सुलभ अग्रवालसहित ३ जनालाई ७ दिने अल्टिमेटम, हिमालयन रिको सेयर जफत बुझ्दै

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले कामाख्या फिनकोर्प प्रालिका तत्कालीन सञ्चालक सुलभ अग्रवाल र सुभी अग्रवालका नाममा ७ दिने समाव्हान तथा इतलायनामा म्याद सूचना जारी गरेको छ ।

उच्च अदालत पाटनबाट मुद्दा नं. ०८१-डीपी-२२१० को रोहमा आवश्यक प्रमाण बुझी सम्बन्धित पक्षलाई सुनुवाइको पर्याप्त अवसर प्रदान गरी कानुनबमोजिम निर्णय गर्न भन्दै मिसिल फिर्ता आएपछि कार्यालयले उनीहरुको नाममा ७ दिने सूचना जारी गरेको हो । 

कार्यालयका अनुसार कामाख्या फिनकोर्पको कम्पनी दर्ता मिति २०७८ वैशाख ३१ गते प्रति सेयर मूल्य १०० रुपैयाँ कायम रहेकोमा २०७८ असार १७ गतेसम्म प्रति सेयर मूल्य ८०० रुपैयाँ पुग्नुको ठोस आधार तथा कारणबारे प्रमाण बुझ्नुपर्ने देखिएको छ ।

त्यसैगरी, हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर जफत तथा हस्तान्तरणको प्रक्रिया कम्पनीको प्रबन्धपत्र, नियमावली तथा कम्पनी ऐन, २०६३ बमोजिम भए/नभएको विषयमा समेत आवश्यक प्रमाण बुझ्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यसअघि सम्बन्धित व्यक्तिका नाममा म्याद सूचना हुलाकमार्फत रजिष्ट्री गरी पठाइएको थियो । तर, त्यसको कुनै जवाफ प्राप्त नभएपछि पुनः सार्वजनिक रूपमा ७ दिने म्याद सूचना जारी गरिएको हो ।

कार्यालयले सूचना प्रकाशन भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र उक्त विषयमा आधार तथा प्रमाणसहित लिखित प्रतिक्रिया पेस गर्न र स्वयं उपस्थित हुन आग्रह गरेको छ । स्वयं उपस्थित हुन नसकेमा कानुनबमोजिमको प्रतिनिधि वा कानुन व्यवसायीमार्फत उपस्थित हुन सकिने कार्यालयले जनाएको छ ।

तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया तथा प्रमाणसहित उपस्थित नभएमा कानुनबमोजिम निर्णय गरिने र त्यसपछि उक्त विषयमा उजुर-बाजुर गर्न नपाइने कार्यालयले सूचनामार्फत जनाएको छ ।

null

Share News