काठमाडौं महानगरपालिकाका कर्मचारीको जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा
काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा राष्ट्रिय बीमा संस्थानमा हुने भएको छ । जसको लागि महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको हाे । उक्त सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका थिए । कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको बताए । संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमाललेसंस्थान समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बीमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको जानकारी गराए ।
शनिबार पनि सेवा दिँदै सानिमा क्यापिटल
काठमाडौं । सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल यो शनिबार(असार १४ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना सेवाहरु खुल्ला गर्ने भएको हो । यस क्यापिटल हाल एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । असार १४ गते लघुवित्तको सेयर भर्ने अन्तिम दिन हो । सो दिन बिहानको १० बजेदेखि दिनको एक बजेसम्म क्यापिटलले हितग्राही खाता खोल्ने, मेरो सेयरको नविकरण गर्ने लगायतका सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण, दुई दिनमै एक कराेड बढीकाे आवेदन
काठमाडौं । एनआईसी एशिया लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण बढ्दो क्रममा रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको संस्थाको सेयरमा दोश्रो दिनमा मागभन्दा साढे दुई गुणा बढी आवेदन परेको छ । सेयर निष्काशत तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बिहीबार(दोश्रो दिन) साँझ ५ बजेसम्ममा करिब एक करोड १२ लाख कित्ता सेयरको लागि आवेदन परेको छ । जुन मागभन्दा २.५२ गुणा बढी हो । सो अवधिसम्ममा करिब एक लाख ९९ हजार लगानीकर्ताले सेयरको लागि आवेदन दिएका क्यापिटलले जानकारी दिएकाे छ । संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । सम्बन्धित समाचारः एनआईसी एशिया लघुवित्तको आईपीओमा १.५८ गुणा बढी आवेदन, हालसम्म कतिले भरे ?