काठमाडौं । ‘आमालाई भेट्न सकूँ’ ५३ वर्षीय सोनम गुरुङको अहिलेको सबैभन्दा ठूलो चाहना यहीँ हो । त्रिवि शिक्षण अस्पतालको गेटमा उभिएर उनी बोलिरहेका थिए ।
मुस्ताङबाट काठमाडौं आएका सोनम अस्पतालको शवगृहमा पुगे । एकपछि अर्को गर्दै शव हेरे ।
हरेक अनुहारमा आफ्नी आमाको अनुहार खोजे । तर उनले आमा भेटेनन् भेटे त क्षतविक्षत भएका शवहरू ।
कतै आमा भेटिन्छिन् कि भन्ने आशाले उनका आँखा शवगृहभित्र डुलिरहे । तर आमा भेटिएकी छैनन् ।

सोनम तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा छन् । हिजोदेखि मुखमा अन्न परेको छैन । तर थकानभन्दा ठूलो बेचैनी छ । उनी भन्छन्, ‘आमा कहाँ छिन् ? आमाको लाश भेटे चित्त बुझाउँथेँ,’ सोनमको आवाजमा आशाभन्दा बढी पीडा सुनिन्थ्यो ।
उनकी आमा ६० वर्षकी थिइन् । घाँटीको पछाडिपट्टि एउटा कोठी थियो । आमालाई पहिचान गर्नुपरे त्यही कोठी आफ्नो सबैभन्दा ठूलो चिनो हुने सोनम बताउँछन् ।
अहिले उनीसँग आमाको फोटो पनि छैन । मोबाइल हराइसकेको छ । फोन नम्बरहरू छैनन् । सम्पर्क गर्ने भरपर्दो माध्यम छैन ।
सोनम आमाको खोजीमा काठमाडौं आएका उनी आफै हराएको मान्छेजस्तै भएका छन् । सोनमको परिवार ठूलो थिएन । आमा, बहिनी र उनी ।
सोनमको बहिनीको विवाह टिम्मुरेमा भयो । ज्वाइँ, भान्जा र भान्जीसहितको परिवार थियो । गत बुधबार भोटेकोसीमा आएको बाढी आएपछि आमा, बहिनी, ज्वाइँ, भान्जाभान्जी हराए ।

बहिनीले आमालाई कैलाश घुमाउन टिमुरे ल्याएकी थिइन् । बहिनीको घरमा बसेको बेला आमालाई बाढीले बगाएको सोनम बताउँछन् ।
सोनम मुस्ताङकै एउटा गुम्बामा करिब १५ वर्षदेखि बस्दै आएका छन् । उनको आफ्नै घर–परिवार छैन । त्यसैले आमा नै उनको सबैभन्दा नजिकको मान्छे थिइन् ।
पहिले आमा कतै भेटिन्छिन् कि भन्ने आशा थियो । कसैले खबर गर्छ कि भन्ने प्रतीक्षा थियो । तर दिन बित्दै गए । आजसम्म उनले आशा मारेका छैनन् ।
त्रिवि शिक्षण अस्पतालको शवगृहमा पुग्दा उनको मनमा एउटा डर थियो । कतै आमाको शव यहीँ त छैन ? त्यहीँ डरले उनी शवगृहभित्र छिरे। एक–एक शव हेरे। तर आमाको अनुहार भेटिएन ।

सोनम आँखाभरि आँशु पारेर भन्छन्, ‘आमा बितिसकेकी छन् भने पनि आफ्नै आँखाले आमालाई हेर्न पाऊँ । अन्तिमपटक आमाको अनुहार हेर्न पाऊ । आफ्नो संस्कारअनुसार आमाको अन्तिम संस्कार गर्न पाऊँ ।’
आमाको अनुहार हेर्न पाएमा आफ्नो मनले शान्ति पाउने उनी बताउँछन् ।
आमा कहाँ हराइन् ? कसरी हराइन् ? अहिले कहाँ छिन् ? जीवित छिन् कि छैनन् ? यदि छैनन् भने कहाँ छिन् ? यी प्रश्नले सोनमलाई भित्रैदेखि सताइरहेका छन् ।
सोनम त्रिवि अस्पतालमा बसेको तीन दिन भयो । बाहिर बाहिर कतै गए पनि मन भने अस्पतालमै छ । उनी घरी शवगृह पुग्छन् त घरी कता ।
सोनमसँग अहिले जम्मा ५० रुपैयाँ छ । मोबाइल हराइसकेको छ । चितवनमा शवको पहिचान गर्न आमाजस्तै लागेर हामफाल्दा गोजीबाट मोबाइल झरेको थाहा नपाएको उनी बताउँछन् ।
आफन्तसँग सम्पर्क गर्ने साधन छैन । काठमाडौंजस्तो ठूलो सहरमा उनी एक्लै छन् । गुम्बामा बस्ने मान्छेका लागि काठमाडौंको भीडभाड आफैमा अनौठो संसार हो । त्यसमाथि आमा हराएको पीडा ।
आमाको अनुहार सम्झिँदा उनी आफूलाई सम्हाल्न सक्दैनन् । सोनमका लागि आमा हराउनु उनको लागि एउटा आफन्त हराउनु मात्र होइन, उनको संसार हराउनु हो । ‘म एक्लो भएँ, मेरो कोही छैन,’ आँसु पुछ्दै सोनम भन्छन् ।
आमाको खोजीमा काठमाडौं आएका सोनम आफै सहाराविहीन बनेका छन् । अहिले उनको अवस्था यस्तो बनेको छ—आमा खोज्दै आएका सोनम आफै सहाराको खोजीमा छन् ।