६४.६७ अर्ब आम्दानीमा ६.७६ अर्ब नाफा, ३ कम्पनी घाटामा

काठमाडौं । पुँजी बजारमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरूले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय नाफा आर्जन गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ कम्पनीमध्ये १७ वटाले कुल ६ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ७४.१८ प्रतिशत अर्थात् २ अर्ब ८८ करोड १३ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षमा यी १७ कम्पनीले ३ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी नाफा युनिलिभर नेपालले गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । सबैभन्दा बढी नाफा वृद्धि भने सोनापुर मिनिरल्स एन्ड आयलको भएको छ । कम्पनीको नाफा ६१३.५३ प्रतिशतले बढेर ३३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७२ लाख ५० हजार रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफा २८.१३ प्रतिशतले बढेर १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेपाल ल्युब आयलको नाफा २३.०२ प्रतिशतले वृद्धि भएर ५ करोड ५० लाख ४७ हजार रुपैयाँ पुगेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको नाफा १२.१९ प्रतिशतले बढेर १ करोड ७८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको नाफा ७.७० प्रतिशतले बढेर १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको नाफा ४.३० प्रतिशतले बढेर २२ लाख १३० रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको नाफा १.०८ प्रतिशतले वृद्धि भएर ६ करोड ७५ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा युनिलिभर नेपालसहित पाँच कम्पनीको नाफा घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको नाफा १६.१३ प्रतिशतले घटेर ३९ करोड ९० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको नाफा ५९ प्रतिशतले घटेर ३ करोड ९९ लाख ९२ हजार रुपैयाँमा झरेको छ । सर्वोत्तम पेन्ट्सको नाफा ११.३१ प्रतिशतले घटेर १ करोड ७१ लाख ५२ हजार रुपैयाँ पुगेको छ भने शिवम् सिमेन्टको नाफा १.७१ प्रतिशतले घटेर ७८ करोड ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष घाटामा रहेका बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) भने गत वर्ष नाफामा फर्किएका छन् । अघिल्लो वर्ष ६१ करोड ३९ लाख ३८ हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (तराई)ले गत वर्ष ६५ करोड ९२ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, अघिल्लो वर्ष ४० करोड १ लाख ७० हजार रुपैयाँ घाटामा रहेको बोटलर्स नेपाल (बालाजु)ले गत वर्ष ८७ करोड ८३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, उत्पादन तथा प्रशोधन समूहका तीन कम्पनी भने अझै घाटामा छन् । गत आर्थिक वर्षमा घोराही सिमेन्ट इन्डस्ट्रिजले ३० करोड ८० लाख ७२ हजार रुपैयाँ, सागर डिस्टिलरीले ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ र ओम मेगाश्री फर्मास्युटिकल्सले ३ करोड ७७ लाख ५७ हजार रुपैयाँ घाटा बेहोरेका छन् ।  ६४.६७ अर्बको कारोबार सार्वजनिक वित्तीय विवरणअनुसार उत्पादन तथा प्रशोधन समूहका १७ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२२ प्रतिशत अर्थात् १२ अर्ब ५२ करोड रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीले ७७ अर्ब १९ करोड ६० लाख रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा बढी सञ्चालन आम्दानी वृद्धि सागर डिस्टिलरीको भएको छ । कम्पनीको आम्दानी १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख ६२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर मिनिरल्स एन्ड आयलको सञ्चालन आम्दानी ६९.९९ प्रतिशतले बढेर ४ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सको आम्दानी ५१ प्रतिशतले बढेर २१ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ भने सर्वोत्तम पेन्ट्सको सञ्चालन आम्दानी ४८.२८ प्रतिशतले वृद्धि भएर २१ करोड ३ लाख ४८ हजार रुपैयाँ पुगेको छ । श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सञ्चालन आम्दानी २८.६४ प्रतिशतले बढेर १ अर्ब ८० करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । एभरेस्ट कलरको आम्दानी २१.४९ प्रतिशतले वृद्धि भएर १७ करोड २६ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने नेपाल ल्युब आयलको सञ्चालन आम्दानी १७.१० प्रतिशतले बढेर १ अर्ब ५८ करोड ४४ लाख ४१ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सञ्चालन आम्दानी १५.९० प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ५९ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई)को आम्दानी १५.२८ प्रतिशतले वृद्धि भएर ८ अर्ब ६७ करोड ७८ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।  हिमालयन डिस्टिलरीको सञ्चालन आम्दानी १२.६७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ३७ लाख ९२ हजार रुपैयाँ पुगेको छ । सर्वोत्तम सिमेन्टको आम्दानी १०.३९ प्रतिशतले वृद्धि भएर १० अर्ब ५२ करोड ८५ लाख २७ हजार रुपैयाँ पुगेको छ भने एसवाई प्यानलको सञ्चालन आम्दानी ७.४९ प्रतिशतले बढेर ८१ करोड २७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा अधिकांश कम्पनीको सञ्चालन आम्दानी बढेको देखिए पनि पाँच कम्पनीको आम्दानी घटेको छ । रिलायन्स स्पिनिङ मिल्सको सञ्चालन आम्दानी ८५.७४ प्रतिशतले घटेर १ अर्ब ४५ करोड ९६ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । बोटलर्स नेपाल (बालाजु)को आम्दानी ८२.६३ प्रतिशतले घटेर १ अर्ब ८७ करोड ३७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै, शिवम् सिमेन्टको सञ्चालन आम्दानी १०.८६ प्रतिशतले घटेर ६ अर्ब ९२ करोड २६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। घोराही सिमेन्ट इन्डस्ट्रिजको आम्दानी ६.३८ प्रतिशतले घटेर ४ अर्ब ७२ करोड ९९ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ भने युनिलिभर नेपालको सञ्चालन आम्दानी ४.०२ प्रतिशतले घटेर ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

पहिलोपटक राइड सेयरिङमा दर्ता भई सञ्चालनमा आयो ‘सवारी नेपाल’

काठमाडौं । गण्डकी प्रदेशमा पहिलोपटक राइड सेयरिङ कम्पनी ‘सवारी नेपाल’ आधिकारिक रूपमा दर्ता भई सञ्चालनमा आएको छ । गण्डकी प्रदेशले जारी गरेको सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ अनुसार २०८२ वैशाखमा जारी भएको नियमावलीअनुसार पहिलो पटक उक्त कम्पनीले अनुमति लिएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशकी प्रवक्ता मुना अधिकारीले हालसम्म सवारी नेपाल मात्र दर्ता भई सञ्चालनमा आएको विकासन्युजलाई जानकारी दिइन् ।  उनका अनुसार अहिले देशभर सञ्चालनमा रहेका कुनै पनि राइड सेयरिङ सेवा दिने कम्पनीले सरकारबाट अनुमति पाएका थिएनन् ।  यो गण्डकीमा मात्र नभएर देशभरमै पहिलो राइड सेयरिङ दर्ता कम्पनी बनेको हो ।  हालसम्म चलेका राइड सेयरिङ सेवा दिने एपहरू कम्पनी रजिस्ट्रारको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर चलिरहेका छन् । संघीय र अन्य प्रदेश सरकारहरूले अहिलेसम्म राइड सेयरिङसम्बन्धी कानुन नै ल्याउन सकेका छैनन । सवारी सेवा नेपाल प्रालि नामक कम्पनीले नेपालमै पहिलो पटक कानुनबमोजिम राइड सेयरिङका लागि अनुमति लिएको र अन्य ४ कम्पनीले निवेदन दिएको प्रवक्ता अधिकारीले जानकारी दिइन् । उनका अनुसार इनड्राइभ, पठाओ जस्ता अन्य हालसम्म दर्ता भएका छैनन् ।  गण्डकी सरकारले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवाहरूलाई कानुनी दायरामा ल्याउन ३० दिने अल्टिमेटम दिएको छ ।  मन्त्रालयले एक सूचना जारी गर्दै अवैध रूपमा सञ्चालित यस्ता कम्पनीहरूलाई तत्काल दर्ता हुन आह्वान गरेको हो ।  ‘धेरै कम्पनीहरू दर्ता प्रक्रियामा नआई अप्रत्यक्ष रूपमा सञ्चालन भइरहेका छन्,’ प्रवक्ता अधिकारीले भनिन्, ‘सेवा रोक्दा सर्वसाधारणलाई असुविधा हुने भएकाले हामीले तत्काल बन्द नगरी ३० दिन थप गरी दर्ता भएर वैधानिक रूपमा सञ्चालन हुन अवसर दिएका हौं ।’ मन्त्रालयले राइड सेयरिङ र सेल्फ ड्राइभ दुवै सेवाका लागि नयाँ भाडा दरसमेत निर्धारण गरेको छ ।  प्रवक्ता अधिकारीका अनुसार सरकारले तोकेको भाडा दर हाल बजारमा चलिरहेको दरभन्दा कम र किफायती छ । राइड सेयरिङको भाडा दर यसअघि नै तोकिइसकिएको छ ।  विस्तृत भाडा दर मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिएको र सोहीअनुसार मात्र शुल्क लिन पाइने मन्त्रालयले स्पष्ट पारेको छ । राइड सेयरिङ सेवालाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालयले कम्पनीहरूले प्रयोग गर्ने एपको अडिट गर्ने भएको छ । अबदेखि कुन कम्पनीले कसरी सेवा दिइरहेका छन् भन्ने कुरा सरकारी निगरानी प्रणालीबाटै हेरिनेछ । दर्तामा किन भयो ढिलाइ ?  गण्डकी प्रदेशमा यो सेवा पहिलो पटक कानुनी रूपमा सुरु गर्न लागिएको र अनलाइन प्रविधिमा आधारित भएकाले कानुन निर्माणमा केही समय लागेको मन्त्रालयको भनाइ छ ।  यसअघि कार्यान्वयनको क्रममा अदालतमा मुद्दा परेको र विभिन्न चरणमा आन्दोलनहरू भएकाले पनि प्रक्रियामा ढिलाइ भएको प्रवक्ता अधिकारीले जानकारी दिइन् ।  मन्त्रालयले सर्वसाधारणलाई दर्ता भएका र वैधानिक कम्पनीको सेवा मात्र प्रयोग गर्न आग्रह गरेको छ । ३० दिनको अवधिभित्र पनि दर्ता नहुने कम्पनीहरूलाई कानुनी कारबाही गरिने र उनीहरूको सेवा बन्द गराइने मन्त्रालयले चेतावनीसमेत दिएको छ । मन्त्रालयले यसअघि पनि ३० दिनको सूचना जारी गरेको भए पनि सवारी नेपाल कम्पनीमात्रै  दर्ता भएको थियो ।  मन्त्रालयले प्रदेशभित्र सञ्चालनमा रहेका राइड सेयरिङ सेवा प्रदायक कम्पनी, संस्था, व्यक्ति तथा प्लेटफर्मलाई ३० दिनभित्र दर्ता इजाजतपत्र लिन पुनः निर्देशन दिएको हो । 

जब मजदुरले १ अर्ब ६० करोडको सुनको खजाना भेट्टाए...

काठमाडौं । युरोपेली देश बेल्जियममा जमिनमुनिबाट ठूलो परिमाणमा सुनको खजाना फेला परेको छ ।  पुरातत्त्वविद् वा विशेषज्ञको टोलीले नभई निर्माणको काम गरिरहेका मजदुरहरूले यो खजाना फेला पारेका हुन् ।  राजधानी ब्रसेल्सबाट करिब १९ माइल उत्तरपश्चिममा रहेको डेन्डरमोन्डे सहरमा एउटा भवनमुनि काम गर्ने क्रममा उनीहरूले ठूलो संख्यामा सुनका सिक्का र सुनका इँटा फेला पारेका हुन् । स्थानीय अधिकारीका अनुसार मंगलबार निर्माणका क्रममा फेला परेको उक्त सुनको सिक्का र बारको कुल मूल्य १०.५ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६० करोड नेपाली रुपैयाँ बराबर रहेको छ ।  भवनको जगमुनि मर्मतको काम गर्ने क्रममा यो सुन फेला परेको हो । यो खजाना कोबे फिलिप्स नामका विद्यार्थीले फेला पारेका हुन्, जो पार्टटाइम निर्माण मजदुरका रूपमा काम गरिरहेका थिए । डेन्डरमोन्डे प्रहरी जिल्लाका प्रमुख प्याट्रिक फेयसले सीएनएनलाई बताएअनुसार एउटा पुरानो मदिरा उत्पादन गर्ने कारखानाको जगमा ४० वटा सुनका बार र करिब ४ हजारवटा सुनका सिक्का लुकाएर राखिएको अवस्थामा फेला परेका थिए । कोबे फिलिप्सका अनुसार सुरुमा आफूहरूले ती सिक्का एक युरोका सिक्का भएको ठानेका थिए । ती वस्तु बाहिर निकाल्दा एउटा सुनको बार देखिएपछि मात्रै वास्तविकता थाहा भएको उनले बताए । आफूहरूले अनुमान गरेभन्दा निकै ठूलो परिमाणमा सुन फेला परेको उनको भनाइ छ । सुन फेला परेपछि मजदुरहरूले सम्पत्तिका मालिकलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई बोलाइएको थियो । इस्ट फ्ल्यान्डर्स सार्वजनिक अभियोजन कार्यालयका अनुसार सुनको ठूलो मूल्यका कारण प्रहरीलाई खबर गरिएको हो । अहिले उक्त सुनलाई कडा सुरक्षा र निगरानी भएको स्थानमा राखिएको छ । डेन्डरमोन्डे प्रहरीको फेसबुक पेजमा सार्वजनिक गरिएका तस्बिरमा सुनका सिक्काले भरिएको धातुको बाल्टी तथा सुनका बारले भरिएको टेबल देखिन्छ । प्रहरी प्रमुख फेयसका अनुसार केही सुनका बारमा १९६० को दशकका छाप भेटिएका छन् । त्यस्तै, सिक्कामा विभिन्न राजा र मितिका चिन्हहरू रहेका छन् । त्यसैले यो खजाना कहिले र कसले लुकाएको थियो भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी प्राप्त भएको छैन । खजाना फेला परेपछि यसको स्वामित्व दाबी गर्नेहरू पनि देखिन थालेका छन् । केही व्यक्तिले विभिन्न कागजात पेस गर्दै आफूहरू उक्त सुनका वास्तविक हकदार भएको दाबी गरेका छन् । प्रहरीले अहिले यो खजाना कसको हो र यससँग कुनै आपराधिक घटना जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूबाट अनुदित तथा सम्पादित)