रसुवा बाढी प्रभावित क्षेत्रमा सलिकोको २६ करोडभन्दा बढी बीमा दाबी भुक्तानी

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीका अनुसार असोज २९ गतेसम्ममा बीमा दायित्वअन्तर्गत कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो ।

बाढीबाट प्रभावित बीमितलाई आर्थिक राहत उपलब्ध गराउने र क्षतिको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले हालसम्म २३ करोड ५ लाख ३९ हजार ७८२ रुपैयाँ ७५ पैसा अग्रिम भुक्तानी गरेको छ । त्यस्तै, ३ करोड ३ लाख ८२ हजार ४५२ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

दाबी भुक्तानी प्रक्रियालाई सहज, प्रभावकारी र छिटो बनाउन कम्पनीले सम्बन्धित बीमित तथा सेवाग्राहीलाई आवश्यक कागजात यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ । आवश्यक कागजात समयमै प्राप्त भएमा दाबी मूल्याङ्कन तथा भुक्तानी प्रक्रिया तीव्र बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

प्राकृतिक विपद्का कारण व्यवसाय, सम्पत्ति तथा जनजीवनमा पर्ने आर्थिक प्रभाव न्यूनीकरण गर्न बीमा क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने कम्पनीले जनाएको छ । विपद्बाट प्रभावित बीमितलाई आर्थिक सहायता उपलब्ध गराउँदै बीमाप्रतिको विश्वास थप सुदृढ बनाउने प्रतिबद्धताअनुसार कम्पनीले आफ्नो दायित्व निर्वाह गर्दै आएको छ ।

सलिकोले विपद्का कठिन परिस्थितिमा बीमित तथा समुदायसँगै उभिएर आर्थिक सुरक्षा प्रदान गर्नुका साथै पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउँदै आएको जनाएको छ । 

Share News