‘हामी उत्पादनसँगै ग्राहकको भरोसा पनि बेचिरहेका छौं’

हरेक स्टलमा कम्तीमा एउटा नयाँ गाडी देख्न पाइनेछ ।

भदौ ९ गतेदेखि १४ गतेसम्म भृकुटीमण्डपमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (नाडा) को १८औ‌ं नाडा अटो शोको आयोजना हुँदैछ । अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे र कमर्शियल गरी कुल ५१ वटा ब्राण्डले आफ्ना उत्पादनहरू प्रदर्शन गर्दैछन् । नाडाका अनुसार २ सय वटा स्टलहरू रहनेछन् । प्रदर्शनीमा गाडीसँगै रोबोट र विभिन्न कम्पोनेन्टहरू पनि रहनेछन् ।  यसै सन्दर्भमा अटाे क्षेत्रको ठूलो घराना एमएडब्लु वृद्धि ग्रुपले आउँदै गरेको नाडा अटो शोमा कुन कुन ब्राण्डहरू प्रदर्शनीमा राख्दैछ ? अवलोकनकर्ताले यसपटक एमएडब्लु वृद्धिका स्टलहरूमा नयाँ अनुभव र फरक के पाउनेछन् ? एमएडब्लु वृद्धिको उपस्थिति कस्तो रहनेछ ? यिनै समग्र विषयमा एमएडब्लु वृद्धि ग्रुपका अध्यक्ष विष्णु अग्रवालसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् । 

नाडा अटो शोमा तपाईंको तयारी के-कस्तो छ ?

हामी धेरै उत्साहित छौं । वास्तवमा भन्नुपर्दा नाडा अटो शो हाम्रो लागि सधैं विशेष रहँदै आएको छ । गत वर्ष पनि हामीले यसमा सहभागिता जनाएका थियौं र ग्राहकहरूबाट सोचेभन्दा राम्रो प्रतिक्रिया पाएका थियौं । यो वर्ष पनि हामीले नाडा अटो शोमा निकै उत्साहजनक र भव्य उपस्थितिको अपेक्षा गरेका छौं ।

हाम्रो तयारी निकै व्यापक छ । यसपटक हामीले डोङफेङका लागि एउटा ठूलो र आकर्षक स्टल राखेका छौं । त्यहाँ हामीले भर्खरै सार्वजनिक गरिएको नामी बक्स र भिगो ई-टु मात्र प्रदर्शन गर्ने छैनौं । डोङफेङले अहिलेसम्म उत्पादन गरेका उत्कृष्ट गाडीहरूमध्येको एक एम-हिरोलाई पनि विशेष आकर्षणको रूपमा राख्दै छौं ।  एम–हिरो धेरैले प्रतीक्षा गरिरहेको गाडी हो । यसको उपस्थितिले नाडा अटो शोमा छुट्टै रौनक थप्नेछ भन्ने हाम्रो विश्वास छ ।

१८औ‌ं नाडा अटो शो अघिल्ला संस्करणहरूभन्दा यसपटक कसरी फरक हुनेछ ? अवलोकनकर्ताहरूले एमएडब्लु वृद्धिका स्टलहरूमा कस्तो नयाँपनको अनुभव गर्न पाउनेछन् ?

पक्कै पनि यसपटकको नाडा अटो शोमा नयाँपन धेरै हुनेछ । यो संस्करणमा नयाँ उत्पादनहरूको बाहुल्यता रहनेछ । जसमा कुनै शङ्का छैन । हाम्रा जति पनि ब्रान्डका स्टलहरू हुनेछन्, ती हरेकमा ग्राहकले कम्तीमा एउटा यस्तो नयाँ गाडी देख्न पाउनुहुनेछ, जुन उहाँहरूले पहिले कहिल्यै देख्नुभएको छैन । 

हामीले केवल गाडीहरू प्रदर्शन गर्नेमात्र होइन, एउटा अन्तरक्रियात्मक वातावरण सिर्जना गर्ने लक्ष्य राखेका छौं । जहाँ हाम्रा दक्ष प्रतिनिधिहरूले ग्राहकलाई प्रत्येक गाडीको प्रविधि, सुविधा र उपयोगिताबारे निकै गहिराइमा गएर बुझाउनुहुनेछ । हामी चाहन्छौं कि अवलोकनकर्ताहरूले त्यहाँ पुग्दा एउटा नयाँ प्रविधिको संसारमा पुगेको अनुभव गरून् । 

यसपटकको अटो शोमा कुन-कुन ब्रान्ड र मोडलहरूलाई विशेष प्राथमिकतामा राखिएको छ ?

हामीसँग ब्रान्डहरूको ठूलो पोर्टफोलियो छ । नाडा अटो शोमा हामीले नामीलाई त मुख्य प्राथमिकतामा राखेका छौं । यसका साथै दिपल, स्कोडा, यामाहा र फोटोनजस्ता ब्रान्डहरूलाई पनि उत्तिकै महत्त्वका साथ प्रदर्शन गर्नेछौं ।

नामीले ईभी सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । दिपालले प्रिमियम र आधुनिक प्रविधिको प्रतिनिधित्व गर्छ । स्कोडा र यामाहाले आफ्नो गुणस्तर र विरासतलाई निरन्तरता दिइरहेका छन् । फोटोनका पनि नयाँ र उपयोगी सवारीहरू ग्राहकले देख्न पाउनुहुनेछ । यसरी हेर्दा हामीले सबै प्रकारका ग्राहकहरूको चाहनालाई सम्बोधन गर्ने गरी तयारी गरेका छौं ।

गत वर्ष तपाईंहरूले चाङ्गनको उड्ने कार ल्याउनुभएको थियो, जसमा मानिसहरूको निकै भिड लागेको थियो । यसपटक त्यस्तै कुनै आश्चर्यजनक वस्तु वा गाडी ल्याउने सोच छ कि ?

पक्कै पनि गत वर्षको अटो शोमा उड्ने कारले धेरैको ध्यान तानेको थियो । त्यो एउटा प्रविधिको नमूना थियो । तर यो वर्ष हामीले उड्ने कारभन्दा पनि गुड्ने कारहरूमा बढी केन्द्रित भएका छौं । हामीले नेपाली सडकका लागि उपयुक्त धेरै नयाँ र आकर्षक मोडलहरू ल्याएका छौं ।  मलाई विश्वास छ, यसपटकका हाम्रा नयाँ मोडलहरू देखेर पनि ग्राहकहरू र अवलोकनकर्ताहरू उत्तिकै प्रभावित हुनुहुनेछ ।

नाडा अटो शोमै सार्वजनिक वा लन्च हुने नयाँ मोडलहरू कुन-कुन हुन् ? 

धेरै कुराहरू त नाडा शोमै देख्नुहुनेछ । तर केही झलकहरू म दिन्छु । हाम्रो एम–हिरो त छँदैछ । भिगो इ–टु को संस्करण पनि आइसकेको छ । सबैभन्दा नयाँ कुरा दिपलको नयाँ गाडी दिपल नेभो क्यू जिरो फाइभ आउँदै छ । यो प्रतिस्पर्धात्मक सेग्मेन्टमा र निकै आकर्षक मूल्यमा उपलब्ध हुनेछ । यो गाडी विशेष गरी कार्यकारी व्यक्तिहरूले रुचाउने खालको अत्यन्तै आरामदायी र प्रविधिमैत्री हुनेछ । यस्तै, स्कोडामा हामीले कुशाक र काइलाक गरी दुईवटा नयाँ गाडीहरू राख्दैछौं । मोटरसाइकलतर्फ यामाहाको नयाँ बाइक एक्सएसआर १५५ पनि हामीले ल्याउँदै छौं । त्यसैले यसपटकको प्रदर्शनी उत्पादनहरूको हिसाबले निकै सुसज्जित हुनेछ ।

बुधबारबाट सार्वजनिक भएको नामीको भिगो ई-टुको पर्फर्मेन्स र नेपाली भूगोलमा यसको सान्दर्भिकता कस्तो छ ? कतिपयले अझै पनि इभीले पहाडी बाटो धान्दैन कि भन्ने आशङ्का गर्छन् नि ?

यो निकै सान्दर्भिक प्रश्न हो । नामी भिगो ई-टु को पर्फर्मेन्स उत्कृष्ट छ । म के स्पष्ट पार्न चाहन्छु भने हाम्रा गाडीहरूले नेपालका सबैभन्दा कठिन मानिने भूगोलहरू मनाङ, मुस्ताङ र सोलुखुम्बु जस्ता ठाउँहरूको यात्रा सफलतापूर्वक गरिसकेका छन् । यी गाडीहरूले ती कठिन सडकहरूमा आफूलाई प्रमाणित गरिसकेका छन् । मैले एउटा अर्को महत्त्वपूर्ण तथ्याङ्क पनि सेयर गर्न चाहन्छु ।  हाम्रा नामी गाडीहरूमध्ये केही त यस्ता छन्, जसले दुई वर्षको छोटो अवधिमा ७० हजार किलोमिटरभन्दा बढी दूरी पार गरिसकेका छन् । एउटा गाडीका लागि योभन्दा ठूलो प्रमाण अरू के हुन सक्छ ? यो आफैमा एउटा प्रोभन भेइकल र भरपर्दो एसयूभी हो । नेपाली सडक र वातावरणका लागि यो पूर्ण रूपमा उपयुक्त छ ।

हाल नेपाली सडकमा नामीका ईभीहरू कति संख्यामा गुडिरहेका छन् ?

हालसम्म नेपाली सडकमा नामीका २ हजारभन्दा बढी विद्युतीय सवारीहरू गुडिरहेका छन् । यो संख्याले देखाउँछ कि नेपाली ग्राहकहरूले नामी ब्रान्डमाथि कति ठूलो विश्वास देखाउनुभएको छ ।

अहिले नेपाली बजारमा पेट्रोलियम (आईसीई) इन्जिन भएका गाडीभन्दा ईभीको क्रेज धेरै देखिन्छ । यसलाई एमएडब्लु वृद्धिले कसरी हेरिरहेको छ ?

हामी यसलाई एउटा ठूलो अवसरको रूपमा हेरिरहेका छौं । विश्वव्यापी रूपमै र नेपालमा पनि वातावरणमैत्री र किफायती सवारीको माग बढ्दो छ । हामीले यो अवसरलाई सदुपयोग गर्दै ग्राहकहरूलाई कसरी उत्कृष्ट प्रविधि र सेवा दिन सक्छौं भन्ने कुरामा ध्यान केन्द्रित गरेका छौं । तर, हामीले केवल गाडी बेच्ने कुरामा मात्र ध्यान दिएका छैनौं । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्टर सेल्स सर्भिस अर्थात् बिक्रीपछिको सेवा हो । गाडी किनेपछि ग्राहकलाई कुनै पनि समस्या नहोस् र उहाँहरूले ढुक्क भएर चलाउन सक्नुहोस् भन्नका लागि हामीले आफ्नो सर्भिस नेटवर्कलाई पनि निकै बलियो बनाएका छौं । हामी उत्पादनसँगै भरोसा पनि बेचिरहेका छौं ।

के नेपाली सडकमा एमएडब्लु वृद्धिले ईभीको नेतृत्व गर्न सक्ला ?

नेपाली अटो बजारमा अहिले ठूलो परिवर्तन आइरहेको छ । केही वर्षअघिसम्म ह्याचब्याक गाडीहरू लोकप्रिय रहे पनि अहिले ग्राहकको आकर्षण एसयूभीतर्फ बढेको छ । सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटो समूहमध्ये एक बन्न सफल भएको छ । जसरी पहिले पेट्रोल गाडीमा ह्याचब्याकबाट एसयूभीमा सिफ्ट भयो । अब ईभी सेग्मेन्टमा पनि सोही परिवर्तन देखिँदै छ । एमएडब्लुले नेपालको ईभी ट्रान्स्फर्मेसनमा नेतृत्वदायी भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।

देशभर चार्जिङ स्टेसन कति छन्, थप्ने योजना के छ ?

देशभर हामीसँग हाल २ सयभन्दा बढी चार्जिङ स्टेसनहरू रहेका छन् । यसमा हामीले राम्रो लगानी गरिरहेका छौं । यो वर्षमात्रै १०० वटा थप्ने योजना बनाइरहेका छौं । मलाई लाग्छ, यसमा कसैलाई कसुर नराखिकन सेवा दिइरहेका छौं । 

Share News