आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार नेप्से र आइसिएफसि फाइनान्सबीच संस्थाको प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख थान १२ प्रतिशत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्र सिंह साउद र आइसिएफसि फाइनान्सको सीईओ सुनिल पन्तले हस्ताक्षर गरेका छन् । आइसिएफसि फाइनान्सले सर्वसाधारण समक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत् २ लाख थान १२ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।

राष्ट्रिय बीमा कम्पनीकाे सीईओ नियुक्तीमा विवाद, पब्लिक डाइरेक्टरले दिए राजीनामा, व्यापार पनि घट्यो

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका छन् । यसैबीच कम्पनीमा  सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने पब्लिक डाइरेक्टर पनि हटेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा डेढ वर्षदेखि अर्थमन्त्रालयका वरिष्ठ तथ्यांकशास्त्री डा. डिल्लीराज अर्याल छन् । तत्कालिन प्रमुख कार्यकारी अधिकृत बीरविक्रम रायमाझीलाई पदबाट हटाइएपछि डा. अर्याललाई कम्पनीकै संचालक पदबाट राजीनामा गराएर ‘अर्काे व्यवस्था नभएसम्मको लागि’ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुअघिसम्म डा. अर्याल अर्थमन्त्रालयको प्रतिनिधिका रुपमा कम्पनीको संचालक समिति सदस्य थिए । तत्काल प्रमुख कार्यकारी अधिकृत नभएर कम्पनीको व्यवस्थापकीय कार्यमा समस्या नपरोस भनेर अर्थमन्त्रालयका उपसचिव डा. अर्याललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । तर, डा. अर्यालले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेको डेढ वर्ष बितिसकेपनि कम्पनीले प्रमुख कार्यकारी अधिकृत ल्याउन सकेको छैन । तत्कालिन प्रमुख कार्यकारी अधिकृत रायमाझी हट्ने वित्तिकै तत्काल नयाँ प्रमुख कार्यकारी अधिकृत ल्याउने गृहकार्य थालिएको कम्पनीको संचालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्यायले बताएका थिए । कम्पनीको व्यवस्थापकीय जिम्मेवारी वहन गरेर व्यवसायिक सफलता प्राप्त गर्न चुक्दै गएको दबाब परेपछि कम्पनीले गत ७ चैतमा नयाँ प्रमुख कार्यकारी अधिकृतको विज्ञापन प्रकाशित गरेको थियो । तर, कम्पनीले सार्वजनिक गरेको विज्ञापन नियामक निकाय बीमा समितिले तोकेको प्रमुख कार्यकारी अधिकृत हुनको लागि आवश्यक पर्ने योग्यतामा फेरबदल गरेर आएको भन्ने उजुरी परेपछि समितिले सो विज्ञापन नै रोकिदिएको छ । तर, कम्पनीका अध्यक्ष उपाध्याय भने समितिले विज्ञापन नरोकेको दाबी गर्छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रण तथा रोकथामको लागि सरकारले जारी गरेको लकडाउनको अवस्थामा नयाँ प्रमुख कार्यकारी अधिकृत भर्ना गर्दा गलत सन्देश जाने भन्दै अर्थमन्त्रालय र बीमा समितिले सकारात्मक संकेत नदिएपछि नियामक निकाय र अर्थमन्त्रालयको आशय अनुसार नै विज्ञापन रोकिएको अध्यक्ष उपाध्यायको भनाइ छ । हटे पब्लिक डाइरेक्टर पनि राष्ट्रिय बीमा कम्पनीमा सर्वसाधारणको करिब २० प्रतिशत सेयर छ । कम्पनीको ७ सदस्यीय संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना संचालक समिति सदस्य नियुक्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट अशोक कुमार उप्रेती संचालक सदस्य थिए । तर, संचालक समितिका गतिविधिप्रति आफूलाई चित्त नबुझेको भन्दै संचालक उप्रेतीले गत फागुनमा नै राजीनामा गरेका थिए । उप्रेतीले गरेको राजीनामा संचालक समितिले अघिल्लो साता मात्रै स्वीकृत गरेको छ । सेयरधनीले मानेनन् विजनेस दिन राष्ट्रिय बीमा कम्पनीले गत माघमा एकै झट्कामा २८ करोड रुपैयाँभन्दा बढीको विजनेस गुमाएको छ । कम्पनीको संस्थापक सेयरधनी रहेको र संचालक समितिमा एक जना संचालक समेत रहदै आएको कर्मचारी संचयकोषले नै राष्ट्रिय बीमा कम्पनीलाई विजनेस दिन अविश्वास गरेको हो । कम्पनी र कोषबीच करिब डेढ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ्य बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौता अहिलेका प्रमुख कार्यकारी अधिकृत डा. अर्याल आउनुअघि नै तत्कालिन प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायामाझीको कार्यकालमा भएको थियो । सम्झौता अनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो । कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो । खुम्चदै व्यालेन्ससीट पछिल्लो समय कम्पनीको व्यालेन्ससीट खुम्चदै गएको पाइएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको तुलनमा चालु आर्थिक वर्षको सोही अवधिमा व्यालेन्ससीटको आकार सानो देखाएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बीमा शुल्क (खुद) १७ करोड ४७ लाख ५९ हजार रुपैयाँ संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ३३ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क (खुद) संकलन गरेको थियो । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दाबी भुक्तानी पनि कम गरेको छ । गत आर्थिक वर्षको ९ महिनामा कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी (खुद) गरेकोमा चालु आवको सोही अवधिमा ५ करोड ८ लाख रुपैयाँ मात्रै गरेको छ । कम्पनीको व्यवस्थापन खर्च भने बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १० करोड २० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड ७६ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको नाफा पनि घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४० करोड ६२ लाख रुपैयाँ खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३१ करोड ४१ लाख रुपैयाँ मात्रै नाफा गरेको छ । सम्बन्धित सामग्री राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ

मञ्जुश्री फाइनान्सको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । फाइनान्सले १०.५ प्रतिशत ब्याज दरमा ८ वर्षे अवधिको सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो । चुक्ता पुँजी ८१ करोड ८१ लाख रुपैयाँ र १९ करोड ७२ लाख रुपैयाँ संचित कोष रहेको यस वित्तिय संस्थाले ऋणपत्र जारी पश्चात प्राप्त पुँजीबाट संस्थाको थप व्यापार विस्तार र लगानीकर्ताको प्रतिफलमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको छ । २०७६ चैतसम्म यस संस्थाले ८ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन तथा ६ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको मञ्जुश्री फाइनान्सले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज , धरान, पोखरा तथा बिरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध उपलब्ध गराउदै आएको छ ।