काठमाडौं । भरलेली हस्पिटालिटी प्राइभेट लिमिटेडले बाराको सिमरामा ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँको लागतमा पाँचतारे होटल निर्माण गरिरहेको छ । कम्पनीले २ लाख २० हजार १५८ वर्गफुट क्षेत्रफलमा ११८ कोठाको होटल निर्माण गर्न लागेको हो ।
प्रस्तावित होटलमा रेस्टुरेन्ट तथा बार, सभा कक्ष, व्यायामशाला, क्यासिनो बोर्ड रुम, भोज कक्ष तथा सम्मेलन हललगायतका सुविधा रहनेछन् । होटलले आवास, खानपान, व्यावसायिक बैठक, सम्मेलन तथा विभिन्न सामाजिक समारोहका लागि सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
कम्पनीका अध्यक्ष अंकुश श्रेष्ठ रहेका छन् । उनी नेपोभिट सेरामिक प्राइभेट लिमिटेडमा समेत सञ्चालकका रूपमा आबद्ध छन् । अर्का प्रवर्द्धक अनिश श्रेष्ठसँग पनि विभिन्न क्षेत्रमा उद्यमशीलताको अनुभव रहेको छ ।
होटल निर्माणको कुल लागत ३ अर्ब ३४ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले आयोजनाको लागतमध्ये २ अर्ब ५० करोड ९० लाख रुपैयाँ ऋण र ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने योजना बनाएको छ । यसअनुसार आयोजनाको ऋण र स्वपुँजी अनुपात ७५:२५ रहनेछ ।
आयोजना हाल प्रारम्भिक निर्माण चरणमा रहेको छ । आयोजनाका लागि आवश्यक जग्गा खरिद भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकनसमेत सम्पन्न भएको छ । २०२६ सेप्टेम्बरको मध्यसम्म आयोजनाको वित्तीय प्रगति करिब १३ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
आयोजनाका लागि आवश्यक ऋण व्यवस्थापनको प्रक्रिया पनि अघि बढिरहेको छ । कुल २ अर्ब ५० करोड ९० लाख रुपैयाँ ऋण आवश्यक पर्नेमा हालसम्म बैंकबाट ३० करोड रुपैयाँ ऋण स्वीकृत भएको छ । त्यस्तै, आयोजनाका लागि आवश्यक ८३ करोड ६० लाख रुपैयाँ स्वपुँजीमध्ये करिब १९ प्रतिशत रकम हालसम्म लगानी भइसकेको कम्पनीले जनाएको छ ।
होटल व्यवसायमा स्थायी लागत उच्च हुने भएकाले लगानीको प्रतिफल प्राप्त गर्न तथा नाफामा पुग्न तुलनात्मक रूपमा लामो समय लाग्ने गर्छ । विशेषगरी प्रिमियम स्तरका होटल निर्माण सम्पन्न गर्न तीनदेखि चार वर्ष लाग्न सक्ने र सञ्चालनमा आएपछि व्यवसायलाई स्थिर अवस्थामा पु¥याउन थप दुईदेखि तीन वर्ष लाग्न सक्ने कम्पनीको भनाइ छ । मध्यमस्तरका बजेट होटलको तुलनामा प्रिमियम होटल निर्माणमा ठूलो लगानी आवश्यक पर्ने भएकाले प्रतिफल प्राप्त गर्ने अवधि पनि लामो हुने गर्छ । त्यसैले निर्माण सम्पन्न भएपछि पनि होटलले तत्काल अपेक्षित आम्दानी तथा नाफा हासिल गर्ने अवस्था नआउन सक्ने कम्पनीले जनाएको छ ।
सिमरामा अवस्थित होटलले रणनीतिक स्थानको लाभसमेत लिन सक्ने देखिन्छ । होटल सिमरा विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा रहेको छ । सिमरा प्रमुख व्यावसायिक तथा औद्योगिक क्षेत्र भएकाले आसपासका औद्योगिक प्रतिष्ठान, व्यावसायिक केन्द्र तथा यातायात सञ्जालबाट होटलले लाभ लिन सक्ने दाबी गरेको छ ।
होटलका लक्षित ग्राहकमा भारतीय तथा विदेशी पर्यटक, व्यावसायिक यात्रु, कर्पोरेट संस्था, विभिन्न संघसंस्था तथा स्वदेशी ग्राहक रहनेछन् । रणनीतिक स्थान र विविध आतिथ्य सुविधाका कारण होटलले आवास, खानपान, व्यावसायिक बैठक, सम्मेलन, गोष्ठी तथा सामाजिक समारोहका लागि ग्राहक आकर्षित गर्ने लक्ष्य राखेको छ ।