नेपाल एसबिआईको सामाजिक कार्यक्रम : इटहरीका ११० भन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । नेपाल एसबिआई बैंकले सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ । बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको जनाएको छ । उक्त सामग्रीहरू बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेत उपस्थिति रहेको थियो । बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरण थप प्रभावकारी बनाउन मद्दत पुग्नुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने लक्ष्य राखिएको छ । कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपाल एसबिआई बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय–समयमा सञ्चालन गर्दै आइरहेको छ । बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।   

लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत चिकित्सक उत्तीर्ण, विदेश पढेकाको नतिजा खस्कियो

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा १ हजार ५ सय १५ जना उत्तीर्ण भएका छन् ।  २ हजार २ सय ७१ जनाले परीक्षाको लागि फाराम भरेकोमा ८ जना अनुपस्थित रहेका थिए भने ४ जनाको नतिजा स्थगित गरिएको छ । मूल्यांकनमा समावेश २ हजार २६३ परीक्षार्थीमध्ये १ हजार ५१५ जना उत्तीर्ण भएका हुन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत ६६.९५ रहेको काउन्सिलले जनाएको छ। अनुत्तीर्ण हुनेमध्ये नेपालमा भन्दा विदेशमा पढेका फर्किएकाहरू धेरै छन् । नेपालमै अध्ययन गरेका धेरैजसो विद्यार्थी नाम निकाल्न सफल भएका छन् । परीक्षामा नेपालबाट एमबीबीएस गरेका १ हजार २ सय ५१ जना सहभागी भएकोमा ९ सय ६३ जना (७६.७९ प्रतिशत) उत्तीर्ण भएका छन् । विदेशबाट फर्केकाको नतिजा कमजोर चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा विदेशमा अध्ययन गरेर फर्किएका विद्यार्थीको नतिजा कमजोर देखिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार विदेशका विभिन्न मेडिकल तथा डेन्टल कलेजमा अध्ययन गरेर फर्किएका विद्यार्थीको नतिजा कमजोर देखिएको हो ।  यसले विदेशमा पढ्न जानेहरू विद्यार्थीहरूको शैक्षिक गुणस्तर र सिकाइमै शंका उब्जाएको छ ।  मेडिकल काउन्सिलले जेठको १२ देखि १५ गतेसम्म लिएको नाम दर्ता परीक्षामा विदेश पढेका विद्यार्थी धेरै फेल भएको जनाइएको छ ।  परीक्षामा बंगलादेशबाट एमबीबीएस सकेर फर्किएका ३ सय ६७ जना सहभागीमध्ये १ सय ५१ जना (४१.१४ प्रतिशत) मात्रै पास भएका छन्  भने २ सय १६ जना फेल भएका छन् ।  यस्तै, चीनबाट एमबिबिएस सकेर फर्किएका १ सय ३० जनाले परीक्षा दिँदा २० जना अर्थात् (१५ प्रतिशत) उत्तीर्ण हुँदा १ सय ९ जना अनुत्तीर्ण भएका छन् । इजिप्टबाट एमबीबीएस पढेका दुई सहभागी भएकोमा दुवैजना अनुत्तीर्ण भएका छन्  भने भारतबाट एमबीबीएस सकेर लाइसेन्स परीक्षा दिएका २६ मध्ये ११ जना मात्रै उत्तीर्ण भएको पाइएको छ । काउन्सिलका अनुसार फिलिपिन्सबाट एमबिबिएस पढेका ४२ मध्ये १२ जना, युक्रेनबाट एमबिबिएस पढेका एकजना रसियाबाट पढेर आएकाका तीनजना, काजकस्तानबाट पढेर आएका एक जना फेल अनुत्तीर्ण भएका छन् भने पाकिस्तानमा पढेका ६ मध्ये चारजना उत्तीर्ण र साउदी अरबमा पढेका एकजना पास भएको काउन्सिलले जनाएको छ ।  तर, बीडीएसको लाइसेन्स परीक्षाको नतिजामा भने विदेशबाट अध्ययन गरेकाहरूको केही सुधार देखिएको छ । बंगलादेशबाट बीडीएस गरेका १५ मध्ये नौजना उत्तीर्ण भएका छन् । भारतमा पढेका १७ मध्ये १६ जना र नेपालबाट चार सयजना परीक्षामा सामेल भएकोमा ३४३ जना उत्तीर्ण भएका छन् ।  फिलिपिन्सबाट पासआउट एकजनाले परीक्षामा सहभागिता जनाएकोमा उनी फेल भएको काउन्सिलले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१ औं सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।  शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहनुभएको छ । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा.डा. सुरेशराज शर्मा रहेका छन् ।  ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य छन् भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति छन् ।  समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूको छनोट गरी सिफारिस गर्नेछ ।  यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । काठमाडौं विश्वविद्यालयले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।  नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ ।