जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि, पेट्रोल पम्पदेखि प्रहरी कार्यालयसम्म त्रिविकै जग्गामा
रूपेश आचार्य काठमाडौं । पूर्वमा बागमती किनारदेखि पश्चिममा कीर्तिपुर डाँडाको फेदी र उत्तरमा चक्रपथको डिलसम्म फैलिएको त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७० वर्ष पुग्नलाग्दा आफ्ना जमिनहरु खोज्दैछ । राज्यकै विभिन्न निकाय, आफ्नै प्राध्यापक र कर्मचारीका सङ्गठनदेखि पेटोलपम्प र बालुवा डिपोजस्ता व्यापारिक समूहबाट त्रिविको जमिन अतिक्रमणमा परेको छ । कतिपय जमिन प्रचारमा आए जस्तो अतिक्रमण नभएर कतै राज्यले त कतै त्रिविकै आधिकारिक निकायले औपचारिक रुपमा दिएका समेत हुन् । वर्तमान सरकारले देशभरका अतिक्रमित जमिन फिर्ता ल्याउन पहल सुरु गरेसँगै त्रिविले पनि आफ्ना जग्गा प्रयोग वा अतिक्रमण गर्ने सबै संस्था, निकाय र व्यक्तिसँग अलगअलग छलफल गरिरहेका छ । विश्वविद्यालय प्रशासनले वैशाखको पहिलो सातादेखि विभिन्न संस्थाहरूलाई औपचारिक पत्र पठाएर आफ्नो नाममा रहेको भूमि खाली गर्न र विश्वविद्यालयलाई फिर्ता गर्न आग्रह गरेको थियो । सबैको प्रयोग उस्तै नभएकाले अलगअलगै सम्बोधन गर्नुपर्ने बाध्यतामा पनि त्रिवि छ । ती जग्गामा कतिले आफूखुसी संरचना बनाएका छन् त केहीले आफ्नो उपभोगका लागि भनेर लिएको जमिनमा संरचनाहरू बनाएर भाडामा लगाएका छन् । आधा संस्थाले पठाए जवाफ त्रिविले पत्र पठाएका १९ संस्थामध्ये हालसम्म १० संस्थाले लिखित जवाफ पठाएका छन् । अधिकांश संस्थाहरूले आफूहरूले प्रयोग गरिरहेको जग्गा सरकार वा त्रिविकै आधिकारिक निर्णयका आधारमा प्राप्त गरेको दाबी गर्दै आएका छन् । यसरी पत्र पठाइएका संस्थामा त्रिविको आफ्नै कर्मचारी र प्राध्यापकका सङ्गठनदेखि २०१९ सालदेखि नै त्रिविको जग्गा भोग चलन गरिरहेका बागवानी केन्द्र, लेबोरेटरी मावि र केही वर्ष अघिदेखि मात्र सुरु भएको राष्ट्रिय आविष्कार केन्द्रसमेत छन् । विश्वविद्यालयका सामान्य प्रशासन शाखाका प्रशासक भोजकुमार बस्नेतका अनुसार अधिकांशले आफूहरूलाई सरकार वा त्रिविको आधिकारिक निकायबाटै जमिन उपलब्ध गराइएको ब्यहोरा उल्लेख गर्दै जवाफ पठाएका छन् । यसरी जवाफ पठाउनेमा नेपाल प्राध्यापक सङ्घ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ, त्रिवि कर्मचारी सङ्घ, समशीतोष्ण बागवानी केन्द्र, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल नेत्र ज्योति सङ्घ, ग्लोबल आइमइ बैंक, विपी कोइराला प्लानेटोरियम, लेबोरोटरी स्कुल र राधास्वामी सत्सङ्ग रहेका छन् । त्रिविको जग्गा फिर्ताको पहल सुरु भएलगत्तै प्राध्यापक र कर्मचारी सङ्घले पनि आफूले भाडामा लगाएका पसलहरू र पेट्रोल पम्पलाई ३५ दिनभित्र खाली गर्न पत्र पठाएका थिए । त्यसको जवाफमा सञ्चालकहरूले तत्काल उठेर जान अप्ठ्यारो भएको भन्दै सम्झौता अनुसार नै भाडा नियमित तिरिरहेको र अब विश्वविद्यालयकै खातामा रकम जाने गरी व्यवसाय गर्न दिन अनुरोध गर्दै त्रिविलाई पत्र पठाएका छन् । त्रिविकै जग्गामा सञ्चालित पेट्रोल पम्पले त त्रिविसँग भएको करार नामाकै आधारमा बैंकबाट ऋण लिएको ब्यहोरा उल्लेख गर्दै आफू त्रिविकै शर्तमा चल्न तयार रहेको पत्र पठाएको छ । बागवानी भन्छ, ‘बरु हाम्रै नाममा गरिदेउ’ त्रिवि परिसरको दक्षिण–पूर्व कुनामा करिब ४६ हेक्टर जमिनमा रहेका समशीतोष्ण बागवानी केन्द्रले भने आफूले भोगचलन गरिरहेको जग्गा आफ्नै नाममा गरिदिए हुन्थ्यो भन्ने आसयको जवाफ पठाएको छ । त्रिविले अतिक्रमित जग्गाको सूचीभित्र राखेको बागवानीले आफूलाई त्रिविको जग्गा राजा महेन्द्रकै पालामा राज्यकै तर्फबाट दिइएको उल्लेख गरेको छ । केन्द्रका प्रमुख दिनेशप्रसाद सापकोटा झाडीले ढाकिएको स्थानमा २०१९ सालमा तत्कालीन सरकारकै निर्णयबमोजिम बागवानी केन्द्र स्थापना गरिएको बताउँछन् । त्रिवि र बागवानी दुवै राज्यकै निकाय भएकाले बागवानीलाई दिइएको हुनसक्ने भनाइ पनि उनको छ । 'यसमा फलफूलजन्य वनस्पतिको अध्ययन अनुसन्धान हुन्छ, जो त्रिविको कृषि क्याम्पसको अध्ययन अध्यापनसँग जोडिएको विषय हो', उनी भन्छन् । बागवानी आफैँले खरिद गरेको करिब चार रोपनी जग्गा भने अहिले सशस्त्र प्रहरी बलले उपयोग गरिरहेको र उत्तरतर्फको केही जमिन किसान आयोग आदिले पनि उपयोग गरेको जानकारी पनि सापकोटाले दिए । अतिक्रमित करिब तीन हजार रोपनीमध्ये कतिपय जग्गा त्यो बेलाको मन्त्रिपरिषद्ले निर्णय गरेरै राज्यको अर्को निकायको संरचना बनाई भोगचलन गर्न दिएको छ । कतिपय जग्गा त्रिवि कार्यकारी परिषद्ले निर्णय नै गरेर दिएको छ । त्यो पनि अरूलाई नभई विश्वविद्यालयकै कर्मचारी र प्राध्यापक सङ्घहरूलाई । केही प्रतिशत जग्गा भने राज्य र त्रिविको औपचारिक सहमति बेगर नै अन्य निकाय वा व्यक्तिले समेत प्रयोग गरिरहेका छन् । प्रहरी कार्यालय समेत राज्यकै अर्को निकाय कीर्तिपुर र कालीमाटीका प्रहरी वृत्त पनि अहिले त्रिविकै जग्गामा छन् । बस्नेतका अनुसार कर्मचारी र प्राध्यापक सङ्घलाई त्रिविको कार्यकारी परिषद्कै निर्णयअनुसार जग्गा उपलब्ध गराइएको हो । ती सङ्घहरूलाई त्रिविको अनुमति र उनीहरूकै सम्मेलनको निर्णयका आधारमा जग्गा वा संरचना भाडामा लगाउने र त्यसको आयव्यय प्रस्तुत गर्ने अधिकार दिइएको जानकारी समेत उनले दिए । 'प्रचारमा आएजस्तो सबैले अतिक्रमण गरेका भने होइनन्', बस्नेतको भनाइ थियो । 'जसरी दिइएको होस् वा उपभोग गरिएको होस् । ती जग्गाहरू विश्वविद्यालयका हुन र तिनलाई फिर्ता गरिनुपर्छ', अहिले त्रिविको ‘बटम लाइन’ त्यही हो । निवर्तमान कार्यकारी परिषद्ले यही निर्णय गरेर भोगचलन गर्ने सबै संस्थालाई अलगअलग पत्र पठाएको हो । लेबोरेटरी स्कुल र दृष्टिहीन विद्यार्थी व्यवस्थापनमा समस्या त्रिविको १०० नौ रोपनी जमिन उपभोग गरिरहेको लेबोरेटरी माध्यमिक विद्यालयलाई यसअघि समेत पटकपटक त्रिविको जमिन फिर्ता गर्न पहल गरिएको थियो । यस पटक पनि यससम्बन्धी पत्र प्राप्त भएपछि राससले कुरा गर्दै प्रधानाध्यापक लाक्पा शेर्पाले जग्गा जमिन त्रिविकै भएको बताए । 'अब उसैसँग कुराकानी गरेर समझदारीमा विद्यालय सञ्चालन गरिनेछ', उनले भने । अहिले विद्यालयमा ४५ जना नेत्रहीनसहित झण्डै तीन हजार विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले थपे, 'जग्गा त त्रिविकै हो र विद्यालय भने ७० वर्षअघि नेपाल सरकारले नै स्थापना गरेको हो ।' कीर्तिपुर नगरपालिका–१० मा पर्ने त्रिविको जग्गामा निजी विद्यालय चलाइएको आरोप लाग्दै आएको छ । प्रधानाध्यापक शेर्पा नेपाल सरकारले २०३८ देखि अनुदान बन्द गरी स्वआर्जनबाटै चल्न भनेपछि शुल्क उठाउन थालिएको बताउँछन् । कुनै बेला देशकै अब्बल मानिने मात्र नभई पटकपटक प्रवेशिका परीक्षामा सत्र्वोकृष्ट ठहरिएको लेबोरेटरी मावि केही दशकयता सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित छ । त्यहाँ अध्ययरत ५४ दृष्टीविहिन विद्यार्थीलाई सरकारले नै छात्रवृत्ति दिँदै आएको र शिक्षकलाई पारिश्रमिक पनि सरकारले दिएको जानकारी पनि उनी दिन्छन् । त्रिविका पूर्वउपकुलपति माधव शर्माको कार्यकालमा उक्त विद्यालय हटाउन र विद्यालय परिसरलाई त्रिविको भोगचलनमा ल्याउने अन्तिम तयारी गरिएको थियो । तर त्यतिबेला अध्ययनरत दृष्टिविहीन विद्यार्थीको व्यवस्थापन तत्काल हुन नसकेपछि त्रिविको निर्णय कार्यान्वयन हुन सकेको थिएन । तत्कालीन शिक्षा मन्त्रालयकै निर्णयमा प्लानेटोरियम त्रिविले पत्र पठाएको सूचीमा बिपी कोइराला प्लानेटोरियम समेत परेको छ । शिक्षासँग विज्ञान प्रविधि मन्त्रालय समेत गाभिएका बेला करिब डेढ दशकअघि मन्त्रालयकै निर्णयबाट त्रिवि परिसरमा प्लानेटोरियम स्थापना गर्ने निर्णय गरिएको थियो । प्लानेटोरियमका निर्देशक सनतकुमार शर्माका अनुसार त्यतिबेला विश्वविद्यालयको कार्यकारी परिषद्बाट निर्णय गराएरै प्लानेटोरियमलाई जग्गा उपलब्ध गराइएको थियो । प्लानेटोरियमको भवनको नक्सासमेत त्रिविले आफैँ पास गरिदिएको उनको भनाइ छ । त्रिविकै विज्ञान पठनपाठनमा उपयोगी हुने तर्कसहित त्यतिबेला त्रिवि परिसरमै प्लानेटोरियम र अन्तरिक्ष अन्वेषण केन्द्र स्थापना गरिएको पनि उनी बताउँछन् । सोही निर्णयअनुसार त्यहाँ विज्ञान सङ्ग्रहालय, अन्तरिक्ष थिएटरजस्ता संरचना बनिसकेका छन् भने अन्तरिक्षको समग्र जानकारी दिने अब्जरभेटरी बन्ने क्रममा छ । त्यसो त त्रिविका विद्यार्थीका लागि २०२३ सालमा निर्मित रङ्गशाला २०५६ देखि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा परिणत गर्न थालियो । गतवर्ष मात्र राज्यका तर्फबाट ठूलो लगानी गरी फ्लड लाइट र १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । त्यसलाई पूर्णता दिँदै २५ हजार दर्शक क्षमताको बनाउने र रङ्गशालालाई पूर्ण स्वरूपको अन्तरराष्ट्रिय रङ्गशालाको रुप दिन सरकारले प्राथमिकतामा राखेको छ । तर यसका लागि त्रिभुवन विश्वविद्यालयसँग गरिएको सम्झौता वैशाख मसान्तमा सकिएको छ । त्रिवि नेतृत्वसँग उक्त सम्झौता नवीकरण गर्न राज्यका तर्फबाट कुनै पनि पत्राचार नभएको त्रिवि प्रवक्ता नवीन्द्र भण्डारी बताउँछन् । गत असोज २६ गते तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सार्वजनिक गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१’ ले ठूलो मात्रामा त्रिविको जग्गा मिचिएको देखाएको थियो । खोजबिन समितिले त्रिवि स्थापना र सञ्चालनका लागि सरकारले विभिन्न समयमा अधिग्रहण गरेर लिएको पाँच हजार ५० रोपनी तीन आना एक पैसा एक दाम क्षेत्रफलको जग्गामध्ये करिब २४ सय रोपनीभन्दा बढी जग्गा अपचलन भएको निष्कर्ष निकालेको थियो । प्रतिवेदनअनुसार विश्वविद्यालयको जग्गा कीर्तिपुरमा ल्याबोरेटरी स्कुल मात्र नभई राधास्वामी सत्सङ्ग व्यास नेपाल, नेपाल प्राध्यापक सङ्घ, त्रिवि प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल नेत्रज्योति सङ्घले समेत उपभोग गरेका छन् । साथै, त्रिविको जग्गा उपयोग गर्नेमा नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, काठमाडौं खानेपानी बोर्ड, किसान आयोग, प्रहरी वृत्त कीर्तिपुर, बल्खु र कालीमाटी, लायन्स रक्त सञ्चार केन्द्रसमेत रहेका छन् । यसैगरी केही ढुङ्गा, गिट्टी, बालुवा डिपो र नेपाल विद्युत् प्राधिकरणले त्रिविको जग्गा प्रयोग गरिरहेका छन् । कीर्तिपुरबाहेक अन्यत्र पनि अतिक्रमित कीर्तिपुरमा मात्रै नभई उपत्यकाका अन्य स्थानमा पनि त्रिविका जग्गा अतिक्रमित छन् । राजधानीको नैकाप, डिल्लीबजार, त्रिपुरेश्वर, लुभु, कपन र स्वयम्भू क्षेत्रमा गरी ६९६ रोपनी जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा उल्लेख छ । नैकापको १२५ रोपनी जमिनमा घर बनेका छन् । टोखामा सामुदायिक भवन र हात्तीगौडामा भने त्रिविकै जग्गामा पुनःस्थापना केन्द्र बनेका छन् । यस्तै लुभुजस्ता ठाउँहरुमा त कहाँनेर हो जग्गा भनेर खोज्नुपर्ने अवस्था छ । राजा त्रिभुवनकी रानी कान्ति राज्यलक्ष्मीले २०१३ सालमा प्रदान गरेका ३७५ रोपनीको पत्ता लागेको छैन । उनै कान्ति राज्यलक्ष्मीले दिएको र कित्ता नम्बरसमेत रहेको २७५ रोपनी छ आना तीन पैसा त्रिविले भोग गर्नै पाएको छैन । उपप्रशासक बस्नेतका अनुसार निरन्तरको ताकेतापछि विश्वविद्यालयको प्रयोजनविपरीत भाडामा लगाइएका रस कटर पेट्रोल पम्प र सँगैको नर्सरी हट्न तयार भएका छ । विश्वविद्यालयका निमित्त रजिष्ट्रार महानन्द चालिसेले ती दुवै निकायका सञ्चालकलाई बोलाएर हटाउन भनेपछि दुवैले हट्ने तयारी थालेका हुन् । रासस
बीमा क्षेत्रमा रोजगारी अवसर बढ्दै, विश्वविद्यालयको विद्यार्थीसँग छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्समा अध्ययनरत विद्यार्थीहरूसँग जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रममा स्नातक तहका छैठौं र आठौं सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता तथा अन्तर्राष्ट्रिय अभ्यासका साथै बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराउनु रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन र अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले अध्ययनको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यवस्था तथा स्रोत परिचालनमा सहयोग गर्न प्राधिकरण तयार रहेको उल्लेख गरे । उनका अनुसार नेपालमा बीमाङ्कीहरूको माग बढ्दै गएको छ र प्रत्येक बीमा कम्पनीमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक अनिवार्य रूपमा नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले यस क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वदेशमै रोजगारीको राम्रो सम्भावना रहेको छ । प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व र व्यावसायिक सुदृढीकरणका लागि बीमाङ्की तथा विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा यसको कार्यान्वयनबारे प्रस्तुति दिएकी थिइन् भने सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियाबारे जानकारी गराएकी थिइन् । अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका, बीमालेख विकासमा योगदान तथा रोजगारी अवसरबारे जिज्ञासा राखेका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा तथा सम्बन्धित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कक्षा ११ का विद्यार्थीलाई कलेज जीवनबारे टेक्सासको अभिमुखीकरण
काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिभुखीकरण कार्यक्रम गरेको छ । कलेजमा आउने नयाँ विद्यार्थीले विद्यालय समयमा के गर्न पाउने, के नपाउने भन्ने विषयमा जानकारी गराउन नयाँ भर्ना भएका विद्यार्थीका लागि यो कार्यक्रम गरेको हो । बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित अभिमुखीकरण कार्यक्रममा विद्यार्थीलाई टेक्सास कलेजमा स्वागत गर्दै विद्यार्थीले विद्यालय भित्र पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो । जसमा विद्यार्थीले कलेजमा अनिवार्य विद्यालय पोशाकमा आउनुपर्ने, कलेज समयभन्दा करिब १५ मिनेट अगाडि नै उपस्थित हुनुपर्ने, विद्यालयमा आयोजना हुने हरेक कार्यक्रममा भाग लिनुपर्ने लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक डा. श्यामसुन्दर श्रेष्ठले टेक्सासले आध्यात्मिक रूपमा सचेत, तीक्ष्ण विवेकी र सीपयुक्त विद्यार्थी उत्पादन गर्नु आफूहरूको लक्ष्य रहेको बताए । ‘टेक्सास मन्टेश्वरीदेखि मास्टर्स सम्मकै शिक्षाको लागि उत्कृष्ट शैक्षिक संस्था हो,’ उनी भन्छन्,‘ कुनै विषयको छनोटले विद्यार्थीलाई सफल बनाउने नभई आफ्नो मेहनत र त्यो विषय प्रतिको धारणाले सफल बनाउने हो । सिकाइमा कलेजले कुनै कसुर बाँकी राख्दैन यसमा परिश्रम, मिहिनेत विद्यार्थीले गर्नुपर्छ ।’ कलेजमा विज्ञान र व्यवस्थापन संकायमा विद्यार्थीको आकर्षण बढेको बताउँदै श्रेष्ठले कुनै पनि विषय आफैमा कमजोर नभएको तर विद्यार्थीले आफूले रोजेको विषयमा निकै मिहिनेत गर्नुपर्ने बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले विद्यार्थीलाई अरूको पछाडि दगुर्नुभन्दा आफ्नो रुचि लगाव के हो भन्ने बुझन आवश्यक रहेको बताए । अहिले बजारमा विज्ञान, व्यवस्थापन, आईटीजस्ता विषयमा माग पनि बढेको र विद्यार्थीको आकर्षण पनि त्यतै बढेको बताउँदै उनी भन्छन्, ‘जुन कुरा बिक्छ भनेर दौडिनुहुन्छ, त्यतापट्टि नलाग्नुहोस्, किनकि त्यो बिकाउ सामान होइन, तपाईं आफ्नो ज्ञान र रुचिमा काम गर्नुहुन्छ भने बजार तपाईंको पछाडि दगुर्छ ।’ अहिले धेरै विद्यार्थी साथी र बजारको पछाडि लाग्ने गरेको बताउँदै उनले विद्यार्थी आफैको वुद्धि जाग्नुपर्ने बताए । कसैलाई खुसी बनाउन काम गर्नुभन्दा खुसी भएर गरेको कामले राम्रो परिणाम दिने उनको भनाइ छ । यस्तै कार्यक्रममा बोल्दै उत्प्रेरक वक्ता डा. रविन कटवाल भन्छन्, ‘अहिले सबै व्यक्ति उत्कृष्ट भए पनि अझै उत्कृष्ट त्यो व्यक्ति बन्छ जसले आफूलाई चिनेर काम गर्छ ।’ उनले विद्यार्थीले राम्रो विद्यालय छनोट गरेको बताउँदै अब मिहिनेत गर्ने पालो आएको बताए । उनी शिक्षा अहिले अपरिहार्य रहेको बताउँदै मान्छेलाई महान बनाउने चिज नै शिक्षा भएकाले पढाइमा निकै मिहिनेत गर्नुपर्ने बताए। शिक्षालाई ग्रहण गर्न इच्छा आवश्यक पर्ने भएकाले इच्छा नभएका व्यक्तिले शिक्षा लिन नसक्ने बताए । ‘जसरी आजको ३०–४० वर्ष अगाडि पढेलेखेका मान्छे निकै कम थिए, अबको २० वर्ष पछाडि यो समाजमा पढेलेखेका मान्छे निकै कम हुनेछन् किनकि अधिकांश मानिस धनको पछाडि दगुर्ने र पढाइ बीचैमा छोड्नेछन्,’ उनले भने । कार्यक्रममा टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका चिफ अफ एकेडेमिक्स प्रा. डा. गोविन्दप्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, क्याम्पस प्रमुख श्याम सुन्दर श्रेष्ठसहित अन्य प्रशासकहरू, विभिन्न विभागका विभाग प्रमुखहरू तथा अध्यापकहरूको उपस्थिति थियो ।