प्रभु क्यापिटलले दियाे त्रिविका विद्यार्थीलाई शेयर बजार सम्बन्धी तालिम
काठमाडौं । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तर्गतकाे सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १७ गते सुरु भएको कार्यक्रम चैत्र १९ गते सम्म ३ दिन चलेको थियो । सो तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले सञ्चालन गरेका थिए ।
परिवर्तित साधारण सेयर खातामा पठाउँदै एनएलजी इन्स्योरेन्स, सेयर अपडेट गर्न सेयरधनीलाई आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्सले सर्वसाधारण समूहको सेयर सम्बन्धित सेयरधनीको खातामा पठाएको छ । कम्पनीले उक्त सेयर गत चैत ६ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा जम्मा गरिएिको हो । साथै, उक्त मिति पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको छ । साथै, हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले आफ्नो सेयर अभौतिकीकरण(अपडेट) गराउन कम्पनीले आग्रह गरेको छ । यससँगै, उक्त सेयरधनीले आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै पाउने छन् । साथै, कम्पनीको चैत ५ गते सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको संस्थापक र साधारण सेयर स्वामित्व परिवर्तन गर्ने निर्णयलाई पारित गरेको थियो । यससँगै कम्पनीले उक्त परिवर्तित साधारण सेयर सेयरधनीको सम्बन्धित हितग्राही खातामा पठाइ सेयर काराेबार गर्न याेग्य भएकाे जानकारी गराएको छ । त्यस्तै, चैत ६ गतेसम्म सेयरधितो बन्धक राखी कर्जा लिएका सेयरधनीले सेयर फुकुवा गरी आफ्नो कायम संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिणत गर्न यस कम्पनीको सेयर रजिष्टार अर्थात काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न सक्ने छन् ।
‘इन्साइडर ट्रेडिंगको सूचना दिनेलाई कारोबारको ३० प्रतिशतसम्मको रकम दिऊँ, परिचय गुप्त राखौं’
इन्साइडर ट्रेडिंग नेपालकाे मात्र न भएर विश्वभरीको समस्या हो । यसलाई पूर्ण रूपमा रोक्न सक्ने तरिका आजसम्म कुनै पनि नियमनकारी निकायले इजाद गरेको छैन । तर यसलाई अनुसन्धान नै गर्न नसक्ने भने पक्कै होइन । विश्वभरी कैयौं नियमनकारी निकायहरुले धेरै कम्पनीका प्रमुख कार्यकारी, अधिकृत वा सञ्चालक समितिका पदाधिकारीलाई आर्थिक, जेल तथा निश्चित समयका लागी सेयर बजारमा कारोबार गर्न नपाउने खालको कारबाही गरेको प्रशस्त उदाहरणहरु देख्न सकिन्छ । तर नेपालमा भने अहिलेसम्म त्यस्तो कुनै पनि कारबाही गरेको उदाहरण पाइएको छैन । यस्तो नहुनुमा सायद प्रष्ट कानूनी व्यवस्था न भएर हुन सक्छ वा त्यस्तो किसिमको कारोबारलाई अनुसन्धान गर्ने खालको प्रविधि न भएर पनि हुन सक्छ । के हो त इन्साइडर ट्रेडिंग ? इन्साइडर ट्रेडिंग तब गैरकानुनी मानिन्छ जब कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई कम्पनीको सेयर मूल्यमा प्रभाव पार्न सक्ने सूचना दिने गर्दछन् । सेबोनले इन्साइडर ट्रेडिंग केही हदसम्म रोक्नका लागि के-के सतर्कता अपनाउन सक्छ ? ट्रेडिंग गतिविधि निगरानी गर्ने नियमनकारी निकायले मार्केटमा ट्रेडिंग गतिविधि अनुगमन गरेर इन्साइडर ट्रेडिंगलाई रोक्न र पत्ता लगाउन कोशिस गर्न सक्छ । धिताेपत्र बाेर्डले ट्रेडिंग गतिविधिलाई मोनिटर गर्ने, विशेष गरी महत्त्वपूर्ण घटनाहरू जस्ता आय घोषणाहरू, हकप्रद निष्काशनको घोषणा, अधिग्रहणहरू, र अन्य सूचना जसले कम्पनीको मूल्यमा प्रभाव पार्न सक्छ । यदि कम्पनीका कर्मचारी वा प्रतिनिधिहरूले आफ्ना साथीहरू, परिवार, वा कोष प्रबन्धकहरूलाई यस्तो सूचना प्रदान गर्दछ र यस्तो खालको सूचनाले त्यो कम्पनीकाे सेयर मूल्यमा सकारात्मक वा नकारात्मक प्रभाव परेको देखिएको हकमा त्यस्तो प्रकृतिको ट्रेडिङलाई पत्ता लगाई सम्बन्धित व्यक्ति वा संस्थालाई कारवाही गर्न सक्छ । यस्तो प्रकृतिको ट्रेडिङ पत्ता लगाउनको लागी धिताेपत्र बाेर्डले आर्टिफिसियल इन्टेलिजेन्ट सहितको ट्रेड सेरबिलियेन्स सिस्टमको विकास गर्न सक्छ । इन्साइडर ट्रेडिंगलाई कम गर्नको लागी एउटा छुट्टै इन्साइडर ट्रेडिंग अनुगमन विभागको निर्माण गर्नु अति आवश्यक देखिन्छ । यदि इन्साइडर ट्रेडिंग अपराध सम्बन्धी कानुन बनेको छैन भने सो सम्बन्धी कानुन बनाउन सरकारलाई सहयोग गर्न पनि अति आवश्यक देखिन्छ । इन्साइडर ट्रेडिंगकाे सूचना दिने व्यक्तिलाई प्रोत्साहन दिने व्यवस्था गरि इन्साइडर ट्रेडिंग गरे बापत आएको निश्चित रकमको १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको रकम सो व्यक्तिलाई प्रोत्साहन राशी दिने व्यवस्था गर्ने तथा सो व्यक्तिको परिचय गुप्त राख्ने ग्यारेन्टी गर्ने । कम्पनीहरूले कसरी रोक्न सक्छन् इन्साइडर ट्रेडिंग ? ब्ल्याक आउट अवधि कम्पनीहरूले इन्साइडर ट्रेडिंग रोक्नकाे लागी उनीहरूको धितोमा खासगरी कम्पनीकाे बजार मूल्यमा प्रभाव पार्न सक्ने महत्वपूर्ण घटना तथा निर्णयको आसपास ब्ल्याक आउट अवधिकाे घोषणा गरेर सो अवधिमा कम्पनीका अधिकारीहरू, निर्देशकहरू, र अन्य नियुक्त व्यक्तिहरू कम्पनीको धितोहरू खरीद वा बिक्री गर्नबाट प्रतिबन्धित गर्ने । साथै, कुनै कम्पनीका अधिकारीहरू, निर्देशकहरू र अन्यलाई त्यस कम्पनीकाे सेयर खरीद वा बिक्री गर्नुअघि सो कम्पनीको मुख्य कानुनी सलाहकारसंग सल्लाह लिएर मात्र ट्रेडिङ गर्न पाउने व्यवस्था मिलाउनु पर्ने देखिन्छ । यी सुझावलाई पालना गर्न सकियो भने इन्साइडर ट्रेडिंगलाई केही हदसम्म रोक्न त सकिन्छ तर यस्तो प्रकृतिको कारोबारलाई पूर्ण रुपमा बिराम लगाउन भने सम्भव छैन । इन्साइडर ट्रेडिंगलाई कम गर्नको लागी नियामक निकायले कडा कानूनी प्रावधान गर्ने तथा कम्पनीहरु आफैले इन्साइडर ट्रेडिंग हुनबाट रोक्नकाे स्वयम् नीति निर्माण गर्नुपर्ने आवश्यक देखिन्छ । साथै, लगानीकर्ताहरु आफै पनि सचेत हुनु जरुरी देखिन्छ । नेपालका लगानीकर्ताहरु पनि कुनै पनि कम्पनीले हकप्रद र बोनस सेयरकाे घोषणा गर्यो भने त्यो घोषणाले के साँच्चिकै त्यो कम्पनीको कमाईमा सकारात्मक असर गर्न सक्छ वा सक्दैन भन्ने नबुझि त्यो कम्पनीको सेयर किन्न जसरी लालायित हुने गर्दछन् । त्यो आफैंमा एउटा भेडचाल हो भनेर बुझ्नु पनि जरुरी छ । नेपालको बजारमा कुनै पनि सेयरको मूल्य जथाभावी बढोत्तरी भएकाे खण्डमा त्यो सेयरको मूल्यलाई उचित तहसम्म ल्याउनकाे लागी सर्ट सेलिङ्ग जस्तो वित्तीय उपकरण नहुनुले पनि इन्साइडर ट्रेडिंगलाई प्रोत्साहन गरेको प्रष्ट देख्न सकिन्छ । तसर्थ यस्तो किसिमको कारोबारलाई दुरुत्साहित गर्नको लागी पनि सर्ट सेलिङ्ग जस्तो वित्तीय औजारकाे आवश्यकता अपरिहार्य छ । (पुँजीबजार विश्लेषक बस्यालको सामाजिक सञ्जालबाट)