काठमाडौं । गत भदौ १० गते भोटकोसी क्षेत्रमा अकस्मात् आएको बाढीका कारण बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब बराबरको प्रारम्भिक दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १८ निर्जीवन बीमा कम्पनीहरूमा झण्डै २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ बराबरको अनुमानित/प्रारम्भिक दाबी परेको हो ।
जसमध्ये हालसम्म बीमा कम्पनीहरूले २ हजार ४२७ दाबीबापत बीमितलाई २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्सले करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बाढीको शिखरमा ४५९ बीमितको २ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ दाबी परेको छ।
त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब २५ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी परेकोमा ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । नेको इन्स्योरेन्सले १७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
आईजीआई प्रुडेन्सियलले १ करोड १६ लाख रुपैयाँ युनाइटेड अजोड इन्स्योरेन्सले १ करोड ४९ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै बीमा दाबी सम्पति बीमाको परेको छ । सम्पत्ति बीमातर्फ ९ अर्ब ५७ करोड १९ लाख ८७ हजार रुपैयाँ बीमा दाबी परेको छ ।
त्यस्तै, इन्जिनियर तथा ठेक्का जोखिमतर्फ ४ अर्ब ३९ करोड ७२ लाख ५८ हजार, मोटर बीमातर्फ २ अर्ब ८५ करोड ३४ हजार रुपैयाँ बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।
त्यसैगरी, परिवहन बीमातर्फ २ अर्ब ३४ करोड ५ लाख ९१ हजार रुपैयाँ, अन्य बीमातर्फ १ अर्ब ५० करोड १० लाख ३२ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २३ करोड ९१ लाख ४४ हजार रुपैयाँ प्रारम्भिक दाबी परेको छ ।