आईएमई जनरल इन्स्योरेन्सले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद सेयर दिने
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ करोड ५७ लाख २८ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ३९ लाख ८६ हजार रुपैयाँ नगद लाभांश पनि वितरण गर्ने भएको छ । कम्पनीले बोनस सेयर वितरण गरेपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । १०० कित्ता बराबर ४० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले आगामी साधारणसभामा लैजादैछ । कम्पनीले २३ औं वार्षिक साधारणसभा बैशाख १० गते केन्द्रीय कार्यालय नक्सालमा बोलाएको छ । साथै, कम्पनीले ९ प्रतिशत प्रमोटर सेयरलाई पब्लिक बनाउने छ । कम्पनीमा हाल ६० प्रतिशत प्रमोटर सेयर रहेकोमा ९ प्रतिशत पब्लिकमा परिणत गरी ५१ प्रतिशत प्रमोटर सेयर बनाउन लागिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर पुँजी एक अर्ब ६२ करोड रुपैयाँ भन्दा बढी हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर निष्काशन गर्दा १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ हुनेछ । त्यसपछि ४० प्रतिशत हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैयाँ हुनेछ ।
नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधर, यस्तो बन्यो नयाँ कार्य समिति
काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकारी तुलाधर चयन भएका छन् । आज शुक्रबार बसेको संघको २४ र २५ औं वार्षिक साधारणसभाले उनलाई नै पुनः अध्यक्ष चयन गरेको हो । उम्मेदवारी दर्ताको समय सकिँदा अध्यक्ष पदमा तुलाधरको मात्र उम्मेदवारी परेकोले उनी स्वतः अध्यक्ष भएका हुन् । उनीसँगै अन्य धेरै पदाधिकारीले पनि निरन्तरता पाएका छन् । सवै पदाधिकारी र सदस्यहरु निर्विराेध चयन भएकाे अध्यक्ष तुलाधरले बताए । उनी गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विराेध चयन भएका छन् । यस्तै, सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोजमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्विराेध चयन भएका छन् । फाइनान्स कम्पनीहरुको संख्या घट्दै गएकोले पदाधिकारीमा सर्वसहमति चयन गर्ने र सबै फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतलाई कार्यसमिति सदस्य बनाउने अभ्यास यस संघमा सुरु भएको छ । केही वर्षअघि ८८ वटा वित्त कम्पनीहरु सञ्चालनमा थिए । अहिले २० वटा वित्त कम्पनी मात्र छन् । त्यसमा नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स निस्कृय छन् । थप दुई वटा फाइनान्स मर्जर प्रक्रियामा रहेकोले कार्यसमितिमा जान इच्छुक नभएकाे बताइएकाे छ । अध्यक्ष तुलाधारले वित्तीय संस्थाहरुले आफुलाई सक्षम र काम गर्न सक्ने क्षमताकाे महसुस गरेर पुन: अध्यक्षमा चयन गरेकाे बताउँदै हालसम्म गर्न नसकेका कामहरु गर्ने प्रतिवद्धता गरे ।
सबैभन्दा बढी कर तिर्ने आइएमई को-अपरेटिभ सम्मानित
काठमाडौं । नेपालका प्रारम्भिक सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिल गर्ने आइएमई को-अपरेटिभ सर्भिस लिमिटेड सम्मानित भएको छ । आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी कर तिरेकोमा सहकारी विभागले संस्थालाई सम्मान गरेको हो । विभागले ६४औं सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच आइएमई को-अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा आइएमई को-अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवम् बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । साथै, आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने अध्यक्ष ढकालले प्रतिवद्धता गरे । काठमाडौंको कान्तिपथ स्थित केन्द्रीय कार्यालय रहेको आइएमई को-अपरेटिभ सर्भिसले देशभरका १५ वटा शाखा मार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ ।