पुनर्बीमा कम्पनीको पुँजी कम्तिमा २० अर्ब तोकिनुपर्छः महेश गुरागाईँ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईँ नयाँ खुल्ने पुनर्बीमा कम्पनीको लागि चुक्ता पुँजी कम्तिमा २० अर्ब रुपैयाँ ताेकिनु पर्ने बताएका छन् । १० अर्ब रुपैयाँ लगानी गरेर अन्नपूर्ण रि खुल्ने तयारी गरेको सन्दर्भमा विकासन्युजसँग कुरा गर्दै अध्यक्ष गुरागाईले पुनर्बीमा कम्पनी खोल्नको लागि सरकारले कम्तिमा २० अर्ब रुपैयाँ चुक्ता पुँजी तोक्नुपर्ने बताएका हुन् । नेपाल पुनर्बीमा कम्पनीको पुँजी १५ अर्ब भईसकेकोले अब खुल्ने कम्पनीको पुँजी २० देखि २५ अर्ब रुपैयाँ हुनुपर्ने उनकाे तर्क छ । पुनर्बीमा कम्पनीको १० अर्ब चुक्ता पुँजी छ भने करिव ५ अर्ब संचित कोषहरुमा छ । ‘पूर्वाधार राम्रो बनाउनु पर्यो । नयाँ प्रविधि ल्याउनु पर्यो । त्यही अनुसारको जनशक्ति चाहिन्छ’ उनले भने–‘पुनर्बीमा भनेको अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने व्यवसाय हो । प्रतिस्पर्धी बनाउन लगानी पनि ठूलै चाहिन्छ ।’ नेपाल पुनर्बीमा कम्पनीले गरेको नाफा देखेर नयाँ कम्पनी आउने लागेको आशंका उनको छ । ‘बैंकले धेरै व्याज दिएको समयमा नेपाल रिको नाफा बढी थियो । अब बैंकले व्याज घटाएका छन्, नाफा पनि कम हुन्छ’ उनले भने । विदेशबाट ल्याएको विजनेशमा नाफा भन्दा जोखिम धेरै भएको उनले बताए । नयाँ पुनर्बीमा कम्पनी आउने भयो भनेर नेपाल रि आत्तिनु नपर्ने पनि उनले बताए । ‘बैंकहरु पनि धेरै छन्, बीमा कम्पनीहरु पनि धेरै छन्, पुनर्बीमा व्यवसाय गर्ने कम्पनी एउटा मात्र हुनुपर्छ पनि नभनौं’ उनले भने । स्थानीय बजारको लागि एउटा मात्र पुनर्बीमा भए पुग्ने उनले बताए । तर विदेशकाे बजारलाई लक्ष्यित गरेर नयाँ कम्पनी खुल्छ भने त्यसलाई सकारात्मक रूपमा लिनु पर्ने उनले बताए । ‘३०/३५ प्रतिशत भन्दा बढी पुनर्बीमा नेपालभित्र राख्न सकिदैन । विदेशी बजारलाई लक्षित गरेर नयाँ कम्पनी आयो भने त्यसले रोजगारी सिर्जना गर्छ । सरकारलाई कर तिर्छ, विदेशी मुद्रा आर्जन गर्छ’ उनले भने । सम्बन्धित समाचार १० अर्ब लगानीमा अर्को बीमा कम्पनी खुल्दै, अर्थमन्त्री पनि नयाँ कम्पनीको पक्षमा

एनआईसी एशिया लघुवित्तले ब्याजमा ६ प्रतिशतसम्म छुट दिने

काठमाडौं । एनआईसी एशिया लघुवित्तले कर्जाको ब्याजदरमा ६ प्रतिशतसम्म छुट दिने भएको छ । लघुवित्तले यस संस्थाबाट कर्जा लिएका ऋणीले असार मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यूनतम १ प्रतिशत र अधिकतम ६ प्रतिशत छुट दिने भएको हो । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा संस्थाले उक्त सुविधा दिने भएको हो । यस सुविधा पश्चात अधिक व्याजदरको छुट प्राप्त गर्ने ऋणीको व्याजदर १२ प्रतिशत कायम हुने संस्थाले जनाएको छ । साथै, साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सबै क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ-आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो ।

गुहेश्वरी मर्चेण्ट फाईनान्स एससीटी नेटवर्कमा आवद्ध, डिजिटल भुक्तानी सेवा दिने

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्स लिमिटेड स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग आवद्ध भएको छ । फाईनान्सका ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउने उदेश्यले आइतबार दुई संस्था बीच औपचारिक सम्झौता भएको हो । सम्झौतामा एससिटिका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र गुहेश्वरी फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यसबाट गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाईनान्सका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरल ढंगले बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त हुनेछन् । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगद रहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्ट च्वाइस टेक्नोलोजिजको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउँदै आएको बताइएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।