दुई अर्बभन्दा बढी ठगी गरेकाे आराेपमा गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ समातिए

काठमाडाैं । ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् । रकम हिनामिना गरेर फरार रहेका श्रेष्ठ चितवनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेकाे हाे । श्रेष्ठ माथि दुई अर्ब बराबरको ठगीको उजुरीमा परेकाे थियाे ।    

समता लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । चैत १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आरबिबि मर्चेन्टलाई सेयर रष्ट्रिारमा नियुक्त गरेको हो । यससँगै आरबिबि मर्चेन्टले सो दिनदेखि लागू हुने गरी आगामी एक वर्षसम्म संस्थाको सेयर रजिष्ट्रारको काम गर्ने छ । त्यस्तै, संस्थाको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडाैंकाे टेकुस्थित आरबिबि मर्चेन्टमा सम्पर्क गर्न सकिने छ ।

सीबीआईएल क्यापिटलकाे सञ्चालकमा भरतराज वोस्ती नियुक्त

काठमाडाैं । सीबीआईएल क्यापिटलकाे सञ्चालकमा भरतराज वोस्ती नियुक्त भएका छन् । कर्मचारी सञ्चय कोषका प्रमुख प्रबन्धक समेत रहेका वोस्ती सीबीआईएल क्यापिटलमा सञ्चालकमा नियुक्त भएका हुन् । नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी रहेका वोस्ती एनआईडीसी क्यापिटल मार्केटका भूतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् । कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले वोस्तीलाई शुक्रबार कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए ।