काठमाडौं । जीवन बीमा कम्पनीहरूले जारी गर्ने विभिन्न बीमा लेखमध्ये लघु जीवन बीमाको वर्चस्व देखिएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को भदौ मसान्तसम्ममा नेपालमा जारी जीवन बीमालेखको कुल संख्यामा लघु जीवन बीमाको सबैन्दा धेरे हिस्सा देखिएको हो ।
जीवन बीमा कम्पनीहरुले दुई महिनामा १५ लाख ७५ हजार ६९ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये लघु जीवन बीमामार्फत मात्रै १२ लाख ३६ हजार २०२ वटा बीमालेख जारी भएका छन् । जुन कुल बीमालेख संख्याको ७८.४९ प्रतिशत हिस्सा हो ।
गत आर्थिक वर्षको भदौसम्ममा बीमा कम्पनीहरुले ११ लाख ९८ हजार ६४३ वटा बीमालेख जारी गरेका थिए । जसमध्ये लघु जीवन बीमालेखमार्फत मात्रै ८ लाख ४ हजार ६३० वटा बीमालेख जारी भएका थिए ।
गत आवको तुलनामा जारी बीमालेखको संख्यामा ३१.४० प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणको तथ्यांकअनुसार दुई महिनामा लघु बीमालेखपछि सबैभन्दा धेरै वैदेशिक रोजगार म्यादी जीवन बीमालेख जारी भएको छ । बीमा कम्पनीहरुले उक्त अवधिमा १ लाख २९ हजार ९०१ वटा बीमालेख जारी गरेका छन् । तेस्रोमा म्यादी जीवन बीमा १ लाख ७ हजार ४२४ वटा जारी भएका छन् ।
प्राधिकरणका अनुसार दुई महिनामा सावधिक जीवन बीमार्फत ६० हजार ६२२ बीमालेख जारी भएका छन् । त्यस्तै बालबच्चासम्बन्धी सावधिक जीवन बीमा १९ हजार १३१, रुपान्तरित सावधिक जीवन बीमा ९ हजार ५६३ वटा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा ६ हजार ५२१ वटा, एकल बीमाशुल्क जीवन बीमा २ हजार ८४८ वटा, अन्य जीवन बीमा २ हजार २४ वटा र आजीवन जीवन बीमा ८३३ वा जारी भएका छन् ।