थला पर्दै रुसी अर्थतन्त्र
काठमाडौं । युक्रेनसँग युद्ध सुरु भएको साढे चार वर्षपछि पनि रुसको अर्थतन्त्र अपेक्षा गरिएजस्तो कमजोर भएको छैन । युद्धका कारण ठूलो दबाबमा रहे पनि अर्थतन्त्र चलिरहेको छ । तर अहिले भने रुसको अर्थतन्त्रमा देखिन थालेका समस्या लुकाउन गाह्रो हुँदै गएको छ । ‘यदि तपाईं भाग्यमानी हुनुहुन्छ र ट्याङ्क उत्पादन गर्ने कम्पनीमा रोजगारी पाउनुभएको छ भने सबै ठीकठाक छ । अन्यथा, तपाईंले सम्भवतः समस्याको सामना गरिरहनुभएको छ,’ परामर्शदाता संस्था युरेसिया ग्रुपका युरोप निर्देशक एलेक्स कोल्यान्ड्रले सीएनबीसीसँग भने। पछिल्ला केही सातामा युक्रेनले लामो दूरीका ड्रोनमार्फत रुसका तेल प्रशोधन केन्द्र तथा आपूर्ति गोदाममा गरिरहेका आक्रमणले रुसको युद्धकालीन अर्थतन्त्रलाई थप चर्चामा ल्याएको छ । हालै सार्वजनिक तथ्यांकअनुसार रुसको अर्थतन्त्रले अपेक्षाविपरीत प्रदर्शन गर्दै आएको छ र सुस्त गतिमै भए पनि वृद्धि भइरहेको छ । तर विश्लेषकहरूका अनुसार यसले वास्तविक समस्यालाई छोपिरहेको छ । ती समस्यामा क्रेमलिनको सैन्य खर्चमा बढ्दो निर्भरता, उच्च कर तथा सहुलियतपूर्ण बैंक कर्जालगायत छन् । तर यस्तो आर्थिक अवस्थाले रुसलाई युद्ध अन्त्य गर्न बाध्य बनाउने हो कि होइन भन्नेमा उनीहरू प्रश्न उठाउँछन् । बरु कोल्यान्ड्रले कमजोर बन्दै गएको अर्थतन्त्रले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध थप चर्काउन प्रेरित गर्न सक्ने चेतावनी दिएका छन् । ‘यदि म पुटिन भएको भए भविष्यमा पैसा सकिएला भनेर पर्खनुभन्दा अहिले नै युद्धलाई थप चर्काएर आफ्नै सर्तमा अन्त्य गर्ने निर्णय गर्न सक्थें,’ कोल्यान्ड्रले भने । सीएनबीसीले टिप्पणीका लागि लन्डनस्थित रुसी दूतावास र रुसको विदेश मन्त्रालयसँग सम्पर्क गरे पनि तत्काल प्रतिक्रिया प्राप्त हुन सकेन । कोल्यान्ड्रका अनुसार क्रेमलिनले केही ‘हिसाबकिताबको कलाबाजी’ मार्फत आर्थिक अवस्था सन्तुलनमा राख्न सक्छ । तर रुसका आर्थिक समस्या हराउने होइनन्, बरु निरन्तर बढिरहेका छन् । उनले भने, ‘मुद्रास्फीतिमार्फत, गैरसैन्य अर्थतन्त्रको सुस्ततामार्फत र उच्च ब्याजदरमार्फत यसको असर देखिन थालिसकेको छ ।’ रुसी अर्थतन्त्रका दुई महत्त्वपूर्ण सूचक सन् २०२३ पछि पहिलोपटक रुसको अर्थतन्त्र अप्रिलदेखि जुनसम्मको अवधिमा पुनः वृद्धितर्फ फर्किएको छ । यस साता सार्वजनिक आधिकारिक तथ्यांकअनुसार दोस्रो त्रैमासिकमा रुसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक आधारमा १.३ प्रतिशतले बढेको छ । त्यस्तै, वर्षको पहिलो छ महिनामा जीडीपी ०.६ प्रतिशतले विस्तार भएको छ । दोस्रो त्रैमासिकको यो वृद्धि सरकार र केन्द्रीय बैंकले गरेको पूर्वानुमानभन्दा पनि बढी हो । तथ्यांकले रुसको औद्योगिक–सैन्य क्षेत्रमा सरकारी खर्च तथा पछिल्लो समय तेल र ग्यासको मूल्यमा आएको वृद्धिले युद्धकालीन अर्थतन्त्रलाई टिकाइराख्न सहयोग गरेको देखाउँछ । तर एट्लान्टिक काउन्सिलको जियोइकोनोमिक्स सेन्टरका आर्थिक पूर्वानुमान तथा विश्लेषण निर्देशक चाल्र्स लिचफिल्डका अनुसार रुसको वास्तविक आर्थिक अवस्था बुझ्न घाटा र मुद्रास्फीतिलाई सबैभन्दा महत्त्वपूर्ण सूचकका रूपमा हेर्नुपर्छ । ‘उनीहरू सन् २०२५ मा भएको बजेट घाटालाई दोब्बर बनाउने दिशामा छन्, जबकि सन् २०२५ को घाटा नै सन् २०२४ को तुलनामा दोब्बर थियो,’ लिचफिल्डले भने । पछिल्ला महिनामा जीवाश्म इन्धनको मूल्य बढे पनि रुसको ऊर्जा आम्दानी कमजोर रहेको उनले बताए । सन् २०२६ को पहिलो छ महिनामा रुसको तेल तथा ग्यासबाट भएको आम्दानी दुई वर्षअघि सोही अवधिको तुलनामा ६४ प्रतिशतको स्तरमा मात्रै रहेको छ । युक्रेनले निरन्तर गरिरहेका ड्रोन आक्रमणका कारण रुसका तेल प्रशोधन केन्द्र प्रभावित भएका छन् । त्यसमाथि युरोपेली संघले रुसी तेलमा लगाएको कम मूल्य सीमा तथा रुसको ‘छाया जहाज’ सञ्जाललाई सहयोग गर्ने पक्ष लक्षित कदमजस्ता कडा पश्चिमी प्रतिबन्धको असर पनि देखिन थालेको छ । ‘मुद्रास्फीतिको कुरा गर्दा, गत वर्षको अन्त्यतिर उनीहरूले यसलाई ४ प्रतिशतको लक्ष्यनजिक ल्याउन सफल भएका थिए । आन्तरिक र बाह्य मुद्रास्फीतिको दबाबका बीच यो ठूलो उपलब्धि थियो । तर अब त्यो अवस्था कायम नरहने देखिन्छ,’ लिचफिल्डले भने । रुसी नागरिकले धेरै बिस्कुट किन्न थालेपछि देखिएको संकेत यसै वर्षको सुरुवातमा रुसको सबैभन्दा ठूलो खुद्रा व्यापार कम्पनीले नागरिकहरूले सस्तो तथा कम्पनीकै ब्रान्डका खाद्य सामग्रीतर्फ बढी आकर्षित हुन थालेको जनाएको थियो । एक्स ५ ग्रुपकी अध्यक्ष येकातेरीना लोबाचेभाले अप्रिलमा आरबीसी न्युजसँग भनेअनुसार रुसमा बिस्कुटको खपत निकै बढेको छ । उनका अनुसार बिस्कुटको खपत करिब साढे दुई गुणाले बढेको थियो । उनले बिस्कुटलाई ‘मिठो खाने सानो चाहना पूरा गर्ने तर चकलेट तथा अन्य मिठाइभन्दा सस्तो विकल्प’का रूपमा व्याख्या गरेकी थिइन् । रुसको आर्थिक अवस्था सुधार गर्न क्रेमलिनसँग के-कस्ता विकल्प छन् भन्ने प्रश्नमा लिचफिल्डले सरकारले हालको कर व्यवस्थाले तोकेको भन्दा बढी कर तेल तथा ग्यास कम्पनीबाट उठाउन सक्ने बताए । त्यस्तै, अन्तर्राष्ट्रिय बजारबाट ऋण लिने प्रयास गर्न सक्ने वा पश्चिमी प्रतिबन्धबाट बाहिर रहेका केन्द्रीय बैंकको सञ्चितिको आधा हिस्सा परिचालन गर्न सक्ने सम्भावना पनि उनले औंल्याए । युद्ध सुरु भएपछि करिब ३०० अर्ब डलर बराबरको रुसी सम्पत्ति रोक्का गरिएको छ । यसबाहेक रुसको केन्द्रीय बैंकसँग रुसभित्र वा प्रतिबन्ध नलगाइएका क्षेत्राधिकारमा करिब ३०० अर्ब डलर बराबरको सञ्चिति रहेको अनुमान छ । यो रकम बजेट घाटा पूर्ति गर्न प्राविधिक रूपमा प्रयोग गर्न सकिने भए पनि यसले मुद्रास्फीति नियन्त्रणप्रति केन्द्रीय बैंकको प्रतिबद्धतामाथि विश्वास कमजोर पार्न सक्ने लिचफिल्डले बताए । तर आर्थिक दबाब बढ्दै गए पनि रुसले आर्थिक कारणले मात्रै युद्ध अन्त्य गर्ने अपेक्षा आफूले नगरेको उनले बताए। रुसको अर्थतन्त्रले युक्रेन युद्धको दिशा निर्धारण नगर्ने सम्भावना पिटरसन इन्स्टिच्युट फर इन्टरनेसनल इकोनोमिक्सकी वरिष्ठ फेलो एलिना रिबाकोभाले पनि रुसको अर्थतन्त्रले उसलाई युद्ध अन्त्य गर्न बाध्य पार्ने सम्भावना कम रहेको बताइन् । विशेषगरी तेलको मूल्य बढिरहेका कारण रुसले आर्थिक राहत पाइरहेको उनको भनाइ छ । ‘अवस्था अझ धेरै खराब हुनुपर्छ,’ रिबाकोभाले सीएनबीसीसँगको टेलिफोन अन्तर्वार्तामा भनिन्, ‘यदि आगामी एक वर्षसम्म तेलको मूल्य ३५ वा ४० डलरमा झर्यो भने त्यसले निर्णयमा प्रभाव पार्न सक्छ । तर अहिले विशेषगरी इजरायल, अमेरिका र इरानबीचको युद्धको अवस्थालाई हेर्दा त्यसको सम्भावना कम छ ।’ जनवरी र फेब्रुअरीमा तेलको मूल्य निकै कम हुँदा भने अवस्था फरक रहेको रिबाकोभाले बताइन् । त्यसबेला रुस सरकारले वर्ष सुरु भएको केही समयमै सन् २०२६ को बजेट पुनरावलोकन गर्ने विषयमा छलफल गरेको थियो । उनका अनुसार त्यसले रुसको अर्थतन्त्र गम्भीर दबाबमा रहेको संकेत गरेको थियो । रिबाकोभाले पुटिनले युद्धमा ‘धेरै ठूलो दाउ’ लगाइसकेकाले अब युद्धलाई निरन्तरता दिनुपर्ने अवस्थामा आफूलाई महसुस गरिरहेको बताइन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
नाइमा एक्स्पोमा २० अर्ब मूल्यका सवारीसाधन बुकिङ, बीवाईडी र टाटा अग्रस्थानमा
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सकिएको छ । करिब १ लाख ८० हजार दर्शकले अवलोकन गरेको उक्त एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए । मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थितिसँगै सवारीसाधनको बुकिङ उत्साहजनक रहेपछि अटोमोबाइल व्यवसायीहरूले केक काटेर र सेलिब्रेसन गर्दै खुसी व्यक्त गरेका छन् । आयोजकका अनुसार एक्स्पो अवधिभर करिब ५ हजार ५०० चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे गरी कुल साढे ७ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् । बुकिङ भएका सम्पूर्ण गाडी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ । यस पटकको प्रदर्शनीमा १८ लाखदेखि ४ करोड रुपैयाँसम्मका सवारीसाधन राखिएकोमा विशेष गरी ३० देखि ३५ लाख रुपैयाँ मूल्यका इन्ट्री लेभल र विद्युतीय सवारी (ईभी) हरूमा ग्राहकको अत्यधिक आकर्षण देखिएको छ । चारपांग्रेतर्फ सबैभन्दा बढी बुकिङ हुनेमा बीवाईडी (१ हजारभन्दा बढी), टाटा र चेरी (७ सयभन्दा बढी), किया (७ सयभन्दा बढी), वुलिङ (४ सय ४३), आईकार (४ सय २१), र ओमोडा जेको (३५०) लगायतका ब्रान्डहरू रहेका छन् । त्यस्तै दुईपांग्रेतर्फ एथर, सीएक्स मोटो, याडिया, सीएफ मोटो, ट्राइम्फ र रोयल इन्फिल्डको बुकिङ अग्रस्थानमा रहेको नाइमाले जनाएको छ ।
नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार, ग्राहकको रोजाइमा ईभी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा मोबिलिटी एक्स्पो- २०२६ केवल सवारी साधनको प्रदर्शनी मात्र नरही यसले सुस्ताएको नेपाली अटोमोबाइल बजारमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेलेकाे छ । साथै प्रदर्शनी भविष्यको विद्युतीय मार्गचित्र कोर्नसमेत सफल भयो । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारीसाधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार-प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा एक्स्पो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यले गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी थप व्यवस्थित, प्रभावकारी र सफल भएको बताइन् । उनले गत वर्षको एक्स्पोका क्रममा देखिएका कमजोरी तथा चुनौतीलाई सुधार गर्दै यस वर्ष प्रदर्शनीलाई थप आकर्षक र व्यवस्थित बनाइएको जानकारी दिइन् । अपेक्षा र अनुमानभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको उपस्थिति रहेको भन्दै उनले प्रदर्शनीमा राखिएका सवारीसाधन तथा बुकिङप्रति समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइन् । अध्यक्ष वैद्यले नेपालको अटो बजारमा विद्युतीय सवारीसाधनको प्रभाव र माग निरन्तर बढिरहेको उल्लेख गर्दै यसले समग्र अटो बजारको भविष्य थप उज्ज्वल रहेको संकेत गरेको बताइन् । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा नेपाली अटो बजार विस्तारको क्रममा रहेको उनको भनाइ छ । प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो, नयाँ सवारीसाधनबारे जानकारी लिने उत्सुकता तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनले बताइन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापा पनि यसपटकको एक्स्पो विगतको तुलनामा धेरै व्यवस्थित रहेकाे बताउँछन् । ‘विगतमा केवल हेर्नका लागि मात्र मान्छे आउँथे, तर यसपालि ‘क्वालिटी भिजिटर्स’ आएका छन्,’ उनी भन्छन् । पछिल्लो केही महिनादेखि सुस्ताएको अटो व्यवसायमा यस मेलाले एक प्रकारको नयाँ भाइब्रेसन सिर्जना गरेको छ । उनले आगामी नाडा अटो सोका लागि पनि यसले बलियो जग बसालेको विश्वास व्यक्त गरे । एक्स्पोको केन्द्रविन्दुमा विद्युतीय सवारीसाधन (ईभी) नै रहे। बीवाइडीका सीईओ साहिल श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीको युग पूर्णतः सुरु भइसकेको छ । बीवाइडीको स्टलमा देखिएको अत्यधिक भीडले पनि नेपाली ग्राहकहरू अब इन्धनबाट ब्याट्रीतर्फ मोडिएको प्रस्ट पार्छ । यस्तै बुझाइ जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाको पनि छ । एमजी कोमेट र विन्ड्सर जस्ता ईभी मोडेलहरूमा ग्राहकको सोधपुछ र बुकिङ उत्साहजनक रह्यो । लिपमोटरका लागि पनि यो मेला कोसेढुङ्गा सावित भयो । सांगिला मोटर्सका जीएम किरण श्रेष्ठका अनुसार ६ दिनको अवधिमा लिपमोटरले २०० भन्दा बढी बुकिङ प्राप्त गर्यो । सेलिब्रिटीहरूमा पनि ईभीको क्रेज उत्तिकै देखियो । नायिका करुणा पाण्डेले टाटा पन्च ईभी बुक गर्दै भनिन्, ‘नेपालको बाटो र वातावरणका लागि ईभी नै उत्तम छ ।’ यस्तै, नाइमाका सदस्य निराकार श्रेष्ठले नाइमा मोबिलिटी एक्स्पो-२०२६ मा अवलोकनकर्ताको सहभागिता र सवारीसाधनको बुकिङ सकारात्मक रहेको बताए । श्रेष्ठले अवलोकनकर्ताहरूको उपस्थिति र विभिन्न ब्रान्डका सवारीसाधनमा भएको बुकिङले एक्स्पोप्रति ग्राहकको आकर्षण बढेको देखाएको बताए । उनले विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँगको कुराकानीमा पनि बुकिङ तथा अवलोकनकर्ताको अवस्था उत्साहजनक रहेको जानकारी पाएको बताए । हुण्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मेलामा गाडी मात्र होइन, भिजन पनि प्रस्तुत गरिएको बताए । उनका अनुसार हुण्डाईले नेपालमै एसेम्ब्ली प्लान्ट सञ्चालन गरेर आत्मनिर्भरताको मेसेज दिन खोजेको छ । ‘हाम्रो स्टलमा कुनै बाहिरी मोडेल थिएनन् । यो गाडी बेच्ने मात्र होइन, बुझाउने मेला पनि हो,’ थपलियाको भनाइ थियो । हुण्डाईसँग अहिले ५० हजारभन्दा बढी सन्तुष्ट नेपाली ग्राहक रहेकाे उनकाे भनाइ छ । मेलामा दुईपाङ्ग्रे सवारी साधनको पनि उत्तिकै आकर्षण थियो । टिभिएसको आधिकारिक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले नसोचेको भीड र बुकिङ भएको बताए । अपाचे १६० ४भी युएसडी प्रोजेक्टर जस्ता नयाँ प्रविधि र तत्कालै फाइनान्स तथा एक्सचेन्ज सुविधाले ग्राहकलाई आकर्षित गर्यो । यस्तै, महिन्द्राका क्याविनेट श्रेष्ठले पनि ग्राहकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताए । मेला सफल भए पनि पूर्वाधारको समस्या भने टड्कारो देखियो । पार्किङको समस्या र भृकुटीमण्डपको अस्थायी संरचनामा सुधार हुनुपर्ने आवाज व्यवसायीहरूले उठाएका छन । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल भन्छन्, ‘सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित प्रदर्शनी स्थल बनाइदिनुपर्छ ।’ उनका अनुसार नाइमाको उद्देश्य केवल गाडी बेच्नु मात्र थिएन। मेलाको दौरानमा भएका मोबिलिटी संवाद र लर्निङ सेसन मार्फत लगानी, उद्यमशीलता र प्रविधिको बारेमा युवा र विद्यार्थीहरूलाई शिक्षित गराउने प्रयास गरिएको थियो ।