३२ कम्पनीको लाभांश घोषणा, कसले बाँड्दैछ कति ?

काठमाडौं । आर्थिक वर्ष सकिएसँगै लगानीकर्ताको चासो हुन्छ– आफूले लगानी गरेको कम्पनीले यस वर्ष कति लाभांश देला ? कम्पनीले वर्षभरि कमाएको नाफाबाट सेयरधनीलाई बाँड्ने प्रतिफल लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । त्यसैले आर्थिक वर्ष सकिएपछि लगानीकर्ताहरू कम्पनीको वित्तीय विवरण, नाफा, सञ्चालक समितिको निर्णय र अन्ततः लाभांश घोषणाको प्रतीक्षामा हुन्छन् । 

लाभांश घोषणा जति छिटो हुन्छ, लगानीकर्ताको चासो पनि त्यति नै बढ्छ । अझ घोषणा भएको लाभांश साधारणसभाबाट पारित भएर छिट्टै सेयरधनीको हातमा परोस् भन्ने चाहना स्वाभाविक हुन्छ ।

आर्थिक वर्ष २०८२/८३ को नाफाबाट अहिले विभिन्न कम्पनीले धमाधम लाभांश प्रस्ताव गर्न थालेका छन् । विकासन्युजलाई प्राप्त विवरणअनुसार वाणिज्य बैंकदेखि विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन तथा प्रशोधन, मेडिकल कलेज, मर्चेन्ट कम्पनी, ब्रोकर तथा अन्य कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

नेप्सेमा सूचीकृत १० कम्पनीको लाभांश

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँको करसहित १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ५.२६ प्रतिशतका दरले १ अर्ब १३ करोड ६८ लाख ५१ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ३ अर्ब ८६ करोड १९ लाख ३० हजार रुपैयाँको करसहित १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ८९ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँको ४ प्रतिशतका दरले १४ करोड ९३ लाख ६२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ६.५२ प्रतिशतका दरले २४ करोड ३६ लाख ९७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले कुल १०.५२ प्रतिशत अर्थात् ३९ करोड ३० लाख ५९ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आइसीएफसी फाइनान्सले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको १०.५२ प्रतिशतका दरले १२ करोड ४५ लाख ७५ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

सुपर मादी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको १५ प्रतिशतका दरले ३४ करोड ७२ लाख ८७ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ८२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल १५.७८ प्रतिशत अर्थात् ३६ करोड ५५ लाख ६५ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो ।

माण्डु हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको करसहित १२ प्रतिशतका दरले १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

सूचीकृत नभएका कम्पनीको लाभांश 

विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार पुँजी बजारमा सूचीकृत नभएका विभिन्न ५ वटा मर्चेन्ट कम्पनी, ७ वटा हाइड्रोपावर कम्पनी, ३ वटा स्वास्थ्य क्षेत्रका कम्पनी, ३ वटा ब्रोकर कम्पनी र ४ वटा अन्य कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् । 

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशतका दरले १० करोड रुपैयाँ, कुमारी क्यापिटलले १२.२५ प्रतिशतका दरले ४ करोड ९० लाख रुपैयाँ, सानिमा क्यापिटलले १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ, माछापुच्छ्रे क्यापिटलले ७ प्रतिशतका दरले २ करोड ४३ हजार ७६५ रुपैयाँ र मुक्तिनाथ क्यापिटलले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

यस्तै, हिल्टन हाइड्रो इनर्जीले २० प्रतिशत, आशुतोष इनर्जीले १८.९४ प्रतिशत, काबेली हाइड्रोपावरले १६.३१ प्रतिशत, सेन्चुरी इनर्जीले १०.५२ प्रतिशत, पशुपती रिन्यूएबल्सले १०.३४ प्रतिशत र साप्सु कालिका हाइड्रोपावरले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । निलगिरी खोला हाइड्रोपावरले भने लाभांश वितरण गरेको छ । तर, कम्पनीले लाभांशको दर भने खुलाएको छैन ।

यस्तै, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २२.१०५ प्रतिशत नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

डिभाइन हेल्थ केयर लिमिटेडले चुक्ता पुँजीको १.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०६५ प्रतिशत नगद लाभांश गरी कुल १.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

शिवम् होल्डिङ्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजीको २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १५ लाख ५७ हजार ३४३ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

होटेल सारथीले गत आर्थिक वर्ष २०८२/८३ सम्मको जगेडा कोषबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, भेन्चर हायर पर्चेजले १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

Share News