि सोच्नुपर्छ । सरकारी सुविधामा कर लगाउने कि अन्य कुनै विकल्प खोज्ने भन्ने विषयमा विचार गर्नुपर्ने बेला आएको छ । करका कारण टिकटिङ व्यवसायमा धेरै समस्या भएको छ । वित्तीय कागजातसँग सम्बन्धित विषयमा पनि व्यवसायीहरूले समस्या भोगिरहेका छन् ।
व्यवसायीको आम्दानी उल्लेख्य रूपमा बढ्न नसक्नुको कारण के होला ?
व्यवसायमा माग र आपूर्तिको कुरा आउँछ । हाम्रोमा आपूर्ति अर्थात् होटल र सेवाहरू धेरै भए । तर माग अर्थात् पर्यटकको संख्या अपेक्षित रूपमा बढेन । यसले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको छ । १० वर्षअघि जुन दरमा प्याकेज बिक्री हुन्थ्यो, अहिले त्योभन्दा कम दरमा प्याकेज बेच्नुपर्ने अवस्था छ । समयअनुसार मूल्य समायोजन हुन नसक्नु पनि आम्दानी नबढ्नुको एउटा कारण हुन सक्छ ।
ट्राभल तथा टुर व्यवसायीले कस्ता–कस्ता समस्या भोगिरहेका छन् ?
मुख्य रूपमा टिकटिङ र एभिएसन क्षेत्रमा समस्या छन् । राज्यले भौतिक उपस्थितिमार्फत मात्र सेवा दिएर हुँदैन । अहिलेको डिजिटल युगमा भ्लगर र आईटीको प्रयोग गर्दै अघि बढ्नुपर्छ । नाट्टाले अब तालिम र क्षमता विकासमा व्यापक रूपमा काम गर्छ। हस्पिटालिटी र एभिएसन क्षेत्रमा पनि तालिम सञ्चालन गर्नेछौं ।
नाट्टाको अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दै समग्र व्यवसायी तथा पर्यटन क्षेत्रको हितका लागि सरकारसँग कस्तो लबिइङ गर्नुहुन्छ ?
धेरै विषय छन् । उदाहरणका लागि, भारतबाट गाडीहरू आएर नेपालमा टुरिङ गरिरहेका छन् । यसले स्थानीय ट्रान्सपोर्ट कम्पनीलाई समस्या परेको छ । नेपालका गाडी महँगा छन् र विभिन्न कर तिर्नुपर्छ । बोर्डरबाट आउने पर्यटकका लागि न्यूनतम ‘ओभरनाइट स्टे’को मापदण्ड तोकिनुपर्छ । टिकटिङमा कमिसन नहुने अवस्था छ । अनलाइन ट्राभल पोर्टलहरूले स्थानीय व्यवसायको हिस्सा घटाइरहेका छन् । राज्यले रोजगारी सिर्जना र त्यसको स्थायित्वका लागि नीतिगत तहमा काम गर्नुपर्छ । मुख्य रूपमा पर्यटन व्यवसायीले भोगिरहेका समस्याहरू उठान गरेर सरकारसँग समन्वय र लबिइङ गर्नेछौं ।
तपाईंको विचारमा पर्यटन क्षेत्रमा राज्य र निजी क्षेत्रबीचको समन्वय कस्तो हुनुपर्छ ?
सरकारले सबै कुरा बुझेको जस्तो गर्छ, तर ग्राउन्ड लेभलमा के समस्या छ भन्ने पर्याप्त जानकारी नहुन सक्छ । राज्यले निजी क्षेत्रलाई उत्प्रेरित गर्नुपर्छ । कर मात्र थोपर्ने होइन, सम्मान पनि दिनुपर्छ । राज्य सधैँ व्यवसायीको पक्षमा हुनुपर्छ। व्यवसायीहरूको अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्छ । राज्य सधैँ सहयोगी र नरम हुनुपर्छ। वित्तीय तथा अन्य विविध पक्षमा राज्य व्यवसायीसँगै हुनुपर्छ ।
निजी क्षेत्रले राज्यबाट पर्याप्त सहयोग र सम्मान पाएको महसुस गरेको छैन । व्यवसायीहरूले सम्मान खोजेका छन् । गल्ती गर्नेलाई सजाय दिनुपर्छ, तर इमानदारीपूर्वक काम गरिरहेका व्यवसायीलाई सम्मान गर्दै राज्य अभिभावकको भूमिकामा रहनुपर्छ । ट्राभल कम्पनी, होटल वा रेस्टुरेन्टका लागि स्पष्ट मापदण्ड निर्धारण गर्नुपर्छ र उनीहरूलाई त्यसअनुसार काम गर्न सहयोग गर्नुपर्छ । मापदण्डमा के–के कुरा समेटिएका छन् भन्ने विषयमा पनि स्पष्ट जानकारी दिनुपर्छ । व्यवसायीहरू पनि तोकिएको मापदण्डभन्दा बाहिर जानु हुँदैन ।
भौगोलिक विविधता भएको मुलुकमा चुनौती पनि प्रशस्तै छन्। यस्तो अवस्थामा नयाँ पर्यटन बजार कसरी खोज्ने ?
हामी ‘सेलेबल’ हुनुपर्छ । नेपालका लुकेका सम्भावनालाई बाहिर ल्याउनुपर्छ । संसारले कथा खोज्छ । हामीले आफ्नो कथा बुझाउन र सुनाउन सक्नुपर्छ । यहाँको प्रकृतिको कथा विश्वलाई बुझाउनुपर्ने बेला आएको छ । बुद्ध जन्मेको देश, हिमाल र विविध संस्कृतिको कथा हामीले बेच्नुपर्छ । यसका लागि व्यवस्थित दस्तावेजीकरण हुनुपर्छ । दस्तावेजीकरणसँगै सम्बन्धित सबैलाई त्यसबारे जानकारी पनि गराउनुपर्छ । उदाहरणका लागि, कर्णाली प्रदेश, रारा र खप्तडको व्यवस्थित दस्तावेजीकरण गरेर नाट्टाको ‘प्रोपर्टी’का रूपमा विकास गर्न सकिन्छ । स्थानीय तहलाई पूर्ण रूपमा सक्रिय बनाउनुपर्छ। स्थानीय तहमा लुकेका तथा ओझेलमा परेका पर्यटकीय क्षेत्रलाई अगाडि ल्याउने समय आएको छ ।
नेपालको पर्यटन विकासको सबैभन्दा ठूलो बाधक हवाई कनेक्टिभिटीलाई मानिन्छ । यसको समाधान के होला ?
पूर्वाधार निर्माण हुनुपर्छ । राज्यले अब बाटोघाटो निर्माणमा ध्यान नदिएसम्म पर्यटन क्षेत्र अघि बढ्न सक्दैन । जबसम्म पूर्वाधार निर्माण हुँदैन, तबसम्म पर्यटक गन्तव्यसम्म सहज रूपमा पुग्न सक्दैनन् ।
पर्यटक बसका लागि पार्किङको सुविधा हुनुपर्छ । बाटोमा विदेशी पर्यटकका लागि शौचालयको सुविधा छैन । यस्तो अवस्थामा हामीले लक्ष्यअनुसार पर्यटक कसरी भित्र्याउन सक्छौँ ?
मुख्य कुरा पूर्वाधार नै हो । हाम्रो मुलुकको आफ्नै किसिमको भौगोलिक विकटता भएकाले पनि पर्यटन विकासका लागि पूर्वाधारको महत्त्व अझ बढी छ ।
नेपालले पर्यटन प्रवर्द्धनमा खर्च गरेअनुसार प्रतिफल पाउन नसकेको हो ? प्रचार रणनीति कमजोर भएको हो कि यसको वास्तविकता के हो ?
म पर्यटन क्षेत्रमा कसैलाई दोष दिन्नँ । राज्यदेखि व्यवसायीसम्म सबै जना जागरुक हुनुपर्छ । अब डिजिटल तहमा पुगेर प्रचारको विस्तार र दायरा बढाउनुपर्छ । अहिले मानिससँग पढ्ने र सुन्ने धैर्यसमेत कम हुँदै गएको छ । त्यसैले हेर्ने, देखाउने र मनन गर्ने किसिमको सामग्री निर्माण गर्नुपर्छ । पर्यटकलाई लक्षित गरेर डिजिटल माध्यम र सामाजिक सञ्जालको ‘अल्गोरिदम’अनुकूल प्रचार रणनीति बनाएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।
अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपाल महँगो गन्तव्य बनिरहेको छ। यसमा नाट्टाको भूमिका कस्तो हुनेछ ?
सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढ्नेछौं । यसमा करको विषय पनि अवश्य आउँछ । मलाई कर नै मुख्य कारण हो जस्तो लागिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आउने उतारचढाव पनि हवाई भाडा महँगो हुनुको एउटा कारण हो ।
तपाईंको कार्यकाल सकिँदा व्यवसायीहरूले तपाईंलाई के भनेर सम्झिऊन् भन्ने चाहनुहुन्छ ?
एउटा त ‘क्लिन एन्ड ग्रीन’ परियोजना सफल भयो भनेर सम्झिऊन् भन्ने चाहन्छु । मैले यहाँको वातावरणलाई हरियाली र सफा बनाउनुपर्छ । वातावरण सफा बनाउनु भनेको मेरो लागि मात्र होइन, सबैका लागि हो भन्ने मेरो मान्यता हो । अर्को, अहिलेको सदस्य संख्यालाई आधार बनाएर नाट्टाको सदस्य संख्या ५० प्रतिशतले बढाउने मेरो लक्ष्य छ । सातै प्रदेशमा नाट्टालाई सक्रिय बनाउने र व्यावसायिक रूपमा व्यवस्थित दस्तावेजीकरण गर्ने काममा हामी लाग्नेछौं ।