काठमाडौं । सरकारले विभिन्न तीन निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले शंकरमाली निर्माण सेवा प्रालि, मान शाही निर्माण सेवा र काश्यप निर्माण सेवा एन्ड सप्लायर्स प्रालिलाई कालोसूचीमा राखेको हो ।
तीनवटै कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सडक डिभिजन जुम्लाको सिफारिसमा काठमाडौंस्थित शंकरमाली निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति दानबहादुर कार्की रहेका छन् ।
त्यस्तै, सडक डिभिजन जुम्लाकै सिफारिसमा कालिकोटको खाडाचक्र–१ स्थित मान शाही निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्ति सूर्यबहादुर शाही हुन् ।
यस्तै, सडक डिभिजन जुम्लाकै सिफारिसमा काठमाडौंको कलंकी–१४ स्थित काश्यप निर्माण सेवा एन्ड सप्लायर्स प्रालिलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका मुख्य व्यक्तिमा माधव घिमिरे र हरिप्रसाद घिमिरे रहेका छन् ।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।