एनआईसी एशिया बैंकले गर्यो ३० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी
काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना दुई ग्राहकलाई १५ लाख रुपैयाँ प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत बैंकले उक्त रकम भुक्तानी गरेको बताएकाे हाे । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोलेका नवलपरासीस्थित भुमई निवासी दिपक श्रेष्ठलाई क्यान्सर रोगको उपचार वापत र सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीको खाता खोलेका काठमाडौंस्थित बुढानिलकण्ठ निवासी बसन्त राज कुँवरको श्रीमती पूजा कुँवरलाई क्यान्सर रोगको उपचार वापत उक्त रकम भुक्तानी गरिएको हो। सुपर चमत्कारिक बचत खातामा खातावालाको साथै निजको परिवारका सदस्यका लागि पनि बीमा सुविधा उपलब्ध रहेको छ। श्रेष्ठलाई शिखर इन्स्योरेन्स र कुँवरलाई एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा दावी रकम बैंकले भुक्तानी गरिएको छ। बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खातामा ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गरिएको बैंकले बताएको छ। यस बचत योजनाको ‘डायमण्ड’ श्रेणीको खातामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ ९अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँ० सँगै विभिन्न निःशुल्क सुविधाहरू पाउन सकिन्छ। चमत्कारिक निक्षेप योजना ग्राहकहरू समक्ष निकै नै लोकप्रिय बनेको बैंकको भनाइ छ। यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
राष्ट्र बैंकको व्यवहारप्रति धितोपत्र बोर्ड असन्तुष्ट, सेयर बजार खुल्ने टुंगो शुक्रबार
काठमाडौं । सेयर बजार कहिलेदेखि खुल्ने भन्ने टुंगो शुक्रबार लाग्ने भएको छ । लगानीकर्ताले उठाएका पुँजीगत लाभकर र इन्टरनेट बैंकिङबाट रकम भुक्तानी गर्ने सीमा बढाउन सरोकारबाला तयार भएपछि बजार खुलाउन दबाब परेको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर हो भनेर प्रष्ट पार्न अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम नै रहेको व्यहोराको पत्र बोर्डमा पठाएको छ । यस्तै, बोर्डले सेयर कारोबारमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा हटाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । बोर्डको सुझाव अनुसार राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङको सीमा पनि हटाइदिएको छ । तर, राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङ भुक्तानीको सम्बन्धमा गरेको व्यवस्थाप्रति बोर्ड अझै पनि सन्तुष्ट छैन । राष्ट्र बैंकले सेयर खरिद विक्रीको भुक्तानीका लागि मोबाइल बैंकिङबाट एक पटकमा लागि १ लाख रुपैयाँ र इन्टरनेट भुक्तानीको लागि एक पटकमा १० लाख रुपैयाँको सीमा कायमै राखेको छ । यद्यपि यसरी कारोबार गर्दा एक दिनमा जति रकम बराबरको पनि सेयर कारोबार गर्न पाउने राष्ट्र बैंकको भनाइ छ । मोबाइल बैंकिङमा एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङको माध्यमबाट एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक झन्झट मात्रै हुने बोर्डको भनाइ छ । नियामकीय दायरमा रहेको र प्रभावकारी नियमन भइरहेको सेयर बजारमा एक पटकमा एक लाख र १० लाख रुपैयाँको सीमा कायम गरेर अनावश्यक झन्झट मात्रै सिर्जना हुने बोर्डको भनाइ छ । पुँजीगत लाभकरको विषयमा भने धितोपत्र बोर्डले सन्तुष्टी जनाएको छ । बोर्डले उठाएका प्रमुख विषयको सम्बोधन भएपछि बोर्डलाई बजार खोल्न दबाब परेको छ । तर, बजार कहिलेदेखि कसरी खोल्ने भन्ने विषयमा बोर्डले अध्ययन समिति नै गठन गरेकोले सो समितिको प्रतिबेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘शुक्रबार अध्ययन समितिले प्रतिबेदन दिन्छ, समितिको प्रतिबेदन प्राप्त भएपछि बोर्डको संचालक समिति बैठक बसेर आवश्यक निर्णय गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने ।
बोनस सेयर पछि नागरिक लगानी कोषको मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नगारिक लगानी कोषको मूल्य समायोजन भएको छ । कोषको २२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ८२ रुपैयाँ तोकिएको छ ।